लेखक नयनराज पाण्डेको कथा संग्रह ‘जियरा’ सोमबारबाट बजारमा उपलब्ध भएको छ। असार १ देखि बिहान ११ बजेसम्म पुस्तक पसल पनि सञ्चालन गर्न दिने सरकारको निर्णय भएसँगै पुस्तक बजारमा पठाइएको हो। पुस्तक गत चैतमा बजारमा पठाउने तयारी लकडाउनका कारण पर धकेलिएको थियो। निषेधाज्ञाकै कारण कुनै सार्वजनिक कार्यक्रम नगरी पुस्तक बजार पठाइएको हो।
'उलार' र 'लू' जस्ता लोकप्रिय कृतिका सर्जक पाण्डेको नयाँ संग्रह ‘जियरा’मा १३ ओटा लामा कथा समावेश छन्। ‘जति किताब लेखिसके पनि आफ्नो नयाँ पुस्तक प्रकाशन हुँदा लेखक उत्साहित नै हुन्छ, म पनि उत्साहित छु,’ लेखक पाण्डेले भने, ‘यो उत्साहमा पाठकको प्रतिक्रिया बुझ्ने मेरो हुटहुटी पनि मिश्रित छ। मैले एउटै पात्रका बहुल रूप, एउटै कथामा बहुल कथानक र बहुल परिवेश अनि कथामा यथार्थ र मिथकको सम्मिश्रणले आख्यानको एउटा बेग्लै आभामण्डल निर्माण गर्ने प्रयास गरेको छु । त्यसमा म कति सफल भएँ, त्यो जान्न म व्यग्र प्रतीक्षामा छु।’
जादुयी यथार्थवादी कथाहरूको मानक बनेर आएको पाण्डेको सङ्ग्रह पुँजीवाद, भ्रष्ट राजनीति र राजनीतिक संस्थापन, लोभ अनि पितृसत्ताको बलियो आलोचना रहेको प्रकाशन गृह फाइनप्रिन्टका अजित बरालले बताए। ‘मलाई लाग्छ, पाण्डेका पूर्वप्रकाशित कृति ‘उलार’ र ‘लू’ले जसरी ‘जियरा’ले पनि नेपाली आख्यानमा दरिलो उपस्थिति जनाउनेछ,’ उनले भने।
‘जियरा’मा समेटिएका कथा पढ्दा पाठक एकसाथ यथार्थ र स्वप्नमय संसारमा पुग्ने लेखकको भनाइ छ। मधेसको पृष्ठभूमिमा लेखिएका कथाहरूको संग्रह ‘जियरा’मा लेखक पाण्डेले आफ्नै पूर्ववर्ती लेखन पद्धति भत्काएका छन्। कथावाचनको पृथक र प्रयोगमूलक शिल्प शैलीसित पाठकलाई परिचित गराउने यो संग्रहका कथामा मुख्य कथाभित्र विभिन्न उपकथा बुन्ने कला देख्न पाइन्छ।
लेखकले आफ्ना पात्रलाई दुःखका गाथा सुनाउने चरित्रमा सीमित पारेका छैनन्, तिनलाई ‘एजेन्सी’ दिएका छन्, हुर्कंदै गरेको प्रतिरोधी चेतनाको पुट भरिदिएका छन्।
फाइनप्रिन्टले प्रकाशन गरेको संग्रहको मूल्य ४ सय ७५ रुपैयाँ तोकिएको छ।