आदिवासी जनजाति आन्दोलनका अभियन्ता मोहन गोले तामाङको किताब ‘जातिवादको शल्यक्रिया’ सार्वजनिक भएको छ। ताम्सालिङ नलेज सेन्टरको आयोजनामा शनिबार शिल्पी नाटकघरमा किताब सार्वजनिक भएको हो।
किताबको लोकार्पण अभियन्ता करुणा विश्वकर्माले गरेकी थिइन्। आफूले केही समयअघि मात्र काठमाडौंमा कोठा खोज्दा जातका कारण विभेद भोग्नुपरेको बताउँदै उनले भनिन्, ‘मैले उक्त विभेदलाई लिएर प्रहरीमा जाहेरी दिएँ। त्यस्ता धेरै व्यक्ति हुनुहुन्छ जसले आफ्ना विभेद खुलेर बाहिर ल्याउन सक्नुभएको छैन। ती सबैलाई यो किताबले उत्प्रेरणा दिन्छ र हामीले अपनाउनुपर्ने बाटो पहिल्याउन मद्दत गर्छ।’
किताबको भूमिका लेखेका प्राध्यापक कृष्ण खनाल भन्दै थिए, ‘हामी मुक्त समाज भन्छौं तर त्यहाँभित्रका विभिन्न विभेद हटेका छैनन्। समाजको अवस्थाको साक्षी बसेको यो किताब साँच्चैको शल्यक्रिया हो।’
एक अभियन्ता लेखक भयो भने उसले आफ्ना विचार राम्ररी व्यक्त गर्न सक्छ भन्ने उदाहरण यो किताब भएको उनले बताए।
गोलेको यो किताब गैरआख्यान हो। यसभित्र तर्क र तथ्यको राम्रो संकलन छ। तर गैरआख्यानले जनजातिहरूले भोग्नुपरेको विभेदलाई राम्ररी बोक्न नसकेको लेखक सिके लाल बताउँछन्।
‘चिया कफीको स्वाद त छ तर रगतको टाटा, पसिनाको गन्ध खोज्ने हो भने आख्यानमा जानुपर्छ,’ उनले भने, ‘काठमाडौंमा मालिकहरूले चढ्ने मोटर भीमफेदीबाट ल्याएको पसिनाको पीडा गैरआख्यानमा कहाँ आउँछ? उनीहरूले भोगेका जातीय विभेदको आक्रोश मन्द हुन दिनुभएन। उनीहरूको कुरा पढ्दा अलिकति रिस उठेन भने त केही न केही नपुगेको हो।’
आगामी संस्करणमा त्यो कुरालाई ध्यान पुर्याउँदै आख्यान लेख्न जोड दिँदै उनले भने, ‘खरानीलाई आगोले छोपेको छ, त्यसलाई उडाउने हुरी त आउनुपर्यो नि। अनि बल्ल त्यहाँभित्रकाे संघर्ष देखाउन सकिन्छ।’
मानवअधिकारकर्मी मोहना अन्सारीले पनि उनको कुरामा सहमति जनाउँदै भनिन्, ‘जात व्यवस्थाको चरम विभेद इलास्टिकजस्तै तन्किएको छ। त्यसको शल्यक्रिया गर्न किताबले मात्र पुग्दैन होला, लामो संघर्ष गर्नुपर्छ।’
लेखक गोले बन्दुकबाट नभई शान्तिपूर्ण सडक संघर्षबाट नै जातिवादको समाधान हुने ठान्छन्। यसमा लेखक–अभियन्ता आहुतिको धारणा फरक छ।
आजको युगमा बुद्धवाद लागू गर्न खोज्यो भने त्यसले शोषक वर्गलाई फाइदा पुग्ने उनी बताउँछन्।
‘गौतम बुद्ध राजनीतिमा आउनुहुँदैन किनभने आजको समाजमा बुद्धवाद लागू हुँदैन,’ उनले भने, ‘जसले बुद्धलाई लागू गर्न खोज्छ, त्यसले शोषक वर्गलाई फाइदा दिन्छ। किनभने, आजको समाजमा हिंसा छ र तपाईंले जतिसुकै तपस्या गरे पनि त्यो हिंसा जाँदैन। त्यसैको प्रतिरोधका लागि कुनै न कुनै विन्दुमा उत्पीडितहरूले कुनै न कुनै मात्रामा हिंसा गर्नैपर्ने हुन्छ।’
लेखकले हिंसाबाट गरिएका परिवर्तन लामो समय टिक्दैन भनेका छन्। यो विषयमा पनि तर्क गर्दै आहुति प्रश्न गर्छन्, ‘नेपालका जनजातिहरूलाई लामो समयदेखि ठोकी-ठोकी रचेको इतिहास टिकेन त? नाक काटी-काटी, बोरामा खाँदी-खाँदी रचेको इतिहास टिकेन?’
‘हिंसा सकेसम्म कम गर्ने हो तर यो अनिवार्य छ। किनभने संसारका सबभन्दा ठूला दुश्मनहरू सबभन्दा ठूलो हतियार लिएर बस्छन्। अनि हामीलाई किन चाहिएको शान्ति? यो संरचना भत्काउन नसक्नेलाई किन चाहियो शान्ति?’ उनले भने, ‘शान्ति मात्र चाहने हो भने दास बन्ने हो। लेनिनले भन्थे पनि, दास यसकारण दास बनेका छन् किनभने उनीहरू दास बन्नलायक छन्।’
उनले अगाडि भने, ‘दाँत हल्लियो भने तान्नुपर्छ नि, त्यसरी नै उत्पीडन हल्लियो भने त्यसलाई थुत्नुपर्छ। जनजातिको पहिचान निम्ति लड्ने हो भने ठिक समय अहिले नै हो। नत्र राजनीतिकभन्दा सांस्कृतिक आन्दोलनजस्ताे भइरहेकाे यो मुद्दा छिट्टै सकिन्छ।’
आहुतिले किताबका केही तथ्य र इतिहासलाई औंलाउदै तिनलाई आगामी संस्करणमा सुधार्नुपर्ने सुझाव पनि दिए।
ती सबै सुझावलाई आगामी संस्करणमा समेट्ने प्रतिबद्धता जनाउँदै लेखक गोलेले भने, ‘म जस्तो बोल्छु, त्यस्तै लेख्छु। लेखनीको दायरा हुन्छ, अभियन्ताहरूले त्यो सीमा नाघेर समाज कसरी रूपान्तरण गर्न सकिन्छ र त्यसको बाटो के हो भनेर पुस्तकबाट बताउन खोजेको छु।’
धेरैले ‘जातिवादको शल्यक्रिया’ कडा शीर्षकको किताब भनेर उनलाई भनेका छन्। त्यही सन्दर्भ जोड्दै उनले भने, ‘विचारको वाद हुन्छ, सिद्धान्तको वाद हुन्छ। तर जात, लिंग, क्षेत्रको वाद हुँदैन। त्यसले अर्को समुदायलाई अन्यायमा पार्छ। त्यही सन्दर्भमा यो पुस्तक तयार भएको हो।’