राजु अधिकारीको तीन पुस्तक सार्वजनिक भएको छ।
अधिकारीको ‘परिवार सुख’, ‘संस्कारी बन्ने काइदा’ र ‘हजुरलाई विशेष उपहार’ एकसाथ लोकार्पण गरिएको हो।
काठमाडौंको पेप्सीकोलास्थित अक्षरा स्कुलमा शुक्रबार आयोजित कार्यक्रममा संस्कृतिविद् गोविन्द टन्डन, साहित्यकार तुलसी भट्टराई र प्रमुख निर्वाचन आयुक्त एवम् साहित्यकार दिनेश थपलियाले पुस्तक लोकार्पण गरेका हुन्।
कार्यक्रममा गोविन्द टन्डनले अधिकारीको पुस्तक ‘संस्कारी बन्ने काइदा’ माथि आफ्ना विचार राखेका थिए।
‘यो पुस्तक अहिलेको समयमा अति नै सान्दर्भिक छ। किनभने हामीले आफ्नो संस्कृति, धर्म र परम्परा बिर्संंदै गएका छौं,’ उनले भने, ‘यसमा राज्यले पनि ध्यान दिएको छैन। अहिलेको शिक्षाले सूचना त दिएको छ। यसले मानिसलाई सफल पनि बनाउला। तर असल बनाउँदैन। अधिकारीजीको ‘संस्कारी बन्ने काइदा’ ले सफल मात्र होइन, मानिसलाई असल पनि बनाउँछ।’
यसैगरी प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अधिकारीको पुस्तक ‘हजुरलाई विशेष उपहार’ बारे समीक्षा गरे। पुस्तक पढ्दै गर्दा उपहार होस् त यस्तो भन्ने अनुभूति हुने उनले बताए।
‘हामी देखावटी अर्थात् चिरिच्याट्ट परेको उपहारमा मात्र सीमित छौं,’ उनले भने, ‘अधिकारीजीको पुस्तक हजुरलाई विशेष उपहारले साजसज्जामा मात्र ध्यान केन्द्रित गरिरहेको समाजलाई गतिलो सुझाव छ। यो सबैका लागि बहुउपयोगी छ।’
कार्यक्रममा साहित्यकार तुलसी भट्टराईले अधिकारीको पुस्तक ‘परिवार सुख’ को समीक्षा गरे। पछिल्लो समय परिवारमा आइरहेको बेमेलले समाजलाई भड्खालोतिर लगिरहेको अवस्थामा अधिकारीको यस पुस्तकले आदर्श परिवार निर्माणमा सघाउ पुग्ने उनको भनाइ छ।
‘पारिवारिक सुखलाई प्राथमिकता दिइएर लेखिएको यो पुस्तक साँच्चिकै उदाहरणीय छ,’ उनले भने, ‘झनै अहिलेका प्रत्येक व्यक्तिले यो पुस्तकबाट प्रशस्त फाइदा लिन सक्छन्। र आफ्नो जीवन सफल तुल्याउन सक्छन्।’
कार्यक्रममा लेखक राजु अधिकारीले लोकार्पित किताबहरूमा एउटाले भित्री जीवनलाई सिँगार्ने, अर्काेले बाहिरी जीवन सिँगार्ने र तेस्रोले सबैले सबैलाई जोड्ने अर्थात् आफूले अरुसँग जोड्ने बताए।
‘परिवार सुख आजको सबैको ठूलो चाहना हो। त्यसलाई सम्बोधन गर्न मैले ‘परिवार सुख’ पुस्तक लेखें। संस्कारको खडेरीलाई थोरै शान्त गर्न ‘संस्कारी बन्ने काइदा’ लेखेको हुँ र कालजयी उपहार अर्थात् स्थायी उपहार दिन सजिलो होस् भनेर ‘हजुरलाई विशेष उपहार’ पुस्तक लेखें,’ उनले भने।