पर्यटन उद्यमी श्याम मोहन श्रेष्ठको आत्मवृत्तान्त ‘काठमाडौं–पेरिस–काठमाडौं रेल–बस यात्रा’ सार्वजनिक भएको छ। काठमाडौंको होटल सांग्रीलामा शनिबार आयोजित कार्यक्रममा इतिहासविद् सत्यमोहन जोशी, पर्यटन उद्यमी एवम् लेखक कर्ण शाक्य, नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्कोइस जेभिअर, नेपाल राष्ट बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपाल, पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे र लेखक श्रेष्ठले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे।
कार्यक्रममा इतिहासविद् सत्यमोहन जोशीले यो पुस्तक समाज एवम् सर्वसाधारणका लागि प्रेरणादायी एवम् उपयोगी रहेको बताए। पुस्तकमा लेखक श्रेष्ठले जीवनमा आइपरेका दुःख, कठिनाइ एवम् सफलतालाई सरल किसिमले प्रस्तुत गरेको उनको भनाइ छ। लेखकले जे देखेका छन्, तिनलाई निःस्वार्थभावले पुस्तकमा समेटेको उनले बताए। उनले भने, 'पुस्तक पठनीय एवम् मननीय छ अनि संग्रहणीय पनि।'
कार्यक्रममा उद्यमी एवम् लेखक कर्ण शाक्यले पनि पुस्तकले सकारात्मक सोच अभिवृद्धि गर्न सघाउने प्रतिक्रिया दिए। श्याममोहन श्रेष्ठसँग आफ्नो मित्रता वर्षाैं पुरानो मित्रता रहेको र उनी सकारात्मक सोचले काम गर्ने व्यक्ति रहेको शाक्यले बताए। बच्चामा खेल्ने सोच, युवाअवस्थामा प्रेम गर्ने सोख र पचास वर्ष कटेपछि दर्शनको अन्तरकुन्तर पहिल्याउने सोच आफ्नो रहेको र यो श्याम मोहन श्रेष्ठमा पनि मेल खाने शाक्यले बताए। पुस्तकले पनि सकारात्मक र कर्मशील हुन सिकाउने उनको भनाइ छ।
यसैगरी नेपाल राष्ट बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले पनि नेपालको आर्थिक सामाजिक विकासमा योगदान गरेका श्याम मोहन श्रेष्ठको पुस्तकले सबैलाई प्रेरणा प्रदान गर्ने धारणा राखे।
पुस्तकले नेपाल र फ्रान्सबीचको सम्बन्धलाई पनि उजागर गर्ने उनको भनाइ छ। उनले भने, 'पुस्तकले सबैमा सकारात्मक ऊर्जा प्रदान गर्छ।'
नेपालका लागि फ्रान्सेली राजदूत जेभिअरले यो पुस्तकले नेपाल र फ्रान्सबीचको सम्बन्ध एवम् विविध पाटोलाई उजागर गरेको उल्लेख गरे। यो पुस्तक फ्रान्सेली भाषामा समेत अनुवाद हुनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा अर्का वक्ता पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले पुस्तकबारे प्रतिक्रिया दिँदै भने, श्यामजी सहृदयी, साहसी र सकारात्मक सोच राख्ने व्यक्ति हुनुहुन्छ । यो पुस्तक जीवनको यथार्थ अनुभव गरेको व्यक्तिको कथा हो। एउटा पुस्ताको अनुभव अर्काे पुस्तामा हस्तान्तरण गर्ने काम यो पुस्तकले गरेको उनले बताए।
‘साहस र आँटले डोर्याएको जिन्दगी’ उपशीर्षक रहेको पुस्तकमा श्रेष्ठले बाल्यकालदेखि जागिरे जीवन र आफ्नो जीवनमा आइपरेका कठिनाइ, संघर्ष एवम् विविध आश्चर्यजनक संयोगहरूलाई सरल किसिमले प्रस्तुत गरेका छन्। एयर फ्रान्सको नेपाल प्रमुख भएर लामो समय काम गरेका श्रेष्ठले पुस्तकमा जागिरे जीवनका आश्चर्यजनक उपलब्धि एवम् संघर्ष र मिहिनेतलाई पनि पंक्तिबद्ध गरेका छन्।
लेखकले पुस्तकमा सानै उमेरमा गरेको साहसिक काम, सामान्य जीवनको अवस्थामा जागिर सुरु गर्दाका कठिनाइ,सफलता-असफलता, प्रेम, वैवाहिक जीवनबारे जानकारी समेटेका छन्। पुस्तकमा नेपालमा पर्यटन उद्यम गर्दाका संघर्ष, धुलिखेलस्थित मिराबेल होटल स्थापनाको संघर्ष, नेपालका प्रधानमन्त्रीदेखि विशिष्ट व्यक्तिहरूसँगको सम्बन्ध आदिलाई पनि पुस्तकमा बिस्तारमा जानकारी दिएको छ।
‘फर्केर हेर्दा लाग्छ— कताकता म एक सफल व्यक्ति भएर पनि असफल व्यक्ति भएँ; एक असफल व्यक्ति भएर पनि सफल व्यक्ति भएँ,’ आफ्नो जीवनबारे श्रेष्ठ भने, ‘नेपालबाट फ्रान्स र अन्य देशहरूको मेरो भ्रमण पुरानै कुरा भए पनि कुनै बेला नेपालबाट फ्रान्स/युरोप जान स्थलमार्गबाटै विभिन्न सिमाना पार गर्दै रेल, बस आदिबाट पुग्न सकिन्थ्यो भन्ने तथ्य बताउनु पनि यो पुस्तकको उद्देश्य हो।’
असनको त्यौड टोल नजिकै बितेको बाल्यकालदेखि युवावस्थामा फ्रान्सकोे पेरिसदेखि अमेरिकालगायत मुलुकको भ्रमण गर्दा आफूले भोगेका विभिन्न पलहरूलाई पनि लेखक श्रेष्ठले पुस्तकमा समेट्ने प्रयास गरेका छन्।
‘काठमाडौंमा मैले आफ्नै जीवन बिताएँ, फ्रान्स बस्दा फ्रान्सेलीजस्तै जीवन बिताएँ। अन्त्यमा फ्रान्स सरकारबाट अति उच्चस्तरीय तक्मा पाउँछु भन्ने परिकल्पना गर्नु पटमूर्ख नै सावित हुनेवाला थियो। तर समय र वातावरणसँग घुलमिल गरी सङ्घर्ष गर्दै जाँदा भगवान्ले जुटाउनुहुने रहेछ, जुटाइदिनुभयो । मलाई लाग्छ, यदाकदा मेरो जिद्दीवाल र कहिल्यै नथाक्ने बानीको पनि यो सफलतामा भूमिका हुनुपर्छ।’