कुमार नगरकोटीको कथा संग्रह 'कल्प-ग्रन्थ'को वितरण सुरु भएको छ। लेखक नारायण वाग्लेलाई उनको पूर्वभुक्तान प्रति नगरकोटीद्वारा हस्तान्तरण गर्दै यसको वितरण सुरु भएको प्रकाशक बुक-हिलले जनाएको छ।
नगरकोटीको यो पुस्तक गत वर्षको चैतमा सार्वजनिक गर्ने गरी पाठकबाट 'पूर्व भुक्तानी' लिई सीमित प्रति मुद्रण भएको थियो। कोरोना महामारीको संक्रमणले जनजीवन प्रभावित बनेपछि रोकिएको पुस्तक वितरणको काम रोक्नु परेको थियो। लकडाउन खुकुलो बन्न थालेपछि वितरण सुरु गरिएको बुक-हिलका अध्यक्ष भुपेन्द्र खड्काले बताए।
लेखनमा प्रयोग मन पराउने नगरकोटीको यो पुस्तक प्रयोगात्मक शैलीका ७० वटा कथा संकलित छन्। 'कल्प-ग्रन्थ'को आफ्नो प्रति हात पारेपछि नारायण वाग्लेले भने, 'मुद्रण र यसको प्रकाशन शैलीले अन्य लेखकलाई पनि लेखन र प्रयोगमा उत्साह थप्नेछ। यो एउटा मानक किताब बन्नेछ।'
देश तथा विदेशमा रहेका सबै पाठकमा वितरण गरिसक्न एक हप्ता लाग्ने प्रकाशन गृह बुक-हिलले जनाएको छ ।