'समानताका पाइलाहरु' नेता बिन्दा पाण्डेले लेखेको राजनीतिक आन्दोलनमा महिलावादी विश्लेषणको अद्भूत दस्ताबेज हो।
शब्दबाट बनेका संरचनाको मिठासले अनि पुस्तकमा भएको महिला प्रोत्साहनको आवरण कलाले समानताका पाइलाहरू नपढी बस्न सकिनँ मैले। अनि कुनै दिनको एकदिन पुस्तकको गहिराई खोतल-खातल गर्ने क्रममा कुन बेला म आफै गहिराइमा पुगेछु, पत्तै भएन मलाई।
पुस्तकमा भएको राजनीति विश्लेषणको विचारको भव्यताले पाठक मोहित नहुने त कुरै भएन। महिलावादी आन्दोलनको दृष्टिकोणबाट लेखिएको उक्त पुस्तक आशाहरुको कुञ्ज हो।
आशावादी हुनु जीवनको अर्को नाम न हो। जुन विन्दुमा पुगेर आशा जति टुट्छन् र निराशामा प्रवेश गर्छन् तब मानव जीवन मात्र होइन, समाज सञ्चालकको प्रणाली पनि त्यहीँबाट टुट्न थाल्छ। त्यसैले हर लक्ष्यको बाटो आशाहरुको अंगालोले पछ्याउँछ। बाटोको आशाले जीवनको गन्तव्य जो देखाउँछ।
थाहा छ, राजनीति दर्शन र विचार लोकतन्त्रको आधार हो। जसको धारबिना महिला उत्थान र सहभागिता सम्भव छैन। यहाँ समानता र समाजिक न्याय लोकतान्त्रिक प्रणालीको जग हो। जसको कल्पनाले मात्र पनि मन-मस्तिष्कमा तरंग सृजना गर्दछ।
तपाईं मान्नुस् या नमान्नुस्, आजका हाम्रा समाजका हरकोही व्यक्ति राजनीतिक विचारक हुन्। त्यसैले महिला विचारकको भूमिका समाज निर्माणको मुख्य आधार हो भन्दा दुईमत नहोला।
नेपाली समाज परिवर्तनको बाटो त हिँड्न खोज्दै छ तर पितृसत्तात्मक यो समाजमा पाइलाहरू लड्खडाउन छाडेका छैनन्। तर चेतना भया, महिलावादी आन्दोलन पितृसत्तात्मक प्रणालीविरूध्दको सामूहिक र संगठित पहलको सर्वोतत्म बाटो हो।
यसै सन्दर्भमा माओ भन्दछन्, 'मानवीय समाज निर्माण त्यतिखेर मात्र सम्भव छ, जब त्यहाँ उक्त स्रोतको पुनरुत्थान गर्दै शासन र शासित वर्गबीचको भेद स्पष्ट हुन्छ।'
यो नेपालको पितृसत्तात्मक समाजमा स्रोत-पुनरुत्थानको मार्ग तब मात्र सम्भव छ जब शोषित महिलाहरु आफ्नो आवाज बुलन्द पर्दै शोषक पुरूषार्थ विरुद्ध, उनीहरुको कानको जाली नै फुट्ने गरी विरोधको आन्दोलनले प्रतिवाद गर्छन् र समानताको मजबुति जगबाट नै बसाल्न सफल हुन्छन्। तसर्थ महिलामाथि थोपरिएको नग्नतासँग सिङ्गो राष्ट्रको प्रतिष्ठा जो जोडिएको हुन्छ रे।
केही कुरा नेपाली महिला मुद्दाका परिदृष्यमा, यहाँ नेपाली पुरुषबाट विदेशी पाठेघरमा हुर्किएका सन्तान वंशज हुने प्रावधान छ तर विदेशी बाबु भएका नेपाली आमाको पाठेघरमा हुर्किएका सन्तान अंगिकृत हुने व्यवस्थाले महिलाको पाठेघरलाई सामान्तवादी पुँजीवादी पितृसत्ताले भन्ने गरेको बच्चा जन्माउने मेसिनभन्दा फरक व्यवहार गरेको छैन।
जहाँ समानता र संमृद्धिका कुराहरु केवल कोरा गफ मात्र हुन भन्ने आभाष हुन केही क्षण पनि लाग्दैन।
यहाँ महिलालाई आधा आकाश त भनिन्छ तर आधा धर्ती मानिन्न। त्यसकारण महिला आधा जनसङ्ख्या मात्र होइन, आधा श्रम शक्ति पनि हो। हुन त महिला सशक्तिकरण हिजो पनि आवश्यक थियो, आज पनि यहाँ आवश्यक छ। त्यसैले सशक्तिकरण प्रकृयाले सीमान्तकृत र पछाडि परेका या परिएका हर समुदायलाई मूलधारमा ल्याउने काम गर्दछ।
पाण्डेले किताबमा लेखेकी छन्, हरेक व्यक्तिको विगत आफ्नो सिकाइको राम्रो शिक्षालय हो। यद्यपि सबै विगत आफ्नो पक्षमा नहुन सक्छन्। त्यसैले अब कसैको पर्खाइ होइन, आफ्नो गन्तव्यको निश्चिता बलियो पारिनु पर्छ। महिलाका नीति, रणनीति, कार्ययोजना, कार्यान्वयन, अनुगमन तथा मूल्यांकनको बृहत कार्यहरु क्रमशः हुनु आवश्यक छ, एउटाको अभावमा अर्कोको औचित्य पुष्टि असम्भव छ।
हाम्रो नेपाली समाजमा, हामीमा चेतना र शिक्षा दुवैको खाँचो छ। शिक्षा र चेतना दुई अलग-अलग विषय हुन्। सबै शिक्षित व्यक्ति सचेत हुन्छन् भन्न सकिँदैन। औपचारिक शिक्षाको प्रमाणपत्र नभएका तर व्यवहार पढेर शिक्षित, सचेत भएको ठुलो जमात समाजमा निर्माण छ।
राजनीतिक नीति निर्माण र निर्णय प्रकृयामा शिक्षाले महत्त्वपू्र्ण भूमिका निर्वाह गर्दछ। कुनै पनि विषयलाई बुझ्ने, अनुभूत गर्ने र त्यसका आधारमा आउन सक्ने नतिजासमेतलाई हेर्ने सक्ने दृष्टिकोण बनाउन शिक्षाले मद्दत गर्छ। जुन महिला सशक्तिकरणको आधारभूत विश्लेषण हो।
राजनीति जीवनको मूलआधार हो। हर प्राणी राजनीतिसंग प्रत्यक्ष वा अप्रत्यक्ष रुपले जोडिएको हुन्छ। तर पनि भन्ने बेला राजनीति फोहोरी रे! हामी आफै राजनीतिलाई मानव समाजको अनिवार्य खराबी भन्छौँ तर हामीमध्ये कोही पनि यसबाट अछुतो छैन भन्ने हेक्का बिर्सिन्छौँ।
महिला आन्दोलन र महिला राजनीति एकै सिक्काका दुई पाटा हुन जरुरी छ। जब समान्तरमा कुराहरू अगाडि बढ्दै जान्छन् तब मात्र गन्तव्य निश्चित हुँदै जान्छ। महिला राजनीतिमा यो कुरा आजको भोलि कहिल्यै भएन तर प्रयास भने जारी नै छन्।
नेपाली महिलाहरुलाई मूलधारको राजनीतिमा व्यापक स्थापना गरेको माओवादी जनयुद्धताका न हो। तर योभन्दा अगाडि पनि प्रशस्त प्रयासहरू नभएका होइन, भएका छन्। आज पनि भइरहेका छन्। समय बद्लियो, परिस्थिति बद्लियो, व्यवस्था बद्लियो तर बद्लिएन सोचका कोरा सिद्धान्तहरू, बद्लिएन ओेठे भक्तिका कुराहरु व्यवहारमा।
समान हुनु र समानता स्थापित दुई फरक कुरा लाग्यो मलाई! लैंगिकताका कुरा हाम्रो समाजमा सही ढंगले स्थापित हुन जरूरी छ। महिलावादी हुनु भनेको पुरुषको विरोध गर्नु होइन, समानताको हक स्थापित गराउनु हो। महिलावादी पुरूष नि हुनसक्छन्।
पुस्तकमा मन परेका कुरा माथि गफमा समावेश भए तर मन नपरेका कुराहरू पनि थुप्रै छन्। उक्त पुस्तकमा, एमालेमा महिलाको सहभागिता-भूमिकाका सन्दर्भ अधिकांश छन् जससँगै अन्य राजनीति पार्टीका विषयवस्तु पनि जोडिन्छन्।
अनि गैरएमाले/नेकापका गतिविधि पनि तर पनि सो पुस्तकले राजनीतिसँगै गरैराजनीतिक ममिलाहरुका उठानमा त्यहीँ अनुपातमा विषयसन्दर्भ रखिएको भए आमजनसँगको अन्तरगुल्न बेजोड हुने थियो कि झैँ लाग्यो।
खैर! कुरा राखे कुरैको दुःख। सो पुस्तक नेपालमा महिला राजनीतिको परिधि बुझ्न ज्यादै उपयोगी र अनुसन्धानमूलक छ। पाइला समानताका अघि बढ्नु एकजनाको पाइला मात्र अगाडि जाने होइन, बरू सबका सब पाइलाहरु सँगै सँगै अगाडि बढ्दै जानु हो।
समानता, समाजवाद, सामाजिक न्याय, समाउँदै लोकतन्त्रको बाटो यहाँ कतै हरायौँ। अब खोज्नु छ आफैलाई।