सदियौंपूर्व अरूले बाटिदिएको
कुसंस्कारको कुवामा पखाल्दा पखाल्दा
मैलिएर लट्टिएको
आफ्नै शिरलाई भारी भारी लाग्ने
एउटा
आदिम चुल्ठो छ मसँग
मबाटै मुक्ति खोजिरहेको
चुल्ठोलाई सांस्कृतिक राजनीतिक बन्धनको विम्ब मान्दै त्यसविरूद्ध विद्रोह गर्ने आसय बोकेको यो कविता कल्पना चिलवालको हो। उनले आफ्नो कृतिको नाम पनि 'चुल्ठो' नै राखेकी छन्।
कल्पनाका कविता चिन्नेहरूका लागि उनी स्वन्त्रता र समानताका पक्षमा लेख्ने कवि हुन्। गत माघ अन्तिम साता सार्वजनिक चुल्ठो संग्रहमा उनका यस्तै ५५ वटा कविता समावेश छन्। कल्पनाले पत्रपत्रिकामा कविता प्रकाशन गर्न थालेको बीस वर्षपछि संग्रह निकालेकी हुन्।
'जति कविता छापिँदै गयो, उति कविता संग्रह निकाल्नु पर्यो भन्ने पाठक र साथीसंगी थपिए,' उनले भनिन्, 'मलाई पनि छरिएका आफ्ना कविता एकै ठाउँमा संकलित हुनुपर्छ भन्ने लागिरहेको थियो।'
लकडाउन बेला उनले कविता भेला पार्ने समय पाइन्। चुल्ठो नयाँ प्रकाशन गृह 'बेला पब्लिकेसन्स'बाट प्रकाशित कृति हो। पोखरा बस्ने कल्पनाको पहिलो कृतिबारे कुराकानी गर्ने मेसो पनि बेला पब्लिकेसन्स, बागबजारमै जुर्यो।
'समाजमा हामीलाई असन्तुष्ट बनाउने धेरै कुरा छन्। ती असन्तुष्टि हामी विभिन्न माध्यमबाट व्यक्त गर्छौं। म चाहिँ लेखेर आफ्नो विचार पोख्छु।'
उनका कवितामा अन्यायका यस्ता अनगिन्ती स्वर पाइन्छन्। उनका कवितामा विरोध र आलोचनासँगै महिला, किसान, दलित, महिलालगायत श्रमजीवी वर्गको मुक्तिका सपना बुनिएका छन्। लोकतन्त्रको भ्रष्टीकरण र माओवादी युद्ध विसर्जनका कुरा समेत अटाएका छन्।
अन्याय र दमनमा परेका समूह र वर्गका पक्षमा लेख्ने कल्पना प्रतिबद्ध लेखकका दर्जामा पर्छिन्। लेखनमा प्रतिबद्धता भेटिनुमा उनको हुर्काइ र राजनीतिक पृष्ठभूमिको असर भेटिन्छ।
कल्पनाका अनुसार उनको बुबा ठेक्कापट्टा गर्थे, साथै वामपन्थी राजनीतिप्रति झुकाव पनि थियो। उनी नियमित पत्रिका पढ्थे। रेडियो, एफएमहरूमा आउने समाचार नछुटाइ सुन्थे। उनको घरमा युवामञ्चदेखि जनादेशसम्म आउँथ्यो।
बुवाकै कारण सानै उमेरदेखि कल्पनाको पनि नियमित पत्रपत्रिका पढ्ने बानी बस्यो। कक्षा दसतिर उनले म्याक्सिम गोर्कीको 'आमा' र यांग मोको 'युवाहरूको गीत'जस्ता कृति पढिन्। गोपालप्रसाद रिमाल, भूपी शेरचन, कृष्णसेन इच्छुक लगायतका वैचारिक कवितामा आफ्नो रूचि भेटिन्।
अरूका कविता र आख्यान पढ्दै गर्दा उनलाई पनि लेखूँ-लेखूँ लाग्न थाल्यो। उनले भनिन्, 'मेरो स्वभाव अन्तर्मुखी छ। थोरै बोल्ने भएकाले बोलीमा भन्दा अक्षरमा व्यक्त गर्न मन पर्न थाल्यो।'
तर त्यसबेला लेखिएका कविता उनी लुकाएरै राख्थिन् रे!
सुरूमा लजाए-धकाए पनि उनमा आफूले कस्तो लेख्दोरहेछु भन्ने उत्सुकता बढ्दै गयो। अनि कविता छाप्ने रहर जाग्न थाल्यो। शीर्षक बिर्से पनि उनलाई आफ्नो पहिलो कविता कक्षा दसमा हुँदा 'जनादेश'मा छापिएको याद छ।
२०५५ सालतिर स्थानीय पत्रिका हुँदै उनका कविता राष्ट्रिय अखबारमा छापिन थाले। कल्पना वैचारिक रूपमा सचेत हुने उमेरमा देशमा माओवादी विद्रोहको आगो चारैतिर सल्केको थियो। उनी क्रमशः विद्यार्थी राजनीति र महिला संगठनमा संलग्न हुन थालिन्।
उनले भनिन्, राज्यको दमन र जनताको प्रतिरोध नजिकबाट देखेँ। देशमा भइरहेका घटनाले मलाई पनि आन्दोलनको नजिक पुर्यायो। त्यसयता राजनीतिले विद्रोह, आन्दोलन र रूपान्तरणदेखि प्रतिगमनको चक्र पूरा गरिसक्यो। यो चक्रमा उनी सधैं सामाजिक रूपान्तरण र परिवर्तनको पक्षमा रहेको बताउँछिन्।
उनको यही पक्षधरता चुल्ठोभित्रका हरेकजसो कवितामा प्रतिविम्बित छ। आफूलाई आन्दोलनबाट कहिल्यै टाढा नभएको बताउने कल्पना कवितालाई पनि आन्दोलनकै रूप मान्छिन्।
तर कविताले गर्ने आन्दोलनको कत्रो र कस्तो हुन्छ उनी दाबी गर्न सक्दिनन्। कविताबाट आफूले राखेको अपेक्षा उनले 'कविता: एक संकल्प' मा यसरी पोखेकी छन्,
मेरो कविता
कुसुमेरुमाल हुन नसक्ला
कसैको आँसु पुछ्ने
कविताको उज्यालोले
देखाइदिन्छ भने
मुक्त हुन खोजिरहेको मान्छेलाई
एक धर्सो बाटो
म कविता लेखिरहन्छु
कवितालाई मुक्तिको पथ प्रदर्शक मान्ने कल्पनाले कवितामै पूरा समय दिन भने पाएकी छैनन्। हरेक दिन बिहान छ बजेदेखि साढे ९ सम्म उनी विद्यालयमा पढाउँछिन्। त्यसपछि बेलुकी ५ बजेसम्म उनको समय प्लस-टुका विद्यार्थीलाई पढाएर बित्छ।
उनका अनुसार कामबाट घर फर्केपछि घरायसी काम र झिनामसिना कुराले अल्झाइदिन्छ। 'पढ्ने-लेख्ने समय नै हुँदैन,' उनले भनिन्, 'यो व्यस्तताले संख्यात्मक र गुणात्मक दुवै हिसाबमा काम गर्न सकिएको छैन।'
चुल्ठो संग्रहका कवितालाई उनी जीवनको थोरै समय बचाएर गरेको साधना भन्छिन्। भनिन्, 'समयको बारी नै कम भएपछि उत्पादन पनि कम हुने नै भयो।'
उनले फरक सन्दर्भमा लेखे पनि एकतिहाइ कविताका अंश यहाँनेर हुबहु मिल्छन्,
तर, म
एकतिहाइ मात्र
देख्छु, सुन्छु, बोल्छु, लेख्छु
आफ्नो सीमा स्वीकारे पनि कल्पनालाई वैचारिक रूपमा प्रतिबद्ध कवि मानेर मन पराउने धेरै छन्। यसको कारण हो, उनी कवितामार्फत सामाजिक राजनीतिक विसंगतिको चित्रणसँगै समाज रूपान्तरणको आग्रह गर्छिन्। कवितामा निजीभन्दा सार्वजनिक सरोकार केन्द्रमा राख्छिन्।
कवितामा निजी कुण्ठाको ठाउँमा सामाजिक चिन्ता पोख्ने कल्पना चिलवालको पहिचान हो।
'कविता निजी हो तर प्रभाव सामाजिक पार्छ। निजी नै सामूहिकता हो। निजी भए पनि आमले मेरो पनि हो भन्ने कुरा लेख्न रूचाउँछु,' उनी जोड दिन्छिन्, 'व्यक्तिगत निराशा वा कुण्ठा साहित्य हैनन्। चुल्ठोमा त्यस्तो कविता छैन।'
कल्पनाले भनेजस्तै चुल्ठोमा उनले आममानिसको शोषण र प्रतिरोधका गाथा गाएकी छिन्। उनी कवितालाई विचारको कलात्मक प्रस्तुति मान्छिन्। कला सिँगार्न विम्ब चाहिन्छ नै, नत्र साहित्य बन्दैन। तर कल्पना कवितालाई विम्ब प्रतीकको खेल मात्र मान्दिनन्।
उनी आफ्ना कुरा स्वतः स्फूर्त ढंगले अभिव्यक्तको प्रयास गर्ने बताउँछिन्। उनका कविता उनको व्यक्तित्व जस्तै सरल छ। भन्छिन्, 'लेख्दा सचेत रहन्छु। इमानदार भएर भन्दा मसँग त्योभन्दा बढी केही गर्ने फुर्सद पनि छैन।'
उनको भनाइमा कविता कलात्मक वैचारिक हतियार हो। यसले पाठकको मनमा विचार रोप्छ र मस्तिष्कमा झांगिन्छ। यही हतियारमार्फत उनले 'अछुत पृथ्वी' कवितामा जातीय विभेदको अभ्यासमाथि तीखो प्रहार गरेकी छन्,
दलितले कुल्चेको धर्ती र
दलितका लाशहरू बगेका अपवित्र नदीहरू बहने
यो बिटुलो पृथ्वीमा
किन आश्रय लिइरहेको छ
शुद्धीकरणको छोइछिटो गरिरहनुपर्ने
उच्च जातिको मान्छे
छोटो-छरितो कविताले पाठकमा पार्ने चोटिलो प्रभाव खास लाग्ने उनी बताउँछिन्। यो प्रभाव पैदा गर्न आफूले देखे-भोगेका कुरा नलुकाइ-नडराइ भन्ने प्रयास गर्छिन्। परिवार, समाज, राज्यसँग डराउनेहरू लेखक नै हुन सक्दैन भन्ने उनी नघुमाइ-नलुकाइ आफ्ना विचार व्यक्त गर्छिन्। यही विशेषताले उनका कविता 'क्लिष्ट' नभएर सरल छन्।
तर उनलाई कविता सरल भएर मात्र पुग्दैन। उनी कविको चेतनाले उसले बाँचेको समय प्रतिनिधित्व गर्नुपर्ने मत राख्छिन्। यस्तो अभ्यासले कवितामा इतिहासका घटना लिपिबद्ध हुन्छन् र त्यो इतिहास अध्ययनको महत्वपूर्ण विषय बन्छ।
उनी भन्छिन्, 'हामीले राजनीतिक कविता लेखे पनि सत्ता र सरकार परिवर्तनभन्दा जनजीविकासँग जोडिएको परिवर्तनबारे विचार गर्नुपर्छ।' यही विचारले उनी आममान्छेकै भोगाइलाई कविताका विषय बनाउन सफल छिन्।
वैचारिक रूपमा निडर भए पनि कल्पना चर्चासँग भने डराउँछिन्। कवि विनोद विक्रम केसी कल्पनालाई 'चर्चासँग भयभित कवि' भन्छन्।
कल्पनाका कविता पढेर कवि सरिता तिवारीले चुल्ठो संग्रहभित्रै आफ्ना मत राखेकी छन्। उनको मत छ, 'कल्पनाका कविताले व्यक्ति-मानस र मूलधार समाजको सामूहिक मानसले जे-जे कुरालाई सही र ठीक ठहर्याउँदै आएका छन्, त्यस्ता अनेकौं (दुर्) आग्रहलाई कुल्चिँदै हिँड्छन्। तीसँग आँखा जुधाएरै प्रश्न गर्छन्।'
न्यायलयकै अघिल्तिर
अपराधको संगीनले घोचीघोची
मारिए मान्छेहरू
हत्याराहरू न्यायाधीश थिए कि वकिल
वादी थिए कि प्रतिवादी
कुनै चिनारी थिएन अनुहारमा...
कवितामा यसरी 'उनीहरू को थिए' भन्दै प्रश्न गर्ने क्षमता र शिल्पका लागि 'इच्छुक स्मृति पुरस्कार' पाइसकेकी कल्पनालाई हालै 'सहिद शिवप्रसाद पौडेल स्मृति पुरस्कार' दिइएको छ।