हालसम्मको अध्ययनअनुसार सन् १५०५ देखि नै नेपाल भाषामा साहित्य रचना हुने क्रम सुरू भएको इतिहास छ (तमोट ने.सं. १११९)।
मल्लकालीन (सन् १५०५–१७६८) इतिहासका खास–खास राजादेखि आमप्रजासम्मले पनि साहित्य लेखेको तथ्यले नेपाल भाषा वाङ्मयको फराकिलो सेरोफेरो उजागर गर्छ। काव्य लेखनको रंगमञ्चमा प्रवेश गर्नेमा राजपरिवारका पुरुष सर्जक मात्र होइनन्, महिला श्रष्टा पनि छन् भने आममहिला श्रष्टा चाहिँ प्रस्ट देखिएको छैन।
तर, आमप्रजाबाट उदाएका अज्ञात रचनाकारमा महिलाको सहभागिता पनि हुने सम्भावना इन्कार गर्न सकिँदैन।
मल्ल शासनकालमा प्राण मल्ल (सन् १५०७–१५४९), महेन्द्र मल्ल (सन् १५६१–१५७४) देखि जगज्योति मल्ल (सन् १६१३–१६३६), सिद्धिनरसिंह मल्ल (सन् १६०६–१६६१), श्रीनिवास मल्ल (सन् १६२७–१६७७), प्रताप मल्ल (सन् १६२३–१६७४), जगतप्रकाश मल्ल (सन् १६४४–१६७३), जितामित्र मल्ल (सन् १६७३–१६९६) र जयप्रकाश मल्ल (सन् १७३५–१७७०) जस्ता राजा काव्य लेखनमा रंगमञ्चमा प्रवेश गरेका थिए।
त्यसै क्रममा कान्तिपुरका राजा पार्थिवेन्द्र मल्लकी रानी र राजा भूपालेन्द्रकी आमा ऋद्धिलक्ष्मी (सन् १६८०–१६८७), राजा भूपालेन्द्रकी रानी एवं ऋद्धिलक्ष्मीकी बुहारी भुवनलक्ष्मी (सन् १६८७–१७०१), राजा जगज्जय मल्लकी रानी एवं जयप्रकाश मल्लकी आमा कुमदिनी देवी (सन् १७२२–१७५७), जयप्रकाश मल्लकै रानी दयालक्ष्मी (सन् १७३५–१७६८), आफैं कवि रहेका भक्तपुरका रणजित मल्ल (सन् १७२२–१७७०) की रानी वृद्धिलक्ष्मी देवी तथा पाटनका राजा योगनरेन्द्र मल्लकी रानी जयलक्ष्मी (सन् १६८५–१६०६) र त्यहीँका राजा विष्णु मल्ल (सन् १७२५–१७६८) की पत्नी चन्द्रलक्ष्मी पनि काव्य साहित्य लेखनमा उत्रिएको इतिहास छ (वैद्य २०५९, तुलाधर २०७०ः १०८–११३)।
अध्येता जनकलाल वैद्यले काठमाडौंका सर्वसाधारण कविहरूको कृतित्वबारे लेखेका कुरा अन्य राज्यका आमलेखकको हकमा पनि त्यत्तिकै लागू हुन सक्छ।
उनी लेख्छन्- त्यस बेलाका सर्वसाधारण अज्ञात कविहरूले सिर्जना गरेका धार्मिक स्तुति, सिनाज्याका लयबद्ध माया प्रेमका गीत वा गीतिकथामा कवित्व गुण भरिएको पाइन्छ। उनीहरूमा क्रमशः अर्थान्तरन्यास अलंकार र अन्योक्ति शैली, काव्यशास्त्रसम्मत नायिकाको विरह दशा वर्णन, गीतिकथाको संगठनात्मक स्वरूप एवं शृंखला तथा पात्रहरूको मनोभाव, पात्रअनुसारका छेडखानी र व्यंग्य हेर्न पाइन्छ। ती गीत सामान्य लोकगीतको स्तरभन्दा माथिल्लो तहका काव्य स्तरीय रचना रहेको अनुभूत हुन्छ।
यस्ता स्तरीय र मौलिक सिर्जनामा राजा, रानी मात्र होइन, रंक वा प्रजामध्येका केही सिर्जनशील व्यक्ति पनि काव्य रचनामा संलग्न भएकै कारण माध्यमिक काल नेपाल भाषाको वाङमय विस्तार भएको थियो।
जनकलाल वैद्यले मल्लकालका मात्र होइनन्, शाहकालका पनि पाटन, कान्तिपुर र भक्तपुरका सर्वसाधारण ज्ञात र अज्ञात कवि तथा उनीहरूका रचनाको संकलन, उनीहरूका काव्य रचनाको प्रकृति र प्रवृत्तिको चिरफार गरेका छन्। उनले इश्वी सम्बतको सोह्रौं शताब्दीदेखि उन्नाइसौं शताब्दीको अन्त्यसम्मका पुराना गीतको परम्पराबारे अध्ययन गर्दै राजादेखि रंकसम्म पनि, तिनमा नेवारहरू मात्र होइनन्, नेवार–इतर व्यक्ति पनि नेपाल भाषामा काव्य सिर्जनाको कर्ममा प्रवृत्त हुनुको कारण खोतलेका छन्।
१) सामान्यतः जीवनका सुखदुःखको भाव अभिव्यक्त गर्ने स्वतःस्फूर्त अन्तप्रेरणाका कारण राजा, रानी, दरबारिया कविदेखि सर्वसाधारण कविहरूले आत्मपरक कवितामय गीत धेरै लेखेको पाइन्छ।
२) दरबारमा राजाको सभामा दिनदिनै गीत सुन्ने–सुनाउने र कवि गोष्ठी गर्ने, गीत र नाटक सिक्न–सिकाउन र देखाउन अलग्गै स्थान बनाउने कामले पनि काव्य सिर्जना र रचना व्यापक देखिन्छ। अनेक विभूषणले सम्मान गर्ने चलनले पनि तत्कालीन दरबारमा गीत र कविता रचना गर्न प्रेरित गरेकै थियो। उत्सव विशेषमा राजाले सर्वसाधारण कवि र दाफा, भजन, गीति नाटक प्रदर्शन गर्नेलाई पुरस्कार-प्रसाद दिने चलनले सर्वसाधारण कविहरूलाई गीति नाटक सिर्जना गर्न उत्साहित गरेको बुझ्न सकिन्छ।
३) समसामयिक र ऐतिहासिक घटनाका कुरा सञ्चार गर्ने प्रवृत्ति तत्कालीन कविहरूमा रहेकाले मल्लकालदेखि शाहकालसम्ममा घटित प्राकृतिक विपत्ति, राजनीतिक घटना र पारिवारिक संकटबारे रचना गरिएका गीत फेला परेका छन्।
४) नेवार समुदायमा दाफा भजन गाउने नित्य परम्परा र बेला–बेला हुने जात्रापर्वमा गीत गाउने चलन भएकाले विभाषी कविहरूले पनि नेपाल भाषामा गीत लेखेका उदाहरण छन्। (वैद्य २०५९ः ३)
नेपाल भाषाका होऊन् या अन्य भाषाका, जुनसुकै भाषाका पुराना लोकगीत र गीतिकथाको एउटा विशेषता हो– यस्ता साहित्यिक सिर्जनाका रचनाकारको नाम र रचनाकाल उल्लेख नहुनु। लोकगाथा वा गीतिकथाहरूका रचयिता को हुन्, यस प्रश्नमा लोकसाहित्यका ज्ञाताहरूले व्यापक विमर्श गरेको र अनेक वाद वा सिद्धान्त बनाएको पाइन्छ।
ती विमर्श र वादको मीमांसा गरियो भने दुइटा मत प्रकट हुन्छ।
पहिलो मतअनुसार, गीतिकथा भनेकै सम्पूर्ण लोकको रचना हो। दोस्रो मतअनुसार यस्ता गीतिकथाको रचनाकार कुनै न कुनै व्यक्ति हुनुपर्छ।
दुवै मत राख्ने विद्वानहरू के कुरामा एकमत छन् भने, गीतिकथामा व्यक्तिको व्यक्तित्वहीनता हुन्छ र यस्ता रचनामा सम्पूर्ण समाजकै अधिकार हुन्छ। यस अर्थमा जर्मन भाषाशास्त्री ग्रीमको मतअनुसार 'लोक नै लोकगाथाका रचयिता हुन्' भन्ने भनाइ नै सर्वाधिक प्रासंगिक र स्वीकार्य छ। (नारायण सन् २०१०ः ७६)
नेपालका जुनसुकै भाषाका लोकगाथा वा गीतिकथाको हकमा पनि यही भनाइ लागू भएको पाइन्छ। नेपाल भाषाका प्राचीन काव्य सिर्जनाबारे अध्ययन गरेका जनकलाल वैद्य धेरैजसो लोकगीतमा रचनाकार र रचनाकाल उल्लेख नहुने पक्षमा सहमत छन्।
वैद्य नेपाल भाषाका केही गीतबारे लेख्छन्, 'गीत वा गीति काव्यमा कविको नाम अथवा रचनाकाल अथवा समकालीन गद्दीनशीन राजाको नाममध्ये एउटा, कुनै–कुनैमा मात्रै तीनवटै पक्ष उल्लेख गरिएको पाइन्छ।'
आमप्रजाजनबाट पनि रचनाकारको उदय भएको यथार्थ अर्काेतिर छ। त्यस समयावधिमा अधिकांश राजाले नेपाल भाषामा सिर्जना गरेका छन्। उनीहरूका नाम अंकित रचनाले यही वास्तविकता औंल्याउँछन्। इतिहासजस्तै साहित्य लेखनमा पनि शक्ति–सम्बन्धको छाया देखिनु अनौठो होइन, यस्तो सम्बन्ध रचनाकारको नाम लेखनमा देखिएको छ।
साहित्य लेखनमा जनसाधारणबाट गीत लेखिएको इतिहास फेला परेको छ, तर ती कविहरूको नाम कमै मात्र भेटिएको छ। आमप्रजाजनबाट उदाएका कविहरूको सूचीले मल्लकालीन नेपाल भाषा साहित्यमा जनस्तरबाट लेखनको दायरातिर इंगित गर्छ। (तुलाधर २०७०ः १०५–१०६)
नेपाल भाषाको प्राचीन गीति साहित्य, विशेषगरी मल्लकालका गीति रचनाबारे डा. प्रेमशान्ति तुलाधरको संश्लेषण उल्लेखनीय छ।
उनी तत्कालीन गीत वा काव्यका रचनाकारबारे संश्लेषण गर्छिन्- यस समयावधिमा गीत नलेखेका शासक नै छैनन् भने पनि हुन्छ। जनसाधारणबाट भने गीत लेख्ने कविहरूको नाम कम मात्र भेटिएको छ। यसरी जनसाधारणका तर्फबाट कम मात्र लेखक देखापर्नुको कारण– संगीतशास्त्रको ज्ञान नभई गीत लेख्न नसक्ने र यस प्रकारका शास्त्रीय ज्ञान सर्वसाधारणमा नहुने, सामन्ती मनोवृत्तिका कारण राजारानीको गीत मात्र दाफा भजनमा गाउने तथा सुरक्षित राख्ने, सर्वसाधारण लेखकले पनि हीनताबोधका कारण आफ्नो नाम नराखी गीत रचनाका समयका शासकका नाम मात्र दिने आदिले तत्कालीन समयका सर्वसाधारण कवि धेरै देखा नपरेको अनुमान गर्न सकिन्छ।
यस अवधिमा 'पुवाज्या म्ये' गीतिकथा लेख्ने केशव उदास (सन् १६००–१६१२), 'चण्डेश्वरी स्तोत्र' गीत रचना गर्ने जगतकेशरी (सन् १६१८) सँगै शाहकालीन कविहरूमा 'त्रिरत्न सौन्दर्यगाथा' रचना गर्ने विद्वान् सुन्दरानन्द बाँडा (सन् १७९३–१८३३) र 'सिन्हाज्या गीत' रचना गर्ने अर्का विद्वान् अमृतानन्द (सन् १८००–१८३१) जस्ता सर्वसाधारण रचनाकार राजपरिवारभन्दा बाहिरबाट उदाएका उदाहरण नभएको होइन।
मल्लकालको तुलनामा शाहकालमा गीतिकथा लेखन प्रवृत्ति बढेको देखिन्छ भने रचनाकारले आफ्नो नाम उल्लेख नगर्ने र रचनाकालका शासकको नाम लेख्ने क्रम पनि उल्लेखनीय रूप वृद्धि भएको पाइन्छ (वैद्य २०५१, तुलाधर २०७०ः १२३)।
आम रूपमा उनीहरूको संख्यात्मक उपस्थिति र प्रभावकारी सिर्जना अभाव भने खट्किने हदसम्म भन्ने गरिन्छ। तर, अध्येता वैद्यले नेपाल भाषा साहित्यमा ने.सं. ७२० देखि ९६७ भित्र आमजनताबाट उदाएका ७६ जना कविको उपस्थिति रहेको संकेत गर्दै १२ जना कविको व्यक्तित्व र कृतित्वका परिचय दिएका छन्, जुन कम महत्वपूर्ण पक्कै होइन।
ज्यापू कविले लेखेको अनुमान
निकै लोकप्रिय रहेको गीतिकथा 'सिलु म्ये' का रचनाकार कुनै राजा वा रानी होइन भन्नेमा कुनै शंका छैन। तर आमजनताबाट उदाएका कविमध्ये यसका रचनाकार को हुन सक्छ, धेरैको खुल्दुलीको प्रश्न हुँदै आएको छ।
सिलु म्येका रचनाकार सम्भवतः कुनै ज्यापू कवि हुन सक्ने सिग्फ्रेड लीनहार्डको अनुमान छ। यसको काव्यात्मक गुण त्यति उत्कृष्ट नभएको उनको ठहर छ। यसको रचनाका लागि साँचो अर्थमा लोकप्रिय शैली अँगालिएको छ। यसको कथा संवाद वा कुराकानीको शैलीमा प्रस्तुत गरिएको छ।
यी तर्कका आधारमा यसका अनाम रचयिता कुनै ज्यापू कवि हुन सक्ने उनको अनुमान कम आँक्न मिल्दैन। अध्येता लीनहार्डको अनुमानले केही प्रश्न उठाउँछ, जुन अनुत्तरित नै छ।
जहाँसम्म यस गीतिकथामा प्रयुक्त भाषाको कुरा छ, 'यस गीतको भाषा त्यति धेरै पुरानो देखिँदैन...। पहिलेदेखि कण्ठस्थ पार्दै गाउने परम्परा रहेको अवस्थामा पछि जुन बेला यसलाई लिखित रूप दिइयो, त्यही बेलाको भाषा यस गीतमा परेको छ। नत्र यसमा पनि कुनै न कुनै राजाको नाम अवश्य हुनुपर्थ्यो (कसाः ने.सं. १०९३ः ९)।'
यस रचनामा शब्द चयनमा सरल र सुवोध शैली कायम राख्दाराख्दै आपसी सम्बोधनमा भने कुलीन वा आभिजात्य पारा पाइन्छ, जुन ज्यापू समुदायका लागि अनौठो खालको लाग्न सक्छ। ज्यापू वा आम रूपमा किसान समुदायमा एकले अर्काेलाई सम्बोधन गर्दा आदरार्थी शब्द कमै प्रयोग गरिन्छ, बरू समानार्थी सम्बोधन अत्यधिक प्रचलित छ।
उदाहरणका लागि, ज्यापू समुदायमा एकले अर्कालाई 'छ' वा 'तिमी' नै भन्नु सम्मानसूचक मानिन्छ। आदरार्थी सम्बोधन प्रयोग गरिँदा अझै पनि व्यङ्ग्य गरेको ठान्ने गरिन्छ। श्रीमान वा श्रीमतीले एकअर्कालाई समान रूपमा सम्बोधन गर्ने तरिका यस गीतिकथामा देखिँदैन। श्रीमतीले श्रीमानलाई 'छि' (तपाईं), 'स्वामी र प्रभु' भनी सम्बोधन गरिएको छ भने श्रीमतीलाई श्रीमानले 'तिरी' (स्वास्नी वा श्रीमती) वा 'मिसा' (महिला)।
कुनै पनि थरका ज्यापूमा सम्बोधनमा हिन्दू समाजमा जस्तो श्रेणीक्रम र पुरुष हैकमको गन्ध कम पाइन्छ। यसरी श्रीमान श्रीमतीबीच सम्बोधन क्रममा देखिएको श्रेणीक्रम र पुरुष हैकमले यसका लेखकको जातीय आधारबारे लीनहार्डको दाबीलाई कमजोर पारेको अनुभूति हुन्छ।
लीनहार्डले जिकिर गरेझैं कुनै ज्यापू रचनाकारले नै रचना गरेको भए पनि यो कविता ज्यापू समुदायको विषयमा रचिएको रचना होइन। अन्य जात र थरका नेवारबारे लेखिएकोमा भने कुनै शंका छैन। यस गीतमा ज्यापू–इतरको समाजको चित्रण छ।
ज्यापूहरू सुरूमा प्रकृति पूजक, पछि बौद्ध धर्मावलम्बी हुनाले कुनै साइतका लागि जोशी वा ज्योतिषकहाँ जाँदैनन्। बौद्ध धर्मावलम्बी भएपछि उनीहरूमा गुभाजू (बज्राचार्य) र शाक्यकहाँ जाने चलन नै प्रबल छ। जोशीलाई साइत देखाउने चलन ज्यापू–इतरका थरमा बेसी छ, जो मूलतः हिन्दू, त्यसमा पनि शैव मत मान्ने गर्छन्।
डेविड गेल्नरका अनुसार, नेवार समुदायभित्र शैव मतावलम्बीमा राजोपाध्यायहरूले पुरोहित्याइँ गर्छन्, कर्माचार्यहरूले तान्त्रिक पूजारीको अभ्यास गर्छन् भने जोशीहरूले ग्रह, नक्षत्रको अध्ययनसँगै 'जातः' (चिना) बनाउने र साइत हेर्न काम गर्छन् (गेल्नर सन् २००९ः ४९, ६०)।
धर्मका आधारमा बहुलता अभ्यास गर्ने नेवार समाजमा हिन्दू धर्मावलम्बीले परम्परागत पेसाका रूपमा ज्योतिषशास्त्रको अध्ययन र अभ्यास जोशीहरूलाई नै साइत देखाउने चलन छ।
हुन त लीनहार्डले अनुमान गरेझैं यस गीतिकथाका रचनाकार ज्यापू हुँदाहुँदै पनि उनले गैरज्यापू श्रीमान–श्रीमतीको सिलु यात्राको काव्य रचना गरेको पनि हुन सक्छ। कवि वा गीतकारले आफ्नै जीवनको भोगाइ र आफ्नो समुदायकै समस्यालाई केन्द्रमा राखेर रचना गर्नुपर्ने कुनै बाध्यता छैन। उनले अन्य थर र समुदायमा रहेका मानसिक भ्रम र सामाजिक अन्धविश्वास चिर्न र महिलाको संघर्ष उजागर गर्न यसको रचना गरेको हुन सक्ने सम्भावना इन्कार गर्न सकिँदैन।
यस रचनाको सबभन्दा उल्लेखनीय पक्ष हो– महिलामाथि राजाबाट भएको उत्पीडन उजागर गर्नु र त्यस उत्पीडनविरुद्ध महिलाको संघर्ष उठाउनु।
कवि अज्ञात हुनुको कारण
आम रूपमा गाइने लोकगीतभन्दा माथिल्लो स्तरको यस मौलिक सिर्जनाका रचनाकार अज्ञात हुनु अनौठो होइन। एकातिर त्यति बेला आमप्रजाबाट लेखिएका सिर्जनामा सर्जकको नाम राख्ने कमै चलन थियो।
अर्काेतिर, तत्कालीन राज्यका सर्वाधिकारसम्पन्न व्यक्ति र संस्थाका रूपमा रहेको राजाबाट भएको अत्याचार उजागर गरिएको रचनामा नाम राख्नु सहज पनि थिएन होला। राजाहरू नै सर्जक रहेको बेला प्रजाबाट सर्जकको उदय र तिनको सम्मानका साथ उल्लेख कमै मात्र भएको इतिहास छ।
त्यस्तो कालखण्डमा राजाबाट भएका उत्पीडन सार्वजनिक गरिएका रचनामा नाम राख्दा कोपभाजनमा पर्ने खतरालाई बेवास्ता गर्न मिल्दैन। यस्तो अवस्थामा पनि राजाको आलोचनासहितको गीतले दाफा भजनमार्फत निरन्तरता पाउनु र आजसम्म पनि साउने पूर्णिमातिर गायन जारी राखिनु नै अचम्मको पक्ष हो।
यस उच्चस्तरीय मौलिक रचना र रचनाकारबारे जनकलाल वैद्यको भनाइ यहाँ उल्लेखयोग्य देखिन्छ।
'यसका अज्ञात कविले नेपाल उपत्यकामा लोकप्रिय सिलु म्येका आधारमा यस गीतिकथा सिर्जना गरेको देखिन्छ। त्यसैले यो पनि सन् १८–१९ औं शताब्दीको नेपाल भाषाको एउटा सशक्त गीतिकथा हो। अज्ञात कविले जयप्रकाश मल्लकालीन धार्मिक उपदेश प्रधान साधारण गीतिकथाका आधारमा यति सजीव गीतिकथा उनेकाले उनको कवित्व जाज्वल्यमान देखिन्छ। सिलु म्ये (गीतिकथा) यस अनुसन्धानका लागि खोजबिन गर्ने क्रममा फेला परेका दाफाका गीति किताबमध्ये भिंछे बहाः, पाटनको दाफा किताबमा मात्र समेटिएको पाएको छु। कथावस्तु, चरित्र चित्रण, घटनाक्रम, भाव सन्देश 'सिलु तिस' सँग मेल खाने खालको छ, कतैकतै मात्रै पाठभेद छ। माथि उल्लिखित 'सिलु तिस' गीतिकथामा नभएको प्रसंग थप पनि छ।'
सिलु म्येका अनेक संस्करण भएको तथ्य वैद्यको अध्ययनबाट प्रस्ट हुन्छ। यसबाट के पनि थाहा हुन्छ भने सिलु म्येका नाममा अनेक अज्ञात रचनाकारले नयाँ नयाँ सिर्जना गरेका थिए। जसरी अचेल कुनै लोकप्रिय सिर्जनाको 'रिमिक्स' गर्ने चलन आएको छ, यस्तो चलन आजभन्दा दुई–तीन सय वर्षअघि नै नेपाल भाषाको साहित्यमा प्रचलित देखिन्छ। अनेक कालखण्डमा सिर्जना र पुनर्सिर्जना भएका सिलु म्येका अनेक संस्करणले विभिन्न समयमा भिन्नाभिन्नै लेखकले यस क्षेत्रमा हात हालेको सत्यतथ्य देखाएका छन्।
कान्तिपुरका अन्तिम राजा जयप्रकाश मल्लको शासनकालमा लेखिएको 'सिलु तिस' गीतिकथाको रचनाकार अज्ञात रहेजस्तै त्यसको 'रिमिक्स' गरिएको सर्वाधिक लोकप्रिय सिलु म्येका कविको नाम पनि अज्ञात नै छ।
तर यस गीतिकथाका रचनाकार सर्वसाधारण कवि हुन् भन्नेमा यसबारे अध्ययन अनुसन्धान गरेका कुनै पनि अध्येतामा सन्देह देखिँदैन।
यसबारे थप अध्ययन–अनुसन्धान गर्न सके अज्ञात कविको नाम पनि फेला पर्न सक्छ। तर, जसले लेखेको भए पनि उनीप्रति मौलिक वा पुनर्सिर्जनाका लागि नेपाल भाषा साहित्य र प्रतिरोध आन्दोलन आभारी छ।
पुराना गीत र गीतिकथाका रचनाकारबारे कविकेशरी चित्तधर 'हृदय' अतिशयोक्ति अनुभूत हुने गरी भन्ने गर्छन्, 'यसरी गीतमार्फत नेपाल आमालाई समृद्ध बनाएर गएका अमर कलाकारहरूमध्ये कोही पनि अंग्रेजी जान्ने पक्कै हुनुहुन्थेन। सम्भवतः उहाँहरू साँवाअक्षर पनि लेख्न नजानेका हुन सक्नुहुन्छ, कसले भन्न सक्छ र! तर उहाँहरू हामी सबै आजभोलिका साहित्यकारहरूका पनि जिजूबाजे हुनुहुन्छ, यो कुरा भन्नै पर्दैन (हृदय ने.सं. ११०२ः २०२)।'
(नेपाल प्रज्ञा प्रतिष्ठानबाट हालै प्रकाशित 'सिलु म्ये र सामाजिक प्रतिरोध' पुस्तकको अंश)