भोला थापाद्वारा लिखित ‘इन्जिनियर अफ इन्जिनियरिङ एजुकेसन’ पुस्तक बजारमा आएको छ। यो पुस्तक काठमाडौं विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्रा.डा. थापाले नर्वेली प्राध्यापक डा. इन्गे योहान्सनलाई मुख्य पात्र बनाएर लेखेका हुन्।
पुस्तकमा नेपालमा इन्जिनियरिङ क्षेत्रको विकास, विस्तार तथा यसका विविध आयाम समेटिएका छन्। अंग्रेजी भाषाामा प्रकाशित यो पुस्तकमा काठमाडौं विश्वविद्यालयको इन्जिनियरिङ कार्यक्रमको प्रारम्भदेखि हालसम्मको विकासक्रमको चर्चा र विश्लेषण भेटिन्छ।
काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति डा.सुरेशराज शर्माले यो ऐतिहासिक पुस्तक भएको बताए। उनले भने, ‘आफ्नो योग्यताको सही प्रयोग र आर्थिक लाभ पनि विकासका फाँटहरुतिरै हुन्छ भन्ने अवधारणा विश्वका धेरै देशहरुमा पाइन्छ। नेपालमा पनि त्यस्तै, अवधारणा रहेको अवस्था थियो। सेवा गर्दा शिक्षण पेसामा आफ्नै दोस्रो तहको विकल्प मात्र हुन्थ्यो।’
उनले पुस्तकमा नर्वेमा आफ्नो विधामा इन्जिनियरिङ शिक्षालाई शिखरसम्म पु¥याएका प्रा. इन्गे योहान्सनलाई नेपाल ल्याई काठमाडौं विश्वविद्यालयलाई सघाएको र मार्गदर्शन गरेको वृत्तान्त र योहान्सनको योगदानबारे प्रकाश पारिएको बताए।
डा. सीताराम अधिकारीले नेपालको इन्जिनियरिङ शिक्षाको संक्षिप्त ऐतिहासिक झलक यस पुस्तकमा पढ्न पाइने बताए। ‘काठमाडौं विश्वविद्यालयका बारेमा अनुसन्धान गर्न चाहनेहरुका लागि यो महत्वपूर्ण दस्तावेज बनेको छ,’ उनले भने।
काठमाडौं विश्वविद्यालयका पूर्वरजिस्टार प्रा.डा.भद्रमान तुलाधरले पुस्तकमा काठमाडौं विश्वविद्यालयमा इन्जिनियरिङ शिक्षाको सुरुवात, विकास, विस्तार, सुदृढीकरणको इतिहास र यसमा अहम् भूमिका खेलेका संस्थापकहरु, शिक्षकहरु र इन्जिनियरहरुको बारेमा पुस्तकमा चर्चा गरिएको बताए।
पुस्तकमा डा.थापाले नेपालको इन्जिनियरिङ क्षेत्रको विकासको सन्दर्भलाई सान्दर्भिक ढंगले उठान गरेको सिन्टेफ इनर्जीका भाइस प्रेसिडेन्ट पिटर स्टोइयाले उल्लेख गरेका छन्। लेखक थापाले आफ्नो अनुभव र अनुसन्धानलाई पुस्तकमा समेट्ने प्रयास गरेको बताए।
‘विश्वविद्यालयमा लामो समय विभिन्न जिम्मेवारीमा रहेँ। व्यस्ततामा ठीक बेठीक के गरेँ, हेर्ने फुर्सद पनि भएन। विशेषतः इन्जिनियरिङ कार्यक्रममका स्वप्नदर्शीहरुले कस्तो सपना देख्नुभएको थियो? त्यसको नक्सा कसले कस्तो कोर्नुभयो? त्यसलाई मूर्त रुप दिने वा निर्माण गर्न को–को आउनुभयो र जानुभयो?’ उनले भने, ‘साँच्चै काठमाडौं विश्वविद्यालयको ‘इन्जिनियरिङका शिक्षाका इन्जिनियर’ को हुनुहुन्छ होला? उहाँको योगदान भविष्यको पुस्ताले सम्झँला कि नसम्झँला? विश्वविद्यालय विकासका इतिहासक्रम र दस्तावेज भविष्यका पुस्ताले हेर्न पाउलान् कि नपाउलान्?’
उनले यस्तै प्रश्नहरुको जवाफ पुस्तक लेखेको बताए। विश्व बैंक, एसियाली विकास बैंक र पूरै सरकार लाग्दा पनि सुरु नभएको इन्जिनियरिङको शैक्षिक कार्यक्रम काठमाडौं विश्वविद्यालयमा सुरु हुँदा र सञ्चालन हुँदाको इतिहास महत्वपूर्ण हुनसक्छ भनेर यो पुस्तक तयार पारेको उनले बताए।
पुस्तकले इन्जिनियरिङ शिक्षालाई बुझ्न र नेपालमा यसको महत्व उजागर गर्न सफल हुने आशा राखेको प्रकाशक समा थापाले बताइन्।
लेखक थापा काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका प्रोफेसर हुन्। लेक्चररबाट अध्यापन सुरु गरेका थापाले असिस्टेन्ट प्रोफेसर र असोसिएट प्रोफेसर हुँदै प्राज्ञिक क्षेत्रमा लामो यात्रा तय गरेका छन्। उनी विभागीय प्रमुख, डिन, रजिस्ट्रार र कार्यवाहक उपकुलपतिको जिम्मेवारीमा रहेर प्रशासनिक योगदानसमेत दिँदै आएका छन्। उनले नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट सन् २००४ मा मेकानिकल इन्जिनियरिङ विषयमा विधावारिधि गरेका हुन्।
थापा ‘इन्जिनियरिङ शिक्षाका इन्जिनियर’ पुस्तकका लेखकसमेत हुन्। नेपालको स्थानीय समुदायका लागि व्यावसायिक अनुसन्धान गरेर ज्ञानको विकास र विस्तार गर्नमा उनको अग्रणी भूमिका छ।