कोरोना आतंकले मन बोझिल र थिलथिलो छ। सर्वत्र संत्रास, सर्वत्र महाव्याधीको चर्चा। बन्दाबन्दी र सामाजिक गतिहिनता। मानौ सबै कुरा कतै खाडलमा ठप्प अडिएको छ।
यस्तो कहरमा पनि यो वर्ष केही प्रकाशक राम्रा पुस्तक लिएर नेपाली बजारमा देखापरे। केही राम्रा अनुवाद, गैरआख्यान र आख्यान प्रकाशित भए जसले सृजनशील समाज, लेखक र पाठकलाई एकहदसम्म जीवनप्रति आश्वास्त बनायो।
यो सुखद अवस्था हो। यही श्रृंखलामा किताब पब्लिसर्सले लेखक केशव दाहालको ‘मोक्षभूमि’ उपन्यास प्रकाशन गर्यो जसको यहाँ चर्चा गरिएको छ।
केशव दाहाल विगत एक दशकदेखि सामाजिक–राजनीतिक अभियान र लेखनमा सक्रिय नाम हो। मूलतः परम्परागत राजनीतिमाथि आलोचना गर्दै आएका दाहाल आफैं भने वैकल्पिक राजनीतिको वकालत र अभियानमा संलग्न छन्। राजनीतिक विश्लेषण र अखबारी लेखनमा उनको संलग्नता परिचित छ।
यसअघि नै दाहालको पहिलो पुस्तक 'नेपाली राजनीतिको पुनर्गठन' (गैरआख्यान) प्रकाशित भइसकेको थियो। मोक्षभूमि उनको दोश्रो प्रकाशित पुस्तक र पहिलो उपन्यास हो।
एक राजनीतिक अभियन्ताको काव्यिक चेतना र कथा बनौटको उम्दा प्रयत्नले मोक्षभूमिलाई विशेष बनाएको छ। हाम्रै सरहदभित्रको एउटा समयलाई लिएर दाहालले मानव सर्वोच्चताको जुन बहस उपन्यासमार्फत सिर्जना गर्न खोजेका छन्, त्यसको औपन्यासिक मात्र नभई राजनीतिक/सामाजिक महत्व पनि छ।
यो अर्थमा नेपाली पाठकबीच मोक्षभूमि एक उपन्यास मात्र नभई मानव सभ्यताको एक काव्यिक दस्तावेज पनि हो।
थोरै किताबको विषय/सन्दर्भमाथि कुरा गरौं।
उपन्यास १२९०, भदौ महिना तेश्रो शुक्रबार अर्थात मोक्षनगरको नगरपिता वा संस्थापक जननायक सत्यदेवको मृत्युकर्म सकिएपछिबाट सुरू हुन्छ। सत्यदेव स्वतन्त्र दासहरूको नायक हुन्छन् जसले मोक्षनगर नामक सुन्दर नगर स्थापना गर्न दस हजार दासको नेतृत्व गरेका थिए।
सत्यदेवको मृत्युपछि गद्दिसिन हुन्छन् भार्गदेव। भार्गदेवले आफ्नो पहिलो राजसभा बैठकमा दास मुक्ति र स्वतन्त्रताको इतिहास लेख्ने उद्घोष गर्छन्। इतिहास लेख्ने जिम्मेवारी पाउँछन्, दास समाजको उम्दा कवि श्वरदेवप्रसादले।
मोक्षभूमि मुख्यतः त्यही श्वरदेवप्रसादले लेखेको दासहरूको संघर्ष, मुक्ति र सपनाको कथा हो। इतिहासले बिर्सेका मान्छेको अस्तित्वको कथा। यद्यपी लेखकलाई श्वरदेवप्रसादले लेखेको त्यो कथा सुनाउँछन् उनका पिता डिल्लीराजले। र, आफ्ना पिताबाट सुनेको दासमुक्तिको त्यही कथा नै लेखकले मोक्षभूमिमा बुनेका छन्।
यसरी हेर्दा मोक्षभूमिको कथा तीन पात्रले पाठकलाई सुनाउँछन्– पहिलो श्वरदेवप्रसादले, दोश्रो लेखकका पिताले र तेश्रो लेखक स्वयंले।
तीनजना कथा वाचकको समय फरक फरक छ। श्वरदेवप्रसादको समय हो १२९०, अर्थात झण्डै ८ सय वर्षअगाडि। लेखकका पिताले २०३० को दशकको प्रतिनिधित्व गर्छन् भने लेखकले आजको। तीन फरक पुस्ता र फरक समयलाई एउटै कथामा जोडेर लेखकले खस साम्राज्यको मध्ययुगीन राजधानी सिन्जाबाट जसरी कथाको सुरूवात गरेका छन्, त्यो शैलीगत ढंगले निकै अलग लाग्छ।
उपन्यासले मुख्यतः १२८०–१२९० सालबीचको एक दशकको सिंजा, आर्यखस समाज, दास मुक्ति र मोक्षनगर निर्माणको कथा भन्छ। समयको गणना गर्दा कथाको एकदशक धेरै नहोला।
यद्यपी मोक्षभूमि ठूलो क्यानभास, धेरै पात्र, अनेक उपकथासहित लेखिएको सम्राट, दरबार, साधक र मुक्त दासको सम्बन्धको कथा हो। यसलाई लेखकले युद्ध, प्रेम, यौन, धर्म, मोक्ष र मुक्तिका अनेक कामनाले सिँगारेका छन्।
जम्मा ३७२ पानाको उपन्यास पढ्दा कहीँ कतै झिँझो लाग्दैन। घटनाको विकास सुन्दर र अर्थपूर्ण ढंगले भएको छ। सरल, संक्षिप्त र लालित्यपूर्ण वाक्यले उपन्यासलाई चित्ताकर्षक बनाएको छ। अझ एकल शब्दका वाक्यको प्रयोगको जति प्रशंसा गरे पनि कमै हुन्छ। सही उद्धरण, प्रभावकारी विम्व र काव्यात्मक वाक्य विन्यासले उपन्यासलाई अति नै रोचक, सुन्दर र स्मरणीय बनाएको छ।
कथामा एक महत्वपूर्ण र अग्रणी पात्र हुन्छन्– खस सम्राट क्राचल्लदेव। उनी अत्यन्तै हठी, पराक्रमी र चक्रवर्ती सम्राट हुन्। उनका ५ पत्नी छन्। कान्छी पत्नीको नाम हुन्छ अप्सरा। सम्राट अप्सराको प्रेम र यौन कामनाले वशीभूत हुन्छन्। अप्सरालाई खुसी पार्न र बैभवले विभूषित गर्न उनले कुमाउ युद्ध गर्छन्।
जसै कुमाउ युद्धमा विजय प्राप्तग री सम्राट जितेको धन, सम्पत्ति, दासदासी सहित हर्षोल्लास गर्दै सिंजा फर्किन्छन्, ती सबै रानीलाई उपहार दिन खोज्छन्। विशेष कारणवस कान्छी रानीले उनको प्रेम उपहार अस्वीकार गर्छिन्। उल्टो उनले युद्धमा भएको पापको प्रायश्चित गर्न सम्राटसँग माग गर्छिन्।
बस, कान्छी रानीको त्यही प्रायश्चितको मनोकामना पूरा गर्न सम्राटले खस साम्राज्यका दस हजार दास मुक्त गरिन्छन्। मोक्षभूमि तिनै मुक्त दाषको कथा हो। कथामा राजा, महाराजा, रानी, तपश्वी, ऋषिमुनि, साधुसन्त, भिक्षु आदि धेरैखाले चरित्र छन्। विशाल भावभूमि, धेरै चरित्र, चरित्रको विविधता र गतिशीलताले उपन्यासलाई चाखलाग्दो बनाएको छ।
अझ महत्वपुर्ण कुरा दासहरूको मुक्तिसँगै ‘आर्यखस जातीय श्रेष्ठता कि मानव श्रेष्ठता’ भन्ने महत्वपूर्ण मानवीय मुद्दामा कथामा सानदार बहस पढ्न पाइन्छ। जसले यो कृतिलाई गर्विलो मात्र होइन, मानवीय पनि बनाएको छ।
उपन्यास– ‘कथाको अन्त्य हुनु जीवनको अन्त्य हुनु होइन’ भन्ने अन्तिम बाक्यसँगै समाप्त हुन्छ। जीवन सम्बन्धी यो निकै गम्भीर सन्दर्भ हो। ठीक यस्तै मोक्षभूमिका थुप्रै पात्रको जीवन पनि कथासँगै अन्त्य हुँदैन। बरू यसका अनेक पात्ररु आज पनि पाठकका अगाडि उपस्थित भएर मानव श्रेष्ठताको आह्वान गरे झैं लाग्छ।
कथा सकिँदा पनि पात्रको महत्व यथावत रहनु उपन्यासको शसक्त पक्ष हो। जसले उपन्यासलाई आजको समयमा पढ्नैपर्ने एक महत्वपूर्ण कृतिका रूपमा स्थापित गरिदिएको छ।
उपन्यासको कथा कुनै अद्भूत र अनौठो होइन। न त यो प्रयोगधर्मी उपन्यास नै हो। यो ऐतिहासिक लयमा लेखिएको एक साधारण तर उम्दा कृति हो। लेखकले मोक्षभूमिलाई ऐतिहासिक उपन्यास होइन भनेपछि यसको पात्र, समय र भूगोलको आधिकारिकतामाथि टाउको दुखाउन आवश्यक छैन।
यद्यपी पढ्दा उपन्यास ऐतिहासक लाग्छ। कथामा स्थान, पात्र र समयको प्रयोग सत्यको धेरै नजिक देखिन्छ। त्यसैले होला पाठकले कथा पत्याउँछन्। अतः काल्पनिक हुँदाहुँदै पनि सत्यजस्तो लाग्ने कथानकता उपन्यासको अर्को विशेषता हो। कथामाथि जीवन भर्न लेखकले जुन मिहेनत गरेका छन् त्यसले उपन्यासलाई चम्किलो बनाएको छ।
यद्यपी उपन्यासमा व्याख्या धेरै छ र संवाद कम। पढ्दा कथामा लेखक हावी भए झैं लाग्छ। त्यसैले नै लेखकभन्दा पात्र कमजोर देखिन्छन्। यो अर्थमा पात्रहरूको चरित्रलाई चाँहिदो आकार र लय दिन नसक्नु उपन्यासको खड्किने पक्ष हो।
कथाको मुख्य पात्र सिंजा सम्राट क्राचल्लदेव हुन्। क्राचल्लदेव सुरूमा निकै शक्तिशाली र जीवन्त देखिए पनि दासमोचनपछि क्रमशः शिथिल हुँदै गएको भान हुन्छ। दासनायक सत्यदेवको चरित्र निर्माणमा पनि उपन्यासकारले कन्जुस्याइँ गरेजस्तो लाग्छ। त्यस्तै अन्य पात्र कृष्णदेव, भार्गदेव, भयमल्ल आदि छन्।
निश्छल प्रेमको प्रतिनिधित्व गर्ने सशक्तपात्र कृष्णदेव, जो राधासँग करिब करिब ‘प्लाटोनिक’ प्रेममा हुन्छन्, लाई ‘ने’ उपत्यकाको कुटनैतिक यात्रामा जाँदा यौन विचलनमा पारेर उपन्यासकारले ठूलो अन्याय गरेका छन्। बरु ब्राह्मण कन्या राधा र मुक्तदास कृष्णदेवको विहे गराइदिएको भए सामाजिक रुपान्तरणको अभियानमा क्रान्तिकारी नजिर स्थापना हुने थियो।
प्रतिधारमा उभिएका खलपात्रको नेतृत्व राजगुरु आर्यदेवले गर्छन्। आफ्नो सिद्धान्त र अडानमा चट्टानसरह उभिएका आर्यदेव एकदमै शक्तिशाली खलपात्र हुन्। उनको चरित्रलाई भने लेखकले निकै शसक्त बनाएका छन्। जसको माध्यमबाट उपन्यासकारले कथामा तीव्रतम द्वन्द्व निर्माण गर्छन्।
त्यस्तै नारी चरित्रमा आफ्नो शालीन व्यक्तित्व र सन्तुलित विचारद्वारा मुक्तदाशी ताम्राले धेरै पाठकको मन जित्छे। तर उसको भूमिका साधारण छ। रानी अप्सरा र कृष्णदेवकी प्रेमिका ब्राह्मण कन्या राधाको माध्यमबाट उपन्यासकारले प्रेमको गहिराई तथा महत्व स्थापित गर्ने प्रयास गरेका छन्। तर उनीहरूको भूमिका प्रेमीकामा मात्र सीमित हुनु उचित लाग्दैन।
अर्को रोचक तर रहस्मयी नारी पात्र कात्यायनीले धेरै पाठकलाई जबर्जस्त आकर्षित गर्छिन्, ‘भूतकी स्वास्नी, जो मुर्कुट्टासँग सहवास गर्न रुचाउँछे र पुरुषको वीर्य पिउँछे' भन्ने बाक्यवाट कात्यायनीको चरित्र चित्रण गरिएको छ। यो निकै बिम्वात्मक लाग्छ तर कात्यायनी कथाकी साधारण पात्र मात्र हो।
कथामा प्रगतिशील चेत बोकेका ब्रह्मानन्द, सुधारवादीहरू आनन्द देव, यज्ञवल्लभ तथा अभयनाथ जस्ता ध्यानी गुरुका माध्यमबाट उपन्यासकारले प्रकृति, परमात्मा, धर्म, अस्तित्व, स्वतन्त्रता र मोक्ष जस्ता विषयमा विशद तर अर्थपूर्ण विमर्श चलाएका छन्। दास नायक कृष्णदेवको माध्यमबाट यौनको अर्थ, गहनता र आनन्दबारे लामै चर्चा गरिएको छ। उपन्यासलाई आकर्षक बनाउन लेखकले यौन प्रसंगलाई बहुत चलाखीसाथ तर अश्लीलताबोध नहुने गरी कथामा प्रविष्ट गराएका छन्।
मोक्षभूमिमा धेरै पाठकले माया र सम्मान गर्ने पात्र कुशीनगरका राजा कुशध्वज हुन्। उनले उदारतापूर्वक २५ थुमसहितको सुन्दर भूभाग नदिएको भए सत्यदेवहरूले सम्भवतः वयूल जस्तै, स्वर्गीय, पवित्र र रहस्यमय मोक्षनगरको निर्माण गर्नसक्ने थिएनन्। कुशध्वज यति महत्वपूर्ण पात्र हुँदाहुदै पनि उनको चरित्रलाई सशक्त बनाउन लेखकले मिहिनत गरेको देखिँदैन।
त्यस्तै सिंजा छोड्ने सवालमा अल्पमतमा परेको दास नेता गरुडदेव पनि निकै जीवन्त पात्र हो। तर दासमोचनपछि उनीहरूको समुचित व्यवस्थापन हुन नसक्दा गरुडदेव डाकाको रुपमा मारिन बाध्य हुन्छन्। निश्चय नै यी सबै पात्रले उपन्यासलाई विविधतापूर्ण बनाएका छन्। यद्यपी पात्रलाई अझ शसक्त बनाउन सक्ने प्रसस्त ठाँउ हुँदाहुँदै पनि त्यसमा भने लेखकको ध्यान पुगेको देखिँदैन।
वास्तविकसँगै काल्पनिक भूगोलको मिसावटले उपन्यास कमजोर बनाएको छ। त्यस्तै एकैचोटि धेरै कुरा पस्कने रहरले लेखकलाई नराम्रोसँग गाँजेजस्तो लाग्छ। राम्रो प्रकाशन गृहले छापेको किताब भए पनि मुद्रा–राक्षसबाट पुस्तक मुक्त छैन। भाषा सम्पादन कमजोर छ। सम्पादनमा पर्याप्त ध्यान पुगेको भए उपन्यासले अझ सुन्दर, सुगठित र स्वस्थ्य काया पाउने थियो।
कला र रंग संयोजनको दृष्टिकोणले सचिन यगोल श्रेष्ठको षट्कोण आकारको आवरण चित्र निकै आकर्षक छ। तर यसले उपन्यासको सारवस्तु दास विमोचनको प्रतिनिधित्व गर्दैन।
अन्त्यमा, यति भन्न सकिन्छ केशव दाहालले नेपालको साहित्यिक आकाशमा गजबको उपन्यास दिएका छन्। किताब पब्लिसर्सले राम्रो उपन्यास प्रकाशन गरेको छ। विशेषगरी ‘क्लासिकल फिक्सन’मा रमाउनेका लागि मोक्षभूमि एक उम्दा उपहार हो। कथा, शैली र कलाचेतनाले पनि यो पुस्तक संग्रहयोग्य छ। मानव सभ्यता र मानव गरिमा निर्माणको यो एक सुन्दर गाथा हो। महागाथा जसले नेपाली साहित्यमा गजवको स्थान बनाउनेमा कुनै शंका छैन।