पूर्वसचिव गोविन्दप्रसाद कुसुमद्वारा लिखित ‘प्रशासनभित्रको प्रशासन’ सार्वजनिक भएको छ। सांग्रिला बुक्सले प्रकाशन गरेको पुस्तक पूर्वमहान्यायधिवक्ता डा. युवराज संग्रौला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त सावित्री थापा गुरुङले सार्वजनिक शुक्रबार सार्वजनिक गरेका हुन्।
लेखक गोविन्दप्रसादले नेपाल सरकारको शाखा अधिकृतदेखि महावाणिज्य दूत र सचिव हुँदै संवैधानिक निकायमा पदाधिकारी भएर प्रशासनिक र कुटनीतिक क्षेत्रमा छत्तीस बर्ष सेवा गरेको अनुभव पुस्तकमा उतारेका छन्। पुस्तकमा उनले जागिरे जीवनमा बेहोरेका तीतामीठा अनुभवका महत्वपूर्ण अंशलाई ‘प्रशासनभित्रको प्रशासन’मा समेटिएको छ।
पुस्तकमा टिप्पणी गर्दै डा. संग्रौलाले कुटनीतिलगायत अन्य समस्या समाधान गर्न नसक्नुका कारण, विचौलियाबाट प्रभावित राजनीतिक नेतृत्व तथा त्यसले कर्मचारीतन्त्रलाई पारेको समस्या र अन्तरकर्मचारी सम्बन्धका बारेमा पुस्तकले आफ्नो ध्यान आकर्षित गरेको बताए। उनेले पुस्तक प्रशासनका थुप्रै पाटोको अनुसन्धानमा उपयोगी हुने बताउँदै गोविन्द्रप्रसाद समाधानउन्मुख प्रशासक भएका कारण लेखकले तथ्य दिएर आफ्ना धारणा पुष्टि गरेको उल्लेख गरे।
अर्का टिप्पणीकार सावित्री थापा गुरुङले पुस्तकले प्रशासनको एक कालखण्डको इतिहासलाई लेखकले इमान्दारिताका साथ लिपिवद्ध गरेको मत राखिन्। उनले प्रशासकले लेखेको भए पनि पठनका हिसाबले निकै सरस भएको बताइन्। एक पूर्व प्रशासकको अनुभव मिश्रित यो पुस्तक प्रशानसका रहेका, प्रशासनमा आउन चाहने, नेता, कार्यकर्ता लगायत सर्वसाधारणका लागि पनि नेपालको प्रशासन बुझ्न निकै उपयोगी सामग्री हुने समेत धारणा राखिन्।
डायरी लेख्ने आफ्नो बानीका कारण समय र घटनाहरु उतार्न सजिलो भएको बताउँदै लेखक गोविन्दप्रसादले आफूले यो पुस्तक मार्फत अनुभव हस्तान्तरणको जिम्मेवारी निभाएको बताए। प्रशासकले इतिहास लिपिबद्ध नगर्नाले अनुभवहरु केवल फलानाले भनेको र फलानाको पालामा भएकोमा सिमित भएकाले आफूले यो जमर्को गरेको उनको भनाइ थियो।उनले छत्तीस बर्षको अनुभवका खास अंश लेख्न चार महिना लागेकाे समेत बताए।
४६० पृष्ठको पुस्तकको मूल्य ७७५ रुपियाँ तोकिएको छ।