मेगन मर्केलको पहिलो किताब सार्वजनिक भएको छ। मेगनले मंगलबार बालबालिकाको किताब 'द बेन्च' विमोचन गरेकी अमेरिकी साप्ताहिक पत्रिका 'पिपल म्यागजिन'ले लेखेको छ।
पिपल म्यागजिनका अनुसार मेगनको 'द बेन्च' एक चित्र किताब हो। यसमा भएका चित्रहरू कलाकार क्रिस्टिन रोबिन्सन बनाएका हुन्।
मेगनले यो किताब श्रीमान ह्यारी र दुई वर्षीय छोरा आर्चीलाई समर्पण गरेकी छन्।
किताबमा एक आमाको नजरबाट बुवा र छोराबीचको सम्बन्ध देखाइएको छ। मेगनले किताबको विषयवस्तु सन् २०१९ को बुवाको मुख हेर्ने दिनमा लेखेको कवितामा आधारित रहेको बताएकी थिइन्। सन् २०१९ मा मेगन र प्रिन्स ह्यारी पहिलो पटक आमा–बुवा बनेका थिए।
मेगनले गत मेमा किताबबारे भनेकी थिइन्, 'आशा गरेकी छु कि यो किताबले जस्तोसुकै परिवार भए पनि सबैलाई छुनेछ।'
'द बेन्च' मा मेगनको हस्तलिखित नोट पनि छ। जसमा उनले भनेकी छन्, 'यस्तो पुरुष र केटालाई जसले मेरो मुटुको धड्कन बढाइदिन्छ।'
किताबको अन्तिम पेजमा प्रिन्स ह्यारी र आर्चीको फोटो छ जसमा उनीहरू चल्लालाई दाना खुवाइरहेका छन्।
मेगनले यो किताबको अडिओ संस्करण पनि निकालेकी छन्। 'द बेन्च' र्यान्डम हाउस चिल्ड्रेन्स बुकले प्रकाशित गरेको हो।