'सेलेब्रेटी जीवन बाँच्नेका लागि ताली र गाली घाम–छाया जस्तै हो। मौसमझैं ताली, गालीमा र गाली तालीमा बदलिन बेर लाग्दैन।'
लेखक सुबिन भट्टराईले लेखक बन्नुअघि नै यस्ता जोखिमबारे सुनेर-पढेर थाहा पाएका थिए। किताब निकाल्न थालेपछि उनी आफैं सेलेब्रेटी लेखक बने। 'समर लभ' बाट किशोर तथा युवा उमेरका पाठक आकर्षित गर्न सफल सुबिनका त्यसपछिका 'साया', 'मनसुन' र 'प्रिय सुफी' पनि हजारौंप्रति बिके।
किताब बिक्रीमा रेकर्ड ब्रेक गरेका उनले लेखेरै गाडी चढ्ने हैसियत बनाए। कलेज पढाएर गुजारा चलाउने उनी 'फूल टाइम' लेखक बने।
तर उनको जीवनमा ताली पनि गालीको बुई चढेर आयो। उनले जति नाम र दाम कमाए, उति नै आलोचना पनि सुन्नु पर्यो।
कसैले हलुका साहित्यको उदाहरण दिनुपर्यो भन्ने टुच्च सुबिनको नाम जोडिहाल्छन्। कसैले गम्भीर र हलुका किताबबीच तुलना गर्नु पर्यो भने सुबिनलाई तानिहाल्छन्।
केही दिनअघि यस्तै भयो।
लेखक खगेन्द्र संग्रौलाले ट्वीटरमा लेखे- चाबहिलकाे एक पुस्तक पसलमा एक मनुवाले अत्ताल्लिँदै आएर भनेछन्, 'याे पुस्तक कडा रहेछ, पढ्न सकिनँ, पैसा फिर्ता दिनाेस्। 'समर लभ' र 'साया' टाइपका पुस्तक पढेर विद्वान कहलिएका जीवातकाे रूचि र बाैद्धिकताकाे स्तर उकास्नु पुस्तक कर्मकाे धर्म हाेला कि नहाेला? गम्भीर लेखकलाई एक गम्भीर प्रश्न।
लेखक संग्रौलाको ट्विटको प्रतिक्रियामा धेरैले सुबिनको किताब नपढे पनि वा पढेर मन नपरे पनि एउटा प्रबुद्ध लेखकले अर्का युवा लेखकको किताबसँग तुलना गर्न नहुने धारणा राखे। केहीले उनको अहम् झल्किएको भने। लेखक संग्रौलाले पनि सकारे, 'कदाचित् त्यस्ताे अर्थ लागे क्षमाप्रार्थी छु, मान्यवर।'
एक लेखकले अर्को लेखकलाई सार्वजनिक रूपमै यस्तो भन्दा कस्तो लाग्दो हो?
हामीले सुबिनलाई नै सोध्यौं।
सुबिनका भनाइमा उनी नेपालकै सबभन्दा धेरै माया र घृणा पाएका लेखक हुन्। त्यसैले वर्षौंदेखि आलोचना सुन्दै आएका उनका लागि लेखक संग्रौलाको त्यो कटाक्ष पहिलो थिएन। बरू संग्रौलाको ट्विटपछि सुबिनका पक्षमा जस्ता प्रतिक्रियाहरू आए, त्यसबाट उनी सुखद आश्चर्यमा परेको बताउँछन्।
'सोच्दै नसोचेको कुरा भयो। वर्षौंदेखि आफूले सकेजति मिहिनेत गरेर किताब निकाल्दा पनि एउटा समूहबाट लेखकको मान्यता पाउन सकेको थिइनँ। तर यस पटक सामाजिक सञ्जालमा उपेक्षा गर्नेहरू समेत आफ्नो पक्षमा उभिएको देखेर म भावुक बनेको छु,' उनले सेतोपाटीसँग भने।
घुमाउरो शैलीमा सुबिनले संग्रौलालाई धन्यवाद नै दिए। भने, 'उहाँको ट्विट मेराबारे अरूले के सोच्छन् भन्ने थाहा पाउने बहाना बन्यो। मलाई नचिन्ने र मलाई आदर गर्ने धेरैको मप्रतिको धारणा र माया देखेर मलाई नयाँ ऊर्जा मिलेको छ।'
उसो त अरूले लेखक संग्रौलाको ट्विटमा प्रतिक्रिया जनाउँदै गर्दा सुबिन आफैं भने मौन बसे। मौनताको कारण खुलाउँदै भन्छन्, 'खगेन्द्र दाइ सामाजिक सञ्जालमा हाकाहाकी खुलेर आलोचना गर्ने छवि भएको लेखक हुनुहुन्छ। उहाँले मलाई आलोचना गर्नु नयाँ लागेन।'
यो सुबिनको आजको सोच हो। केही वर्षअघिसम्म भए त सुबिन यस्ता आलोचनाबाट निकै विचलित हुन्थे होलान्। अचेल आलोचना सहने बानी बसिसकेकाले पनि धेरै प्रतिक्रिया जनाउन छाडेको उनी बताउँछन्।
अझ उनी त यो घटनाले सबैलाई पाठ सिकाएको ठान्छन्- एउटा लेखकले आफ्नो किताबसँग अरू लेखकको किताबको तुलना गर्दै सामाजिक सञ्जालमा टिप्पणी गर्न हुँदैन।
अनि रमाइलो कुरा, लेखक संग्रौला सुबिनका पनि प्रिय लेखक हुन्। संग्रौलाको भाषाशैली र व्यंग्यवाणको प्रशंसक उनी संग्रौलाका आफ्नै 'आँखाको लयमा', 'सम्झनाका कुइनेटाहरू', 'जुनकीरीको संगीत' लगायत भेटे जति किताब पढेको बताउँछन्।
'मेराबारे एउटा होइन, उहाँले अझै पाँच वटा ट्विट, जे लेखे पनि उहाँलाई पढ्न र सम्मान गर्न छाड्दिनँ,' सुबिन जोड दिँदै भन्छन्, 'उहाँ नेपालको जीवितमध्येका सबभन्दा राम्रो लेखक हो।'
पाँच वटा किताब लेखिसक्दा पनि साहित्यिक वृत्तमा छोइछिटो गरेको ठान्ने सुबिनमा कुनैबेला आलोचना सहने क्षमता आजको जति थिएन।
सुबिन छोटो समयमै सोचेभन्दा धेरै पाठकमा पुग्न सफल अपवाद लेखक हुन्। पाठक रोजेर कलेज पुस्तामा चर्चित भए पनि उनी आलोचनालाई पूरै बेवास्ता गर्न कहाँ सक्थे र?
एकातिर किताब छापिएको केही दिनमै पुनः छपाइमा जाने खुसीको खबर, अर्कोतिर तीव्र आलोचना सँगैसँगै भोगे। भन्छन्, 'आफूले पाएको पाठक हेरेर आलोचकका कुरा वेवास्ता गर्न पनि सकिन्थ्यो होला। तर मान्छे न हुँ, राम्राभन्दा नराम्रा कुराले बढी लखेट्ने रहेछ। धेरैले लेखक नमानेको कुरा सुनेर महिनौंसम्म विचलित भएको छु।'
प्रायः लेखकजस्तै समीक्षक, आलोचनात्मक चेत भएका समूह र आमपाठक सबैसँग जोडिने लोभ सुबिनमा पनि थियो। छ।
'मेरो विषय चयनले मलाई सधैं पाठक र समीक्षकमध्ये एउटा रोज्ने विन्दुमा पुर्यायो। मैले पाठक रोजेँ,' उनले भने, 'पाठक रोज्दाको फाइदासँगै त्यसको मूल्य पनि चुकाउनु पर्यो।'
तर आफूले जानेको र मनले भनेको काम गर्ने कि अरूको कुरा सुनेर हताश हुने? उनले दुईमध्ये एक रोज्नै पर्ने थियो। उनले विस्तारै बेवास्ता गर्ने क्षमता बढाए। पहिलो किताब निकाल्दाको ठिटो लेखक, यही समयबीच प्रेमी बने, श्रीमान बने, अनि त्यसपछि छोरोका बुबा।
व्यावसायिक जीवनका अनुभवसँगै निजी जीवनमा आएका परिवर्तनले पनि उनलाई परिपक्व बनाइरहेको थियो। अचेल उनी भन्न थालेका छन्, 'म कसका लागि लेख्ने, किन लेख्ने भन्नेमा प्रष्ट छु। त्यसैले सबैलाई रिझाउने बोझबाट मुक्त छु।'
यो परिपक्वता र आत्मविश्वास उनले लाखौं शब्द लेखेर पाएका हुन्। प्राथमिक तह पढ्दादेखि नै कथा लेख्न रूचाउने सुबिनको पहिलो पुस्तक 'कथाकी पात्र' हो। २०६७ सालमा प्रकाशित यो कथा संग्रहको 'औडाहा' शीर्षकको कथापछि उनलाई सानै समूहले भए पनि 'नोटिस' गर्यो। उक्त कथामा उनले युवक र युवतीको फरक दृष्टिकोणका दुई कथा लेखेका थिए।
सुबिन आज जहाँ छन् त्यसले देखाउँछ, उनी साहित्य क्षेत्रमा लामो सोच बोकेर प्रवेश गरेका थिए। तर घरमा पढ्ने वातावरण भए पनि किताब छाप्नु उनका लागि नयाँ थियो। कलेज पढाएर जम्मा गरेको पैसाले जसोतसो 'कथाकी पात्र' छाप्न आफैंले लगानी गर्नु परेको बताउँछन्। किताब प्रकाशनमात्र नभई कसैको नजरमा परिएला कि भनेर आफ्नै खर्चमा चियाखाजा खुवाएर विमोचन कार्यक्रम पनि गरेका थिए।
'आलोकाँचो थिएँ। पत्रकार र समीक्षकलाई खाने-पिउने व्यवस्था गराए समीक्षा छापिने सुनेको थिएँ। अपेक्षा ठूलै थियो। तर हात लाग्यो शून्य,' उनले सुनाए।
किताब बिक्ला र कसैले त मन पराइदेला भनेर उनी झोलामा दस-पन्ध्र वटा किताब बोकेरै साहित्यिक कार्यक्रमहरूमा धाउँथे। सोचेजस्तो भएन।
'किताब पाठकको हातमा नपुगेको र आफूलाई अरूले नपत्याएको कुन्ठा मैले समर लभ किताबमा पोखेँ,' उनले भने, 'दोस्रो किताब लेख्नबेला मेरो एउटै उद्देश्य थियो, अबको किताब धेरै पाठकमा पुग्नु पर्छ। धेरै बिक्नु पर्छ। धेरैमा पुग्यो भने मेरो लेखाइ पक्कै मन पर्नेछ।'
सम्भवतः 'समर लभ' देखि 'साया', 'मनसुन' र पछिल्लो उपन्यास 'प्रिय सुफी'सम्म ४० हजारभन्दा माथि बिक्री हुनुको आधार यही हो। युवा प्रेमबारे मात्रै लेख्ने आरोप लागेका सुबिन पछिल्लो किताब 'प्रिय सुफी' बाट आफूले थोरै 'ट्रयाक चेन्ज' गरेको दाबी गर्छन्।
'अरूले भनेजस्तै प्रेमका कुरा मात्रै दोहोरिएको महसुस मलाई पनि भएको थियो। विषय नै बदल्यो भने दोहोरिने समस्याबाट मुक्त भइन्छ भनेर प्रिय सुफीमा मोटिभेसनल विषय रोजेँ।'
यतिबेला सुबिन आफ्नो पाँचौं उपन्यास लेखनमा व्यस्त छन्। 'रोमान्टिक' वा 'ट्र्याजिक' प्रेमकथा लेख्ने सहज मनस्थितिबाट बाहिर निस्कन चाहिरहेका सुबिन कथा खोज्नै भनेर काठमाडौंबाहिर निस्केका छन्। उनले नयाँ उपन्यासका लागि मधेसको परिवेश रोजेका छन्। दसैंअघि किताब निकाल्ने सोच थियो, कोरोनाले पर धकेलियो।
नयाँ उपन्यासको कथाबारे भने उनले धेरै कुरा खुलाउन चाहेनन्। यत्ति भने, 'पुनर्लेखन क्रममै छु। अहिले लेखेका कुरा छापिएर आउँदा अर्कै हुनसक्छ। त्यसैले धेरै कुरा नभनौं।'
हरेक वाक्य, हरेक हरफ राम्रो बनाउन मिहिनेत गर्ने उनको भनाइ छ। तर जति मिहिनेत गर्दा पनि लेखकको मान्यता पाउन नसकेको आभासले अझै पनि उनलाई बेलाबेला बिथोल्छ।
'तर ट्विटरमा हालै जुन विचार आए, त्यसले मलाई परिपक्व र गम्भीर जमातले पनि लखेकका रूपमा लिएको महसुस भइरहेको छ,' उनले भने।