उपन्यासकार जीत ब. कटुवालद्वारा लिखित रामायणका महत्त्वपूर्ण घटनालाई लिएर १८ ओटा परिच्छेदमा विभिन्न शीर्षकमा बाँधेर सीताको जीवनलाई प्रस्तुत गरिएको पौराणिक उपन्यास हो, सीताञ्जली।
रामायण कथाको अस्थिपञ्जरमा सुन्दर भाषाशैली र कल्पनाशीलताको मांशलद्वारा जनक नन्दिनी सीताको गरिमामय जीवनको केन्द्रीयतामा सिधा रेखामा सलल अगाडि बढेको उत्कृष्ट औपन्यासिक कृति हो, सीताञ्जली।
रामायणकी महत्त्वपूर्ण स्त्रीपात्र मिथिलाकुमारी सीतालाई यस उपन्यासले केन्द्रमा राखेर उनको जीवनको पुनर्व्याख्या गर्दै नारी संवेदनाका कोमल आवाजहरूलाई अस्तित्ववादी चिन्तन धारामा प्रस्तुत गरेको छ।
जनकनन्दिनी संस्कारी सीताका जीवनका विविध आयामहरूको चर्चा गर्दै उनका माध्यमबाट पितृसत्ताद्वारा दबाइएका आवाजहरूलाई बुलन्द गर्नु मूलभाव रहेको देखिन्छ।
सतित्वको सवालमा नारी जातिलाई पौराणिक युगदेखि नै लाञ्छना, निन्दा र शंकाको घेरामा राखी आफू अनुकूल व्याख्या गर्दै आएको संकीर्ण र विभेदको शासकीय संरचनालाई यस उपन्यासले व्यञ्जना अर्थमा कटाक्ष गरेको छ।
नारी अस्मिता र अस्तित्वको भद्र लडाइँलाई सीतामार्फत् प्रस्तुत गर्नु सीताञ्जलीको सार वस्तु रहेको छ।
मन्थराका माध्यमबाट कैकेयीले भरतलाई राजा बनाउने राजनीतिक खेल गलत रहेको र त्यसले धर्मको मर्यादा नजोगिने विचार सीताले राखेकी छिन्।
कसैको आदेश ठिक–बेठिक, न्याय–अन्याय कस्तो छ, ख्याल गरेर सही निर्णय गर्नु चाहिँ राजनीति रहेको उपन्यासकारको तर्क छ।
एउटा छोराको हितलाई अङ्गाल्दा अर्को छोराको अधिकारको बली चढाउनु धर्मनीति नरहेको विचार सीतामार्फत् बोलाउँदै पारिवारिक निर्णयमा महिलाको विचार पनि महत्त्वपूर्ण हुने नारी अस्तित्ववादी स्वर सीताञ्जलीमा मुखरित भएको देखिन्छ।
यहीँबाट सीतालाई उपन्यासकारले नारी अस्तित्ववादी धारामा हिँडाएको र यो धार पछिल्ला परिच्छेदहरूमा अझ सशक्त बन्दै गएको देखिन्छ।
सीताले वनबास अनिवार्य रूपमा आउने कारण नरहेको तर आएर पनि कुनै कुराको अपशोच नरहेको विचार प्रस्तुत गर्दा साधारण जीवन भोगाइभन्दा माथि उठेको मानिसले कष्टपूर्ण दुसाध्य कर्म पनि सजिलै गर्न सक्ने र त्यो कर्म भावी सन्ततिका लागि अनुकरणीय लोक–गाथा बन्ने जीवन–दर्शनलाई सीताञ्जलीले ग्रहण गरेको देखिन्छ।
प्रकृतिबाटै जीवन बुझ्नेले राजसिंहासनलाई त्याज्य वस्तुका रूपमा लिने मूल दर्शनको गहिराइमा सीताञ्जली उपन्यास उभिएको देखिन्छ।
सीता दुई जिउकी भएको कारणबाट खुसी बनेका वा देखिएका रामले इच्छा लागेको कुरा माग्न भने। सीताले तपाईंको निकटता माग्छु भनिन्।
वनबासका समयमा भेटिएका ऋषि–ऋषिपत्नीहरू सँग पनि भेट गर्ने मनको धोको रहेको कामना गरिन्। त्यसको बदलामा रामले धोवीको कुरा सुनेर घनघोर जङ्गलमा त्यो अवस्थाकी सीतालाई छोड्न भाइ लक्ष्मणलाई लगाउँदा के राम तत्त्वज्ञानी वा मर्यादापुरूषोत्तम नै थिए त भन्ने प्रश्नले बारम्बार रामप्रतिको भक्तिभावनालाई स्खलित बनाइरहन्छ भने शासन सञ्चालनका क्रममा लोकमत वा जनमत नै सर्वश्रेष्ठ हुने भएकाले किनारामा रहेका धोवीका विचारलाई पनि शासकले सुन्नुपर्ने दृष्टिकोणलाई सीताञ्जलीले स्थापित गर्न खोजेको देखिन्छ।
लोकापवादबाट बाँच्न र लोकमतलाई नै सर्वोपरी मानेर गरिएका महिला हिंसाको चित्र सीताञ्जलीमा उपन्यासकारले प्रस्तुत गरेका छन्।
रामकै आदेश अनुसार सीताले अग्निपरीक्षा दिई पवित्र भइन्। रामले सीतासँग क्षमा मागे। धोवीले आफ्नी पोइल गएर आएकी श्रीमतीलाई गाली गर्दै ‘रावणले पत्नी फिर्ता गर्ने रामजस्तो लाछी ठानिस्’ भनेको कुरा सिपाहीद्वारा रामले सुन्दा फेरि उनैबाट दुनियाँसमक्ष अग्निपरीक्षा दिएकी दोजिया अर्धाङ्गिनीलाई लोकमतका नाममा शंका गर्नु अहंकारवादी पुरूष चिन्तन रहेको उपन्यासकारको धारणा रहेको देखिन्छ।
प्रत्येकका उट्पट्याङ कुरालाई लोकमत मानेर शासक हिँड्ने हो भने देश-समाज कस्तो हुन्छ? रामको निर्णय क्षमतामाथि प्रश्न चिन्ह उठाउने ठाउँ प्रशस्तै भेट्न सकिन्छ।
रावणको अशोकवाटिकाबाट मुक्त भएकी सीतालाई साथमा अयोध्या लान धर्मसंकटमा रहेको कुरा गरी राम शंकालु बनेका छन्। सीताले आफ्नो सतित्वमा शंका नगर्न प्रष्टीकरण गरेकी छिन्।
विभीषण, सुग्रिव, हनुमान लगायत अन्यले अनेक तथ्य र उदाहरण पेस गर्दै सीता निष्कलङ्क रहेको बताइरहँदा पुरूषार्थको कुरा गर्ने राम पितृसत्ताको साँघुरो सोचबाट माथि उठ्न नसकेको दृष्टिकोण सीताञ्जलीमा गहनताका साथ आएको देखिन्छ।
लोकमत र लोकापवादका नाममा सीता वाल्मीकि आश्रम पुग्छिन्। त्यहाँ उनी कम बोल्ने, दुःखलाई प्रकट नगर्ने, पीडा सहन गर्ने, आफूले भोगेका नर्कतुल्य व्यवहार नदेखाउने अन्तर्मुखी बनेकी छन्।
यस्तो परिवेशलाई देखाएर अन्याय वा अत्याचार सहन गर्न बाध्य बनाउने हाम्रो समाजको धरातललाई यस उपन्यासले बिम्बात्मक ढंगले प्रष्ट पारेको छ।
साथै पुराणका माध्यमबाट नारीलाई जबरजस्ती निमुखो बन्न बाध्य पारिएको घटनालाई यथार्थ ढंगले उद्घाटन गर्नु यस उपन्यासको मूलभाव रहेको देखिन्छ।
रामले सीतालाई गल्ती नभई एकलासपूर्ण जङ्गलमा छाड्न लगाई लोकापवादबाट बच्न कस्तो दण्डसजाय दिन लागेका हुन्? आजको चस्माले हेर्दा यो घटना अत्यास लाग्दो छ।
निर्दोष गर्भिणी महिलालाई अनकण्टार जङ्गलमा छोड्दा के लोकापवादबाट बँच्न सकिन्छ ? यो कस्तो मानसिकताको उपज हो कि जनमत भनेको के दुई जिउकी श्रीमतीलाई घरबाट निकालेर स्थापना गर्न सकिन्छ र ? आजको सन्दर्भमा रामले लिएको जनमत वा लोकापवादको अडेसोले यथार्थ धरातल टेकेको देखिँदैन र सीताका पक्षबाट बोल्ने र उनका विचारलाई संरक्षण गर्ने ठाउँ सीताञ्जलीमा प्रशस्तै भेट्न सकिन्छ। त्यसैले उनकै नायकत्वमा सीताञ्जली उपन्यासले पूर्णता र भव्यता ग्रहण गरेको देख्न सकिन्छ।
वाल्मीकि आश्रममा पुगेपछि सीताको जीवनको अस्तित्वको अध्याय सुरू हुन्छ। शारीरिक र मानसिक रूपमा सीता शक्तिशाली रहेको अनुभूत हुन्छ। अनि ठाउँ र परिवेश अनुसार छिट्टै समायोजन हुन सक्ने गतिशील चरित्रका रूपमा सीता यस उपन्यासमा उभिएकी देखिन्छिन्।
उनी कठोर दण्ड सजायलाई सजिलै झेल्न सक्ने र त्यसलाई पवित्र कर्मको स्वच्छताले पखाल्न सक्ने चरित्रमा सशक्त बनेर उभिएकी छन्।
उनी निसंकोच वाल्मीकि आश्रममा साथी सङ्गीतसँग रमाएर जीवनका कठोर सत्यको सामना गर्दै प्रकृतिको काखमा जीवनको अस्तित्वलाई गहन ढङ्गले बोध गर्छिन् र उपयुक्त अवतरणको मौकालाई पर्खिन्छिन्।
सीताको यो चरित्रलाई भव्यताका साथ प्रस्तुत गरेर नारी संवेदनाका कोमल आवाजलाई बुलन्द गर्नु सीताञ्जली उपन्यासको उद्देश्य रहेको देखिन्छ।
राम पुरूष भएर सीताका तुलनामा खासै दु:खको सामना गर्नु परेको क्षण देखिँदैन। १४ वर्षको वनबासी जीवनमा सीताले नर्कतुल्य बिताएका क्षण रामले भोग्नु परेन। रामले पुरूषत्वको परीक्षा दिनु परेन। लोकापवाद सबै सीताले सहेकी छिन्।
यसले एकातिर रामका माध्यमबाट पितृसत्तात्मक मनोविज्ञानलाई देखाएको छ भने अर्कातिर नारी सधैं अवला भएर बाँच्नु परेको तथाकथित पूर्वीय समाजको बेथितिपूर्ण परम्परालाई कटाक्ष गरी विचार विमर्शको विषय बनाएर प्रस्तुत गरेको छ।
कोशलका सूर्यवंशी राजउत्तराधिकारी आफ्ना छोरालाई बनाएर आफ्नो अचेतनमा हुर्केकोे अस्तित्वपरक चिन्तनलाई सीताले झन बलियो बनाएको आभाष हुन्छ।
सीताभित्र रहेको सुदूर चेतना, धैर्य र अनुशासनको अस्तित्वले उनी झनझन प्रकृतिको काखमा खारिएर निस्केकी हिराझैं देखिन्छिन्।
उपन्यासकारले लोभ लालच र भौतिक सुखभन्दा माथि राखेर सीताले बाँच्न चाहेको जीवनको कल्पना यसरी गर्नुभएको छ, ‘राजा नै किन चाहियो र ? महारानी नै किन हुनुपर्यो र ? एउटी नारीका लागि एउटा सानो झुपडी होस्, पुत्रपुत्री होऊन्, साथमा माया गर्ने पति होऊन्, अनि हाँसीखुसी बस्न पाइयोस्। यो भन्दा ठूलो सुख अरू केही हुन सक्दैन।’
वाल्मीकिले दिएको सल्लाहअनुरूप कुश–लवले अयोध्या गएर माता सीताको करुण गाथा गाउन लाग्छन्। सीताप्रति प्रजाको हृदयमा सहानुभूति जाग्छ।
रामले थाहा पाएर ती दुई किशोरलाई दरबारमा ल्याउन आदेश दिन्छन्। श्यामकर्ण घोडा समाउने कुश–लव देखेर राम स्तम्मित हुन्छन्। त्यहाँ सीताको गाथा गाएर दुई भाइले सीताका पुत्र हौं। तपाईंका पनि पुत्र हौं भन्दा रामले प्रमाण खोज्छन्। शुद्धताको पुन परीक्षा दिएर सपथ लिए मात्रै पुत्रका रूपमा स्वीकार गर्ने भन्ने परिवेशलाई हेर्दा रामले सीतालाई सधैं शंकाकै घेरामा राखेको देखिन्छ।
यसरी एक हातले सीताप्रति फूल देखाएर अर्को हातले शूल हान्ने परपीडन मानसिकताले ग्रस्त व्यक्तिका रूपमा राम प्रस्तुत भएका छन्।
आफ्नै घर परिवारलाई सम्हाल्न नसक्ने शासकले, आफ्नै घरभित्र भएको अन्यायलाई आँखा चिम्लने शासकले कस्तो रामराज्यको परिकल्पना गर्न सक्छ भन्ने आलोचनात्मक दृष्टिकोण सीताञ्जलीका माध्यमबाट सहजै प्रक्षेपण गर्न सकिन्छ।
सीताप्रति अत्यन्तै धेरै पाषाण हृदयका रुपमा राम प्रस्तुत भएका छन्। रामले लिएको लोकमत र लोकापवाद त देखाउने हात्तीका बाहिरी दाँत मात्रै थिए। उनी त पितृसत्ताका मालिक थिए। उनले लिएको अडेसो मक्किएर धुजाधुजा भइसक्दा पनि उनी सङ्कीर्ण, परपीडक र पितृसत्ताकै भरणपोषण गर्ने असत प्रवृत्तिका अपरिवर्तनशील चरित्रका नाइकेका रूपमा सीताञ्जलीले प्रस्तुत गर्नु यस उपन्यासको मुख्य सारवस्तु रहेको देखिन्छ।
सीताले पितातुल्य ऋषि वाल्मीकिसँग अयोध्या गएर शुद्धताको परीक्षामा सामेल हुन नसक्ने भनी पछि हट्छिन्। यस अवस्थामा सीताभित्र रहेको अस्तित्ववादी चिन्तन पूर्णावस्थामा पुगेको आभास हुन्छ।
घर–परिवार तथा प्रजाहरूमा सीताको निश्कलंकताको आवाज उठिरहँदा राम भने परीक्षा–परीक्षा भनेर कराइरहन्छन् र स्त्री जातिको मर्ममा प्रहार गरिरहन्छन्।
यसरी सयौं वर्षको प्रहारबाट निर्माण भएको लिङ्गीय विभेदको संरचनालाई उपन्यासकारले प्रस्तुत गर्दै सीता जस्तै सयौं नारीहरू आज पनि सतित्वको अग्निमा छटपटाइ रहनु परेको यथार्थलाई सीताञ्जली उपन्यासमा गहनताका साथ देखाइएको छ।
अहिल्याले दुई–दुई जना पुरूषबाट हिंसाको सिकार हुनुपरेको देखिन्छ भने सीताले आफ्नै श्रीमानबाट पटकपटक गल्ती नै नभई दण्डित बन्दा उपन्यासकार हाम्रो सामाजिक चिन्तन नै दोषपूर्ण रहेको निष्कर्ष निकाल्छन्।
जुन दिन कुनै स्त्री वा महिलामाथि सतित्वको प्रश्नचिह्न पुरूषप्रधान समाजले राख्छ, त्यहाँबाट नै नारीको दुर्दशापूर्ण कहानी प्रारम्भ हुने दृष्टिकोणलाई उपन्यासकार कटुवालले यस उपन्यासमा मुख्य भाव वा सारका रूपमा प्रस्तुत गरेको देखिन्छ।
सीताले शुद्धताको परीक्षा दिएर उत्तीर्ण भए पनि राजाका रूपमा रहेका पुरूष प्रधान समाजका पुरूषोत्तम रामलाई कहिलेसम्म परीक्षा दिएर आफ्नो आत्मसम्मानमा चोट पुर्याई पुर्याई उनलाई सन्तुष्ट बनाइरहुँ भनेर प्रतिवाद गरेकी छन्।
आफूले धेरै सहेको, व्यहोरेको र दिनदिनै आफ्नै पतिको व्यवहारले गलेको कारण सीताले आफ्नो अस्तित्व, अभिमान र अस्मिता परीक्षणीय वस्तु बनाउन नहुने कुरा रामका अगाडि वा पितृसत्तात्मक समाजका अगाडि राख्दै धर्तीमातालाई आफूमा समाहित गर्न पुकारा गरेपछि पृथ्वीले सीतालाई आफूभित्र समाहित गर्छिन्।
यसरी धर्तीले बोक्ने वा सहन गर्ने जीवनका पीडा, दर्द, जलन आदि सबै सीताले पनि सहेकी छन्। सीताले भोगेको प्रताडना धर्तीको पनि हो।
सीताले धैर्य र क्षमाशील बनेर गरेका कार्य धर्तीका पनि आफ्ना जीवनभोगाइ हुन्। सम्पूर्ण मनुष्य जीवनलाई धारण गरेर वा काखमा लिएर हिँड्ने पृथ्वी जस्तै सीता हुन्।
सीताको जीवनका अनन्त एकलासपूर्ण क्षणहरू धर्तीले देखेकी छन्। सीताको त्यो कठोर साधनामय जीवनलाई आफ्नै गर्भमा राखेर विश्राम गराउनु धर्तीले आवश्यक ठानिन् र फाटेर आफू भित्र समाहित गराइन्।
त्यसैले सीता स्वयम् धर्ती हुन् उस्तै, दुवै र एउटै हुन्। किनभने दुवै क्षमाशील र सहनशील छन्। सीता र धर्तीको स्वभावको सादृश्यलाई देखाएर सीता उत्पत्ति र अन्त्यको पृथ्वीसँगको गहिरो सम्बन्ध रहेको दृष्टिकोणलाई पनि यस उपन्यासले अर्थपूर्ण ढङ्गले विवेच्य विषय बनाएको देखिन्छ।
अन्त्यमा सीताञ्जलीको सार नारी अस्तित्वको विषयलाई सीतामार्फत् प्रस्तुत गरेर नारी स्वभावका महानतम् सूक्ष्म आवाजलाई देखाउनु नै हो।
वाल्मीकीय रामायणको मौलिकता भानुभक्तीय–रामायण हो भने दुवै रामायणको मौलिक आख्यानीकरण सीताञ्जली हो। सीताका सोच विचार आवाज र आत्मचिन्तनलाई मौलिक ढङ्गले प्रस्तुत गर्नु यस उपन्यासको नवीन दृष्टिकोण हो।