तपाईंलाई लाग्ला, आधुनिकता र उत्तरआधुनिकताको बहसमा व्यस्त समाजमा बिना वाद पनि केही लेख्न सकिएला र? सकिन्छ भन्ने कुराको दृष्टान्त भुवन ढुंगाना भएकी छन्।
भुवन, नेपाली साहित्यमा नौलो नाम नभएता पनि उपन्यासको क्षेत्रमा भने यो नौलो नै नाम हो। उनको पहिलो उपन्यास 'परित्यक्ता' केही महिनाअघि सार्वजनिक भएको छ।
यसमा उनले स्त्रीत्वको अभिव्यक्ति यसरी दिएकी छन्, लाग्छ उनी गृहस्थको मैफिलबाट समाधी प्राप्त छन्। यसलाई पढ्दा यस्तो लाग्छ यो कुनै शान्त हजुरआमाको जीवनभरिको कथा हो।
सरल र सुन्दर लेख्न त्यति सजिलो छैन। हुन त सरल र सुन्दर एउटै चिज हुनसक्छ भनेर हामीले कहिल्यै बहस पनि त गरेका छैनौँ। तर परित्यक्तामा त्यो दुवै भेटिन्छ। सम्पूर्ण उपन्यास स्त्रीत्वको अभिव्यक्ति हो। 'माया' उपन्यासकी प्रमुख पात्र, कथाको उपस्थिति उनकै वरिपरि घुमेको छ।
उनी जन्मनुको कथा, बनारसको बाल्यकाल, प्रेम र यौनको अनुभूति, आमा हुनुको कष्ट र अन्त्यमा त्यो सब गृहस्थपछिको मुक्तता। साच्चै भन्दा परित्यक्ता स्त्रीत्वको खुल्ला अभिव्यक्ति हो तर यसले आफ्नो भूगोल ती सारा अनुभूति सँगै फराकिलो बनाउँदै जान्छ।
उपन्यासको सुरुआतमै लेखिका भन्छिन्, 'जन्मदेखि नै परित्यक्त छु।' यसले अर्थाउँछ स्त्री जीवन नै परित्यक्ता हो। हामी जन्मबाट नै अलग छौँ, यसले यही अर्थ दिन्छ। लेखिका जानाजान र अन्जानमा पनि भन्दिनन् स्त्रीत्व सामाजिकीकरणको परिणाम हो। यसमा कुनै नारीवाद छैन, यो त स्त्रीत्व कथा हो।
भुवन ढुंगाना स्त्रीत्वलाई शरीरसँग तुलना गर्छिन्, शरीरसँगको अनुभूतिलाई स्त्रीत्व ठान्छिन्। उपन्यासमा माया भन्छे, 'ममा तिमीमा भन्दा केही भिन्नता छन्, त्यो तिमी बुझ्दैनौ। अनादिकालदेखि बुझेका छैनौ। त्यही रहस्यले त म स्वास्नीमान्छे भएकी छु। सम्भवतः संसारमा स्वास्नीमान्छेको नाममा जति परिवर्तन भइरहे पनि म समान होइन, भिन्न नै रहनेछु'- (पेज.नं. ४१)।
यसले जनाउँछ उनी भिन्नतामा विश्वास गर्छिन् ना कि उकुसमुकुस समानतामा। त्यसैले त उपन्यासभरि माया कुनै योद्धा जस्तो लाग्दैन। ऊ त गृहस्थबाट निखारिएकी कुनै भिक्षुणी जस्तो लाग्छ।
उपन्यासको भाषा सरल र सरस छ। हुन त परित्यक्ता सधैँ सुनेको दालभात जस्तो शब्द भने पक्कै होइन तर उपन्यास पढिसकेपछि त्यसको अर्थ बुझ्नको लागि शब्दकोश पल्टाउन पर्दैन। यस अर्थमा उपन्यासको नामले यसको सार्थकता दर्साउँछ।
अब कुरा गरौं उपन्यासको शिल्पको, अरु उपन्यास झैँ सुरुमै आख्यान पढेजस्तो अनुभूति तपाईंलाई नहुन सक्छ। शैली निजात्मक छ, लाग्छ प्रमुख पात्र माया नभएर भुवन ढुंगाना नै हुन्।
कहिलेकाहीँ विषयवस्तुको डिटेलिङ कम भएको हो कि भन्ने पनि लाग्छ। उदाहरणको लागिः कथाबस्तुको छिटो रुपान्तरण। कथामा प्रमुख पात्र मायाको जीवन बाल्यकालबाट यौवन, यौवनबाट प्रौढ र प्रौढबाट अल्लि पाको उमेरमा रुपान्तरण हुन्छ तर त्यो सब एक्कासी हुन्छ मानौँ उपन्यास कुनै साउथ इन्डियन फिल्म हो।
त्यसका साथै कहिलेकाहीँ अप्रासंगिक विषयहरु एकैठाउँमा किन राखियो जस्तो पनि लाग्छ। जस्तो कि पेज नं ४५ मा प्रेम र सम्भोगको कुरा गर्दागर्दै राइसकुकरको प्रसंग आउँछ, लाग्छ यो अल्लि अप्रासंगिक भएन।
भाषाको कुरा अघि नै गरिसकेँ, सरल र सरसपूर्ण छ भनेर तर कतिपय ठाउँमा शब्द चयनमा लेखक चुकेकी छन्। उदाहरणको लागि पेज नम्बर ८५ मा उनी लेख्छिन्, 'रेल स्टेशनमा रोकिएपछि यात्राका सहयोगीहरु कुलीसँग माल बोकाउने कुरामा मोलतोल गर्न थाले।'
यस्तो लाग्छ कुलीको सट्टा भरिया प्रयोग गरेको भएपनि हुने नि। यसैगरी पेज नम्बर ४६ मा ढुंगाना लेख्छिन्, 'प्रेम त लाटालाटीबीच पनि हुन्छ। के उनीहरु सांकेतिक भाषामा संवाद गर्न भ्याउँछन्?' पढ्दै गर्दा लाग्छ लाटालाटी बाहेक अरु सुन्दर शब्दहरु पनि थिए नि।
अब म मेरो अवलोकनको मूल विषयवस्तुतिर प्रवेश गर्दैछु। अलिअलि कमजोर खोज्दा जेमा पनि भेट्टिन्छ तर उपन्यास अलिअलि कमजोरीका बीच पनि धेरै सुन्दर छ। धेरै सुन्दर मायाको बाल्यकालीन संस्मरणले बनाएको छ।
बनारसलाई अभिव्यक्त गर्दा जति लेखक उन्मुक्त भएर पोखिएकी छन्, अरुमा त्यति छैनन्। स्मृतिहरु बालखकालका मात्र हुन्, अरु त सब बिष्मृति हुन् कि जस्तो पनि लाग्छ। बालखकालको साथी अजय चौहानलाई मायाले भेट्ने प्रसंगमा यस्तो लाग्छ उनीहरु छुटेका प्रेमीहरु हुन् र छुटेको वर्षौपछि फेरी भेट्दैछन्।
सम्बन्ध अपत्यारिलो लाग्छ। अझ मलाई लागेको थियो, मायाले अजयले दिएको उपहार हेर्नेछिन् तर त्यस्तो भएन। मायाको अभिव्यक्तिले यस्तो लाग्छ, अजय उनको भूतपूर्व प्रेमी हुन्।
उनी भन्छिन्, 'उनले दिएको प्याकेटको सम्झना बल्झने भयो। होइन, म त्यसलाई बाकसको मुनि-माथि लुगाहरुले थिचेर त्यसै राखिरहनेछु। मेरो जीवनपर्यन्त त्यो एउटा गाडेको मुर्दाजस्तै रहिरहनेछ, अतितको त्यो चिनो'- पेज.नं. १०६)।
यो पढिसकेपछि यस्तो लाग्छ, अजय मायाका भूतपूर्व प्रेमी नै हुन्। त्यसैले त उनी सम्झना बल्झने कुरा गर्छिन्। तर के बालसखाहरुबीच यस्तो प्रेम सम्भव छ त?
केही कमजोरीका बाबजुत उपन्यासको सबल पक्ष भनेको स्त्रीत्वको मुक्त अभिव्यक्ति नै हो। स्त्री र पुरुषबीचको शारीरिक भिन्नतालाई न उनी कमजोरी ठान्छिन् न दुखेसो नै पोख्छिन्। साथै प्रेम र सम्भोगको अनुभूतिलाई कुनै वाद र विवाद बिना खुलेर चर्चा गरेकी छन्।
उनी खुलेरै भन्छिन्, मानसिक तनावबाट मुक्त हुन शारीरिक सहबास पनि अपरिहार्य रहेछ। साथै रजश्वलाबाट मुक्त भएकोमा पुरुषजस्तै स्वछन्द र उनीहरुकै हारहारीमा पुगेको घोषण पनि गर्छिन्।
स्त्रीत्वका यी यस्तै अनुभूतिले उपन्यासलाई अझ बलियो र नेपाली साहित्यमा अहिलेसम्म नभरिएको खाडल परित्यक्ताले पुरेको छ।
अन्त्यमा, परित्यक्ताले नामको सार्थकता पूरा गरेर नेपाली साहित्यमा एक भिन्न कृतिको रुपमा आफूलाई उभ्याउन पुगेको छ। लेखकको खुबी मान्नुपर्छ, उनले सबैखाले वाद विवाद र बिमतिदबाट मुक्त भएर स्त्रीत्वको अभिव्यक्ति गृहस्थबाट पारंगत एक भिक्षुणीले जसरी गरेकी छन्।