पछिल्ला दशकमा चिन्ताको विषय इतिहासप्रतिको मोह हट्यो, साहित्यप्रतिको रुचि घट्यो अनि कृति समीक्षामा उदासीनता बढ्यो भन्ने नै छ। अझ बढी आलोच्य विषय त पुरस्कार नाता, कृपा र पारस्परिक सट्टापट्टाको विषय बन्यो भन्ने गुनासाहरु पनि सुनिन्छन्।
यही पृष्ठभूमिमा चन्द्रप्रकाश बानियाँको ‘मदन पुरस्कार’ (२०७६) प्राप्त ‘महारानी’ उपन्यासको विहङ्गावलोकन गर्ने मनसुबा भयो। यो उपन्यास पढ्न इतिहास, भूगोल, पुराण, भाषा, साहित्य, समाज, संस्कृति र प्रकृतिको आफूमा रुचि र ज्ञान त हुनै पर्छ, नभए पनि गौर गरी पढ्दा यो उपन्यासमा अवश्य पाइन्छ। आफूले पाएको आस्वाद्य र ज्ञानवर्धक खुराकलाई यो आलेखमा समीक्षित विषय बनाइएको छ।
हामी नेपालको इतिहासलाई प्राचीन, मध्यकालीन र आधुनिक भनी सुगारटाइ गर्दै त आएकै छौँ। यसमा पनि मानदेवको समय पूर्वलाई प्राग्ऐतिहासिक र त्यसपछिको समयलाई ऐतिहासिक भनी भट्याउँछौं।
इतिहासमा प्रमाणित गर्न नसकिने विषयलाई हामी पौराणिक भनी त्यसको व्याख्या गर्ने अधिकार पण्डितलाई सुम्पिन्छौं। यो परम्परा हिजो पनि थियो र आज पनि छ।
‘महारानी’ उपन्यासमा सामाजिक, ऐतिहासिक, प्राग्ऐतिहासिक र पौराणिक विषयलाई समेत उपन्यास रचनाको आधार बनाइएको छ। यसमा तत्कालीन समाजमा घटित घटना र खस, आर्य, अनार्य समुदायका गतिविधिलाई प्रस्तुत गर्ने जमर्को गरिएको छ। यी गहन विषय मजस्ता दाँतेओखर खाने बानी परेका पाठकलाई हाडेओखर बन्न पनि सक्छन्।
इतिहासकै कुरा गर्दा योगी नरहरिनाथले ‘इतिहास प्रकाश’ (२०१२) मा उल्लेख गरे अनुसार कालु थापा (सम्वत् १२४६) का चार भाइ छोराहरुमा जेठा पुन्याकरले पुला, माइला तारापतिले ताकम, साहिँला विरुले रुकुम र कान्छा धर्मराजले ज्यामरुकमा राज्य चलाए भनिएको छ।
मोहनबहादुर मल्लको ‘पर्वतको इतिहास’ (२०२८) मा मगरहरुको सहयोग लिइ सम्बत १५४५ तिर डिम्बले ताकममा हमला त गरे तर थापाको शक्ति देखेर ‘रजाइँ हाम्रो, कजाइँ तिम्रो’ भनी सम्झौता गरेका थिए भनिएको छ।
देवीप्रसाद शर्माको ‘आधुनिक नेपालको इतिहास’ (२०५१) मा डिम्बबमले खडा गरेको पर्वतराज्यलाई प्रतापनारायण मल्लले अंशबण्डा गरी जेठा छोरा जितारी मल्ललाई गलकोट, माइला राज मल्ललाई पर्वत र कान्छा कल्याण मल्ललाई कास्कीको साराङकोट राज्यमा अंशबण्डा गरे भनिएको छ।
‘महारानी’ का लेखक चन्द्रप्रकाश बानियाँले पनि ‘ऐतिहासिक पर्वतराज्य’ (२०६२) मा ताकम, पुला र ज्यामरुक इलाकामा तीन सय वर्ष अविच्छिन्न रुपमा कालु थापाकै सन्तानले चार हजार पर्वत नामको राज्य चलाएका थिए, उनैबाट खोसेर डिम्ब महाराजले बीस हजार पर्वतराज्य कायम गरेका हुन् भनेका छन्। यिनै ऐतिहासिक घटनाका जगमा टेकेर ‘महारानी’ उपन्यास खडा भएको छ।
जन्मस्थान कुमाउ र कर्मस्थल पर्वत मलेबमको दरबार उल्लेख गर्ने पण्डित प्रेमनिधि पन्तले ‘प्रायश्चित्त प्रदीप’ (शाके १६४५), ‘मल्लादर्श’ (शाके १६४८) लगायत दुई दर्जनभन्दा बढी ग्रथहरुमा तत्कालीन मल्लहरुको वंशावली, इतिहास, साहित्य, ज्योतिष र सामाजिक रीतिथितिका विषयमा चर्चा गरेका छन्।
त्यसैगरी टेकबहादुर श्रेष्ठ, कर्णबहादुर बानियाँ लगायतका विद्वानहरुले पनि ऐतिहासिक पर्वतराज्यका विषयमा कलम चलाएका छन्। यिनै विविध स्रोतका ऐतिहासिक घटनाहरु र लोकोक्तिलाई समेत विषयवस्तु बनाएर यो उपन्यास तयार भएको छ।
इतिहासमा रुकुमतिरैबाट आएका समालवंशी आनन्दबम मल्लले पहिलो पटक (वि.सं. १४९३) सर्पकोट र अर्नाकोटसहितको निसी नामको राज्य स्थापना गर्न सफल भए।
उनका छोरा चन्द्रबम लगायत दुई पुस्ताले निसीबाट राज्य सञ्चालन गरे भने नाति डिम्बबमदेखि नागबम, नारायणबम, राजबम, शिवबम, नागबम (दोस्रो), नारायण (दोस्रो), शाहबम, घनश्याम, मलेबम, प्रियव्रत (शाहबम) र कीर्तिबम (१८४३, आश्विन १४) सम्मका १४ पुस्ताले निसीदेखि पर्वतसम्म शासन सञ्चालन गरे भन्ने भनाइ इतिहासका ग्रन्थमा लेखिएको छ।
मल्लहरुकै बाहुबलले निसीदेखि गलकोट, ताकम, ज्यामरुक, पुला हुँदै कास्कीसम्म राज्य विस्तार गरी चार हजार पर्वतलाई बीस हजारसम्म त पुर्याए तर राजा नारायण मल्लले आफ्नो शासनकालमा जेठा जितारीलाई गलकोट (दुई हजार) र कान्छा कल्याणलाई कास्की राज्य (दुई हजार) अंश छुट्याएर बाँकी सोह्र हजार पर्वतराज्य माइला छोरा राज मल्ललाई दिएका थिए भनिन्छ।
उपन्यासमा इतिहासको प्रतिनिधित्व र नायकको भूमिका निर्वाह गर्ने मुख्य पात्रहरु राजा घनश्याम र उनका छोरा युवराज मलेबम हुन्। पर्वतराज्यको इतिहासमा यी दुई पुस्ताको राज्य सञ्चालन अवधि वि.सं. १७४३ देखि १७८९ सम्मलाई मानिन्छ। यही अवधिको घटना, स्थान र पात्रलाई उपन्यासको मूल आधार बनाइएको छ।
भद्रीबम, प्रेमनिधि पन्त, कालु थापा, मणिरञ्जन बानियाँ, रन्के मगर, जैचन छन्त्याल, भृगु भट्ट, कमल जैसी, डिल्ली भुजेल, पृथ्वीपति आदि पात्रहरु लोकपरम्परामा जीवित रहेका नाम हुन्।
विश्वप्रभा, महलवसन्ता, गुलवदन, जयन्ती, सुमन्त, मकरध्वज, जङ्गे सुनार, बुधे पुर्जा, गौमती सुनार, कीर्तिमान घर्ती, सन्तु कुमाल, ढल्के पुन, मने आरने, लोहासुर, रम्भा, चपली, वैजन्ती, जमदग्नी, राकसे गुरुङ, नलिनी, सुनयान, जयन्त छन्त्याल, सकतबम, धर्मजयबम आदि पात्रहरु काल्पनिक वा यथार्थ कुन स्रोतका हुन् भन्ने विषयमा लेखकसँगै विमर्श गर्नुपर्ने हुन्छ। यीमध्ये कतिपय पात्रहरु र उनीहरुको समयावधि भने अझै सन्दिग्ध नै देखिन्छ।
उपन्यास ऐतिहासिक पृष्ठभूमिमा लेखिए पनि कथानक र पात्रहरु सबै इतिहासबाट मात्र नभएर लोकपरम्परा र पौराणिक कथाबाट पनि आएका छन्। युधिष्ठिर, भीम, अर्जुन, नहकुल, सहदेव, दुर्योघन, भीष्म, कृष्ण, धृतराष्ट्र, पाण्डु, विदुर, यक्ष, कुन्ती, माद्री, चाणक्य, कात्यायनी, बर्बरिक आदि अनेक पौराणिक पात्रहरु आद्यबिम्बका रुपमा आएका छन्। पौराणिक उपकथनले सामाजिक कथालाई पृष्ठपोषण गरीरहेको छ।
राजा घनश्याम र युवराज मलेबमलाई यो उपन्यासमा नायक र देउपुरे राजकुमारी विश्वप्रभालाई महानायिका स्थापित गर्ने प्रयास भएको छ। घनश्यामकी जेठी महारानी लमजुङे राजकुमारी गुलवदन र कान्छी महारानी जुम्ली राजकुमारी जयन्ती हुन्। कान्छी महारानी जयन्ती जुम्लातिरै बसिन् र उनको मृत्यु पनि उतै भयो।
आमाको मृत्युपछि राजकुमार भद्री आफू गर्भले जेठो भएको हुँदा पर्वतराज्यको उत्तराधिकारीको हकदावी गर्दै आएका छन्। यता पर्वतराज्यमा भने मलेबम जेठी महारानीका जन्मले जेठा राजकुमार हुन्। दुवै राजकुमारबीच कसलाई युवराज घोषणा गर्ने भन्ने विषयमा निक्कै बहस हुन्छ।
कमल जैसी, डिल्ली भुजेल लगायत सिङ्गै जुम्लाराज्य भद्रीको पक्षमा छ भने पर्वतराज्यका भाइभारदार र काजीहरु युवराज मलेबमकै पक्षमा छन्। महाराज, महारानी र युवराज (मलेबम) भने राज्यको भाइअंश लगाएर भए पनि भद्रीको चित्त बुझाउन तयार छन्। उता भद्री भने जुम्लाको उस्क्याहटमा लागेर एकपछि अर्को माग थप्दै जान्छन्।
देउपुरे राजकुमारी विश्वप्रभा र खाँचीकी राजकुमारी महलवसन्ता दुवै युवराज मलेबमसँग विवाह गर्नका लागि दरबारमा भित्र्याइएका राजकुमारी हुन्। मलेबमको विशेष प्रेमसम्बन्ध विश्वप्रभासँग नै छ। तर भद्रीले सर्तमाथि सर्त थप्दै जाँदा पाएसम्म युवराज, नभए राज्यको भाइअंश र त्यो पनि नभए विश्वप्रभासँग आफैले विवाह गर्ने प्रस्ताव राख्छन्।
विश्वप्रभाले भद्रीको षडयन्त्र विफल पार्न पर्वतराज्यकै खातिर आफ्ना प्राणभन्दा प्यारा राजकुमार (मलेबम) लाई छोडेर भद्रीसँग विवाह गर्न सहमत हुन्छिन्। तर भद्रीले विश्वप्रभासँग विवाह गरेर पनि जुम्ला र गलकोटको उस्क्याहटमा लागेर पर्वतराज्यमाथि आक्रमण गर्ने पूरा योजना बनाउँछन्। यो सबै योजना उनै विश्वप्रभाले विफल बनाउँछिन्।
राजा घनश्याम छिमेकी राज्यहरुको दाउपेच, भारदारहरुको असन्तुष्टी र पारिवारिक कचिंगलबाट मुक्ति पाउन महारानीसहित काशीबास लागेका छन्।
कुनै तवरले पनि सम्झाइ बुझाइ गर्न नसकिएपछि राज्यद्रोही भद्रीसँगै डिल्ली भुजेल र कमल जैशीको म्याग्दी र काली नदीको दोभानमा हत्या गरिन्छ। सोही स्थानमा भ्रातृहत्याको प्रायश्चित्त स्वरुप शिवालय मन्दिरको स्थापन हुन्छ।
सबै गुमाएर भए पनि विश्वप्रभाले पर्वतराज्य टुक्रयाउन र जुम्लाको आक्रमणबाट जोगाउन सघाएको उपलक्ष्यमा उनलाई कुरिलाखर्क अवस्थित राजदरबारमा ‘राजमाता’ को सम्मान दिएर राखिन्छ। पर्वतराज्यका निम्ति यौवन, जवान, पति, प्रेमी, परिवार, महारानी, सिन्दुर सबै त्याग गरेकी विश्वप्रभा एकदिन त्यहाँबाट अलप भइन्।
उनका विषयमा अहिले पनि अनेक किंवदन्ती र जनजिज्ञासाहरु अनुत्तरित नै छन्। तर उपन्यासमा भने उनी सन्यासिनी बनेर प्रेमी मलेबमकै नाम जप्दै गान्धारीमाता र योगेश्वरबाबासँग वृन्दावनतर्फ लागेकी छन्। यिनै ‘राजमाता’ विश्वप्रभाको स्मरणमा ‘महारानी’ थानको महिमा बढेको हो भन्ने जनविश्वास अद्यापि छ।
यही किंवदन्ती र लोकविश्यासलाई आधार बनाइ उपन्यासको शीर्षक र कथावस्तु निर्माण गरीएको रहेछ।
उपन्यासको आधारभूमि इतिहास भएर पनि कथावस्तु भने सामाजिक बन्न पुगेको छ। तत्कालीन समाजको जीवन्त चित्रण गर्न ‘महारानी’ उपन्यासमा ‘मल्ल, थापा, बानियाँ, कार्की, भण्डारी, सुनार, पुर्जा, पुन, मगर, छन्त्याल, पन्त, पौड्याल, आचार्य, पाध्या, सुवेदी, शाही, गुरुङ, पुन, कुमाल’ लगायतका सबै वंश, गोत्र, थर र जातका पात्रहरु समेटिएका छन्।
दरबारमा सबै ओहदा र थरका मानिसहरुको प्रतिनिधित्व थियो भन्ने देखाउन ‘राजगुरु रामेश्वर पन्त, राजज्योतिषी चामु पाध्या, पण्डित शिरोमणि आनन्द रेग्मी, ज्ञानविशारद प्रेमनिधि पन्त, बडाकाजी मकरध्वज, गाउँबूढा मणिरञ्जन बानियाँ, दिष्याली कृष्ण कार्की, अष्याली चिन्तामणि, काजी कालु थापा, कपर्दार सुमन्त बानियाँ, द्वारे ताराचन’ जस्ता भारदारहरु र अन्य भान्से, सुसारे, टहलुवा, सयश, पहरेदार, सिपाही जस्ता सबै थरका सहयोगी कारिन्दा पनि आएका छन्।
यी पात्रहरुको उपस्थितिले लेखकको मोह इतिहासभन्दा समावेशी समाजप्रति रहेको प्रतीत हुन्छ।
इतिहासमा सुनिएका र कतै नसुनिएका बाइसे, चौबिसे र भुरेटाकुरे राज्यहरु, जस्तै- ताकम, गलकोट, अर्नाकोट, सर्पकोट, अर्घा, खाँची, देउपुर, गोर्खा, लम्जुङ, तनहुँ, पाल्पा, प्युठान, मुसिकोट, भीरकोट, निसी, रुकुम, जुम्ला लगायतका राज्यहरुसँगको सम्बन्धलाई पनि यहाँ चर्चा गरिएको छ।
पर्वतराज्यको निर्माणमा बगाले थापा, बानियाँ, छन्त्याल र मगरहरुको विशेष योगदान रहे पनि दरबारले उनीहरुलाई सधैँ उपेक्षा गरेको भन्ने गुनासाहरु पनि आएका छन्। जुम्ली खसहरु जनै लगाएर क्षत्री भएका हुन्, मगरहरुलाई हिन्दुकरण गरिएको हो, आनन्दबमका वंशज मगर हुन्, ढोरको ‘मल्लयुद्ध’ (खेल) मा जुम्ला, रुकुम, गलकोट, मुसिकोट र पर्वतसमेतका पहलमानलाई नागबमले जितेर ‘मल्ल’ उपाधि पाएका हुन् आदि इतिहासले पुष्टी नगरेका प्रसंगलाई पनि यसमा उठाइएको छ।
पर्वतराज्यमा आयातित देवीदेवतालाई त्यति महत्व दिइदैन्थ्यो भन्ने तर्कको पुष्टी गर्न बागलुङ कालीका भगवती र ढोलठानाको जगन्नाथ मन्दिर स्थापनाको प्रसंगलाई जोडिएको छ। यी प्रसंगले साहित्यमा आकर्षण थपे पनि इतिहासलाई चुनौती थपिदिएको छ।
उपन्यासलाई आकर्षक, जीवन्त र यथार्थको नजिक पुर्याउने माध्यम नै भाषा हो। स्थानीय बोली र शैलीले उपन्यासलाई रोचक, आकर्षक र यथार्थको नजिक पुर्याएको छ। यसमा खस प्राकृतको मध्यकालीन पर्वती भाषिकालाई हुबहु चित्रण गर्ने प्रयत्न गरिएको छ।
स्थानीय बोलीमा प्रयोग हुने ‘छेलोखेलो, अनबन, आहारिस, सम्पुटक, सम्पुटी, अदव, दकस, बज्राठिङा, खतुकी, साखुम, सिर्तो, कहँदा, ढाक्रे, घोक, पैडो, पाइतो, हड्कन, पुँडो, असर्दो, झुसिलो, पारितोषिक, निदाल, गाडतार, गाड, थुमा (साँड), टुप्लिुकिइन्, निपटाउन्या, बखान्यो, डोलेप्रथा, अजकिलो, अर्जी, सुलह, अभयदान, गनिटिपी, ओलिङ्काट, ओखा, सामलतुमल, गजो, आसरा, खै, स्याखु, छतरी, घुम, साखुम, विज्र्या, आज्र्या, गुस्ताखी, घमरा, अधमरो, डौंडो, तेर्पाएँतेर्पाएँ, फयल, गाजो, भनक, बेलौती’ आदि शब्दको प्रयोगले उपन्यासलाई थप गह्रुंगो बनाएको छ।
पात्रहरुले प्रयोग गर्ने संवादमा ‘गर्नसक्न्या, गर्याको, झर्याकी, दियाको, मान्नुपर्न्या, खटायाको, मकन, तुरियाको’ जस्ता उच्चारणगत शैली भेदको प्रयोग भएको छ। वाक्यहरु पनि ‘जन्ती हड्कन मिल्यान। काम बाँकी छ भनिकन पूजा हड्कन पनि भयान। उता सान्र्या भनिकन पुषमा बिहे गर्न भयान क्या रे।
दुलही खोजन्या, माग्न्या, भगाउन्या चलन छ। घायघात हेर्नुपर्न्या होला, रोज्न्या छाँट्न्या मन होला। दिउँसै सुइना क्यान देख्नु ?’ जस्ता सरल, संक्षिप्त र मौलिक प्रकृतिका छन्। यही नवीन भाषाशैलीको प्रयोगले गर्दा पनि उपन्यासले पाठक वर्गको मन जित्न सफल भएको होला। तर तत्कालीन समाजभाषाको प्रतिबिम्ब भने उत्रिएको छैन।
इतिहास र समाजसँग घनिष्ट साइनो जोडिने विषय भूगोल हो। उपन्यासमा पर्वतराज्यको आञ्चलिक परिवेशलाई समेट्न ‘बेनीदरबार, कुरिलाखर्क/महारानी थान, ज्यामरुककोट, खबरा, भसभसे, बगर, अर्थुङ्गे, भीरमुनि, कुहुँ, ढोलठान, धाइरिङ, बनौ, दूधेखोला, ताराखेत, घतान, भकिम्ली, ध्वाँखोला, गलेबिसौना, चनौटे, पुलाचौर, पुलाडाँडा, हलहले, गाज्ने, डडेकोट,
पवर्तगढी, गुफाडाँडा, मच्छिम, मराङ, चौरखानी, डाँडाखानी, झीं, रायखोर, मल्कवाङ, मलम्पार, मुना, सिवाङ, ताकम, धारापानी, कन्थराज, चप्पु, जगन्नाथ, गुफाडाँडा, डढेकोट, डडुवावन, बाघखोर डाँडा, हल्लेगौंडा, भुकभुके डाँडा, डोले, मुसुङ, बरङजाको धुरी, ताराखोला, मरिनी देउराली, बराह पोखरी, रानीवासा, जसपुर, थन्थाप, वैरीमारा’ आदि स्थानीय परिवेश र भूगोललाई समेट्नसक्ने शब्दजालको प्रयोगले पाठकलाई मन्त्रमुग्ध बनाउँछ। आफै सम्बन्धित ठाउँमा विचरण गरेको आनन्दानुभूति हुन्छ।
मानवको रक्षण, भक्षण र आकर्षणसँग जोडिएर आउने विषय नै प्रकृति हो। मानवले प्रत्यक्ष वा परोक्ष रुपमा दैवी शक्तिलाई मानेको हुन्छ। यस उपन्यासमा प्रकृतिपूजालाई विशेष महत्व दिइएको छ।
यसमा ‘कोटपूजा, निशानपूजा, दोखपूजा, झाँक्रीपूजा, मौलोपूजा, माईपूजा, समयपूजा, गोठधूप, कुलपूजा, भिउसुनपूजा, देउतीपूजा, वायूपूजा, वालीपूजा, पानीपूजा’ आदि परम्परित संस्कृतिलाई कोट्याइएको छ। प्राकृतिक सौन्दर्यको मनफुकाएर बखान गरीएको छ।
बखानमा ‘धौलाश्री, निलगिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मानापाथी, मनासलु आदि हिमश्रृंखलाहरु, तलाउ, कुवा, धारा, नदी, वनजंगल, गहुँखेत, जौ/उवाबाली, लालीगुराँस, पर्वतगढी, जगन्नाथमन्दिर, गुफाडाँडा’ जस्ता प्राकृतिक परिदृश्यहरुको मनमोहक तवरले वर्णन छ।
‘महारानी’ उपन्यासमा समाजको अनुहार त झल्किन्छ नै। इतिहासले पुष्टि गरेका र गर्न नसकेका विषय, सामाजिक ‘न्यायपद्धति, कुटनीति, षडयन्त्र, प्रणयसम्बन्ध, राजसी खानपान, विवाह पद्धति, शिष्टाचार, भारदारी बैठक, हैजा, माईपूजा, जार काट्ने प्रथा, मृत्युदण्ड, भ्रातृहत्या, प्रायश्चित्त, सन्न्यास, बलिदान’ आदि पक्ष पनि उत्तिकै सशक्त रुपमा झल्किएको छ।
समाजसँगै जातजाति, पेसा, भेषभूषा, भाषा, संस्कृति र संस्कारहरु पनि जोडिएर आएका छन्। कथाले मागेका मुख्य पात्रहरु ऐतिहासिक भए पनि सहायक र गौण पात्रहरु तत्कालीन समाजको प्रतिनिधित्व गर्नसक्ने लेखकका मस्तिष्कका उपज हन्। नायिका महारानीको बलिदान र सन्न्यासले पाठकलाई निक्कै भावुक बनाउँछ।
उनै सन्यासिनी महारानीको ऐतिहासिक र सामाजिक आधारभूमिमा लेखकले आफ्नो काल्पनिक संसार खडा गर्न सफल छन्। यही सफलतालाई मदन पुरस्कार गुठीले उपयुक्त पात्रको यथोचित सम्मान गर्ने अवसर पाएको रहेछ।
‘महारानी’ मा लेखक पाठकको मन जित्न र पुरस्कार गुठी लेखकको प्रतिभालाई पहिचान गर्न सफल भएको देखिन्छ।