ललितपुर कुपन्डोलमा ठूलाले कफी प्यूँदै र सानाले खेल्दै किताब पढ्ने वातावरण भएको ‘ड्रिम बुक हाउस’ खुलेको छ। आज सोमबार चार बालबालिका सुप्रिया श्रेष्ठ, आहाना जोशी, अभिष जोशी र अभिक प्रधानको हातबाट ‘ड्रिम बुक हाउस’ को औपचारिक उद्घाटन भयो।
‘ड्रिम बुक हाउस’ कथालय र रिडमोर प्रकाशन गृहको संयुक्त लगानीमा स्थापना भएको हो। यहाँ पुस्तक विक्री वितरणदेखि पठन संस्कृति अभिवृद्धि गर्ने उद्देश्यसहित विभिन्न साहित्यिक गतिविधि सञ्चालन गरिनेछ।
ड्रिम बुक हाउसमा बालबालिका, किशाेर र परिपक्व सबैखालका उमेर समूहका किताब पाइने छन्। ठूलाालाई चिया-कफी भएजस्तै यहाँ बालबालिकाका लागि खेल्ने सामग्री राखिएको कथालयकी कार्यकारी प्रमुख सुनिती अमात्यले बताइन्।
उनले बालबालिकालाई अध्ययनसँगै खेलकुद र रचनात्मक क्रियाकलापमा सहभागी गराइने वातावरण प्रदान गरिने जानकारी दिइन्।
उनले भनिन्, ‘ड्रिम बुक हाउस पुस्तक पसल मात्र नभएर शैक्षिक तथा साहित्यिक क्रियाकलाप हुने थलो हो। यहाँ लेखक तथा पाठकलाई जोड्न र बालबालिका तथा युवापुस्तालाई अध्ययनमा आकर्षित गर्न विभिन्न गतिविधि सञ्चालन गरिनेछ।’
कथालयले बालबालिका र युवा लक्षित पुस्तकहरु प्राथमिकताका साथ प्रकाशन गर्दै आएको छ। सुनितीका अनुसार ड्रिम बुक हाउसमा पनि बालबालिका तथा युवालाई अध्ययनसँगै खेलकुद र अतिरिक्त रचनात्मक क्रियाकलापमा सहभागी गराइनेछ।
शैक्षिक पाठ्यक्रम गर्ने प्रकाशन तथा वितरण गर्ने रिडमोर पार्टनर रहेको यो बुक हाउसमा साहित्यिकबाहेक शैक्षिक पुस्तक पनि पाइनेछ। रिडमोरका कार्यकारी प्रमुख आशिष प्रधानले भने, ‘यहाँ हामीले प्रकाशन गर्नेबाहेक अन्य प्रकाशनबाट प्रकाशित स्तरीय पुस्तकहरु संकलन गर्नेछौं।’
उमेरगत तथा विधागत पुस्तकहरु संकलन गरिने बुक हाउसमा पठन संस्कृति बढाउन नियमित रुपमा लेखक पाठकबीच अन्तक्र्रिया हुने बताइएको छ।
उद्घाटन कार्यक्रममा आयोजकले दिएको जानकारी अनुसार यहाँ महिनाको एक पटक लेखकसँग अन्तर्क्रिया र महिनाको दुई पटक कथा वाचन कार्यक्रम सञ्चालन हुनेछन्।