सन् १९९९। निरञ्जन कुँवर भर्खर १८ वर्ष लागेका छन्। उच्च माध्यमिक शिक्षा सकेर बाँकी पढाइबारे सोच्दैछन्।
ठीक त्यहीबेला नेपालमा भर्खर जन्मेको बालकरूपी इन्टरनेट बामे सर्दै उनको काठमाडौंस्थित घरको कोठासम्म आइपुग्छ। उनलाई संसार घुमाउँछ। विभिन्न बेवसाइटसम्म पुर्याउँछ। वर्षौंदेखि उनले देख्न खोजेका मान्छे देखाउँछ। अनि यही इन्टरनेटले उनको पहिलो विदेश भ्रमण गराउँछ- भारत।
निरञ्जनको आत्मसंस्मरणात्मक किताब 'बिटविन क्वीन्स एन्ड द सिटिज' को नामजस्तै उनलाई सहरहरूले आकर्षित गर्छन्। मुम्बईले पनि।
कति धेरै मान्छे! कति फराक सडक!
यो खुलापन निरञ्जनले काठमाडौंमा महसुस गरेका थिएनन्। उनी आफ्नै पहिचानको भूमरीमा खुम्चिएका थिए- कहिलेकाहीँ सोच्थे, 'संसारमै यस्तो मान्छे म मात्र हुँ कि?'
फेरि निश्चिन्त हुन्थे, 'होइन, मजस्ता अरू पनि छन्। मैले नभेटेको मात्र हुँ।'
उनको यो अलमल त्यही इन्टरनेटले फुकाइदिन्छ, विशेषगरी गे–डट–कम वेबसाइटले। इन्टरनेटमा भेटिने जानकारी र किताब पढ्ने बानीका कारण उनले आफू कस्तो मान्छे हुँ भनेर थाहा पाए।
निरञ्जन समलिंगी हुन्।
समाजले मान्छेलाई महिला र पुरुष मात्र देख्ने त्यो समयमा उनले आफ्नो लैंगिकता बेग्लै भएको थाहा पाए। आत्मसाथ गर्न पनि उनलाई धेरै समय लागेन। तर कसैले 'गे' शब्दै नसुनेका र सुनेका एकाधले पनि नकारात्मक धारणा बनाएको समाजमा उनी खुल्न सकेनन्।
नेपाली समाजमा यस्ता कुरा कहाँ सामान्य भइसकेको थियो र?
दलित आन्दोलन, कमैया मुक्ति आन्दोलन, महिला अधिकार, नागरिक अधिकारका आन्दोलन लगायतबाट समाज सुधारक परिवर्तन भर्खरै त सुरू भइरहेको थियो।
त्यहीक्रममा, सन् २००१ मा 'ब्लु डाइमन्ड सोसाइटी' स्थापना भयो। अनि बल्ल समलिंगी, पारलिंगी र अन्य यौन अल्पसंख्यक समुदायका कुरा बाहिर आउन थाले। 'म मात्र त यस्तो रहेनछु' भन्ने उनीहरू बीचकैले पनि बल्ल थाहा पाए। आफ्नो जिज्ञासा, समस्या बुझिदिने थलो भेटाए।
आज पनि यौन अल्पसंख्यकलाई समाजले राम्ररी स्वीकार्न सकेको छैन्। अधिकार र स्वतन्त्रताको आन्दोलन एक ठाउँमा छँदैछ। उनीहरूलाई कसरी सम्बोधन गर्नुपर्छ भन्ने नै बल्ल हामी सिक्दैछौं।
अस्ति भर्खर पनि अंग्रेजी शब्द 'ट्रान्सजेन्डर' लाई नेपालीमा 'पारलैगिंक' भन्नुपर्छ है' भन्दै बुझाउन 'ट्रान्स प्राइड परेड' सम्पन्न भएको थियो।
'आफू अरूभन्दा फरक छु' भनेर बताउन खोज्दा निरञ्जनकी आमाले झैं 'मलाई यस्तो कुरा मन पर्दैन' भन्ने मान्छेहरू झन धेरै छन्। कति त समाजसँग जुध्न नसकेर निरञ्जनका बुवाले सल्लाह दिएझैं कसैसँग सम्बन्धमै नबसी जिन्दगी बिताइदिन्छन्।
तर निरञ्जन यसरी चुपचाप बस्नेमा पर्दैनन्। भलै दुई दशक लागेको होस्, उनले आफूलाई सबैका अगाडि चिनाएका छन्- बोलेर मात्र होइन, किताबै निकालेर आफू समलिंगी भएको बताएका छन्।
'बिटविन क्वीन्स एन्ड द सिटिज' मा एउटा अध्याय छ, 'ह्यांगिङ एन्ड फ्लोटिङ'। यसको नेपाली भावानुवाद 'झुन्डिनु र तैरिनु' हुन्छ। ६ अध्यायमा विभाजित संस्मरणात्मक किताब पढ्दै जाँदा तपाईंलाई लेखक निरञ्जनको जीवन त्यस्तै–त्यस्तै लाग्न सक्छ।
यो किताब १८ वर्षे निरञ्जनले आफूलाई चिनेको र अरूलाई आफू चिनाउँदासम्मका अनुभूतिहरूको सँगालो हो। विभिन्न सहरमा उनले भोगेको कथा हो।
उच्च शिक्षा र सुरक्षित भविष्यका लागि निरञ्जन अमेरिका पुग्छन्। काठमाडौंको कोठामा लुकेर इन्टरनेटमा विभिन्न वेबसाइट पछ्याउँदै जोडी खोज्दै हिँड्ने उनले न्यूयोर्क पुगेपछि खुला वातावरण पाउँछन्। खोजेको जस्तै स्वतन्त्रता भेट्छन्। त्यसैले त नेपाल फर्कनु पर्छ भन्ने कुराले उनलाई पिरोल्छ।
सोच्छन्, 'त्यहाँ मलाई बुझ्ने मान्छे नै छैनन्। अमेरिका बाहेक अर्को विकल्पै छैन।'
सानैदेखि परिवारको ध्यान र हेरचाहबाट टाढा महसुस गरेका निरञ्जनले पारिवारिक माया कस्तो हुन्छ भन्ने राम्ररी बुझेका पनि त छैनन्। बरू एक्लै बस्दा उनी बढी सुरक्षित ठान्छन्। व्यस्त जीवनशैलीमा हामीले आफ्ना केटाकेटीलाई आफूबाट कति पर धकेलिरहेका छौं नि! उनीहरूकै भविष्य सोच्दा-सोच्दै वर्तमानमा सँगै हुन सक्दैनौं। त्यसैले त केटाकेटीहरू खुलेर आफ्ना कुरा भन्न पनि धकाउँछन्।
अमेरिका उनलाई जन्मभूमिभन्दा प्यारो त्यसै भएको होइन। आफ्नाहरू नभए पनि आफ्नो पहिचानसँग रम्ने स्वतन्त्रता त्यहाँ छ।
किताबको नामझैं निरञ्जनको यात्रा अमेरिका र अन्य धेरै सहरसँग जोडिएको छ। विदेशका सहर मात्र होइन, उनी काठमाडौंका गल्लीहरूमा पनि पुर्याउँछन्। जहाँ जहाँ उनी पुग्छन्, त्यो ठाउँ, त्यहाँ भेटिने मान्छे र भोगाइले उनलाई परिपक्व बनाउँदै लैजान्छ। अझ तिनीहरू उनको एकान्तपना र नैराशयतालाई भुल्ने माध्यम बनेका छन् भन्दा फरक पर्दैन। आफ्नो डर र खालीपनलाई उनले नलुकाइ लेखेका छन्।
इस्तानाबुल पुग्दा मार्मिक तरिकाले निरञ्जनले सहरलाई आफूसँग तुलना गरेका छन्।
लेख्छन्, 'इस्तानबुल कतै पूर्वजस्तो, कतै पश्चिम जस्तो रहेछ। ठ्याक्कै, म जस्तै।'
आर्थिक, शैक्षिक र पारिवारिक हिसाबमा सम्पन्न भएकाले लेखकले धेरै नराम्रो स्थितिबाट गुज्रिनु परेको छैन। त्यसैले, समलिंगी भन्ने बित्तिकै धेरैको दिमागले सोच्ने 'क्लिसे' घटना यो संस्मरणमा भेटिँदैनन्। कुनै बेला भने आफ्नै सोचाइले उनलाई मानसिक रूपमा अस्थिर बनाएको छ। तर त्यो अस्थिरता उनको जीवन वर्ष र किताबका अध्यायसँगै साम्य हुँदै जान्छ।
'बिटविन क्वीन्स एन्ड द सिटिज' लैंगिक पहिचान खोजिरहेका व्यक्तिको दृष्टिकोणबाट लेखिएको छ। तर यी कथा तपाईं–हामी–आफ्नै पनि हो। नैराश्यता, एक्लोपन, अस्थिरता र आफ्नो अस्तित्व खोजीका किस्सा हाम्रा आफ्नै पनि त छन्। यात्रामा आउने 'स्पिड ब्रेकर' छिचोल्दै त हामीले जिन्दगीको रफ्तार खोजिरहेका हुन्छौं। त्यसैले, किताब पढ्दै जाँदा तपाईंले आफैंलाई पनि भेट्नुहुन्छ।
अमेरिकामा स्वतन्त्रताको अनुभूति संगाल्दै नेपाल फर्किँदासम्म झन्डै दुई दशकको कथा लेखकले सुनाएका छन्। ती कथामा अमेरिकामै आफ्नो भविष्य बनाउन नसक्दाको उकुसमुकुस र नेपाल फर्किएपछि गर्नुपरेको संघर्षका किस्साहरू छन्।
यो किताबका विषयगत तत्वहरू 'ललित' र 'द नेपाली म्यान' मा यिनै शीर्षकमा प्रकाशित भइसकेका थिए। पहिला 'चार्ली चौलागाईं' उपनाममा छापिएका यी अध्याय अहिले आफ्नै नाममा निरञ्जनले हिम्मतसाथ ल्याएका हुन्। त्यस्ता अनेकन चार्लीहरूलाई यो किताबले आफू जे हो, त्यही भएर बाँच्ने हिम्मत दिनेछ।
शब्दहरू जति सरल तरिकाले लेखेका छन्, उबाहाङ नेम्बाङका 'इलुस्ट्रेसन' हरूले तिनलाई चित्रमा सजिव बनाएर ज्यान भरेका छन्। अन्तिम अध्यय 'नो वन सिङ्स आवर सङ्स' मा लेखक अलि भावुक भएजस्तो लाग्छ। आफ्ना कथा सुनिदिने, बुझिदिने, लेखिदिने कोही नभएको भन्दै उनी दुःखेसो पोख्छन्।
त्यसैले होला, एउटा लयमा आफ्नो कथा भनिरहेका उनी आफूजस्तैका कथा पनि भन्न थाल्छन्। ब्लु डाइमन्ड सोसाइटीमा आबद्ध अन्य व्यक्तिहरू रुक्सना, भक्ति र सन्ध्या, आदित्य, इसान, सुदिप र अपेक्षाका कथा खोतल्न पुग्छन्। यसमार्फत ती समुदायका नसुनाइएका कथा आफ्नै लयमा गाएका त छन्, तर यसले किताबको लय बहकाएको छ। एक पात्रमा केन्द्रित पाठक धेरैमा बाँडिन्छन्। झल्याकझुलुकमै सीमित उनीहरूको कथा मात्रैको पनि छुट्टै किताब बन्न सक्थ्यो कि!
यसले 'एलजिबिटिआइक्यू' समुदायका बारेमा भने धेरै–थोरै प्रकाश पार्छ। यो समुदायका व्यक्तिहरूका लागि यो किताब महत्वपूर्ण छ नै, त्योभन्दा बढी अरू व्यक्तिलाई छ जसले उनीहरूलाई राम्ररी बुझ्न सकेका छैनन्।
कसैलाई बुझ्नु, उसको अस्तित्व बचाउनु। निरञ्जनले पनि लेखेका छन्, 'किताबहरूले जीवन बचाउन सक्छन्।'