कवि तथा गीतकार महेशबाबु तिमल्सिना लिखित कविता संग्रह ‘अजम्मरी अक्षरहरु’ सार्वजनिक भएको छ। नेपाली तथा अंग्रेजी भाषाका कविताहरु संकलित संग्रह मंगलबार नयाँ बानेश्वरको एभरेस्ट होटलमा आयोजित कार्यक्रममा सार्वजनिक भएको हो।
कविद्वय गोपाल पराजुली र दिनेश अधिकारीले सार्वजनिक गरेको कार्यक्रममा मञ्चमा उनीहरुसँगै नवराज लम्साल, महेश पौड्याल, प्राध्यापक लक्ष्मण गौतमलगायत उपस्थित थिए।
कार्यक्रममा ‘अजम्मरी अक्षरहरु’ भित्रका कविता वाचन र कविताबारे बनाइएको भिडियोसमेत देखाइएको थियो।
सोही अवसरमा लेखक महेश बाबुको रचना रहेको रामकृष्ण ढकालको स्वरमा सजिएको गीतको भिडियो प्रदर्शन गरियो। निकेश खड्का निर्देशित भिडियोमा अजर जंगमको संगीत छ।
पुस्तक सार्वजनिकीकरणपछि बोल्दै वक्ताहरुले कविता संग्रहमा विश्वबोध, युगबोध र समाजबोधका बाछिटा महसुस गर्न सकिने धारणा राखे। प्राध्यापक लक्ष्मण गौतमले भने, ‘कविताले व्याख्या गर्दैन, संकेत गर्छ। संग्रहमा देशकाल परिस्थिति अभिव्यक्त गर्ने संकेत जताततै भेट्न सकिन्छ।’
कवि महेश पौड्यालले भने कविताको अंग्रेजी सम्पादनमा हतार गरिएका लक्षण भेटिने बताउँदै समग्रमा भने चोटिला कविता बढी रहेको बताए। ‘कविमा आदर्शवादको प्रभाव अलि बढी देखिन्छ। यो पाटो बिर्सने हो भने संग्रहमा धेरै घत लाग्ने कविता छन्,’ पौडेलको भनाइ थियो ।
कार्यक्रम प्रस्तोता तथा कवि नवराज लम्सालले महेश बाबुका कवितामा बेग्लै शिल्प र शैली भेटिने बताउँदै पृथकता नै सर्जकको पहिचान हुने धारणा राखे।
कवि दिनेश अधिकारीले अक्षरको आयु लामो हुने बताउँदै अरु जे पेशा व्यापार गरे पनि अक्षरको साधना गरेकोमा कविलाई धन्यवाद दिएका थिए। उनले समालोचकको कुरालाई तौलेर मात्र ग्रहण गर्न पनि सुझाव दिए।
‘खसीको मासु किन्नेको पनि रुचि एकै हुन्न। कसैलाई फिला मनपर्छ त कसैलाई कुरकुरे हड्डी भएको मासु,’ अधिकारीको भनाइ थियो, ‘ सर्जकले अनुभूतिलाई कलात्मक रुपमा अभिव्यक्त गर्ने हो। यस हिसाबले उहाँले कविताको कला समातिसकेको अनुभव भयो। आनन्दित भएँ।’
कवि महेश बाबु तिमल्सिनाले भने आफूले सरल भाषामा मनका भाव व्यक्त गर्ने प्रयास गरेको बताउँदै ती भाव कविता हुन् कि होइनन् भनेर निक्र्योल गर्ने काम पाठकको जिम्मामा छाडेको बताए।
‘मैले एकदमै सरल भाषामा कविता लेखेँ भन्ठानेको थिएँ। तर मेरो छोराले यसको २५ प्रतिशत भाव पनि बुझेन। त्यसैले नयाँ पुस्तालाई पनि बुझाउन नेपालीसँगै अंग्रेजी भाषामा पनि अनुवाद गरिएको हो’ उनले भने।
कार्यक्रममा बाबु त्रिपाठी, तुलसी आचार्य, भोजराज न्यौपाने, ज्योति जंगलले संग्रह भित्रका कविता वाचन गरेर सुनाएका थिए। दुई खण्डमा संग्रहित कविता संग्रहलाई कंगारु क्रिएसन्सले प्रकाशन गरेको हो। नेपालीमा लेखिएका कविता मुक्तिनाथ घिमिरेले अुनुवाद गरेका हुन्।