यो गाउँका गुडियाहरू बोल्छन्। रातिराति गीत पनि गाउँछन्। गाउँभरि सबैलाई थाहा छ, पार्वतीको गुडियाले पनि रातिराति गीत गाउँछे–
जबसे देखी तोरे सुरतिया प्यारी
मोरे जियरा पे चलत है आरी
गाउँको चलनअनुसार प्रत्येक महिलाले आफूजस्तै आकृति झल्किने गुडिया बनाउनुपर्छ। त्यसलाई गीत सिकाउनुपर्छ र विवाह गरेर गएपछि माइतीमै छाड्नुपर्छ। रेश्माले पनि आफ्नो आत्माको अंश मिसिएको गुडिया विवाहपछि बहिनी पार्वतीको हातमा थमाएकी थिइन्।
हरेक महिलाले आफ्नो गुडियालाई सिकाउने गीतहरू विवाहपछि उनीहरूको ओठबाट छुट्दै जान्छ।
यो गाउँका हरेक महिलाको नियति यस्तै छ। उनीहरू जन्मिएपछि दुईपटक मर्छन्– एकपटक आफैं र अर्कोपटक गुडियाका रूपमा।
लेखक नयनराज पाण्डेको हालै प्रकाशित कथा संग्रह 'जियरा' मा गुडियाका विम्बहरू धेरै ठाउँ भेटिन्छन्। शीर्षक कथा 'जियरा' मा ब्राकेटभित्र र ब्राकेटबाहिर दुई किसिमका कथा घुम्छन्। जसरी ब्राकेटबाहिरको कथामा महिलाहरू दमनमा परेका छन्, ब्राकेटभित्रको कथाकी महिलाले भने आफू गुडियाजस्तो बन्दिनँ भन्दै विद्रोह गर्छिन्।
कथा संग्रहको पहिलो कथा 'जनानी' होस् या 'या देवी!', 'जियरा' होस् या 'सलमा सितारा' वा अन्तिमको 'लैला ओ लैला', यी कुनै पनि कथामा लेखकले महिलालाई लाचार देखाएका छैनन्। उनीहरू विद्रोही चेतसहित आएका छन्। अब त सहन्न, गुडिया वा कठपुतली भएर बस्दिनँ भन्दै उनीहरू पुरुषवादी मूल्य–मान्यता भत्काउनेतर्फ मुखर छन्।
'हामीकहाँ महिलालाई देवी मानेर पुज्ने चलन छ। विशेष महत्व दिएजस्तो गरे पनि विभिन्न किसिमबाट उनीहरू उत्पीडनमा परेका छन्,' नयनराजले सेतोपाटीसँगको कुराकानीमा भने, 'हाम्रै पौराणिक गाथाहरू पनि पुरूषवादी सोचले भरिएका छन्। तर अहिले यो विषयमा ठूलो बहस हुन थालिसकेको छ। अब पहिलेजस्तो महिलाका आवाजलाई रोक्न गाह्रो हुन्छ।'
नयनराजले जसरी समाजमा रहेका नराम्रा मूल्य–मान्यता भत्काउने प्रयास आफ्ना लेखमार्फत् गरेका छन्, आफ्नै लेखकीय शैलीमा पनि उनी नयाँपन खोजिरहेका हुन्छन्। उनी भन्छन्, 'लेखनमा नयाँपन आउँदैन भने किन लेख्ने? लेखकले जब कुराहरू दोहोर्याउन थाल्छ, त्यो निकै खतरनाक हुन्छ।'
सात उपन्यास, चार कथा, एक संस्मरण र आधा दर्जन बालसाहित्यका किताब लेखेर उनले आख्यानकारका रूपमा आफ्नो पहिचान स्थापित गरिसकेका छन्। हामीले उनीसँग आख्यानको संसार, त्यहाँभित्रको पात्र र लेखन प्रक्रियाबारे भिडिओ कुराकानी गरेका छौं।
आख्यानको संसार कसरी तयार हुन्छ भन्ने प्रश्नमा नयनराजले भने, 'जहाँ पुगे पनि यो समाजबाट हामी अछुतो हुन सक्दैनौं। त्यही भएकाले आख्यान लेख्दा अरू संसारको म त्यति कल्पना गर्दिनँ। मैले बाँच्नु यही संसारमा छ भने यहीँका पात्रहरूको कथा धेरैलाई सुनाइदिनुपर्छ भन्ने एक किसिमको जिम्मेवारीबोध महशुस हुन्छ।'
उनले अगाडि भने, 'आफ्नो परिवारको तीन–चार जना सदस्यको त हामीलाई जिम्मेवारी हुन्छ भने हाम्रो व्यक्तित्व निर्माण गर्ने समाजप्रति झनै ठूलो जिम्मेवारी हुन्छ। त्यो समाजका पात्र, उनीहरूका दुःखप्रति केही न केही संवेदना व्यक्त गर्नुपर्छ भन्ने लागेरै उनीहरूका कुरा मेरा लेखनमा धेरै आउँछन्।'
नयनराज हाम्रै छेउछाउमा भएका पात्रका कथा लेख्न रूचाउँछन्। त्यसैले हामीले यही समाजमा देखेका मान्छे उनको कथाका पात्र बनेर आउँन्। उपन्यास 'लू' को इलैया होस्, 'उलार' को प्रेमललुवा या हालै प्रकाशित कथासंग्रह 'जियारा' का पात्रहरू, ती हाम्रै समाजमा भेटिएका विभिन्न मान्छेका सामूहिक अनुहार भएको नयन बताउँछन्।
उदाहरणका लागि, 'लू' को इलैया भन्ने पात्रले गर्ने बदमासी, उरन्ठेउला कामहरू र उसका कतिपय आनीबानी नयन आफैंले कुनै बेला गरेका हुन् भने कति उनले भेटेका पात्रहरूले गरेका हुन्। आठ-दस जना पात्र जोडेर एउटा इलैया तयार भएको उनकाे भनाइ छ।
आफूले देखिरहेकै मान्छेलाई आख्यानको पात्र बनाउने भएकाले पात्र निर्माणमा त्यति धेरै कसरत गर्न नपरेको उनी बताउँछन्।
'मैले लेख्न थालेको साढे तीन–चार दशक भइसक्यो। मेरा स्मृतिमा पनि मेरा धेरै पात्र स्थापित भइसक्नुभएको छ। धेरैलाई मैले देखेको छु,' उनले भने, 'कसैलाई देखेर, प्रभावित भएर, कसैको दुःख–सुख, हाँसो–खुसीबाट प्रभावित भएर नै हाम्रा पात्रहरू आख्यानमा आउँछन्। अरूले पनि त्यस्तै गर्नुहुन्छ होला। म पनि त्यसको अपवाद होइन।'
उनले धेरै ठाउँ भन्ने वा उनलाई धेरैले भन्छन्– मधेस नयनराजको 'कम्फर्ट जोन' हो। झन् कथासंग्रह 'जियरा' का १३ वटै लामा कथा मधेसकै पृष्ठभूमिमा लेखिएका छन्। त्यहाँको राजनीतिक चिन्तन, भाषिक दुबिधा र सामाजिक अवस्था बुझ्न यो किताब अर्को मानक हो।
नयनराज आफैं पनि भन्छन्, 'मैले आफ्नो जीवनको लामो समय मधेसमा बिताएको छु। त्यहाँका मुद्दा र पात्रहरूलाई राम्ररी बुझेको छु। मेरो सपनामा पनि त्यहाँ बिताएका बाल्यकाल, किशोरावस्था, घरको याद, आफू हिँडेका गल्लीहरू आउँछन्। त्यही भएकाले जहाँ पुगे पनि म मधेसमै फर्किन्छु।'
तर लेखनका सुरूआती दिनहरूमा उनीसँग फरक चिन्तन थियो। २०–२१ वर्ष उमेरका थिए उनी। राष्ट्रिय स्तरको लेखनका लागि गाउँबारे लेखेर कहाँ हुन्छ भन्ने भावना थियो। त्यही भएर उनले मधेसभन्दा फरक पृष्ठभूमिमा लेख्ने प्रयास गरे।
सुरूआतका किताबहरू 'नांगो मान्छेको डायरी', 'बिक्रमादित्य एउटा कथा सुन्' त्यही चिन्तनबाट लेखिएका हुन्। जब उनी काठमाडौं आए, उनले घर सम्झन थाले। आफ्नो ठाउँको महत्व बुझे। अनि सम्झिन थाले, 'खोइ त मैले सलिमको दुःखका कथा लेखेको, प्रेमलालको कथा खोइ?'
उनीहरूका कथाले पिरोल्न थालेपछि नयनले मधेसका कथा धेरै लेखे। बीचमा उनले हिमाली पृष्ठभूमिमा 'सल्लीपिर' उपन्यास पनि लेखे।
साझा प्रकाशनमा काम गर्दा उनले हिमाली क्षेत्रमा किताबहरू पुग्न कति गाह्रो हुन्छ, किताब पुर्याउँदा के–कस्तो राजनीति हुन्छ भन्ने राम्ररी बुझेका थिए। ती कुराहरू मनमा गडिरहेको थियो, उकुसमुकुस भएपछि त्यो विषय उठाउनैपर्छ भन्ने लागेर 'सल्लीपिर' लेखेको उनी बताउँछन्।
'काठमाडौंबाट डेढ–दुई घन्टामै मधेस आइहाल्छ। १५–२० मिनेटमा प्लेनबाट उडेर हिउँ पर्ने ठाउँ पुग्नुहुन्छ। कति कुरा त लेखकले अध्ययन–अनुसन्धान गरेर पनि लेख्न सक्छन्। मेरो कम्फर्ट जोन यति नै हो भनेर बसिरहनुपर्दैन,' उनले भने, 'इमान्दारीपूर्वक प्रस्तुत गर्न सक्नुहुन्छ र पाठकलाई विश्वास दिलाउन सक्नुहुन्छ भने तपाईं जे विषयमा पनि लेख्न सक्नुहुन्छ। आफ्नो जमिन, धरातल र विचार छाड्नुभएन भने तपाईं जे पनि लेख्न सक्नुहुन्छ।'
तर नयनराजलाई लाग्छ मधेसका मुद्दाहरू अझै पनि धेरै सम्बोधन हुन बाँकी छ। त्यहाँका मुद्दाहरू फेरिँदैछन्। त्यहाँका आवाजहरू मुखरित भएका छन्। त्यहाँको पीडा यथावत छ जसबारे धेरै सोच्न बाँकी छ। त्यही भएकाले जहाँ पुगे पनि उनी मधेसमा फर्किरहन्छन्।
कहिलेकाहीँ कलाकारले पात्रजस्तो बन्ने प्रयासमा विभिन्न अभ्यास गरिरहन्छन्। त्यस्तै अभ्यास लेखकहरूले पनि जानेर नजानेर गरिरहेको हुने नयनराजले बताए।
उनले हामीलाई एउटा घटना पनि सुनाए।
'सल्लीपिर' मा पेमाको दुःख लेख्ने क्रममा उनले त्यस्तै एक अभ्यास गरेका रहेछन्। कोही पीडाले करायो वा चिच्यायो भने पीडाले मुख 'आ...' हुन्छ भन्ने सुनेका उनले लेख्दै जाँदा कसरी हुन्छ भनेर टाउको यसोयसो चलाउन थालेछन्। त्यो बेला गर्न नजानेर घाँटी नै सड्किएर तीन–चार दिनसम्म दुखेको घटना उनले हाँस्दै सुनाए।
'पात्रहरूले कसरी बोल्छन्, त्यो लेखकले मनमनै बोलिरहेको हुन्छ। उनीहरूले गर्ने बदमासी पनि मनमनै गरिरहेका हुन्छौं,' उनले भने, 'पात्रहरूलाई आफूभित्र जिउने, अनुभूत गर्ने, उनीहरूका हाउभाउ र शैलीलाई हामी लेखकले पनि अभ्यास गरिरहेका हुन्छौं।'
हाल आख्यानमा रमाइरहेका नयनराज सुरूआती दिनमा कविताहरू लेख्थे। १२–१३ वर्षको उमेरमा उनले रेडियो नेपालमा बाल कविताहरू पठाए। नेपालगन्जको 'किरण' साप्ताहिक, काठमाडौंको 'मातृभूमि' र 'नयाँ सन्देश' मा उनका मुक्तकहरू छापिन्थे। बिस्तारै उनलाई कथाप्रति चासो बढ्दै गयो।
स्कुलबाट भागेर सिनेमा हेर्न जाने उनी हेरेका कथामा थपथाप गर्दै साथीभाइलाई सुनाउँथे। नहेर्ने साथीलाई त मूर्ख नै बनाएर नानाथरी कथा भन्थे।
नेपालगन्जमा सनत रेग्मी र नन्दलाल लामिछाने भन्ने दुई जना लेखकसँग संगत बढ्दै गएपछि उनलाई पनि कथा लेख्न सक्छु भन्ने भावना आएको हो। अहिले त त्यसैमा टख बसेको छ।
'बिस्तारै कथा लेख्ने शिल्पहरू सिक्दै गएँ। कथाहरूबारे पढ्न थालेँ। कविता लेख्ने बानी छुट्दै गयो,' उनले भने।
कविता लेख्ने बानी छुटिसकेकाले पहिले जसरी कवितामा विम्ब–प्रतीकहरू आउँथे, अहिले बढी आख्यानमा आउने नयनराज बताउँछन्। कहिलेकाहीँ उनी दिनभर लेखेर बस्छन्। कहिले केही लेख्न सक्दैनन्। लेख्ने प्रयास गरिरहेका मान्छेले हरेक दिन लेख्ने अभ्यास गर्दा राम्रो हुने उनी बताउँछन्। उनी लेखन भनेको सकस नभएकाले आफूलाई कुन वातावरणमा सजिलो हुन्छ, त्यही बेला लेख्न सुझाउँछन्।
साहित्यमा नाम राख्न दुई–चार लेख वा कृति नै काफी भएको उदाहरण पनि उनले हामीलाई सुनाए, 'पुष्करशमशेरका ४–५ कथा संग्रह छन् तर उनी नेपाली साहित्यमा अमर छन्। भारतका चन्द्रधर भन्ने लेखक पनि दुइ–तीन कथाले चिनिन्छन्। समाजमा आफ्नो पहिचान बनाउन एउटा–दुइटा लेख वा किताब लेखे पुग्छ। तर राम्रो लेख्न अरूले कस्तो लेखे भन्ने बुझ्नुपर्दो रहेछ। त्यो बुझ्न पढ्नै पर्छ।'
उनले 'शिलापत्र' को अन्तर्वार्तामा लेखक बन्ने दस सूत्र पनि भनेका थिए– पढ्नु, पढ्नु, पढ्नु, पढ्नु, पढ्नु, लेख्नु, पढ्नु, पढ्नु, लेख्नु, पढ्नु।
नयनराज आफ्नो मुडअनुसारका लेखहरू पढ्छन्। पहिलेजस्तो सातामा दुई–तीन किताब पढौं भन्ने एक किसिमको दैनिकी अहिले छैन।
पढ्दै जाँदा कुनै समय उनलाई एउटाको लेखन राम्रो लाग्थ्यो, अर्को समय अर्को। कुनै बेला पारिजात, बिपी कोइरालाका लेखहरू मन पर्यो। कवितामा गोपालप्रसाद रिमाल, भूपि शेरचनहरूलाई पढे। तर उनीहरूले जसरी लेखे, त्यही नै मानक र अन्तिम सत्य हो भनेर कहिल्यै बसेनन्। त्यसलाई चाहेको खण्डमा लेखकले भत्काउनसमेत पर्ने उनको धारणा छ।
अग्रजहरूले जसरी लेखेका छन्, त्यही कुरा पछ्याउने हो भने उनीहरूजस्तै लेख्ने बानी हुन्छ। आफ्नो मौलिकतामा बाधा पुग्छ। त्यही भएकाले सबैबाट प्रेरणा लिए पनि उनीहरूजस्तो बन्ने वा लेख्ने प्रयास गर्न नहुने उनको भनाइ छ।
पढ्ने क्रममा कहिले उनलाई आख्यान पढौं हुन्छ त कहिले गैरआख्यान। आजकल त अनलाइनमै यति धेरै पढ्ने कुरा हुन्छन् जसले दिनभर व्यस्त बनाउँछ।
'पछिल्लो समय मलाई सिनियर लेखक भन्छन् र लेखकहरूले पाण्डुलिपि पढ्न दिन्छन्। त्यसले पनि व्यस्त बनाउँछ। कहिले विमोचनमा बोलाउँछन्, ती किताब पढ्नुपर्यो,' उनले भने, 'एउटा कालखण्डमा लेखक भनेर स्थापित भइसकेपछि पढ्ने क्रम कम हुँदो रहेछ। पाठक हुँदा वा लेखनको सुरूआती दिनमा धेरै पढ्दो रहेछु भन्ने अहिले महशुस हुन्छ।'
अहिले त कोरोनाकालले पनि उनको दैनिकी प्रभावित बनाएको छ। त्यस कारण गह्रुँगा चिजहरू उनलाई त्यति पढ्न मन लाग्दैन। फिल्महरू पनि रमाइला, कमेडी, सरल खालका हेरिरहेका छन्।
यो समय उनी जियराको प्रतिक्रिया, त्यसले सिकाइरहेका कुरा बुझ्ने र आत्मसमीक्षा गर्ने क्रममा छन्। आफू 'राइटर्स ब्लक' को स्थितिमा रहेको बताउने उनी केही लेखिरहेका छैनन्। ब्लकको स्थितिमा प्रायः उनी अन्य चिजहरू पढेर बस्छन्। बाहिर घुम्ने वा पुरानो समय र ठाउँ पुग्छन् जहाँबाट उनी लेख्ने नयाँ खुराक लिएर फर्कन्छन्।
कोरोनाको समय जियराकै पुनर्लेखनमा समय बिताए। अहिले घरभित्रै बस्दा अलिअलि उकुसमुकुस हुन थालेको छ। तर यो समय नै यस्तै भएकाले त्यति आत्तिएका छैनन्। राम्रो दिनको प्रतीक्षामा छन्।
प्रतीक्षा त अर्को कुराको पनि छ– उलारको २५ औं संस्करण।
त्यो यसै वर्ष बजारमा आउँछ। उलार उनको सबभन्दा नजिकको किताब हो जसलाई उनी कुनै हेरफेर नै गर्न नसक्ने बताउँछन्। बरू अर्को किताब 'घामकिरी' मा उनले व्यापक सम्पादन गर्दैछन्।
'यो किताब पढिसकेका पाठकले यसलाई फेरि पढ्ने हो भने लेखकले आफ्नो कुरा कसरी सम्पादन गर्दो रहेछ भनेर सिक्ने प्रक्रिया पनि होला भन्ने लाग्छ,' उनले भने।
लेखनका ती प्रयोग कस्ता होलान् भनेर प्रतीक्षा गर्दै गर्नुहोला। अहिलेलाई त बजारमा उनको कथा संग्रह जियरा छँदैछ। जियराको अर्को अर्थ 'हृदय' हो। यसका कथा र पात्रहरूले तपाईंको हृदयमा पक्कै ठाउँ बनाउनेछन्।