काठमाडौं डोल्पालाई जति टाढा छ, डोल्पा पनि काठमाडौंलाई उत्तिकै। जति डोल्पालीलाई काठमाडौं आउन गाह्रो हुन्छ, डोल्पा पुग्न उत्तिकै। तर यो दुरीको लम्बाई सुगम–दुर्गम परिभाषाले अझै किन लम्बाएको?
डोल्पा, माझफालका प्रेमबहादुर बोहरासँग यस्ता यावत जिज्ञासा छन्। तिनै जिज्ञासा र अनुभूतिले जन्माएको उनको संस्मरण 'कोग्ले' शुक्रबार सांग्रिला बुक्सबाट सार्वजनिक हुँदैछ।
किताबको नाम सार्वजनिक गरेदेखि उनलाई चिन्नेहरूले पनि जिज्ञासा राख्न छाडेका छैनन्, 'के हो कोग्ले भनेको?'
हाम्रो कुराकानीको सुरूआत पनि यही प्रश्नबाट भयो।
यो माझफालमा चर्चित नाम रहेछ। शब्द उच्चारण गर्नेले रमाइलो माने पनि सुन्नेले नरमाइलो र दिक्क मान्दा रहेछन्।
'यो यस्तो शब्द हो जसले म र मेरो गाउँको बाल्यकाल नै हडपिदियो,' प्रेमले भने, 'हामी त्यो शब्द सुन्दा बेइज्जत महसुस गर्थ्यौं।'
माझफालमा मकै च्याँख्लाको भातलाई कोग्लो भनिन्छ। जसरी चामल खानेहरूलाई इज्जत दिइन्थ्यो र ठूलो भनेर वर्गीकरण गरिन्थ्यो, कोग्लो खानेहरूले बेइज्जती सहनुपर्थ्यो। कोग्लो खाने मान्छे भएकाले अर्का गाउँकाले गाली गर्दा, जिस्काउँदा वा हेपेर बोलाउदा 'कोग्ले' भन्दा रहेछन्।
कोग्ले एउटा शब्द न हो तर त्यसलाई हेर्ने दृष्टि नराम्रो थियो। त्यो नामलाई सकारात्मक बनाउनुपर्छ भन्ने लागेरै किताबको नाम कोग्ले छानेको प्रेम बताउँछन्।
'जसरी नेवारहरूले बारा लगायत आफ्ना खानालाई ब्रान्ड बनाएका छन्, कोग्लो पनि हाम्रो पहिचान हो नि,' उनले भने, 'पहिचान भनेको ठूलो–सानो, राम्रो–नराम्रो हुँदैन।'
किताब लेखिसकेपछि प्रेम यस्तो नाम सोचिरहेका थिए जुन स्थानीय भाषामा होस् र त्यसले केही न केही संकेत पनि बोकोस्। अनि कोग्ले नाम फुरेको हो।
नाम कोग्ले भए पनि समग्र किताबको कथा यसैमा केन्द्रित छैन। बरू कोग्लो खाएर हुर्किएका उनी आफैंमा बढी केन्द्रित छ।
जसै यो नाम सोचेर किताब प्रकाशककहाँ गए, त्यो प्रचलिन नाम नभएकाले उप-शीर्षक राख्ने सुझाव पाए।
प्रेमले प्रतिक्रियामा भनेछन्, 'उप-शीर्षक नराखौं न। यही नामलाई फोकस दिऔं।'
उताबाट जवाफ आयो, 'मान्छेले के हो भनेर त थाहा पाउने हुनुपर्यो नि।'
यसरी कोग्ले शीर्षकको तल सानो अक्षरमा लेखियो– डोल्पाको युवाले चिहाएको संसार।
संसार चिहाउनेक्रममा प्रेमले आफ्नै सोचमा बढी परिवर्तन पाएका छन्। सोच परिवर्तन गर्दा संसार हेर्ने तरिका नै फेरिने पनि बुझेका छन्। त्यसक्रममा जे–जे भोगे, देखे, ती कथाहरू भन्नुपर्छ जस्तो लागेरै किताब स्वरुप पाएको हो।
३२ वर्षीय प्रेमलाई लाग्छ– डोल्पामा हुर्किएका केटाकेटीले सपना देख्नै जानेका छैनन्। उनीसँग पनि त्यो उमेरमा कुनै सपना थिएन। त्यसैले जे सुन्यो, देख्यो, त्यही नै बन्न उनलाई मन हुन्थ्यो।
कक्षाको प्रथम विद्यार्थी भएकाले शिक्षकहरूले इञ्जिनियर बन्नुपर्छ भन्थे। इञ्जिनियर शब्द पनि कोग्लेझैं उनलाई साथीहरूले जिस्काउने शब्द बनेको थियो। उनीहरू भन्थे, 'तँ त इञ्जिनियर बन्ने मान्छे, हामीसँग के घुम्न जान्थिस्?'
तर इञ्जिनियरले पाउने इज्जत सम्झेर उनलाई यस्तो जिस्काइले इञ्जिनियर बन्ने सपना देख्नबाट बहकाएन। १६ वर्षको उमेरमा डोल्पाबाट छात्रवृत्तिमा इञ्जिनियरिङ (ओभरसियर) पढ्न उनी पोखरा गए। तर डोल्पा र पोखराको पढाइको फरक देखेर अत्तालिए। अनि त्यो सपना छाडेर काठमाडौंमा मानविकी पढ्न आए।
त्यो अनुभवले सिकायो, 'साधारण कुरा पाउन पनि असाधारण प्रयास गर्नुपर्छ।'
काठमाडौंमा ११ देखि स्नातकोत्तरसम्म उनले पत्रकारिता पढे। पढ्दापढ्दै विभिन्न गैरसरकारी सामाजिक संस्थाहरूसँग जोडिए। समाजसेवीका रूपमा काम गरे। अनि केही वर्षपछि आफैंले अभियान सुरू गरे, 'एक किताब।'
अभियान सञ्चालन गर्न संस्था पनि दर्ता गराए, 'शिक्षा नेपाल।'
काठमाडौं आइसकेपछि जे–जे कुरा देखे, त्यो आफ्नो ठाउँमा नहुँदा प्रेमलाई नरमाइलो लाग्थ्यो। यहाँका केटाकेटीले पढ्ने जस्तै किताब त्यहाँ पनि पुग्नुपर्छ भन्ने उनलाई लाग्थ्यो। त्यही अभिप्रायले यो अभियान सुरू भएको थियो।
६-७ वर्ष यसरी नै विभिन्न अभियान र संस्थासँग जोडिएर काम गरे। जति जति काम गरे समाज बुझ्दै गए, अनि डोल्पाजस्ता ठाउँमा पूर्वाधार पुर्याउने लालसा बढ्दै गयो।
सुरूमा त प्रेमलाई नेपालभर सुविधा पुर्याउन सकिन्छ भन्ने लाग्थ्यो। तर विस्तारै उनले महशुस गर्न थाले, 'आफूले एक्लै गर्छु भन्नु त समुद्रमा एक थोपा पानीजस्तो मात्र हुने रहेछ। पूरै नेपाललाई पढाउन सक्छु भन्ने त सपना मात्रै भयो। मुख्य काम त राज्यकै हो।'
सरकारलाई त्यस काममा धकेल्न सके मात्र देशभर त्यो सपना फैलाउन सकिन्छ भन्ठाने उनले।
अनि उनको यात्रा राजनीतिमा मोडियो। जनता समाजवादी पार्टीका जिल्ला अध्यक्षका रूपमा उनी डेढ वर्षयता कार्यरत छन्। आफ्नो ठाउँको प्रतिनिधि आफ्नै ठाउँको हुनुपर्छ भन्ने हिसाबमा उनी गाउँ फर्किएका हुन्।
अहिले उनी समाजसेवा छाडेर राजनीति गर्छन्। र राजनीतिसँगै व्यवसाय। राजनीतिलाई समाजसेवाकै अर्को पाटोका रूपमा उनले बुझेका छन् भने व्यवसायलाई जीवन चलाउने आधार।
व्यवसायका रूपमा उनी डोल्पामा फल्ने अन्नहरू चिनो, भांगो, फापर, कोदो, गहुँ, जौ लगायत काठमाडौं ल्याएर बेच्छन्। त्यसलाई व्यावसायिक नाम दिएर कसरी फैलाउने भन्नेबारे सोच्दैछन्।
प्रेम भन्छन्, 'डोल्पालाई देख्ने दुर्गमता सोचमा छ। यहाँ भएका कुरा राम्ररी प्रचार गर्न सकियो भने स्वर्ग छ।'
चारैतिर पहाडले घेरिएर बसेका डोल्पाली आफ्नो भाग्य नै पहाडले छेकिएको महशुस गर्छन्। तर त्यही पहाड हेर्न मान्छेहरू लाखौं खर्च गर्छन्।
काठमाडौंमा मान्छेको डोल्पा जान चाहने हुटहुटी देखेका प्रेमले भने, 'ती डाँडाकाँडाले हामीलाई छेकेका होइनन्, बरू तिनलाई चिन्न नसक्दा हामीले बाहिरी संसारलाई नै त्यहाँ आउने वातावरण बनाउन नसकेका रहेछौं। हामी आफैं आफ्नो कुराप्रति विश्वस्त भएनौं भने यहाँ आउनेको हेराइ–सोचाइ बदलिएला भनेर कसरी ठान्नु?'
उनले अगाडि भने, 'मैले बच्चामा यो ठाउँलाई कसरी हेर्थेँ र पछिल्ला क्रममा कसरी हेर्न थालेको छु भन्नेमै धेरै भिन्नता पाएको छु।'
उनले आफ्नो किताबको नाम पनि पहिले 'अगाडिको पहाड' राख्ने कि भन्ने सोचेका रहेछन्। आफ्नो ठाउँजस्तै जिन्दगीमा पनि एउटा पहाड कटेपछि अर्को पहाड हुन्छन्।
'पोखरा आउनु भनेको भयंकर ठूलो सफलता हो भन्ने लाग्थ्यो। पोखरा आएपछि त्यो मात्र होइन, काठमाडौं रहेछ। काठमाडौंभन्दा पनि ठूलो विदेश। विदेश पछि पनि अरू,' उनले भने, 'जीवन बल्ल बुझियोजस्तो लाग्छ तर बुझ्न बाँकी अझै धेरै छन्।'
आफ्नो उमेरको करिब आधा समय काठमाडौं र आधा डोल्पामा बिताएका प्रेमको संस्मरण कोग्ले ती ठाउँको बुझाइ पनि हो। उनी तिनलाई दाँज्दै भन्छन्, 'गाउँमा फोहोर प्रस्ट देखिन्छ। तर काठमाडौंमा त फोहोर पनि र्याप गरेको हुने रहेछ। बाहिर आकर्षक लाग्छ तर त्यो आकर्षणले झनै झुक्याउँछ। अनि त्यसले समस्या अझै ल्याउँछ।'
जे-जे देखे, त्यो-त्यो बन्ने सपना पछ्याउदै हिँडेका प्रेमको किताबमा बाल्यकाल, उनी पुगेका ठाउँ, अनुभूति, बुझाइहरू समेटिएका छन्। तिनलाई समेट्न प्रेमलाई करिब चार वर्ष लाग्यो। सुरुमा उनलाई सजिलै लेख्छु जस्तो लागेको भए पनि लेख्दै जाँदा गाह्रो हुँदै गयो। अनि आफैंलाई के लेखेछु जस्तो लागेपछि थन्क्याइदिए।
पछि फर्किएर हेर्दा माया लाग्यो, पुनः त्यसमा काम गरे। लेख्दै, मेट्दै, लेख्दै किताब बन्न लायकजस्तो भएपछि साथीहरू र चिनजानका साहित्यकारलाई देखाए। त्यसबाट आएको प्रतिक्रियाले पुनः लेख सुधार्दै लगे।
'मैले पढेको थिएँ, दस लाख शब्द लेखेर त्यसलाई च्याती फ्यालेर फेरी लेख्न थाल्यो भने बल्ल लेखक बनिन्छ। तर त्यसरी च्यातेर फाल्नै भने नसकिने रहेछ। आफ्नो लेख सम्पादन गर्दा फाइदा भने हुने रहेछ,' उनले भने।
प्रेमका अनुसार यो किताब सांग्रिला बुक्सभन्दा पहिला अर्कै प्रकाशककहाँ लगेका थिए। त्यो बेला प्रकाशकले दिएको जवाफ उद्धृत गर्दै भने, 'तपाईंको नाम परिवर्तन गर्नुहोस्। खतरा उपन्यास बन्छ।'
उनलाई भने आफ्नै कथा छ, किन उपन्यासजस्तो बनाउने भन्ने भएछ। पछि सांग्रिला प्रकाशक मणि शर्माले उनको कथा मन पराए। पाण्डुलिपि पठाएको भोलिपल्टै भनेछन्, 'यो किताब त छाप्नुपर्छ है।'
'आफूलाई सबैले अधुरो बुझेको' जस्तो लाग्ने प्रेमलाई कसैले बुझ्दाको क्षण थियो त्यो।
प्रेमलाई लाग्छ, न यताका मान्छेले उनलाई राम्ररी बुझिदिए, न आफ्नै ठाउँकाले। आधा–आधा समय दुई ठाउँमा बस्दाजस्तै उनलाई बुझ्नेले पनि आधै बुझिदिए।
'किताब पढेपछि डोल्पा र मलाई मान्छेले बुझ्ने तरिकाले पनि पूर्णता पाउला कि?,' प्रेम आशावादी छन्।