नयनराज पाण्डेका पछिल्ला फुटकर कथाहरु पढ्दा लेखक कथामा बेग्लै शिल्प-शैली निर्माणको प्रयत्नमा लागेका छन् भन्ने अनुभूत भइरहेको थियो। हालै प्रकाशित उनको नवीनतम् कथाकृति ‛जियरा’ पढेपछि उनले निर्माण गर्न चाहेको त्यो शैली र शिल्पलाई मजबुत किसिमले स्थापित गर्न खोजेको आभास भयो।
‛जियरा- शरीरको त्यो आन्तरिक अमूर्त सत्ता जसमा असल-खराबको सही र स्पष्ट ज्ञान हुन्छ। हृदय।’
हिन्दी शब्दकोशले जियरालाई यसरी अर्थ्याएको रहेछ।
‘जियरा’भित्र समेटिएका प्रायः लामा आकारका १३ वटा कथाले पाठकका जियरासम्म स्पर्शमात्र गर्दैनन्, हृदयलाई चस्स दुखाएर मथिङ्गललाई झकझकाउँछन् र आफ्नै व्यवहारलाई ऐनामा हेर्न बाध्य पनि बनाउँछन्।
‛जियरा’ भित्रका कथाहरु ‛उलार’को प्रेमललवाकै परिवेश र पृष्ठभूमिमा उभिएका छन्। यी कथाहरू लेखकले आफ्नै ‘कन्फर्ट जोन’मा बसेर लेखिएको जस्तो लागे पनि यसमा मधेस आन्दोलनपछिको मधेश अझ घनीभूतरूपमा अभिव्यक्त भएको छ।
राजेन्द्रराज शर्माहरुसँग सम्झौता गरेर परसपुरमा बसाइँ सर्ने प्रेमललवाहरु ‛जियरा’मा आइपुग्दा 'दईमारा'को चन्द्रलाल बनेरढाका टोपीवाला इतिहासकारहरुसित झगडा गर्न उद्दत छन्। उलारकी द्रोपदी 'कबै अर्घ्यालो नथाप्नू'मा नचनियाँ बनेर जंगबहादुरको छातीमा प्रहार गर्नलाई कटारीमा धार लगाइरहेकी छन्। ‘लू’का इलैयाहरूले 'सर्पदंश'मा तक्षक नाग बनेर चिन्तामणिलाई डसेका छन्। अबका प्रेमललवाहरु सहानुभूति हैन समानुभूति चाहन्छन् भन्ने आभास यी कथाहरू पढ्दा सहजै हुन्छ।
यसमा संग्रहित पहिलो कथा हो 'जनानी'। नफिसा उर्फ जमेन्तीको कथा हो ‛जनानी’। संरचनाका हिसाबले यस संग्रहका अन्यकथाहरु भन्दा सरल छ यो कथा। कथा जति सरल छ उति नै जटिल छ जमेन्तीको भोगाई। आफ्नै रहरले, आफ्नै प्रेमले जमेन्तीबाट नफिसा बनेकी उनलाई आफ्नै बाबुआमाले नफिसाबाट जमेन्ती बनाएर दहेजसहित शारीरिक रूपले दुर्बल दुर्गालालसँग विवाह गराइदिन्छन्। तत्काल शान्त र प्रतिक्रियाविहीन बनेकी जमेन्ती आफ्नो गर्भमा सुनामी लुकाएकी समुद्रजस्तै लाग्छिन्।
त्यसैले उनी भन्छिन्, 'म त यहाँ दुर्गालालकी जनानी भएर हैन, लास भएर आएकी थिएँ। न लासलाई कसैले माया गर्छ, न लासलाई कसैको माया लाग्छ।'
जमेन्तीबाट नफिसा, नफिसाबाट दुर्गालालकी जनानी र पुनस् नफिसासम्मको यात्राको यो कथामा पितृसत्तात्मक सोचको जगमा उभिएकोहाम्रो समाजका विविध पक्षलाई विविध पात्रका माध्यमबाट मिहिन ढङ्गले प्रस्तुत गरिएको छ।
'रार'की मुख्य पात्र सतियाले फोहोर खोतल्दाखोतल्दै एउटा क्यालेन्डर फेला पार्छिन्। क्यालेन्डरमा धनकी देवी मानिने लक्ष्मीको रङ्गीनचित्र छापिएको थियो। चित्रमा विशाल समुद्रमा फुलेको गुलाबी कमलको फूलमाथि उभिएकी लक्ष्मीका हातबाट सुनौला असर्फी झरिरहेका थिए। यही कथावस्तुभित्र उनिएको कथानक 'हामीसित जमिन छैन त्यसैले हाम्रो ठौरठेगाना छैन। बिना ठेगाना लक्ष्मी मैयाले पठाएको असर्फी हाम्रो घरमा कसरी आउँछ? त्यसैले हामीलाई हाम्रो जमिन जरूरी छ, अब हामीले हाम्रो जमिनको लागि रार मच्चाउनुपर्छ' भन्ने कठोर निर्णयमा पुगेर टुङ्गिन्छ।
'हे देवताहरू हो, अब तिम्रो मरजादमा बस्नु छैन। लैजाओ आफ्ना अस्त्र, आभूषण र कवचहरू! म अब तिमीहरू विरुद्ध मल्लयुद्धको घोषणा गर्दछु।'
‛या देवी’ शीर्षक कथाको सारवस्तु यही वाक्यांशभित्र अन्तर्भूत छ। संरचना, शैली र प्रयोगका दृष्टिले बडो रोचक छ यो कथा। एउटै कथाभित्र तहतह परेर बसेका कथाहरूको संयोजनले पाठकलाई आकर्षित गर्छ।
‛सोअत हिये’ मा पात्रहरु जमिनमुनिबाट निस्कन्छन्। निलकण्ठ मार्फत् आफ्ना दुःखदर्द देउतासम्म पुर्याउन खेज्छन्। पौराणिक पात्र अहिल्या, ईन्द्र, रामको उपस्थितिले यो कथालाई रोचक र सशक्त बनाएको छ।
‛रार’, ‛या देवी’ र ‛सोअत हिये’ सामाजिक यथार्थमा मिथकको प्रचूर प्रयोग गरिएका कथाहरु हुन्। मधेश भित्र पनि निम्नवर्गीय समुदाय र पात्रको प्रतिनिधित्व गरेका यी कथाहरुका विषयवस्तु अनौठा र रोचक छन्। त्यसैले ‛जियरा’लाइ सामाजिक यथार्थको जगमा उभिएकोप्रयोगधर्मि कथाहरूको संग्रह मान्न सकिन्छ।
‛जियरा’, ‛सलमा सितारा’ र ‛लैला ओ लैला यी तीन कथाहरुमा केही समानता भेटिन्छ। सर्ररी पढ्दा यी कथाहरू एकअर्काका पुरकजस्ता पनि लाग्छन्। सायद त्यसैले लेखकले यी कथाहरूलाइ एकै ठाउँमा एउटै क्रममा राखेका हुन्। यी कथाहरूमा बिम्बका रुपमा रंगीचंगी कपडा गाँसेर बनाइएका गुडिया, कथावस्तुका रुपमा महिलाका विषयहरू समेटिएका छन्। फरक फरक परिवेश र पात्रकाकथा, उपकथाहरु समानान्तर रूपले अगाडि बढ्नु, पात्रहरुका अन्तर्निहित संवेदना लगभग एकै खालको हुनुले यी कथाहरू कथाको‘ट्रिलोजी’ जस्ता लाग्छन्।
शीर्षकथा ‛जियरा’भित्र पनि ब्राकेटबाहिरको मूल कथा र ब्राकेटभित्रको कथाका रूपमा दुई भिन्न लाग्ने कथानक सँगसँगै अगाडि बढेका छन्।
अझ रोचक त कथाकार स्वयमलाई सुटुक्क ब्राकेटभित्रको कथाभित्र छिराउँदै भन्छन्, ‛मेरा समकालीन लेखकसाथी नयनराज पाण्डे मेरो ठाउँमा भएको भए समालोचकको कोठाबाट जुरुक्क उठ्ने थिए। अनि समालोचकको ट्वाइलेटमा एकलट सुसु गरेर उनी समालोचक महोदयसित हात पनि नमिलाई हिँड्ने थिए। मैले त्यसो गर्ने हिम्मत गरिनँ। किनकि ममा अलिकति लोभ थियो। माध्यमिक विद्यालय तहको नेपाली पाठ्यक्रम निर्माणका संयोजक यी समालोचकले पाठ्यक्रममा आफ्नी जहान र जेठानको रचना समावेश गरे जस्तै मेरो रचना पनि सामेल गरिदिन सक्थे।’
ब्राकेटभित्रको कथामा प्रचुर व्यङ्ग्य छ। ब्राकेटबाहिरको मूल कथा भने गुडिया गाउँका गुडियाहरुको कथा हो। यहाँका गुडियाहरु बोल्छन्। विरह व्यथा पोख्छन् र रुन्छन्। हाँसो त गुडियाहरुको कथा हो।
‛सलमा सितारा’ पनि पाठकको मथिंगल हल्लाउने कथा हो। अन्तिम कथा ‘लैला ओ लैला’ले सारमा समलैंगिक सम्बन्धलाई हेयका रूपमा हेर्ने मानसिकतामाथि गहिरो प्रहार गर्छ।
एउटै पात्रका अनेक रूप, एउटै कथामा अनेक कथानक, अनेक परिवेश अनि कथामा यथार्थ र मिथकको सम्मिश्रणले ‘जियरा' संग्रहलाई समकालीन कथासंग्रहको लहरमा पृथक रूपमा उभ्याएको छ।
मूलतः मधेशको पृष्ठभूमिमा लेखिएका लामा कथाहरुको संग्रह ‛जियरा’मा मधेसका समसामयिक मुद्दाहरु उठान गरिएको छ। यसले एकातिर मधेसी जनजीवनका जटिलतालाई उजागर गर्छ भने अर्कातिर राज्यले गरेको विभेदको आलोचना पनि गर्छ।
अबधी भाषा, संस्कृति, लोकगीत, लोककथा, उखानटुक्काको प्रशस्त प्रयोग गरिएकोले कतिपय सन्दर्भमा प्रवेश गर्न इतरभाषी पाठकलाइ केही असहज लाग्ने भए पनि त्यही कुराले कथालाई बेग्लै स्वाद र सौन्दर्य पनि प्रदान गरेको छ। सपेरा, बहुरूपिया, माझी, कुमाल, जादुगर लगायतका विभिन्न पेशाका पात्रहरूको रहनसहन र संस्कृति बिस्तारमै समेटिएका छन्। विभिन्न कथामा मधेशमा चल्नेहावाहरूका विभिन्न प्रकार, स्वभाव र ती हावाका नामको बारम्बार उल्लेख भइरहन्छ। यस्ता कुराले मधेशी समाजप्रतिको लेखककोअध्ययन र सरोकार प्रशंसनीय लाग्छ।
कथाहरूमा नागरिकता कतै मूख्य कथावस्तु र कतै सहायक प्रसङ्गका रूपमा टुप्लुक्क आइपुग्छ। यसले मधेसको मुद्दालाई उचित सम्बोधन गरे पनि कतैकतै पाठकलाई रिपिटेशनको अल्छी लाग्दो आभास पनि दिन्छ। धेरै जसो पात्रको नामाकरण पनि धार्मिक मिथहरुसँग जोडेर गरिएको छ। दुर्गा भन्ने नाम विभिन्न कथामा प्रयेग भएको छ। यसले प्रतीकात्मक अर्थ त अवश्य दिन्छ तर पाठकलाई अलमल पनि पार्छ ।
मधेशमा जन्मेका पात्रहरु स्वैरकल्पनाको उडान भर्दै कोही मिथको संसारमा पुग्छन्, कोही देवलोकमा । कोही आत्मा बनेर आफ्नादुःखदर्द बक्छन्, कोही कथाकारसँगै बहसमा सामेल हुन्छन्। कुनै पात्रले त कथाकारसितै प्रश्न सोध्छन् र कतिले कथाकारकै नियतमाथि पनि शंका ब्यक्त गर्छन्।
काठमाडौं, नेपालगन्ज, बालुवाटार, सिंहदरबारजस्ता परिवेशमा पात्रहरूले उडान भरे पनि ती पात्रहरु अन्ततः फर्केर मधेस नै आइपुग्छन् र भन्छन्, ‛पहाडमा पुगेर मुम्फली बदाम हुँदो रहेछ। कोहँडा फर्सी हुँदो रहेछ। गन्जी सखरखण्ड हुँदो रहेछ। तोरई घिरौला बन्दो रहेछ। तर मधेसी भने मनई हुँदोरहेनछ। देहाती र गँवार नै हुँदोरहेछ। यो सुन्दर-सुन्दर भाषामा बकचोदी गर्ने रमिठीमार मार्नेहरूको बस्ती रहेछ।’ (दईमारा)
’उता पहाडिया, यता मधेसी। उता मालिक, यता रैयत। उता सुकिलामुकिला, यता अलिफ नङ्गा। उता आवाज भएका वाचाल प्राणी, यता बोली गुमाएका निसद्द। उता बलियाबाङ्गा, यता निबर। उता सभ्य नगरहा, यता असभ्य देहाती। अहिले कुनै तारबार नलागेको भए पनि हाम्रो गाउँमा उहिल्यैदेखि नै एउटा अदृश्य दसगजा बनिसकेको थियो। त्यो दशगजा आज पनि कायम छ।’
'कबै अर्घ्यालो नथाप्नू' जियरा’ पढिरहँदा कथाकारले आफ्नै पूर्ववर्ती लेखनशैलीलाई विस्थापित गर्ने प्रयास गरेको आभास हुन्छ। आफ्नै पूर्ववर्ती लेखन परम्पराबाट भिन्न रहेर गरिएको नवीन र प्रयोगमूलक कथावाचनको शिल्पले यी कथाहरुलाई नयाँ बान्की प्रदान गरेको छ।
छोटा वाक्य, भाषामा आञ्चलिकता, मजबुत पात्र र ती पात्रहरुमार्फत् अभिव्यक्त विद्रोह, व्यङ्ग्यको भरपूर प्रयोग र कथाहरु मानिर्माण भएको दृश्यात्मकताले ‛जियरा’ भित्रका कथालाई बलशाली र पठनीय बनाएका छन्। भाषिक शुद्धशुद्धीमा खासै गुनासो गर्नुपर्ने देखिँदैन भने कृतिको आवरण चित्रमा प्रयोग गरिएको आकृति र रंगले कृतिभित्रका कथामा रहेका पात्रका आवेग र आक्रोशलाई प्रकट गरेको छ।