'नाइट ब्यान्ड'का जेसन कुँवरलाई स्टेजमा पुराना गीत मात्र दोहोर्याउन मजा लाग्दैन। हरेक पटक नयाँ गीत-संगीतका साथ स्टेज उक्लन चाहन्छन्।
पछिल्ला केही वर्षदेखि त उनलाई नयाँ गीत-संगीतले समेत सन्तुष्ट पार्न सकेको थिएन। जति धून भरे पनि, जति गीत लेखे पनि आफूलाई अभिव्यक्त गर्न नसकेको महशुस भइरहेको थियो। जति पोखे पनि केही कुरा मनभित्रै अड्केजस्तो, केही छुटिरहेझैं लाग्थ्यो।
कतै अल्झिरहेका आफ्ना शब्दहरू फुकाउन उनले उपाय खोजे, आख्यानमा उतार्ने।
आख्यान लेख्दालेख्दै पाँच वर्ष बितेपछि जेसनको कलमले जन्मायो— रमिते।
गत शनिबार जेसनले पाटन म्युजियम डबलीमा खुला आकाशमुनि नाइट ब्यान्ड र केही अन्य कलाकारसँग मिलेर 'रमिते' आख्यानभित्रका गीत-संगीत सुनाए। सँगै, संक्षिप्तमा आफ्नो आख्यान लेखन अनुभव पनि साटे।
उनले भने, 'गाएर, बजाएर र गीत लेखेर मात्र आफूलाई अभिव्यक्त गर्न नसकेजस्तो लागेपछि किताब लेखेको हुँ।'
'रमिते'मा जेसनले एउटा सिंगो सभ्यताको चित्र कोरेका छन् जसलाई काल्पनिक वा वैकल्पिक सभ्यता भन्न सकिन्छ। नेपाली संगीतमा मौलिक छाप छोड्न सफल जेसनले आफ्नो पहिलो आख्यानमा पनि कयौं प्रयोग गरेका छन्। रमितेभित्र गीत-संगीतसँगै स्केच र काल्पनिक लिपिसमेत भेटिन्छ जुन जेसनकै चरम कल्पनाबाट जन्मिएका हुन्।
जेसनको रमिते किताब मात्र होइन, थुप्रै विधाहरू समेटिने अवधारणा हो। जेसनले संगीतबाट आफूलाई पूर्ण रूपमा पोख्न सकेका थिएनन्, शब्दको संसार रचेर पनि पुगेको छैन। त्यसैले भन्न नपुगेका कुराहरू चित्र, दृश्य, नृत्य, डिजिटल माध्यम, इन्स्टलेसन आर्ट, नाटक लगायतबाट प्रस्फुटन गर्दै जाने उनको योजना छ। जेसनका अनुसार यिनै विधाहरू शृंखलाबद्ध रूपमा जोडिने खुला सोच हो रमिते।
जेसनका एकल र ब्यान्डका गीत विशेष थिममा आधारित हुन्छन्। युवा पुस्ताले रूचाएका 'तुइन', 'पुतली', 'सुनको जुत्ता', 'कठोर', 'डाँडा काँडा', 'बाँसै बगायो', 'झल्का रया बुका', 'कठोर', 'पड्किन्छ बारुद' जस्ता सशक्त गीतका रचनाकार उनै हुन्।
यी गीत लेख्न आफू लामो भावनात्मक प्रक्रियाबाट गुज्रिनु परेको बताउँछन्।
'छोटा गीत लेख्दा पनि लेखन प्रक्रियामा चुर्लुम्मै डुब्नुपर्थ्यो। रमिते लेख्दा अलि बढी डुब्नुपर्यो तर लेखनबाट कहिल्यै टाढा रहेनछु भन्ने लागिरह्यो,' उनले भने, 'मेरो सीप संगीतमा हो तर लेखन उत्तिकै स्वभाविक रह्यो।'
पहिलो पटक आख्यान लेखेका जेसन अलि पुरानो समयको कथा भन्न चाहन्थे, 'त्यो कथा भन्न संगीत माध्यम अपूरो लागेपछि अभिव्यक्तिको फराकिलो क्यानभास परिकल्पना गरेँ।'
रमितेको क्यानभासभित्र अनेक रङ घोलिएको पाउँदा पाठकलाई जेसनले खर्चेको पाँच वर्ष स्वभाविक लाग्छ। यो क्यानभासको शृंखलामा अब कस्तो रङ भर्ने, गृहकार्यकै चरणमा रहेको उनी बताउँछन्। आगामी दिनमा रमितेका पात्र, घटनालाई लिएर नाटक र इन्सटलेसन आर्टका रूपमा पनि बिस्तार गर्ने संकेत दिए।
भने, 'एउटै विधामा बाँधिदा उकुसमुकस हुनेरहेछ। कुनै कुरा संगीतबाट, कुनै नाटक, इन्स्टलेसन आर्ट वा चित्रबाट भन्दा बढी प्रभावकारी हुनेरहेछ।'
'यो अवधारणा आफ्नै लागि पनि नयाँ छ। अड्कल्दै अनुभव लिँदै हिँडिरहेको छु,' उनले थपे, 'नहिँडेको बाटोमा कहिले फूल भेटिन्छ, कहिले काँडाले घोच्छ। म खोजिरहेको छु।'
यसनिम्त उनी फरक विधा र फरक कलाकारसँग सहकार्य गर्दै जाने बताउँछन्। आगामी दिनमा थप स्वदेशी र विदेशी कलाकारसँग सहकार्य तयारीमा छन्। रमितेभित्रका गीत, धून र केही संवाद युट्युबमा सुन्न र हेर्न सकिन्छ।
संगीत होस् वा आख्यान, आफ्ना सबै कामलाई जेसन आफू र समाज बुझ्ने प्रक्रिया मान्छन्। 'रमिते लेख्ने अनुभवबाट आफू र समाज बुझ्ने मौका मिल्यो। समाजको आस्था, अन्धविश्वास र मूल्यमान्यताबारे मेरा दृष्टिकोण पनि फेरियो,' पुस्तक सार्वजनिक गर्दै जेसनले भने।
गीत–संगीत होस् वा आख्यान, जति काल्पनिक भए पनि मानव सम्बन्ध र उसले बाँच्ने-भोग्ने परिवेशको प्रभावबाट टाढा हुँदैन। काल्पनिक आख्यान रमितेमा पाठकले समकालीन समाजसँग जोड्न सकिने कुरा भेट्नेछन्। रमितेभित्र मानव, प्रकृति र जनावरका आदिम कथादेखि खोला, नाला, डाँडा, कन्दराका सुस्केरा पनि अटाएको छ।
संगीतबाट आख्यानसम्मको यात्रालाई जेसन नाइट ब्यान्डसँगकाे सहयात्रा र यसका सदस्यको साथको प्रतिफल मान्छन्। नेपाली संगीतमा उज्यालो छर्ने नाइटको कथा सन् २००१ तिरबाटै सुरू भएको हो। जेसन र निरज शाक्य त्यो बेला हेभी मेटल-डेथ मेटल बजाउँथे। 'माया' ब्यान्डका यी सदस्य कालान्तरमा नेपाली लोक संस्कृतितर्फ तानिए।
जेसन सम्झिन्छन्, 'म र विभूषण बस्नेत हरेक पटक कामको सिलसिलामा काठमाडौंबाहिर जाँदा कुनै नयाँ बाजा र भाकाबारे जानकारी बोकेर फर्कन्थ्यौं। यसले ब्यान्डका अरू सदस्यमा पनि लोकधून र बाजाप्रति रूचि जगायो।'
सन् २००६ सम्म आइपुग्दा माया ब्यान्ड नाइटमा रूपान्तरण भयो। नामसँगै उनीहरूको काम गर्ने शैलीमा व्यापक हेरफेर आयो। केही पुराना, केही नयाँ सदस्य थपघट भई बनेको नाइटले १५ वर्ष लामो यात्रा तय गरिसकेको छ।
यस अवधिमा स्थलगत भ्रमण नाइटको सिर्जनात्मक खुराक बन्यो। अहिले भौगोलिक र जातीय विविधिता भएको नेपाली संस्कृतिबाटै उठेका संगीतलाई स्रोतका रूपमा प्रयोग गर्ने अभ्यास नाइटको पहिचान बनिसकेको छ। यो पहिचान बोकेर उनीहरू नेपाल प्रतिनिधित्व गर्दै युरोपका प्रतिष्ठित संगीत महोत्सवमा सहभागी भइसकेका छन्। अन्तर्राष्ट्रिय कलाकारसँग सहकार्य गरेका छन्।
परम्परागत शैलीका भाका र धून पछ्याउँदै हिँड्ने जेसन सुरूआती चरणमा संगीतलाई कसरी 'अथेन्टिक' बनाउने ध्याउन्नमा हुन्थे। 'अचेल बढीभन्दा बढी इन्नोभेटिभ बन्ने प्रयास गरिरहेको छु,' उनले भने, 'रमिते यही इन्नोभेसन हो।'
रमितेभित्रका 'चौंरी हिमाल चराउँदै', 'यानी लै लै', 'वन वन गाई उडी जाने चरी'लगायत गीत सुनेपछि स्रोताले यो परिवर्तन सहजै महसुस गर्छन्। रमिते किताब सार्वजनिक कार्यक्रममा यसभित्रका यस्तै नौ गीत प्रस्तुत गरिएको थियो। रेड पान्डा प्रकाशनको पहिलो किताबका रूपमा प्रकाशित रमितेभित्र 'खिले', 'सिक्रे', 'खोरे', 'कबिस' लगायत पात्रको कथा छ जसलाई ११ शीर्षकमा बाँडिएको छ।
स्टेजमा जेसन, नाइट ब्यान्डका सदस्यहरू सुगमा गौतम, शिवकुमार खत्री, सुधीर आचार्य, अग्रिम लामा गाइरहेका थिए, बजाइरहेका थिए। उनीहरूलाई साथ दिने ब्यान्ड बाहिरका कलाकारहरू अन्जान बाबु र चार जना बाल कलाकार, निशु शर्मा, निमेश शर्मा, डोल्मा घिसिङ र परिधि खनालले पनि रमितेका पात्र बनेर प्रस्तुति दिएका थिए।
जेसनको आख्यानका प्रतिनिधिहरू स्टेजमा घरी रोमान्टिक बन्दै गाउँथे,
सुक्खा पहरा मूल फुटेर सङ्लो पानी बगेछ
उस्तै बग्ने मनमा मेरो मिठो धुन जागेछ
घरी पीडाको सुस्केरा हाल्थे,
नदुखेको ठाउँ छैन
देखाऊँ भने घाउ छैन
'धेरै कलाकार आफ्नै संसारमा बाँच्छन्। मेरो लागि आफू बाँचिरहेको वास्तविक संसार रमाइलो छैन। रमिते मेरो आफ्नै संसार हो,' जेसनले रमिते लेख्नुको कारण सुनाए, 'यहाँको सुखदुःखले पुगेन अनि नयाँ संसार बनाएँ।'