उनका अधिकांश दौंतरीहरू रिटायर्ड लाइफमा आरामदायी जिन्दगी विताइरहेका छन्। भारतीय र बेलायती सेनाबाट निवृत्त भएका उनीहरू कोही पोखरामा, कोही काठमाडौंमा त कोही बेलायतमा बसोबास गर्छन्। उनी भने गाउँमै बसेर सामाजिक रुपान्तरणको अगुवाई गर्दैछन्।
कास्कीको पर्यटकीय गाउँ ताङतिङका प्रकाश गुरुङ पनि बाल्यकालमा लाहुरे बन्न चाहन्थे। तर, बर्खामास मावि पढ्न गाउँ मुन्तिरको सोंधामा जाँदा मादी नदी तर्न सकस हुन्थ्यो। त्यतिबेलै उनले गाउँकै निमाविलाई मावि बनाउने सपना देखे। सपना मात्र देखेनन्, अगुवाई पनि गरे। परिणामस्वरुप आज उनी त्यही हिमालय मिलन माविको प्रधानाध्यापकका रुपमा ज्ञान बाँडिरहेका छन्।
तिनै प्रधानाध्यापक गुरुङले एउटा प्रेरणादायी पुस्तक लेखेका छन्। उनका तीसओटा संस्मरणात्मक निबन्धहरुको सँगालो ‘ताङतिङ मेरो गाउँ’ शनिबार पोखरामा सार्बजनिक गरिएको छ। गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीले विमोचनको चाँजो मिलाएको थियो।
मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर तमु, नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछाने, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई, पत्रकार जमुना वर्षा शर्मा, ताङतिङ दुधपोखरी तमु समाजका अध्यक्ष सुवेदार मेजर हेमप्रसाद गुरुङ, नौजुपैंगी लामा गुरुङ समाज ताङतिङका अध्यक्ष कृष्णमान गुरुङ, पत्रकार माधव पनेरु, भिटोफका अध्यक्ष नवराज अधिकारी र लेखक स्वयंले पुस्तकको घुम्टो उघारेका हुन्।
यो पुस्तक ताङतिङ चियाउने आँखीझ्याल बनेको छ। यसमा गाउँ विकासमा गरिएको संघर्ष, लाहुरे संस्कृतिले पारेको प्रभाव, ग्रामीण जीवनशैलीको चित्रण, पर्यटनले जगाएको आशा र शैक्षिक विकासका विषयलाई निजात्मक रुपमा पस्किएको छ।
पोखरा बजारबाट २१ किमि उत्तरपूर्वमा रहेको ताङतिङ पर्यटनधामका रुपमा विकसित भैसकेको छ। प्रधानाध्यापक गुरुङ पनि शैक्षिक, सांस्कृतिक र सामाजिक विकाससँगै पर्यटन अभियानमा पनि समर्पित छन्। पुस्तक यिनै विषयको सेरोफेरोमा केन्द्रित छ। यसमा गाउँप्रेम झल्केको छ। हामी सबैले जन्मथलोको विकासमा योगदान पुर्याउनु पर्छ भन्ने सन्देश पुस्तकले दिएको छ।
गुरुङको पुस्तक ताङतिङ चिनाउन र नयाँ पुस्ताले प्रेरणा लिन कोशेढुङ्गा हुने कार्यक्रमका वक्ताहरुले बताए। आफ्नो ब्लग सेतो सुनाखरीमा बेलाबेलामा लेख्दै आएका गुरुङले लेखन यात्रालाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
नेत्रकुमारी गुरुङले प्रकाशन गरेको पुस्तकमा तीसओटा छोटाछोटा निबन्ध छन्। यसको सम्पादन पत्रकार अमृत भादगाउँलेले गरेका हुन्। पुस्तकको मूल्य तीन सय रुपैयाँ राखिएको छ।
अन्त्यमा, पुस्तक विमोचन भएकै साँझ उनले साथीहरूसहित ग्रामीण पर्यटकीय गन्तव्य बन्दै गरेको तनहुँको मानहुँकोटमा पुगेर रात विताए। आइतबार त्यहाँबाट फर्कनेवित्तिकै साँझ फेरि ताङतिङ गाउँमा पुगेका छन्। भन्छन्, ‘मलाई पोखरा बजारमा बस्नु भन्दा ताङतिङमै बस्न आनन्द लाग्छ।’