अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब ‘वी रीड’ले नेपालीमा प्रकाशन गर्ने अनुमति पाएको छ। 'वी रीड'ले विज्ञप्ति मार्फत ‘द ट्रुथ्स वी होल्ड : एन अमेरिकन जर्नी’ नेपालीमा अनुवाद गर्ने अनुमति पाएको जानकारी गराइएको हो।
महिला समानताको सवालमा अगाडि मानिने अमेरिकाको राजनीतिमा भने २१ औं शताब्दीमा पनि वर्णभेदी र लिंगभेदी नै छ।
यो वर्षको जनवरी २० मा कमला ह्यारिस संयुक्त राज्य अमेरिकाको उपराष्ट्रपति पदभार सम्हाल्दै गर्दा उनले दुई खालका इतिहास रचिन्। एउटा उनी अमेरिकाको पहिलो उपराष्ट्रपति बनिरहेकी थिइन्। अर्को उनी त्यो पदमा पुग्ने पहिलो कालो वर्णकी महिला तथा पहिलो दक्षिण एसियाली महिला बनिन्।
यी र यस्तै इतिहास रच्ने पात्र कमला ह्यारिसको ‘द ट्रुथ्स वी होल्ड’ पुस्तक विभिन्न बेस्ट सेलर सूचीमा पर्न सफल पुस्तक हो।पेनगुइनबाट प्रकाशित ह्यारिसको ‘द ट्रुथ्स वी होल्ड’ वी रडले नेपालीमा प्रकाशन गर्न लागेको हो। वी रीडकी प्रमुख कार्यकारी अधिकृत सुनिती अमात्यले पुस्तक चाँडै प्रकाशन गरिने जानकारी दिइन्।
पुस्तकमा अमेरिकाकी प्रभावशाली र प्रेरक राजनीतिज्ञ कमलाले अमेरिकी जनताको एकताबद्ध गर्ने मूल सत्यबारे चर्चा गरेकी छन्।
कमला ह्यारिस जमैकाबाट अमेरिका पुगेका आप्रवासी बुवा डोनाल्ड ह्यारिस र भारतबाट अमेरिका पुगेकी श्यामला गोपालनकी छोरी हुन्। कमलाको जन्म सन् १९६४ अक्टोबर २० मा ओकल्याण्ड, क्यालिफोर्नियामा भएको थियो। उनकी आमा क्यान्सर अनुसन्धानकर्ता श्यामला गोपालन र बुवा जमैकाका अर्थशास्त्री हुन्।
कमलाका बुवा र आमाको भेट स्नातक तहमा अध्ययनका क्रममा बर्कलेमा भएको थियो। उनका बुवा आमा अमेरिकी नागरिक अधिकार आन्दोलनमा सक्रिय थिए। अभिभावकको राजनीतिक चेतना प्रभाव सानैदेखि कमलामा पनि पर्यो।
उनकी आमा र बुवाको सम्बन्ध विच्छेद हुँदा कमला ७ वर्षकी थिइन्। तर त्यसपछि आमाको अभिभावकत्वमा हुर्केकी कमलाको व्यक्तित्वमा उनकी आमाको विशेष प्रभाव रह्यो।
कमलाले सानै उमेरदेखि कालो वर्णका मानिसले भोग्ने भेदभाव र त्यसको प्रतिरोध देखिन्। आफैंले पनि त्यस्ता विभेद बाल्यकालदेखि नै भोग्नुपर्यो। यही देखाइ भोगाइ उनको राजनीतिमा सक्रिय हुने एउटा प्रमुख प्रेरणा बन्यो।
‘द ट्रुथ्स वी होल्ड’ मा उनले लेखेकी छन्, ‘म परिवर्तनका लागि जीवनभर न्यायको खोजीमा एकजुट भएका वयस्कहरूबाट नारा र जुलुस हेर्दै हुर्किएँ। त्यहीँ मैले यो सबै प्रक्रियामा हाम्रो आफ्नै पनि महत्वपूर्ण भूमिका हुन्छ भन्ने जानेँ।’
अमेरिकाकी प्रभावशाली महिला राजनीतिज्ञ कमला एटर्नी जनरल, सिनेटलगायत प्रभावशाली पदहरु सम्हाल्दै लामो यात्रा पार गरेर अमेरिकाको राजनीतिमा नयाँ इतिहास रच्न सफल भएकी हुन्।
कमलाको ट्रुथ्स वील्ड होल्ड सन् २०१९ मा चुनावी अभियानअघि सार्वजनिक भएको पुस्तक हो। पुस्तकमा उनको करियर, निजी अनुभव र वैचारिक धारणाको मिश्रण भेटिन्छ।
२०१९ मा, उनले बालसाहित्य ‘सुपरहिरोज आर एभ्रिह्वेर’ र कानुनी न्यायका पक्षमा लेखिएको ‘स्मार्ट अन क्राइम’ पनि प्रकाशित छन्।