गएको ६० वर्षयता नेपालमा विश्वविद्यालय खुले, राजनीतिक दल निर्माण भए, नागरिक सङ्गठनहरु सक्रिय बने। अझ खासगरी यो दौरानमा वामपन्थी र साम्यवादी राजनीतिक दललगायत यस्तै विचार बोकेका समूह मुलुकको राजनीतिमा हाबी रहे वा अरु राजनीतिक शक्तिको हाराहारीमा रहे।
साम्यवादको उद्देश्य राख्दै छिटपुट सशस्त्र कारबाही छेडिए। विश्वमै र इतिहासमै विरलै छेडिने 'जनयुद्ध' नेपालमा एउटा पूरै दशक सञ्चालन भयो। हजारौंहजार हताहत भए, अंगभंग, घाइते र विक्षिप्त भए।
राज्यसत्ता र समाजले केही कोल्टो फेर्यो। सामन्तवाद, पुँजीवाद, नौलो जनवाद, समाजवाद, साम्यवाद, जनताको बहुदलीय जनवाद, एक्काइसौं शताब्दीको जनवादजस्ता केही परिभाषित, केही अत्यन्त अपरिभाषित राजनीतिक कार्यक्रमका अवधारणा छताछुल्ल बने।
तर यी कुनै पनि अवधारणा र राजनीतिक कार्यक्रमहरुको वस्तुपरक र आमचरित्र चित्रण गर्ने र वर्णन एवं व्याख्या गर्ने, सम्भाव्यता र असम्भाव्यता विश्लेषण गर्ने अठोट बोकेको पुस्तक नेपालमा देखा परेन। त्यस्ता लेखहरुसमेत बिरलै देखापरे। यो पक्कै पनि दुःख र चिन्ताको विषय हो।
किन यस क्षेत्रमा र यस अवधिमा एउटै पनि गतिलो सिंगो पुस्तक प्रकाशन हुन सकेन? प्रथमतः नौला अवधारणा र राजनीतिक कार्यक्रमबारे सिक्नुपर्छ। राजनीतिक दल र नेतृत्वलगायत बौद्धिक धर्म पालन गर्ने अन्य संस्था र व्यक्तिहरुमा पनि समालोचना र परिमार्जनमा लाग्नुपर्छ भन्ने बौद्धिकता र राजनीतिक चेत न्यून रह्यो। श्री नयराज पन्तको त्रिखण्डी शिक्षा यहाँ पनि जबरजस्ती रुपमा लागू भयो।
दोस्रो, नेपालका प्रगतिशील, वामपन्थी र खासगरी साम्यवादी राजनीति एवं राजनीतिक दलहरुका भनाइमा 'ठोस स्थितिको ठोस विश्लेषण'को आग्रह गर्ने, बुझाइमा केही अन्यमनस्क रहने अनि प्रवचन र कार्यकर्ता अभिमुखीकरण तालिम आदिमा भने गम्भीर तहमा रुढिग्रस्त रहने बलियो परम्परा रह्यो।
त्यसै गरी नालायक विद्यार्थीले झैं पुराना एकाध ठेलीहरुबाट एकाध लाइन उद्धृत गर्ने तर आफ्नै जीवन र भोगाइको प्रकृति र बहावलगायत समाज एवं इतिहासक्रमको विशिष्टतालाई मनन, संश्लेषण र सैद्धान्तीकृत गर्न अत्यन्त गाह्रो मान्ने बनाइयो। हाल आएर 'पुरेत मार्क्सवाद' लगायत 'पुरेत मालेमावाद' मुलुकको इतिहासले केही कोल्टो फेर्दासमेत बलशाली छ। केही नेता यस परम्पराबाट भने हच्किएका छन्।
'मैले र मेरो दलले यस कारणले उद्देश्य र बाटो फेर्नुपर्यो, अनन्त इतिहासको यो नवीन शृङ्खलाका दौरान यो नयाँ उद्देश्य र बाटो फेर्नाले यो यो फाइदा हुन्छ' भनेर खुलेर भन्ने आँट भने बटुल्न सकेका छैनन्।
तेस्रो, सामन्तवाद, पुँजीवाद, समाजवाद, साम्यवाद आदिको अवधारणात्मक, ऐतिहासिक, राजनीतिक, आर्थिक र सांस्कृतिक आयामको मिहीन र मूर्त चिरफार गर्ने लेठो उठाउँदै नउठाउने तर कुनैलाई निक्खर घृणा र कुनैलाई भक्तिभावपूर्ण प्रणाम गर्न पनि नचुक्ने र यसरी समालोचनात्मक चेत गुमाउन पुग्दाको परिणति हो।
मार्क्स, एङ्गेल्सलगायत लेनिन, स्टालिन, माओ हुँदै गोन्जालोलाई समेत विश्व र नेपालकै विगत, वर्तमान, आगतसँग अवगत मान्दै उनीहरुको तस्बिर झुन्ड्याउने र माल्यार्पण गर्ने चलन यही अर्धचेतको परिणाम हो। सूचना, ज्ञान, बुद्धि, प्रेम, दया, घृणालगायत सिद्धान्त र राजनीतिक कार्यक्रमहरु विशिष्ट ऐतिहासिक बहावका उपज हुन् भन्ने तथ्य आत्मसात् नगर्नुका परिणति हुन्।
उता वामपन्थीबाहेक अन्य दलहरुलाई भने सिद्धान्त र राजनीतिक कार्यक्रमबारे सघन बहस विश्व र नेपालको इतिहासले अकाट्य रुपले छिनिसकेको छ। तसर्थ अनावश्यक, क्लिष्ट र पट्यारलाग्दो लाग्ने गरेको छ। हरेक वाद र राजनीतिक कार्यक्रमलाई अमूर्त, आम र सोलोडोलो रुपमा नभएर वर्तमान विश्वव्यवस्थाको बहावको मिहिन, मूर्त र विशिष्ट विश्लेषणअन्तर्गत नेपाल र करिब नेपाल जस्तै विश्वका बीसौं, तीसौं मुलुकहरुको आँखाबाट बुझ्न सकिन्छ भन्ने सचेतना र कर्मको सर्वथा अभाव छ।
यस्तो विशिष्ट परिस्थितिमा एउटा छोटो, सरल, तीखो र पट्यार नलाग्ने किताब प्रकाशन भएको छ, ‘इमन बटलरको एन इन्ट्रोडक्सन टु क्यापिटलिज्म।’
लेखक हाल पुँजीवाद र व्यक्तिगत स्वतन्त्रताको तीखो पक्षपोषण गर्ने संस्था एडम स्मिथ इन्स्टिच्युटका निर्देशक हुनुहुन्छ। विभिन्न महत्वपूर्ण पुस्तकका लेखक पनि हुनुहुन्छ।
विद्यार्थी र शिक्षकहरुका लागि यो किताब उपयोगी छ। खासगरी अहिलेको अवस्थामा आफ्नो र आफ्ना वामपक्षीय दल समूहका अवधारणा, विवेचना, राजनीतिक कार्यक्रम आदिको मिहिन परख गर्न इच्छुक राजनीतिकर्मीका लागि यो अझ उपयोगी ठहरिन सक्छ।
आफ्नो वा आफ्नो दल समूहको अवधारणा, खाका र सिद्धान्तको सत्यता र व्यावहारिकता कति छ? जाँच्न तिनलाई विपरीत विचारसँग नै दाँजेर हेर्नुपर्छ। सत्यको खोजी गर्न आँट गर्ने भनेको विपरीत वा पृथक् धारणाहरुसँग सम्मुख भएर र भिडेर नै हो। यस अर्थमा यो किताब आम पाठकलगायत राजनीतिकर्मीका लागि उपयोगी ठहरिन्छ। प्रस्तुत लेखक र सिंगो एडम स्मिथ इन्स्टिच्युट आफैं एक विशिष्ट राजनीतिक वैचारिक अडान राख्ने संस्था हो।
एडम स्मिथ इन्स्टिच्युट र इमन बटलरको कट्टरतालाई किताब पढुन्जेलका लागि थाती राख्ने हो भने यसमा उपयोगी अंश धेरै छन्। यो तीखो एवं छोटो किताब पढ्दा चाखलाग्दा र उपयोगी तथ्य, अवधारणा र वैचारिक खाकासँग आमनेसामने हुन्छ । यीमध्ये केहीले बीउका रुपमा काम गरेर पाठकलाई सुसूचित गर्यो र मन माझ्यो भने पठनको उपादेयता उल्लेख्य बन्न सक्छ।
जम्माजम्मी एक सय २५ पृष्ठको यो किताबमा छोटाछोटा चारदेखि १२ पृष्ठका १२ ओटा अध्याय छन्। परिचयको सबैभन्दा छोटो अध्यायबाहेक पुँजीवाद के हो, पुँजी के हो, पुँजीको कसरी निर्माण हुन्छ, पुँजीको समग्र संरचनाको महत्व, पुँजीवादको काम पछाडिका आधारस्तम्भ, पुँजीवादको नैतिक आयाम, पुँजीवादको छोटो इतिहास, पुँजीवादबारेका मुख्य विचार, आलोचना र आलोचकहरु, पुँजीवादको भविष्य र अन्य पाठ्यसामग्रीबारे छुट्टाछुट्टै अध्यायहरुमा लेखकले आफ्ना विचार अभिव्यक्त गरेका छन्।
किताब पुँजीवादले औसत र क्षेत्र विशेषमा कति समृद्धि ल्यायो भन्नेबारेको सूचनाबाट सुरू हुन्छ। आमरुपमा दोषारोपण गरिएझैं पुँजीवादमा कसरी पुँजी केही व्यक्तिमा पूरै केन्द्रित छैन, बरू हरेकजसो व्यक्ति कसरी केही न केही पुँजीका स्वामी बनेका छन् भन्ने दृष्टिकोण किताबमा पेस गरिएको छ। पुँजीपति भन्ने बित्तिकै उसले अरुको श्रमको दोहन गरेर धनी र झन् धनी कसरी बन्छ भन्ने बहसको उल्टो कसरी साना उद्यमी, व्यापारी आदिले आफ्नै श्रम र सानो पुँजीको लगानीका आधारमा सम्पन्न बन्न सक्छन् भन्ने तथ्य पेस गरिएको छ।
अझ पुँजीवादअन्तर्गत मात्र नभएर सबै आर्थिक प्रणालीहरुमा पुँजीको लगानी गरेर उत्पादन गरिन्छ भन्ने दलिल दिइएको छ । पुँजीवादअन्तर्गत कसरी मेसिन, रेल, बिजुली, बैङ्क आदि थप पुँजी निर्माण गर्ने अङ्गहरु अर्थात् “क्यापिटल गुड्स”हरुमार्फत उत्पादकत्वको विशाल बढोत्तरी भयो, त्यसको पनि चर्चा गरिएको छ । त्यसैगरी वित्तीय स्रोतलाई मात्र नभएर सीप, बजार व्यवस्था, कानुन नियम, संस्कृति आदिलाई पनि पुँजीका रुपमा हेर्नुपर्छ भन्ने आग्रह गरिएको छ।
पुँजीको स्वामित्व पहिलेको भन्दा धेरै व्यापक भएको बताइएको छ। अर्थात् पुँजी ठूला नाम चलेका पुँजीपतिहरुमा मात्र केन्द्रित नभई सामान्यजनमा छरिएर रहेको छ भनिएको छ । साथै कुनै पनि पुँजीपतिको पुँजी स्थिर नभएको, पुँजीको सञ्चालनबाट घाटा हुनेसमेत यथेष्ट सम्भावना रहेको र यसैकारणले पुँजी सञ्चालन अत्यन्त जोखिमपूर्ण र मिहिनेत लाग्ने काम हो भन्नेमा जोड दिइएको छ।
किताबमा भनिएको छ— पुँजीवादी प्रक्रियाहरु विधिमा आधारित रहने हुँदा पुँजीवादले लडाइँ-झगडा पनि कम गर्न मद्दत गर्छ। पुँजीवाद निजी सम्पत्तिको कानुनी र सामाजिक व्यवस्थामै आधारित हुन्छ। तर सम्पत्ति र अन्य स्रोतसाधनहरु पुँजीमा रुपान्तरण गर्न आवश्यक अवयवहरुमा अपनत्व, लगन र दृढता नै हुन्। समय, अपनत्व र दृढताले थप र नवीन पुँजीको सिर्जना गर्न सकिन्छ । यी र यस्तै नीतिहरुको अवलम्बनले मुलुक र सरकारहरु पुँजी निर्माण गर्न सफल बन्छन्। गलत नीतिले पुँजीको सिर्जनामा अवरोध गर्न मात्र होइन, निर्माण भइसकेको पुँजीको शीघ्रातिशीघ्र क्षय पनि गर्न सक्छ। इतिहासमा धेरै पटक यस्तो भएका दृष्टान्तहरु छन्।
लेखक भन्छन्, 'पुँजीवादको जग अरुको हानि नगरीकन आफूलाई अघि बढाउने दृढ स्वेच्छा हो। यस्तो इच्छा स्वाभाविक र प्राकृतिक दुवै हो। अर्काे पुँजीवादको जग निजी सम्पत्तिको अधिकार हो। आफ्नो सम्पत्तिबारे हामी सबै गम्भीर ख्याल राख्छौं र हेरचाह गर्छाैं। तर उता धेरै ठाउँमा सार्वजनिक, सामूहिक सम्पत्तिको हेरचाह नगरेर छिटो क्षय हुँदै गरेको हामीले देखेकै छौं। उद्यमीले आर्जन गर्ने नाफा पुँजीवादको तेस्रो आधार हो। उद्यमीहरु अत्यन्त रचनात्मक र धेरैजसो अत्यन्त मेहनती हुन्छन्। रचनात्मक र मेहनती हुन छाड्नेको उद्यमशीलता फस्टाउने सम्भावना पनि रहँदैन।
पुँजीवादको अर्काे जग निरन्तरको प्रतियोगिता र अरुलाई अनि आफैंलाई निरन्तर उछिनिराख्ने संस्कृतिको अवलम्बन हो। त्यसैगरी अर्काे आधार उत्पादन, प्रक्रिया, सीप, सामान, सेवा आदिको विशिष्टीकरण हो। विशिष्टीकरणले हामीलाई मिहिनतातर्फ, उत्कृष्टतातर्फ र विस्तारीकरणतर्फ उन्मुख गराउँछ।
अर्काे महत्वपूर्ण जग बजार व्यवस्था हो। बजारमार्फत नै उत्पादित सामान र सेवाहरु कम खर्चमा प्रभावकारी तरिकाले वितरण गर्न सकिन्छ। पुँजीवादअन्तर्गत उत्पादकत्व एकदमै उच्च बन्ने हुँदा उत्पादित वस्तु र सेवाको वितरण उत्तिकै प्रभावकारी र कम खर्चिलो हुनु आवश्यक बन्छ।
बजारको व्यवस्थापन प्रभावकारी हुँदा क्रेता र विक्रेताहरु सामान र सेवाको भाउ, गुणस्तर आदिबारे सुसूचित बन्छन् र निर्धक्क किनबेच गर्न सक्ने बन्छन् ।
लेखक भन्छन्— पुँजीवादको महत्व र उपयोगिता सम्पत्ति र कुनै पनि उपयोगी वस्तु वा सामानको निर्माण र वितरण गर्नु हो । पुँजीवादले आम रुपमा ती काम फत्ते गर्न विभिन्न पारितोषकहरु प्रदान गर्छ र श्रमिक, पुँजीपति, उद्यमी र कर्मचारीहरुलाई उत्साह दिन्छ।
यसै प्रक्रियाबाट आम जनताका विविध आवश्यकता परिपूर्ति हुन्छन्। साथै सम्पत्ति र आम्दानी बढोत्तरी हुन्छ । १९८० पछि पूर्वी युरोप, चीन, भारतलगायत हङकङ, ताइवान, जापान, दक्षिण कोरिया आदिमा गरिबी स्वाट्टै घट्नुको मुख्य कारण पनि यही नै हो।
लेखक थप्छन्— कार्ल मार्क्स र उनका अनुयायीहरुले जेसुकै भने पनि बेलायतमा १८२० देखि तन्नम गरिबलगायत सबै परिवारहरुको आम्दानी छिटोछिटो बढ्दै थियो। अन्यको तुलनामा कलकारखानाको काम दिगो पनि थियो। नत्र ग्रामीण भेगहरुबाट सहरतिरको श्रम र बसाइँ-सराइको औचित्य कसरी पुष्टि हुन्थ्यो?
किताबमा एडम स्मिथ, डेभिड रिकार्डाे, लुडविग भन मिसेस, फ्रेडरिक हाएक, मिल्टन फ्रिडम्यान, जेम्स ब्युकानन र गोर्डन टुलक, गेरी बेकर, इज्रायल कर्चनर, डेइड्रे म्याकक्लस्कीका पुँजीवादी विचार शृङ्खलाबारे चर्चा गरिएको छ। यी विचारकलाई सम्झिनुपर्ने योगदान आदि वर्णन गरिएको छ।
किताबमा केही लेखकहरुलाई भने पुँजीवादको आलोचना गरेबापत नै धनी बनेको रोचक किसिमले बात लगाइएको छ । पुँजीवादी समाजका कारण मैले भाउ पाइनँ भन्ने लेखकलाई चाहिँ उनी भन्छन्— पुँजीवादले भाउ दिने, नदिने गर्दैन। बरू सामान्य पाठकले भने भाउ नदिएको पक्कै हुनुपर्छ।
पुँजीवादले गर्दा असमानता धेरै बढ्यो भन्ने सोच र प्रमाणलाई किताबले इन्कार गर्छ र भन्छ— आय आदि कर तिरिसकेको आम्दानीमा आमरुपमा भनिने गरेझैं अथाह असमानता हुँदैन। किनकि धेरै आय हुनेले उच्च दरको कर तिर्छन्। उता पुँजीपति र अझ व्यापारीहरुलाई लोभी भन्ने चलन व्यापक छ। तर पुँजीपति र व्यापारीहरु मात्र होइन, हामी उपभोक्ताहरु पनि आफूलाई के गर्दा फाइदा हुन्छ, त्यसको त ख्याल राख्छौं नै। तेस्रो, पुँजीवादले उपभोक्तावाद बढाउँछ भन्ने आरोप छ।
तर कसले केकति उपभोग गर्नुपर्छ र सोभन्दा बेग्लै वा धेरै उपभोग गर्नु हुँदैन भन्ने मापदण्ड बनाउनेलगायत रोक लगाउने प्राधिकार कसैमा रहन सक्छ? अनि फेरि यो पनि बुझ्नुपर्छ कि पुँजीवादको उत्पादकत्व उच्च भएकाले नै आमपरिवारहरुको आय सापेक्षिक रुपमा उच्च हुन सकेको र यसकारण उपभोग पनि सापेक्षिक हिसाबले उच्च हुन पुगेको हो।
चौथो, कसैकसैले पुँजीवाद लगानीकर्ता र अन्य थोरै व्यक्तिको हितका लागि मात्र सञ्चालन हुन्छ, यो पद्धतिले सिंगो समाजको हित हुँदैन भन्ने गर्छन्। यसर्थ पुँजीवाद बढीभन्दा बढी लोकतान्त्रिक पद्धतिबाट सञ्चालन हुनुपर्छ। तर लोकतन्त्र यथास्थितिवादी हुन्छ र यसले द्रुत परिवर्तन, नवप्रवर्तन आदिलाई सहँदैन। फेरि लोकतन्त्र सञ्चालन गर्नेहरुले आगामी चुनावको वा दुईचार वर्षको सीमाभित्र मात्र सोच्ने गर्छन्। यी नेताहरुमा दूरदृष्टि हुँदैन, जुन व्यापार, उद्योग आदि सञ्चालनका लागि अत्यावश्यक हुन्छ।
समग्रमा किताब रोचक छ। किताबले विद्यार्थी, शिक्षकलगायत खासगरी यो युगमा भुइँमा खुट्टा नटेकेको सिद्धान्तमाथि निष्ठा राख्ने पुरोहित कमरेडहरुलाई सोध्न बाध्य पर्छ। यो किताब आद्योपान्त पृथक् र विपरीत पुरोहित्याइँले भरिपूर्ण छ। वास्तवमा यो किताब पुँजीवादको विवेचना नभएर स्तुतिगान हो भन्न सकिन्छ। पुँजीवादको बचाउ गर्न र पुँजीवाद झन्डै खोटहीन पद्धति हो भन्ने देखाउन किताब तल्लीन छ।
किताबले पुँजीवाद उत्कृष्ट सामाजिक प्रणाली हो मात्र नभनेर सर्वश्रेष्ठ प्रणाली हो भन्ने दाबी गर्छ। यो पनि दाबी गर्छ कि पुँजीवाद सर्वकालिक र सर्वस्थानिक व्यवस्था हो। पक्कै पनि इतिहासको खास कालखण्डमा पुँजीवाद उत्कृष्ट प्रणाली रह्यो। पुरोहित मालेमावादीहरुका लागि बाहेक जिउँदो पुँजीवाद अरु कुनै पनि जिउँदो प्रणालीभन्दा उत्कृष्ट प्रणाली नै हो। तर सर्वस्थानिकता र सर्वकालिकता अर्थात् गैरऐतिहासिकतालाई नपछ्याउने हो भने कुनै पनि संरचनामा उतारचढाव आउँछ। कालान्तरमा त्यसको क्षय हुन्छ भन्ने पक्कापक्की छ।
पुँजीवादी मानवता आफैं कुनै चिरञ्जीवी संरचना, मूल्यमान्यता र आभास होइन। विशिष्ट ऐतिहासिक र संरचनात्मक प्रणालीमा विशिष्ट मानवताको जन्म हुन्छ। सो प्रणाली फेरिँदा नवीन मानवताको जन्म हुन्छ। कुनै पनि वाद कालजयी हुन सक्दैन । सामन्तवाद, पुँजीवाद, साम्यवाद आदि पनि विशिष्ट इतिहासका
उपज हुन्। यसैले यी नाशवान् छन्। किताबका यी ठम्याइहरु वर्तमानतावाद र गैरऐतिहासिकवाद असत्य उपज हुन्।
दोस्रो, मालेमावादलगायत यो किताबमा अंगीकार गरिएको पुँजीवादी भक्तिवाद दुवैमा गम्भीर समस्या छ। पहिलोले जिउँदो समाजवादको नभएर कल्पनाको समाजवाद सर्वश्रेष्ठ छ भन्छ। दोस्रोले जिउँदो पुँजीवादमा कथंकदाचित् केही खोट नदेखिए पनि कल्पनाको पुँजीवादको अन्त्यहीन बचाउ गर्छ। जाहेर छ, दुवैलाई कल्पनामा रमाउने र कल्पनामै सत्य खोज्ने रोग लागेको छ।
तेस्रो, किताबमा पुँजीवाद र समृद्धिको बीचमा कसिएको लगनगाँठोबारे विश्वस्त हुन सकिन्छ। तर पनि पुँजीवादले असमानता थप्दैन भन्ने दाबा अधिकांशतः असत्य छ। पुँजीवादी विश्वव्यवस्थाले युरोप र अमेरिकामा चारपाँच सय वर्षयता समृद्धि थपेको पक्कै हो।
तर त्यो समृद्धि भारत र चीनलगायत एसिया, अफ्रिका र दक्षिण अमेरिकी मुलुकहरुमाथिको औपनिवेशिक र राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक आदि क्षेत्रहरुमाथिको कब्जा र त्यहाँका बासिन्दामाथि थोपरिएको उत्पीडनको उपजसमेत थियो। सन् १६०० तिर युरोपमा बढ्न थालेको पुँजीवादी समृद्धि औपनिवेशिकता अन्तर्गत खासगरी एसियाको व्यापक औद्योगिक विकासको विनाश गरेर, स्रोतसम्पदामाथि कब्जा गरेर र कडा जातीयता अख्तियार गरेर सम्भव बनेको हो।
यी प्रक्रियाअन्तर्गतका युरोप र पछि अमेरिका एकातिर र अर्काेतिर बाँकी विश्वबीचको असमानताका केही आधार अझै बाँकी नै छन्। केही नयाँ आधार थपिएका पनि छन्। युरोप–अमेरिकाका मुलुकहरु भित्रै पनि असमानता झन्डै अपूर्व रुपमा सघन बनेको छ। अमेरिकामा डोनाल्ड ट्रम्पको उदय हुनु, बेलायत बाँकी युरोपबाट अलग बन्ने तरखरमा रहनु, युरोपका अन्य कतिपय मुलुकमा दक्षिणपन्थी र जातिवादी दलहरुले चुनाव जित्नु र सरकार बनाउनुमा मुख्यतया त्यहाँ बढ्दै गरेको क्षेत्रीय र पारिवारिक असमानता जिम्मेवार रहेकोबारे कुनै शंका बाँकी छैन।
हाल युरोपका एकतिहाइदेखि आधा जस्तो मुलुकलगायत अमेरिकामा पातला राजनीतिक गृहयुद्ध चलिरहेका छन्। पुँजीवादको विश्वकेन्द्र चीन र अन्य केही मुलुकलगायत सिङ्गो एसियामा स्थानान्तरण हुने क्रममा देखिन्छ। यो स्थानान्तरणको असर युरोप, अमेरिकालगायत चीन र अन्य मुलुकमा परिरहेको छ। यो असर अझ गम्भीर बन्दै जाने निश्चितप्रायः छ।
मालेवाद, मालेमावादलगायत यो पुस्तकले अख्तियार गरेको पुँजीवादी भक्तिवादबीच अर्काे एउटा उल्लेख्य समानता छ । खासगरी सोभियत संघको कम्युनिस्ट पार्टीले कतिपय हिसाबले मार्क्सको हुर्मत लियो। मार्क्सका कुनै पक्षलाई लुकायो, कुनैलाई मार्क्सले दिएभन्दा जोड दियो र लेनिनवाद र स्टालिनवादलाई 'मार्क्सवाद'को जामा पहिर्यायो।
यो किताबमार्फत एडम स्मिथ इन्स्टिच्युटले एडम स्मिथले पुँजीवादको प्रशंसा गरेकाबारे ठीकठिकै लेखेको छ। तर उनले आमश्रमिकहरुको सामाजिक कल्याणमा दिएको जोड भने चटक्कै बिर्सिएको छ र उनको हुर्मत लिएको छ।
अन्त्यमा, विद्यार्थी, शिक्षकलगायत सबै राजनीतिक आसक्तिले नेपाली र नेपालको हालको वास्तविक जीवन, स्थितिलगायत राजनीतिक कार्यक्रमहरु र यो किताबमा भएका विचारहरु भिडाएर नेपालको भविष्यको विश्लेषण अनि आ-आफ्नो कार्यभारबारे विमर्श गर्नु उपयोगी हुनेछ।
(समाजशास्त्री मिश्रले मुराहरि पराजुलीद्वारा अनूदित 'पुँजीवाद : एक परिचय' पुस्तकमा लेखेको भूमिका)