चिसो स्याँठ चलिरहेकै थियो। आकासमा कालो अँध्यारो रुमलिरहेको थियो। चिसो मौसममा केही युवायुवती गल्ली बाहिरको चोकमा प्रतिक्षारत थिए। उनीहरुको अनुहारमा अन्यौलता झल्किन्थे।
आजकालकै हिपहप शैलीमा सजिएका, स्टाइलका लागि झोला बोकेका उनीहरुले गितार पनि बोकेका थिए। हामीलाई कार्यक्रमको थलो यही हो भनेर संगीत पारखीहरुका हातका ब्यानर र संदेशले संकेत दिइसकेको थियो।
कार्यक्रममा अरुलाई के भनेर डाँकिएको थियो कुन्नि, मलाई भने ‘किताबको संगीत’ सुन्न आउनु भनेर निम्ता आएको थियो।
टाढाबाट संगीत बज्न थाल्यो, म भने चिसो मौसममा तातो चिया हातमा लिएर बसेको थिएँ। मेरो समाजमा (नेवार) संगीत दुःखमा पनि बज्ने गर्छ, यो पनि संवेदनाको संगीत हो। थियो, कोही मरेपछि लासलाई अगुवा गरिदिन, बाटो देखाइदिन बजाइने संगीत।
बाटा छेउको चोक हो, यो बिष्णुमति नदी किनारको बाटो हो, कोही बितेछ भने घाट जाने बाटो यही नै हो, आश्चर्य हुनुपर्ने कुनै संदेह थिएन।
त्यो ‘नाय् खिं’ मेरो नजिक बज्न शुरु भयो। यो संगीत धुनको सर्जक को होला? कसैलाई आजसम्म थाहा छैन, हेक्का पनि छैन।अगुवा दिन एउटा जाति विशेषले बजाउँदै आइरहेको यो बाजाको अगुवा गरेका थिए, जेसन कुँवरले। कला, गला र सीप। के चिजको कमी थियो र उनमा रु कलिलै उमेरमा हर्ताकर्ता भईसकेका थिए ।
लासको पछाडि जाने बेलामा नजिक भनिएकाहरु विशेष प्रकारको खास्टो ओढेर पछि जाने गर्छ, मृत्तकको गुणानुसंस्मरण गर्दै, घाटसम्म आगो (दाग बत्ती नदिएसम्म) र धुवाँलाई पिछा गर्छौं। कुर्छौं।
बिथेन बुढो र उनका छोरोहरुले झ्याम्टासँगै दमाहा, ट्याम्को पनि बजाए। धुँवा हो कि हुस्सुमा मनुवा पोलेको बासना फैलियो। चार जनाले बाँसको खटमा तन्केको पँहेलो कपडा (हामीकहाँ) भए केशरीले रंगाएको पवित्र कपडा प्रयोग गर्ने गर्थ्यो। माथि लासलाई उत्तानो पसारे।
चार छेउ समाएर उचाले। लाससँगै मृत्तकका आफ्नाहरुले लासै तानुला झै चिच्याउदै ‘नलग मेरो परानलाई, ऊ कँई ग’को छैन’ भनि जगतले सुन्ने गरी बिलौना गर्ने हो, यहाँ काकीसितै केही महिलाहरु अलमलिएर रुन थाले। लेखक यी सबै दृश्य देखेर काँतर भइसकेको थिए, पुस्तकमा म पात्र मार्फत पढ्न सकिन्छ।
त्यो बिहान हामी त्यो क्रियामा वा संगीत परेडमा सरिक भएका थियौं, मलामीमा होइन, र पनि मन त्यही वेदनामा घोलिएको थियो। मैले मनभरि त्यो पढ्न दिएको र रिसले नपढेका पानाहरुलाई सम्झन्दै गन्तब्य भनेको जेशनको गुफामा छिरें। यो उल्लेखित योगिनी गुफा पक्कै होइन जहाँ नसोचेको कुराहरु मात्र हुनलाई, यो त एउटा साधकको कोठा न हो।
म सँगै मेरो जीवन नगिनाको साथ र अदृश्यको साथमा थिए (रिक्टे, खोरे, घुसे, तीरमान काका, धम्सुली, काम्फा भनिने बाजेहरु, मीतज्यू भनेर बुझिदिने आकु, कल्त्स्ये, पाबु, रुकु, बिजु, ईलाखस, डुम्रेहरु, डुम्मु बज्यै, कबिस, हिरी, टुटु र बान्टु र छुटेका नामहरु सबै जना भित्तामा देखिए।
वास्तवमा तिनीहरुलाई कोरिदिएको थियो, ध्वाँसोले लेखकले लेखेकै शैलीमा ‘करण श्रेष्ठ र आइरिन जिस्युन किम्’ ले पात्रहरु र उनले देखेको संसारको नापी चित्र पनि। ध्वाँसोले आफ्नो रङ फेर्दै थियो। कालोबाट रातो, अनि रातोबाट नीलो, नीलोबाट अरु रङमा बदलिन थाले। कहिले अँध्यारो। कहिले उज्यालो। आँखा झिमिलझिमिक गरेजस्तो। रुपहरु फेरिरह्यो। घरी पानीजस्तो, घरी बादलजस्तो। ध्वाँसोमा अनौठा छायल निस्कन थाले। अनौठो। जानेका-बुझेका, जिएका –भोगेका पलहरु, सप्पै थोक ध्वाँसोमा चित्र बनी चल्न थाले...
ध्वाँसोमा चलिरहेको चित्र धमिलो हुँदै गयो...ध्वाँसो...कालो भयो, आफ्नो पुरानो रुप र रङमा आयो।
सबै त त्यस्तै नै थियो, तर मैले त गन्ध पनि सुघिँरहेको थिएँ, हो त्यहाँ कसैको लास थिएन। यो संगीतको शक्ति भनेकै वातावरणलाई दुःखी बनाइदिन्छ, मनमा पानीजस्तै खललल केही बगाइदिन्छ। मेरो मन पनि चिसियो। आज बिहानै केटाहरुले गिजिङ मिजिङ गरिदिए भन्दै पिछा गरें। चिया कुनोतिर फालिदिएँ।
धेरैले त्यो दिनको क्षण भुले, जसरी केहीले लिपि बिर्से। नागी लिपि सिकाइदिएको छ – फेरि। बोलीचालीमा अफ्ठेरो भ’कोले नागी भाषामा धेरैको रुचि थिएन। सप्पै बुझिदेने कोही पनि बाँकि रहेनन्। यो योगिनी आफैले सिर्जेको छुट्टै भाषा हो।
म हुर्केको स्थानको सुरक्षा योगिनीले गरेकी छन्। संसारका धेरैले यी संरक्षिकाको दर्शन गरेका कथाहरु स्वर्ण अक्षरमा लेखेर राखेका छन्। पुस्तकमा यही छ।
हालसालैको कुरा हो सुबिख्यात ‘रिम्पोचे कम ख्यातिप्राप्त डाइरेक्टर खेन्चे नोर्बु’ले उही योगिनीको खोजीमा बनाएको फिल्म चर्चामा छ।
हामी उनै योगिनीका संतान, उनकै हाड, छाला, मासु, रगत, सास, उनकै शिश्य, उनकै विद्या र उनकै ज्ञान।
मैले चिनेको जेशन एक युवा, जो केहि संगीतकर्मीहरुको झुण्डमा बसेर गुरूकुलको ब्ल्याक बक्स थियटरको पर्दा अगाडि अँध्यारोमा बसेर नाटकमा लाइभ संगीत भर्थे। उनले त्यो अँध्यारोबाट पर्दा अगाडि र पछाडीका अनेक हेर्न मिल्ने नमिल्ने सबै हेरेका छन्, देखेका छन्।
नाटक भनेको जीवन हो। यसर्थ उनले जीवन 'ब्ल्याकबाट व्ह्वाइट' मा नभएर सबै रंगहरुको समायोजनमा देखे। केही समयपछि थाहा भयो, उनले संगीतमा लागिराख्न आफूले उतीर्ण गरेको ‘चार्टड एकाउन्टेन्ट’ पेसा त्यागेका रहेछन्।
त्यतिबेलै मलाई लागेको थियो, यिनी सर्जक हुन्। यिनले पक्कै राम्रा सिर्जना गर्नेछन्। उनले 'रमिते' रचेर त्यो सिर्जना गरेको महशुस गराएका छन्।
देखौं कसरी, छोऔं कसरी
चिनौ कसरी, भुलौं कसरी
बोलौ के भनी, बुझौं कसरी
भाका फेरेछौ, नजर बदलेछौं
स्वाद फेरेछौ, बोली फेरेछौं
घर न आँगन,चुलो न चौको
आगो जल्दैन, छाकपानी चल्दैन
जाउँ आफ्नै लोक ठाँउ त्याँ गाम ढल्दैन
सुगमा गौतमसँग आवाज मिलाउँदै गाइएका यी र यस्तै गीत सुन्ने केहीले त्यो दिन भनेको सुनियो- यो त केही नबुझिने ‘अब्ष्ट्रयाक’ अर्थात अमूर्त रहेछ।
उनीहरुको कुरा सुनेर मैले मनमनै भने, 'अमूर्त आफैंमा एउटा विधा हो, यसलाई मूर्तरुपधारी नामाकरण गरिराख्नु पर्दैन।'
रमिते झन्डै एक हजार दिन लगाएर पाठकको हातमा राखिदिएका छन्। किताबमा कुनै विधा उल्लेख गरिएको छैन। मेरो विचारमा विधा नछुट्याइदिएको नै राम्रो भएको छ।
२८२ पेजको, ६६३०० शब्दहरुमा भावनाहरु भन्दा पहिले आवाज सुन्न सकिन्छ।
संगीत भनेकै आवाज हो, र संगीतकर्मीले भर्ने नै आवाज हो। त्यसैले यहाँ पहिला आवाजहरु ठोक्किन आइपुग्छन्, शब्दहरुले पछ्याउँछ। किनकी यो संगीतमय धुनमा लेखिएको छ।
यो आख्यानले विमति, रिस, भँडास, आक्रोसलाई सिर्जनामा पोखेर सिर्जना गर्न सकिन्छ भनेर प्रमाणित गरेको छ। सपना देख्नै परेपछि ठूलै देख्ने हो नि, भने जस्तै कल्पनामा नै डुब्ने भएपछि काल्पनिकताको चरम पराकाष्ठा र गहिराइमा नै पुग्ने हो नि भन्ने जोश देखाएका छन् लेखकले।
मोती नै टिप्ने भएपछि गहिराइमा डुब्नू भनिए झैं डुबुल्कीमा मात्र मारिएको किताब हैन, रमिते।
तह तह परेको जूनजस्तै प्रत्येक तहहरुको वेदना एक अर्को तहमा मिसिनेछ, यसलाई छलाङ मारेर अगाडि बढे कहीँ पुगिन्न। पाठक अलमलमा पर्न सक्छन्।
जेसनले हिजोसम्म गीतहरुमा आफ्ना विमति राखेका थिए। आज उनलाई मन पराउनेहरुको संख्या पहिलाभन्दा धेरै भइसकेको छ। उनको संगीतमा विमतिभन्दा रुचि राख्नेहरु बढिरहेका छन्।
हो रमिते चिसो पुस्तकले हो। यसले मनको भित्री कुनामा शीतल आभास गराउँदैन, मन र शरीर तातो बनाएर ल्याउँछ। लासलाई छोए जस्तो। यदि लास छोएको छैन भने यसलाई स्वागत गर्नुस्।
रमिते काल्पनिकतामा हुर्केको हो। यसको सिर्जनाको बिन्दु नै कल्पना हो।
यहाँ प्रस्तुत संसार तपाईं-हामी बाँचेको शताब्दीको होइन। के यो हामी भन्दा पहिलाको हो त? त्यो पनि यकिन छैन, त्यसो हुँदो हो त इतिहास हुनुपर्ने।
ऐतिहासिक कथा, इतिहासमा आधारित उपन्यास, महाकाव्य धेरै छन् – तर त्यो पनि होइन यो। यो हुर्केको वास्तविकता स्थान र समयको हेक्का छैन। भाषाको प्रयोग पढ्ने हो भने यो पश्चिम र पूर्वका लवज प्रयोग भएको छ। बिरासर, धुल्जेङग, कर्क, गंगटे, मगडी, हिर्कोट, त्रियाथात, खसक, धाप्कोट, गंते, सर्पगुफा, लाकुजस्ता स्थानहरु भएको कथामा दरबार र राजारानी पनि छन्।
लु लु लु पाँच नदी तरेर दसपहाड कटेर,दस हिमाल जितेर सूर्जमुखीको बगैचा आउँछ। जब खुला अक्कास फैलिन्छ, जब नयाँ घाम झुल्किन्छ, जब चारै फेटबाट हावा चल्छ, कोही आउँछ तिम्रो हात समाउन।
यहाँ कोही भनेको लेखकको हो कस काकीको वा कल्पनामा उनेको संगीतको पात्र हो। कोहीले तपाईंलाई सँगै लानेछ। जाऊ शान्त भएर। जहाँ घाम डुब्दैन। मूल सुक्दैन। हे आक्कास पारिको झिल्का।
कसैले इतिहासमा कोरेको छ सर्जकहरुमा आउने सिर्जना भवितव्यमा हुने अनेक प्रकारका घटना,संसार निर्माण सँग मेल खाने गर्दो रहेछ, अतः सर्जकहरु महान हुने हुन्। यस अर्थमा। यहाँ प्रस्तुत गरेका आवाजहरु भविष्यमा घट्न सक्छ। त्यसरी मेल नै खान पुगेमा संजोग मात्र मानिने छ। ऐतिहासिक मान्यता पक्कै पाउने छैन।
यो काल्पनिकताको संसारमा कालो नै देखिन्छ, छाया। लेखकले घर्के बाको पहिला कालो छाया देख्छ। यहाँ पनि छाया बोल्दैन, घर्के नै बोल्ने हो, त्यसैले पहिला स्वर बाहिर थोकिन्छ। बस्ने पिरा नै हो। मकैका घोगाहरु भुईमा नै छर्ने हो। टोपी शिरमा नै लाउने हो, सम्मानमा, गर्मीमा फुकाल्ने नै हो। गर्मीमा बिहानै घाम चर्किने हो। गाउँमा अन्न नफलेपछि काकाकुल हुने नै भो, छिमेकी गामबाट अन्न नपाठाएमा भोकमरीको डर त्यहाँ पनि छ।
फारुफारु पनि गर्न जानु पर्ने समाजको यकिन छ। केही छैन टाढाटाढा सम्म। भोको पेट। सिमसिम आँखा। दुक्ख, पीर, पीडा, भोक फैलिएको छ चारैतिर। हारालुछ र मारकाट चल्छ। कहाली लगाउँछ, बाहिरको संसारले। धान र कोदो नसप्रेपछि मकैले धानिदिन्छ। निकाल लागेपछि मान्ठ, मान्ठ नहुने रहेछ।
यसो हुनुमा तेस्रो शक्तिको हात छ, र यो संसार त्यही शक्तिमा अडेको छ। शंदेह छैन। तर यसलाई बेफ्वाँक मान्नेहरु पनि छन्। त्यसैले याहाँकाहरु सपनालाई छातीमा च्यापेर, छामेर भबिष्य तय गर्ने गरेको। यहाँ मितिलाई नै पछ्याउने हो, तिथिलाई होइन। कै जानलाई साइत पनि पर्नु पर्छ। अनि निस्कने हो, सपनाको खेती गर्न।
पसिना चुहाउन, हड्डी खियाउन।
यहाँकाहरु शक्तिको कुरामा तीनछक्क छन्। यो अलौकिक सपना हुँदै होइन। समय बढ्नुको साटो पछि फर्किने थाल्यो। उँघो बगिरहेको ‘धाम्सुली’ उँभो चढ्यो। डुब्न लागेक घाम त फेरि उडाउन थाल्यो। बर्खहरु एकै सासमा पछाडि गए। छोडि हिँडेको पल सङ्लेर आयो। कुल्चिएर भताभुङ भ’को घर उभियो। आधा। हाम्ले जस्तो छोडेको थियौँ तेस्तै। तर, लेखकको उमेर घट्यो कि फुलेर गयो?
यसबेला ‘सुप्ला’ खाएको छैन । यो एकप्रकारको नशा हो, आँखा लठ्याउँछ, भाउन्न बानाईदिन्छ, सपना हो कि विपनामा कतै नचाहेको तर पुग्नु पर्ने स्थानमा पुर्याइदिन्छ। यसप्रकारका प्रसादहरु बजारमा प्रशस्त छन्, नामाकरण मात्र फरक छ, प्रस्तुतिमा।
हुनेहरुले नै दिने हो, के दिने? जाडो छल्न फ्याउरोको छाला, सुरक्षाको निम्ति हत्तियार, सकुशल रहन जडिबुटी। नसक्नेले दिने भनेको आशिष हाम्राहरुले जस्तै बोले ‘बाटो नबिरियोस्। हिड्डा ठेस नलागोस्। सत्तुर बैरी परैपरै भागोस्। चित्ताएको सप्पै पुगोस्।'
शुभकाममा हामीले पनि सुकुण्डानै बाल्ने हो, शपथ खाँदै। सुकुण्डा शब्दनै सुकुना चरीबाट सरेको हो। त्यसैले फलिफाप गर्ने छ भन्नेहरु धेरै छ। केही हुने नै छ भनेर छ्येमा पूजा नै चढाउने हो। बलि पनि दिने गरिन्छ। बलिको अर्थ त्याग्नु नै हो, समर्पण। सबथोकको क्रिया यहाँ प्रस्तुत गरिएको छ।
शक्तिमा थपघट नहोस् भनेर मन्त्र जप्ने तन्त्र जान्ने तान्त्रिकै शरणमा पर्ने हो, अहिलेकाहरुले नमाने पनि। अहिलेकाहरुले गर्न नसकेकाहरु धेरै छन् हामीकहाँ। उनीहरुले व्याख्या गर्ने अनेक लोकहरुमा लेखकले व्यक्त गरेकोभन्दा अव्यक्त लोकहरुसँग बढी मेल खाने गर्छ किनकि लेखक, वा म पात्रले पहिला संगीत सुनेको हो, पछि मात्रै नाय् (खिं ठोकेको हो), जानेको यही नै हो ।
समय क्रममा किताबका दुई पात्रलाई पागल देखाइदिएको छ।
लेखक अहिले १२ बर्खको भए। पछि ८ बर्ख थपिएको क्षण पनि छ।
म पात्रको डायरीका पानाहरुमा कोरेका दिनहरु ३०९ बाट शुरु भएर ३२० मा फेरि लासहरुको दर्शन हुन्छ।
दिन ३२१ मा नसोचिएको घटना हुन्छ। बन्द आँखा सलबलाए। अनुहार खुम्च्याउँदै उसले आँखा उघारेकी थिई...
आकासको गुच्छाहरु ठोक्किन्दै गाँउ नपुग्दै ठूलो पानी पर्छ।
जीवन भनेकै अफ्ठ्यारामा बाटो लड्नु रहेछ। तेई अफ्ठ्याराले नै नौलो बाटो देखाउँछ। कल्पना नै हो नि सिर्जना। के भन्ने के नभन्ने। के लेख्ने के नलेख्ने। के गाँउने के नगाँउने। मेरो मन टप्पै बन्द भयो। बसेको ठाऊँ त कस्तो उकुसमुकुसिएर आयो।
हामीकहाँ गीतबाटै कथा भन्ने हो, यहाँ आख्यान भनिएको छ।
सुन लौ सुन साँचो हो कथा
भ’को कुरो, होइन झुटा