२०४६ चैत्र २६ सालको जनआन्दोलन सफल भएको दिनको सन्दर्भ पारेर 'द स्ट्रगल अफ गणेशमान सिंह' पुस्तकको कभर सार्वाजनिक भएको छ।
यो नेता गणेशमान सिंहका बारेमा उनीकी छोरी डा. मीता सिंहद्वारा लिखित संस्मरणात्मक पुस्तक 'द स्ट्रगल अफ गणेशमान सिंह' प्रकाशित हुने भएको छ।
प्रजातन्त्र पुनःस्थापनाका लागि भएको ४६ सालको जनआन्दोलन सर्वोच्च नेता गणेशमान सिंहकै नेतृत्वमा भएको थियो। यो पुस्तकले नेपाली राजनीति र समाज रुपान्तरणमा गणेशमान सिंहको योगदान र संघर्षबारे नयाँ पुस्तालाई विस्तृत जानकारी दिन्छ।
डा. मीता सिंहले यो पुस्तकमा प्रतिकूल अवस्थामा आन्दोलनको नेतृत्व गरेका गणेशमान सिंहका बारेमा मात्र नभएर पिता गणेशमानको अर्को पाटो पनि उजागर गरेकी छन्।
पुस्तकमा प्रजातान्त्रिक समाजवादका लागि गणेशमानले सन् १९३६ देखि १९९७ सम्म गरेको संघर्ष वर्णन गर्छ। पुस्तक नेपाली र अंग्रेजी दुबै भाषामा छिट्टै बजारमा आउने बताइएको छ।
'मैले यो किताब विशेष गरेर युवापुस्तालाई नेपालमा प्रजातन्त्र रातारात आएको होइन भनेर बुझाउन लेखेकी हुँ। लामो संघर्ष र धेरैको बलिदानीले आएको प्रजातन्त्रको कदर गर्दै यसका लागि लड्नेप्रति हामीले सम्मान देखाउनुपर्छ,’ पुस्तकबारे लेखक भन्छिन्।
३१ वर्षअघि आजकै दिन चैत्र २६ गते २०४६ सालको जनआन्दोलन सफल भएको थियो। जनआन्दोलनका सुप्रिम कमाण्डर सर्वमान्य नेता गणेशमान सिंह थिए।