'मिस्टर नगरकोटी, म तपाईंको खप्परमा कनेक्ट हुन चाहन्छु।'
मेरो अनुरोधमा कुमार नगरकोटी झर्किए, 'मलाई डिस्टर्ब गर्ने को हो? यसरी बेला–न–कुबेला मलाई टेलिप्याथी गर्ने को हो?'
'म सबिना, सेतोपाटीको पत्रकार। म तपाईंको भर्खरै प्रकाशित किताबबारे कुराकानी गर्न चाहन्छु।'
मेरो टेलिप्याथिक अनुरोधलाई रिजेक्ट गर्दै नगरकोटीले भने, 'पत्रकार? हु केयर्स!'
त्यसपछि उनी आफ्नो कोठारूपी गुफामा अन्य पात्रहरूसँग कुराकानी गर्न व्यस्त भए।
उनको किताब 'कल्प–ग्रन्थ' को अन्तिम कथा टाइपोग्राफिक स्टोरीको टेलिप्याथिक ह्याङ दिमागबाट उत्रिएकै थिएन। म यस्तै अन्टसन्ट दिमागमा चलिरहने संवादलाई ध्यान दिएर सुन्न थालेकी थिएँ।
यता मलाई नगरकोटीसँग अन्तर्वार्ता गर्न हतार भइसकेको थियो। डर थियो उनले साँच्चै भन्ने हुन् कि, 'हु केयर्स!'
हु केयर्स अर्थात के मतलब! नगरकोटीले आफ्नो लेखाइ र जीवनमा प्रयोग गरिरहने शब्द हो। उनले मेरो लगातार फोन कललाई पनि हु केयर्स भन्दै मिस्ड–कलमा परिणत गरिदिए। त्यसपछि उनको किताब प्रकाशन गर्ने बुकहिलका प्रकाशक भूपेन्द्र खड्कासँग मद्दत माग्नु पर्यो।
भूपेन्द्रले पनि नगरकोटीसँग कुरा गरेर प्रयास गर्छु भन्ने जवाफ फर्काए। दुई दिनसम्म खोजिनिती गर्दा पनि प्रकाशकले निश्चित जवाफ फर्काएनन्।
अनि म आफैं हु केयर्स भन्ने मनस्थितिमा पुग्नै लाग्दा तेस्रो दिन अचानक ११ बजेतिर प्रकाशक भूपेन्द्रको फोन आयो। भेट्ने समय निश्चित गरियो, १ बजे।
मैले आफ्नो दिमागलाई तयार हुने समय दिन भ्याएकै थिइनँ, अलिअलि नर्भस भएँ।
अझ सेतोपाटी मल्टिमिडिया टिमले भिडिओमा म पनि देखिने भनेपछि नभर्सनेसका सीमाले अर्को छेउ नाघ्यो।
यो सीमा अझै लम्ब्याइदियो भूपेन्द्रको अर्को कलले, 'माफ गर्नुहोला। हाम्रो काम सकिएन, साढे दुई बजे भेटौं न है?'
त्यो समय पनि घर्कियो। बल्लतल्ल साढे तीन बजेतिर कालो लुगा लगाएका, घाँटीमा मालाहरू झुन्ड्याएका, तान्त्रिक जस्तै देखिने व्यक्तिका साथमा भूपेन्द्र सेतोपाटी आइपुगे।
के उनै थिए नगरकोटी?
नगरकोटीले त एक बजे आउँछु भनेका थिए! यत्रो बिलम्ब गरेर आउने मान्छे नगरकोटी नै हो भन्ने के ग्यारेन्टी! यसै पनि उनको पछिल्लो किताब बजारमा किन्नै पाइँदैन! उनका पाठकहरूले किताब नपाएको झोंकमा लेखकलाई नै अपहरण गरेर लगे कि! अनि पर्दाफास हुने डरले यी कुनै बहुरूपिया नगरकोटीको भेष धारण गरेर हामीलाई झुक्याउन आएका त होइनन्! उनीहरूले ढिलो गर्नुको कारण त्यही रूप धारण गर्ने चक्कर त थिएन!
त्यसैले नगरकोटी 'बनेर' आएका ती व्यक्तिलाई मिटिङ रूममा राखेर म मेरा सहकर्मी साथी युनिक श्रेष्ठलाई खासखुस गर्न गएँ। उनी अपराध बिट हेर्छन्। मैले उनलाई भनेँ- आज नगरकोटी नामको कुनै मान्छे अपहरणमा परेको रिपोर्ट-सिपोर्ट आएको छ कि छैन, बुझिदेऊ त!
धन्न उनले खबर ल्याए- त्यस्तो कुनै रिपोर्ट परेको रहेनछ।
अनि म ढुक्क भएर मिटिङ रूममा गएँ र उनलाई ठट्यौली पारामै सोधेँ, 'तपाईं समयमा आउनु भएन। के तपाईं साँच्चै नगरकोटी नै हो नि?'
उनी प्रश्न सुनेर हाँसे र आफू नै कुमार नगरकोटी भएको दावी गर्दै भने, 'म घुमघाममा व्यस्त छु। कसैका उपहारहरू थिए, दिइरहेको छु। तपाईंको र त्यो समय जुधेकाले तोकिएको समयमा भेट्न पाइनँ।'
आर्यघाटमा बरालिँदै हिँड्ने, फकिरजस्तो बेफिक्री घुम्ने, आफ्नै कोठालाई गुफा भनेर घन्टौं लेखन, किताब वा फिल्ममा हराउने नगरकोटी त उपहार दिनमा पो व्यस्त रहेछन्।
एक साथीले किताबको 'पोस्ट–कार्ड' अध्यायभित्रका महिलाहरू र निर्देशक मिन भामले सहरमा आफूले प्रेम र सम्मान गर्ने मान्छेलाई किताब पुर्याइदिनू भनेकाले उनी 'जोगी घरके द्वार' मा पुगिरहेको ठान्दै रमाइरहेका रहेछन्।
कल्प-ग्रन्थ यी 'जोगी' को दसौं किताब हो जुन अघिल्लाभन्दा बिल्कुल फरक शैलीमा प्रकाशित छ। आफूलाई फिक्सन डिजाइनर बताउने नगरकोटीले यो किताबमा हुनसम्मको डिजाइन गरेका छन्। ६८ वटा कथा भन्न उनले कन्सेप्चुअल, इन्स्टलेसन, पारास्टोरी, पोस्टकार्ड, ग्रे, स्क्रिन प्ले, ट्रान्सक्रिएटेड र टाइपोग्राफिक गरेर ८ वटा शैली अपनाएका छन्।
यसैले कल्प-ग्रन्थ पढ्दै गर्दा दिक्क हुनुभयो भने तपाईंले अर्को किताब खोजिरहनु पर्दैन। यसैको अर्को अध्याय पल्टाए फरक स्वादको कथा पाइहाल्नु हुन्छ।
लेखाइभित्र पाइने सुक्ष्म विवरणले दिमागमा बन्ने दृश्यहरू त नगरकोटीका लेखकीय विशेषता हुन्छन् नै। यो किताबका कन्सेप्चुअल, पोस्टकार्ड र टाइपोग्राफिक कथाले आँखालाई सुरूमै दृश्य दिन्छन्। अन्तिमको टाइपोग्राफिक स्टोरीका बांगाटिंगा, उल्टापाल्टा अक्षर, ठूला–साना फन्टले पाठकलाई बाँधिराख्छ। मोनोटोनस बनाउँदैन। यो किताब नभइ कुनै लेखकको डायरी फेला पारेजस्तो पनि तपाईंलाई लाग्न सक्छ।
दसौं किताब एउटा सेलेब्रेसन जस्तो होस् र जीवनमा यस्तो किताब पनि लेखेको थिएँ भन्ने सम्झनामा रहोस् भनेर कल्प-ग्रन्थ निकालेको नगरकोटी बताउँछन्। यसको लेखन शैलीदेखि पाठकको हातमा पुग्नेसम्मको प्रक्रिया युनिक छ। बजारमा एउटा भनाइ चलेको छ, 'नगरकोटीले कि युनिक लेख्छन्, कि यौनिक लेख्छन्।'
उनी आफैंले पनि यो किताबबारे लेखेका छन्– अ बुक अफ इम्याजिनेसन, इन्क्लुडिङ ड्रिम्स, मिस्ट्री एन्ड न्याकेडनेस। (कल्पना, सपना, रहस्य र नग्नताको किताब।)
कतिपयले भने यस्तो के लेखेको होला, के गरेको होला भनेर उनलाई मूर्ख वा पागलको संज्ञा दिएका छन्। जीवनमा केही जरा हट्के किसिमको गीत, फिल्म वा कुनै सिर्जना दिन अलिअलि पागल त हुनै पर्छ। अलिअलि रिस्क लिनैपर्ने बताउँदै नगरकोटी भन्छन्, 'म जे गरिरहेको छु त्यसमा नयाँपन आओस् भन्ने चाहन्छु। दुश्यहरू एकनाश भयो भने झर्कोलाग्दो हुन्छ। कथा कसरी बताउने भन्ने कुरा मलाई एकदम महत्वपूर्ण लाग्छ।'
लेखनमा फरकपन खोजिरहने नगरकोटीलाई अप्ठ्यारा, अफ–बिट कुराहरू मन पर्छ। २, ४, ६ लगायत जोडी अंकहरू उनको लेखमा आउन अप्ठ्यारो मान्छन्।
मिस्टिकामा एकापट्टि बिजोर अंकका पाना मात्र राखेर नगरकोटीले प्रकाशन गरेका थिए। पाँच बजेर ५५ मिनेट लगायत बेजोडी अंकको समय पनि उनलाई मनपर्छ। १७ त सबभन्दा बढी उनले प्रयोग गर्ने बिजोर अंक हो।
उनले भिडिओमा भनेका छन्, 'आइ हेट जोडिज्।' (मलाई जोडीहरू मन पर्दैन।)
कल्प–ग्रन्थमा पनि तपाईंले त्यो कुरा याद गर्न सक्नुहुन्छ।
यो किताबका लागि उनी जति पागल भएका थिए, प्रकाशक भूपेन्द्र खड्का अझ बढी पागल भएर लाग्नुपरेको नगरकोटी बताउँछन्।
किताबका लागि एसिड नभएको कागज नै चाहिने नगरकोटीको जिद पूरा गर्न सिंगापुरदेखि मगाइएको थियो। भारतको थमसन प्रेसमा भूपेन्द्रले नगरकोटीको शैली र सपना साकार पार्न अहोरात्र खट्नुपर्यो। प्रेसका मान्छेले त कसरी यस्तो बनाउन सकिन्छ भनेर छलफल नै गर्नुपरेछ।
'मैले जे गर्न लागेको थिएँ, त्यसका लागि प्रकाशक महामूर्ख हुनुपर्थ्यो। मैले त्यस्तै पाएँ,' नगरकोटीले भने।
यो किताबको हुलिया पनि उनले लगाउने लुगाको रङजस्तै कालो छ। उनका प्रायः किताबका कभर कालै हुन्छन्। उनले ठट्यौली शैलीमा भने, 'म मान्छे पनि कालै छु है?'
कालो उनलाई मनपर्ने रङ हो।
उनको जीवनमा अन्य रङ कसरी आउँछन् त?
'म सबै लेख हातैले लेख्छु। लेख्दा निलो, रातो, कालो, पहेँलो लगायत विभिन्न रङका कलम प्रयोग गर्छु,' कल्प–ग्रन्थमा झन्डै इन्द्रेणी रङका कलमले हस्ताक्षर गर्दै उनले भने, 'फिल्मको नाम प्रायः म कालो रङले लेख्छु। किताबको नाम आए हरियोले। गीत हो भने पहेँलो वा अन्य केहीले।'
किताबका अक्षर सबै कालो हुन्छन्। सुरूकै पाना हेर्दा पाठकलाई उदेक नलागोस् भनेर उनले अटोग्राफमा विभिन्न रङ प्रयोग गर्छन्।
लामो समयदेखि स्वतन्त्र लेखनमा जमेका नगरकोटी कविता, कथा, उपन्यास, नाटक, स्क्रिप्ट, अनुवाद लगायत विभिन्न आयाममा राम्रो पकड राख्छन्। त्यसैले उनी एउटै कुरामा हराएर बस्दैनन्। भन्छन्, 'आफ्नो कुरा लेखनमा अभिव्यक्त गर्ने एउटा मात्र शैली हुनेलाई लेख्दा समस्या आउने हो। मसँग धेरै शैली छन्। म लेख्न रमाइनँ भने यो कामै बन्द गर्छु।'
कल्प-ग्रन्थ आएपछि एक जनाले आफ्ना भर्खरै जन्मिएको बच्चाको नाम कल्प राखेको घटना नगरकोटीले उत्साहित हुँदै सुनाए। विभिन्न व्यक्तिलाई उपहारका रूपमा किताब पुर्याउने क्रममा लेखक खगेन्द्र संग्रौलाकहाँ पुग्दा उनले पनि एउटा डायरी र कलम उपहार पाए।
'बिरलाकोटी, यो डायरीमा कविताहरू लेख्नू। कविताबाहेक अरू केही नलेख्नू,' संग्रौलाले यसो भन्दा नगरकोटी 'भावुक–ओ–भावुक' भएका थिए।
भावुक–ओ–भावुक जस्ता ओ जोडिएका शब्द तपाईंले उनको किताबमा धेरै ठाउँ भेट्नुहुन्छ। त्यसले तपाईंलाई 'वन्डरफूल–ओ–वन्डरफूल' महशुस गराउला!
अँ साँच्ची, नगरकोटीले आफ्नो पचासौं जन्मोत्सवमा कविताको किताब निकाल्ने सुनाए। केही फुटकर कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित भए पनि धेरैजसो डायरीमै सीमित छन्। २०३१ सालमा जन्मिएको बताउने नगरकोटी ५० वर्ष पुग्न अब कति बाँकी छ? आफैं हिसाब गरेर पर्खी बस्नुहोस् है!
त्योभन्दा अघि उनी ग्राफिक उपन्यास प्रकाशन गर्ने तयारीमा छन्, जुन उनले लेखिसके।
सन् २०२१ मा प्रकाशित कल्प–ग्रन्थ २०२१ रूपैयाँ तिरेर प्रि–बुकिङ गरी पर्खिनेहरूको प्रतीक्षा अहिले सकिसक्यो। नगरकोटी ठान्छन्ः प्रि–बुकिङ भन्ने शब्दमै बुक जोडिएको छ। त्यो त किताबमै लागू हुनपर्यो नि!
यो प्रि–बुकिङ कन्सेप्ट त्यसरी आएको हो। यसमार्फत तीन हजार सात सय तेह्र किताब छापिए। अर्को संस्करण अब नछापिने उनी बताउँछन्। ज–जसले किताब किने, उनीहरूको संग्रहमा यो किताब सधैं हुने भयो। जसले किनेनन् वा किन्न छुटाए, उनीहरूलाई नगरकोटीको भिडिओ सन्देश छ– मिसिङ इज समटाइम्स ब्युटीफूल। (छुट्नु पनि कहिलेकाहीँ सुन्दर हुन्छ।)
उनले यो कुरालाई अझैं सुन्दर तरिकाले 'फाइभ हन्ड्रेड माइल्स' गीतमार्फत भनेका छन्–
If you missed the train I'm on
You will know that I am gone
You can hear the whistle blow a hundred miles
A hundred miles, a hundred miles,
A hundred miles, a hundred miles…
हाम्रो भिडिओवार्ता हेरिरहँदा वा हेरेपछि युट्युबमा यो गीत खोजेर सुन्नुहोस् न है?
तपाईंलाई यसको संगीत हिन्दी गीत 'जब कोइ बात बिगड जाय, जब कोइ मुश्किल पड्जाए' मा सुनेजस्तो लागेन?
र लास्टमा, नगरकोटीले मसँग कुराकानीमा भनेका थिए- म ५५ वर्षपछि लेखनबाट संन्यास लिन्छु।
किन संन्यास लिने भनेर मलाई सोध्न मन लागेको थियो। तर बिर्सेछु।
ठिकै भयो नसोधेको। नगरकोटीले जिन संन्यास लिए पनि हु केयर्स!