न्गुगी वा थ्योंगो आफ्ना लेख, संस्मरण, कथा, उपन्यास, नाटकमार्फत आफ्नो देश केन्यामा उपनिवेशवाद र साम्राज्यवाद विरोधी जनचेतना प्रसार गर्ने लेखक हुन्।
आफ्ना रचनाका कारण उनी धेरै पटक गिरफ्तारीमा परे। जेलबाट छुटेपछि उनले देश छोड्नु पर्यो। त्यसपछि उनले कहिल्यै अङ्ग्रेजीमा नलेख्ने निर्णय गरे।
सन् १९७७ पछि लेखकका जति पनि पुस्तक प्रकाशित भए, ती सबै मूलतः मातृभाषा ‘गिकुयू’ मै लेखिएका छन्। ती रचना अङ्ग्रेजीमा अनुवाद भने भएका छन्।
उनै थ्योंगोको सन् १९७७ मा लेखिएको उपन्यास ‘पेटल्स अफ ब्लड’ लाई भारतीय लेखक तथा पत्रकार आनन्दस्वरुप वर्माले ‘खुन कि पंखुडिया’ नाममा हिन्दीमा अनुवाद गरेका छन्। मैले त्यही हिन्दी अनुवाद पढेर यहाँ केही लेखिरहेको छु।
अनुवादक वर्माले थ्योंगोको यो ४३८ पृष्ठको बहुचर्चित उपन्यासलाई महाकाव्यसरह भनेका छन्। साम्राज्यवादविरोधी साहित्यमा शीर्ष स्थान प्राप्त यो वैचारिक र कलात्मकताको दृष्टिले सम्पन्न कृति हो।
चार खण्डमा विभाजित उपन्यासमा अफ्रिकी द्वीपको कुनै गाउँलाई उतारिएको छ। अनिकाल र हाहाकारको पर्यायवाची त्यो गाउँ हो, ‘इलमोरोग’।
केन्या गणराज्यको चिरी जिल्लाभित्र पर्ने इलमोरोग डिभिजन। जहाँबाट नाटकीय (वास्तविक तर नाटक लाग्ने) दृश्यको सुरुवात हुन्छ। त्यहाँ सधैँभरि माटोले बनेका घर र झुपडी बस्ती मात्रै थिएनन्। जहाँ वृद्ध पुरुष, महिला र केटाकेटी मात्रै रहेका होऊन्। बीच बीचमा घुमन्ते फिरन्ते र गोठालाहरु आउजाउ गर्ने थलोमात्रै पनि थिएन, त्यो गाउँ।
कुनै जमानामा त्यो इलाकाको पनि आफ्नै शान थियो। त्यहाँ केही यस्ता गाउँ थिए, जसमा हट्टाकट्टा किसानकोे विशाल आवादी थियो। ती किसानले प्रकृतिप्रदत्त जङ्गलको संरक्षण गरेर घना बनाएका थिए। आफ्ना कर्मठ पाखुरी र हत्केलाको भरमा त्यहाँको माटोलाई उब्जाउशील बनाएर हरेक किसिमका अन्नबाली लगाएका थिए।
उपन्यासले इलमोरोगवासीको विगतको बाँच्ने शैलीलाई सरसर्ती सम्झाउँछ। कसरी त्यहाँका मानिस मिलिजुली पसिना बगाउँथे र जङ्गल फाँडेर खेतीयोग्य जमिन तयार गर्थे भन्नेबारे बताउँछ। ती दिनहरुमा मरेको सिनो लुछ्न पाउने आशमा चिलहरु मडारिएको देख्न पाइँदैनथ्यो, न त मेहेनतकश जनताको रगतको भरमा पालिने कथित विवेकशील ‘कीराहरु’ नै हुन्थे। यी सबै कुरा आज इलमोरोगका जनताले गाउने गीतमा सुनिन्छन्।
किनकि, अब यथार्थमा त्यो धर्ती हिजोको जस्तै रहेन।
सुदूर विगतको इलमोरोगमा वृद्धवृद्धा र बालकहरुलाई सामूहिक श्रममा छुट मिल्ने गर्थ्यो। मौलिक ज्ञान र सोझोपनका बाहक थिए, त्यहाँका मानिस। उनीहरुसँग यस्तो कमालको बुद्धि र जादुयी औंलाहरु थिए कि उनीहरुले जमिन छुनासाथ भरपुर उब्जनी हुन्थ्यो।
ती सबै उमेरका पौरखी घरबाहिर आँगनमा रुखको छहारीमुनि बसेर सँगसँगै स्थानीय ‘वियर’ को आनन्द उठाउँथे। केटाकेटी बडो गर्वभावले गाउँका पूर्वजको गुुणगान गाउँथे। तर आज समय यसरी बदलियो कि पुँजीवाद र साम्राज्यवादले वृद्धवृद्धा तथा बालबालिकालाई समेत सुखले खानबस्न दिएको छैन। उपन्यासले पोखेको तीतो यथार्थ यो छ कि वर्तमान व्यवस्थाले ती वृद्धवृद्धा तथा बालबालिकालाई पनि लघारेर ल्याउँछ र सस्तो अनि कठोर श्रममा कज्याउँछ। यसरी त्यो गाउँलाई गोराहरुको कर्तुतले बदलिदियो।
लामा लामा सिङ र दूधले भरिएका थुनसितका गाईहरुको प्रशंसामा गीत गाउने मान्छे अब त्यहाँ रहेनन्। गाईको गोबर, पिसाब अनि तिनका भरिएका थुनबाट अलग रहेर र गोरुको गलामा बाँधिएको घण्टीको आवाजदेखि निकै टाढा रहेर जीवन कसरी गुजार्न सकिएला भन्ने मानिस पनि सायदै भेटिएलान्, त्यहाँ।
‘न्देमी’ इलमोरोगको पूर्वज हो। उनले जङ्गल फाँडेर बस्न लायक बस्तीको सुरुवात गरेका थिए। थुप्रै सन्तान दरसन्तानको धनी न्देमी यस दुनियाँबाट गइसकेपछि पनि एक समयसम्म त इलमोरोगको समृद्धि जारी नै रह्यो। त्यो गाउँ व्यापारको केन्द्र बन्यो। गुलुदेखि उकम्बानीसम्म अनि कन्लेजिन जनताको भूमिभन्दा पनि धेरै टाढासम्म यस बजारको डंका बज्न थाल्यो।
समग्र देशका मानिस अनेकानेक सामान लिई आउँथे अनि आफ्नो आवश्यकताका चिजहरु लैजान्थे। छिट्टै नै त्यहाँ किसान आवादीका साथमा किसिम किसिमका शिल्पीहरुको बस्ती पनि बन्यो। त्यहाँका मानिसमा रहेको धातुसम्बन्धी ज्ञानबारेको खबर अरब र पोर्चुगल (दक्षिण–पश्चिमी युरोप) का लुटेराहरुको कानमा समेत पुग्यो। यो इलमोरोग ‘इलमोरोग’ नै रहिरहन नपाउने संकेतको सुरुवात थियो।
सबैभन्दा पहिले त्यहाँ एउटा युरोपेली विदेशी पुग्यो। उसले आफ्नो ‘तम्बु’ गाड्यो। त्यसपछि उसले मैदानी इलाका पार गरेर जानुपर्ने गाउँलेहरुसँग अनाज आदिको माग राख्योे। सोझा गाउँलेहरुले नाइँ भन्न जानेनन्। मकै, सिमी, आलु, तरुल र पिँडालु दिए। त्यसको सट्टामा त्यो विदेशीबाट केही कपडा र मोतीका मालाहरु लिए।
केही दिनपछि दोस्रो विदेशी आयो। उसले पनि गाउँवासीसँग आफ्नो यात्राका निम्ति जरुरी सामानको माग गर्यो र युगान्डाको राजदरबारसम्म पुग्न एउटा पथप्रदर्शकको पनि चाह राख्यो।
पछि युरोपका अन्य केही गोराहरु त्यहाँ आइछोडे र आफ्नो तम्बु गाडे। यसपल्ट उनीहरु त्यो पहाडी गाउँमा अधिक समयसम्म जमिरहे। तिनले पनि गाउँलेबाट लिएको अनाजको सट्टामा कपडा नै दिए र गाउँवासीबाट सुन र हात्तीका दाँतको बारेमा जानकारी बटुलिरहे।
मुनिरा त्यो गाउँको त्यस्तो पात्र हो, जसको मन र हात फोहोर लाग्ने काममा जाँदैन। बरु उसलाई ‘धातुको घोडा’ जस्तै विदेशीका हर चिज सुन्दर लाग्न थाल्छ।
यससँगै उसका चाहनाहरु पनि दैनन्दिन बढ्दै थिए। मुनिरा आफूलाई गोराहरुको हतियार अनि खाद्य सामग्री ढुवानी गर्ने टुकडीमा भर्ती हुन आवेदन पेश गर्छ। इलमोरोगका अरु मानिस पनि त्यस कामका लागि नाम लेखाउँछन्। अब त्यो गाउँ भर्तीको केन्द्र बन्न थाल्यो अनि अधिकांश तरुणले हातमा बन्दुक लिने र गोराहरुको तर्फबाट लडाइँमा भाग लिनका लागि अर्को देश जाने परम्परा सुरु भयो।
उपन्यासमा अफ्रिकी मूलका नागरिक जर्मन सेनासँग मुकाबिला गर्नकै लागि टाँगानिकाको सीमासम्म पुगेको इतिहास स्मरण गराइएको छ।
लेखक हैरानीपूर्ण भावमा त्यहाँका मानिसले काला जातिलाई नै मार्न सुरु गरेको कुरा व्यक्त गर्छन्। तर, त्यो कुरा मूलवासीहरुले बुझ्नै सकेनन् न त त्यो लडाइँको उद्देश्य त्यहाँका मूलवासीहरुकै जमिनमा कब्जा जमाउनु थियो भन्ने नै उनीहरुले बुझ्न सके।
मुनिरा अर्थात् गोराहरुका लागि लड्ने काला जातिको लडाकु। जब उसको गाउँ फिर्ती भयो तब ऊ भित्रैदेखि गलेको थियो।
उसले लडाइँको मोर्चाका कथाहरु सुनाउने गर्थ्यो। ऊ जसरी नै फर्किआउने अन्य जवान पनि त्यसै गर्थे। अब आफ्नो जमिनलाई उब्जाउशील बनाउनका लागि उनीहरु कसैमा पनि रुचि थिएन।
‘न्जुगुना’ को पनि एउटा यस्तो इच्छा छ कि ऊ आफ्नो हातमा ‘न्गोमे’ पहिरिन पाओस् र खेतीको कामलाई अलबिदा भन्न पाओस्। अनि त ऊ पनि बैँसालु र जवान ‘म्बारी’ जमिनदारहरुजस्तै देखिनेछ।
‘ऊ आफैंसँग मनमनै भन्छ, तर, न्जुगुना को भाग्यमा यी सब कहाँ छ र!’
यसरी यी सबैमा माटो र गाउँमा काम गर्नु ‘दुःख हो’ भन्ने छाप परिसकेको थियो। बरु यिनले जति कमाउँथे, त्यसको एक हिस्सा कर तिर्नमा खर्चिनै पर्थ्यो अनि बचेखुचेको नगदलाई विदेशीहरुले बानी पारिदिएका तमाम बेकारका चिजहरुको खरिदमा लगाउँथे। बिस्तारै हालत यस्तो बन्यो कि उनीहरु तिनै खेत खलिहानमा काम गर्न थाले, जुन खेत केन्याका जनताबाट उनै गोराले खोसिलिएका थिए। फेरि तिनै मानिसलाई सडक बनाउने काममा लगाइयो।
उपन्यासले एउटा यस्तो अफ्रिकी नागरिकको चरित्र प्रस्तुत गरेको छ, जसले आफ्नो तागत र बललाई बिर्सेर गोराहरुलाई शक्तिशाली सम्झिन्छ। उक्त पात्र दमनकारी शक्तिसँग संघर्ष गरेका आफ्ना अग्रज पुस्तामध्येका एक ‘बा’ लाई नै केही थाहा नभएको ‘अबुझ’ ठहर्याउँछ। तर, ऊ आफैं भने अङ्ग्रेजको सिपाही हो।
उसको निष्कर्ष छ, 'गोराहरुको तागतपछिको रहस्य पैसा हो। यही तागतको बलमा नै उनीहरुले भारतीयमाथि ४०० वर्षसम्म शासन गरे। पैसाले नै दुनियाँ नचाउँछ।' यो एउटा अफ्रिकीको विश्वासपूर्ण दाबी हो, 'पैसा नै समय हो, पैसा नै सुन्दरता हो र पैसा नै तागत हो।'
पैसाले नै इङ्ल्याण्डकी राजकुमारी किन्न सकिने विश्वास छ, एक आम अफ्रिकी नागरिकमा। उसका निम्ति पैसा नै ‘आजादी’ हो। उसलाई यो पनि लाग्छ कि पैसामार्फत नै सारा मानिसका निम्ति स्वतन्त्रता खरिद गर्न समर्थवान् बनिन्छ।
उपन्यासमा उक्त पात्रले जोडतोडका साथ आफ्नी श्रीमतीलाई बताउँछ, 'बन्दुक र पेस्तोल अनि कालाहरुको एकताका निम्ति सपथ लिनेजस्ता आत्मघाती हर्कत गरेर गोराहरुलाई भगाउनुको सट्टा ‘काला’ जातिले यो सिक्नु जरुरी छ कि पैसा कसरी कमाउने? पैसाको बलमा हामी अँध्यारोमा रोशनी निम्त्याउन सक्छौं। पैसाको कारणले नै हामी आफूभित्रको डर र अन्धविश्वासबाट मुक्त हुन सक्छौं।'
श्रीमानको यस्तो कुरा सुनेपछि श्रीमती भन्छिन्, 'आफ्नो मुलुकमा स्वतन्त्रताका निम्ति चलेको युद्धमा गद्दारको भूमिका निर्वाह गरेर तँ कति पैसा कमाउँछस्?' प्रत्युत्तरमा श्रीमान् अर्थात् अङ्ग्रेजहरुको बफादार अफ्रिकी लडाकु जवाफ दिन्छ, 'जङ्गलमा लुकेका आजादी चाख्न चाहने ‘माउ माउ विद्रोही’ (योद्धा) लाई मद्दत गरिरहिस् भने यो घरमा पनि ‘ईश्वरकै कोप’ पर्नेछ।'
यसरी गोराहरुको स्वार्थअनुरुप काम गर्ने श्रीमानलाई आफ्नै मूलका कबिलाका निम्ति लड्ने साहस नजुुटाएकोमा ‘कायर’ नाउँ दिन्छे, ऊ। गोराहरुको पक्षमा कदम उठाउने श्रीमानको ‘माउ माउ विद्रोह’ बारे व्यक्त धारणा सुनेर ‘गद्दार’ को संज्ञा दिन किञ्चित पनि हिचकिचाउँदिन। उनी मनमनै दोहोर्याउँछिन्, 'जुन गोराहरुका लागि निष्ठापूर्वक सेवा दियो, तिनैले कुकुरको जस्तो मृत्यु उपहार नदिऊन् !'
काला जातिका मानिसको एउटा घरभित्रको यस्तो विवादले घृणा र आतंकको सृजना गर्छ अनि झुपडीमा आगो झोेसिइन्छ। क्षणभरमा बास खरानी हुन्छ। आखिर तम्बु गाडेर बस्न आएका गोराहरुले दम्पती, परिवार एवम् समग्र देशमै फाटो पार्ने नै यस्तै सामान्य धर्म र विचारको बिउ रोपिदिएर त हो भन्ने प्रमाण बोल्छन्, उपन्यासका पात्रहरु।
किताबका पानाहरु पल्टाइरहँदा बेमजा लाग्ने कुरा धेरै छन्। विकास र नवनिर्माणका अनन्त सम्भावनाले भरिएको समृद्ध महाद्वीपको नागरिक आफ्नो सम्भावना चिन्दैन। तामा, सुन, हीरा, कोबाल्ट, युरेनियमदेखि लिएर कुनचाहिँ यस्तो खनिज तत्व छ; जो अफ्रिकामा उपलब्ध नभएको होस्? कुन अन्न त्यहाँ फल्दैन? त्यही अफ्रिकामा यस्तो चरित्र भएका पात्रहरु पनि छन्, जहाँ दास व्यापार गर्ने अरबीसँग सन् १९५२ देखि नै संघर्ष गरिरहेका छन्।
'कुनै जमानामा इलमोरोगलाई एक सम्पन्न गाउँको रुपमा देख्न पाइन्थ्यो । जहाँ मानिसहरु आफ्नै पसिनामा सानदार जिन्दगी बाँचेका हुन्थे । तर, अब त्यसको पतन सुरु भइसकेको छ। युरोपेली युद्धको दौरानमा अझै ठूलो सङ्ख्यामा युवाहरु पलायन हुँदै गए भने आज जनसङ्ख्याको ठूलो हिस्सा गाउँ छोडेर हिँड्ने क्रम चलेको छ। युवाहरु सुन्दर भविष्यको आशामा सहरतर्फ हाम्फालिरहेका थिए र छन्। कुनै बेला व्यापार र खेतीको प्रमुख केन्द्र रहेको इलमोरोग अब एक सुनसान र जर्जर इलाकाको रुपमा देखिन्छ।'
उपन्यासकी एक वृद्ध पात्र ‘न्याकिन्या’ ले यी सबै कुराहरु बताउँछिन्, जसले हिजो र आजको इलमोरोग देखेकी छन्।
युरोपको आधुनिकता अफ्रिका पस्नुअघि त्यो जीवन्त इलमोरोगले लोककथाको रुप लियो। युरोपेली उपनिवेशवाद विकासको नाममा प्रदूषण र विनाश लिएर जब अफ्रिका पस्यो, त्यहाँको जैविकपन र मौलिकता सबै नष्ट गरिदियो।
युरोपले अफ्रिकी प्राकृतिक सम्पदामाथि शोषण गर्दा विरासतका रुपमा अफ्रिकीले जे–जे पाएका थिए, ती सबै हराउँदै गए। पुँजीवादी शोषण फिजिँदै गयो।
अफ्रिकी प्रकृतिको मृत्यु भएर खडेरी निम्तिनु र त्यहाँको मौलिकता ध्वस्त हुनुमा युरोप सम्पूर्ण रुपमा जिम्मेवार छ। त्यहाँका मानिसहरुको जीवनशैली धरापमा पर्नु र अफ्रिकी मुलुकमा कुरुपता बढ्नु पुँजीवादी उपनिवेशवादकै देन हो। लेखक भन्दछन्, 'केन्याको गरिबीका लागि अन्य र अनौठो कुनै कारण नै छैन । यो यसकारण गरिब छ कि यहाँको सारा सम्पदाको उपयोग पश्चिमी जगतको तथाकथित विकासमा गरिएको छ।'
तर गोराहरु यी सबै प्रकारका विपत्ति तथा कष्ट केन्याली कुसंस्कार, अधर्म, कुरीति र असभ्य जीविकाकै कारण निम्तिएको हो भनेजस्तो व्यवहार गर्छन्। ‘अब्दुल्लाह’ नाउँको पात्रले गाएको गीतले बताउँछ –
उनीहरु भन्छन्
अनिकाल परिरहेको छ
तर, फेरि उनीहरु नै भन्छन्
यसलाई अनिकाल नभन
अनिकाल त तिनीहरुका लागि हो
जो इन्कार गर्छन् यशुले दिएको रोटी खान
जतिसुकै घर होऊन्
वा होऊन् जग्गा जमिन र सम्पत्ति
बैङ्कमा पैसा होस् वा पढाइलेखाइ
मेटिँदैन अन्तरात्माको भोक
जबसम्म खाने छैनन् मानिसहरुले
यशुले दिएको रोटी
धनी, गरिब र बालबच्चाहरुलाई हेर
कसरी धर्मराएर हिँडिरहेका छन् सडकमा
किनकि,
उनीहरुले खाएनन्
यशुले दिएको रोटी
यसरी हाहाकार आइलाग्नुमा गोराहरु आफ्नो उपनिवेशवादी चरित्रलाई जिम्मेवार ठान्दैनन्। बरु आत्मिक सुख र हृदयको भोक मेटाउनका निम्ति ‘यशुरुपी रोटी’ भोग गर्नुपर्छ भनिरहन्छन्, घोकाइरहन्छन्। यस्तो लाग्छ कि गीतको बोल र त्यसमा निहित इसाई धर्ममा आधारित निर्जीव सन्देशले इलमोरोगका तिर्खाएका जनताको आपत विपतको मजाक उडाइरहेको छ।
उपन्यासमा सहर पस्नेहरु उतै भासिन्छन्। जो आफ्नो जरो टेकिएको थलो फर्किआउनुको सट्टा सोच्छन्, 'त्यो पिछडिएको, विवश अनि असहाय घना जंगलमा म फेरि फस्न जाऊँ?' यो गाउँ रित्तैे पारेर हिँडेका हरेक युवाहरुको बोली हो न कि इलमोरोगको मात्रै। यसभित्रका पात्र ‘मुनिरा’, ‘वान्जा’, ‘अब्दुल्लाह’, ‘करेगा’ आदि हामीबीचकै चरित्र हुन्।
अकालले भरिपूर्ण र लगभग रित्तो इलमोरोगमा बचेखुचेका केटाकेटी पढाउन बाहिरबाट प्रवेश गर्ने मुनिरा जीर्ण अवस्थामा रहेको विद्यालयलाई केटाकेटी बसेर पढ्न लायकको बनाउँछ। तै पनि गाउँलेहरु शङ्काकोे दृष्टिले हेर्छन् र प्रश्न गर्छन्, 'के देखेर आइस्? तेरो दिमाग त ठीक छ?' उसको प्रत्युत्तर हुन्छ, 'हामीमध्ये केही जो पढेलेखेका थियौं, स्वतन्त्रताको लडाइँ केवल साधारण मानिसहरुका लागि छोडिदियौं। हामी बाहिर बसेर तमासा हेरिरह्यौं। तर, अब स्वतन्त्रता मिल्यो, हामीलाई यो देखाउने मौका जुरेको छ कि हामी सधैं किनारामा उभिँदैनौं। सायद यही कारण हो ... म यहाँ बसाइँ सरेँ ... यहीँ इलमोरोगमै।' अब्दुल्लाह विश्वास गर्न सक्दैन र थप्छ, 'मलाई अझै पनि यो भरोसा छैन कि कोही यस्ता मान्छे हुन्छन्, जसलाई आफ्नो पेटको मात्रै चिन्ता हुँदैन?'
अठोटका साथ खडेरीले आक्रान्त गाउँमा भित्रिएको मुनिरालाई गलाउन केही त्यस्ता पात्र लागिपर्छन्, जसले विद्यालयको आँगनमा हरेक बिहान बिस्ट्याएर दुर्गन्ध फैलाउँछन्। ताकि कोही बच्चा हाजिर नहोऊन्। तर, उज्यालो प्रकाश र प्रगतिको विरुद्ध उभिएका इलमोरोगका केही मान्छेहरुको हर्कतलाई झेल्ने र पवित्र कर्म गर्ने अर्थात् शिक्षक बन्ने प्रण मुनिराले गर्दछ। आखिर यस्ता पात्रहरु हाम्रो परिवेशमा पनि त छन् । जो कसैको जोस जाँगर र निस्वार्थ सेवाभावप्रति शङ्काको दृष्टिले हेर्छन् र असफल बनाउन तानाबाना बुन्छन्।
इलमोरोगवासीले कानुनी परामर्श र मद्दतका लागि भेटेको एउटा वकिलले सुनाउने कुरा पनि कम रोचक छैन। ऊ अमेरिकाको सहरमा पनि गोराहरु भीख मागिरहेको र एउटी गोरी महिला केही डलरका निम्ति आफ्नो शरीर बेचिरहेको देखेको कुरा गाउँलेहरुलाई बताउँछ। अमेरिकामा वेश्यावृत्ति व्यवसायसरह रहेको पनि बताउँछ।
डेट्रायटको एउटा फ्याक्ट्रीमा गोरा र कालाहरुसँगै काम गरेको वकिल अलिकति सही आम्दानीका लागि आफूहरु बढी समय काम गर्ने गरेको आफ्नो अनुभव पनि सुनाउँछ। शिकागो तथा अन्य सहरमा बेरोजगारहरुलाई नियालेको उसले आफैंमा चकित हुँदै सोचेको हुन्छ, 'ऊ आफ्नो घर फिर्ता जानुपर्छ। किनकि, अब त्यहाँ कालाहरुको हातमा सत्ता आएको छ।' फेरि अचानक ऊ सम्झिन्छ, 'आफूहरुसमेत त्यहाँ तिनै राक्षसको सेवामा जुटेका छौं, जस्तो अमेरिकामा हुने गर्थ्यो।'
पूर्णसचेत तर गर्न केही नसकेको अनुभूतिले भित्रैदेखि थाकेको वकिल गाउँलेसँग सारा कहन्छ, 'आज मलाई सबैथोक स्पष्ट देखिन थालेको छ कि औपनिवेशिक जगतका ‘फ्राँडसम’ हरुले कति महत्वपूर्ण भूमिका खेले। हामीजस्ता ‘काला’ जातिलाई प्रशिक्षित गर्नका निम्ति, जो ‘ब्लु हिल्स’ मा रहने गोरा पादरीहरुको धुनमा नाच्न सकौं। जब कि, एउटा ठूलो हिस्सा भोकले मरिरहेको छ अनि आफ्ना केटाकेटीका लागि उपयुक्त बास र ‘अच्छाखासा’ विद्यालयको तड्पाइमा छ। तै पनि हामी खुसी छौं। यसकारण कि हाम्रो बारेमा भनिएको छ, देशमा स्थिरता आयो, हामी सभ्य भयौं अनि एकदम प्रतिभाशाली छौं।'
वकिलले ‘स्थिरता’, ‘सभ्यता’ र ‘प्रतिभा’ जस्ता शब्दहरु उच्चारण गरेको बखत ऊभित्र एक प्रकारको हीनताबोधका साथै अपमानको भाव पनि प्रकट हुन्छ।
लेखक न्गुगी वा थ्योंगो
माउ माउ विद्रोह (मुक्तिका निम्ति संघर्ष) मा उत्रिएर आफ्नो एउटा गोडा गुमाएको योद्धा अब्दुल्लाह सधैं चिन्तित मुद्रामा देखिन्छ। ‘तिगोनी’ तथा अन्य क्षेत्र सम्झदाको बखत उनको दिमागमा आइहाल्ने प्रश्न हो, 'के यो न्यायपूर्ण छ कि जनताको सामूहिक बलिदानले हासिल गरेको कुनै चिज यति सजिलै मुठ्ठीभर मानिसहरुको हातमा जाओस्, यसकारण कि उनीहरुसँग पैसा छ अनि बैंकबाट कर्जा स्वरुप लिएको ठूलो नगद रकम छ?' तर, उनको प्रश्नको जवाफ नै छैन।
वकिलको कुरा एक तमासले सुनिरहेकी वान्जाको सरोकार गोराहरुको देशमा समेत कुनै गोरी ‘यौन व्यवसायी’ हुने कुरासँग थियो। पहिले ‘बारमेड’ वान्जा ‘स्वतन्त्र केन्या’ पश्चात् ‘यौन व्यवसायी’ बन्ने अवस्थामा पुग्छिन्। पाठकले अनुमान गर्न सक्छन् कि वान्जाले यो सोचिन् होला, 'महिलाको जिन्दगी नरक बनाउने र बर्बाद गर्ने ‘सत्ता’ त जहीँतहीँ छ। सुकिलामुकिला गोराहरुको माटोमा पनि छ।'
तमाम बाधाहरुलाई छिचोल्दै सदरमुकाम र सांसदसम्म पुगेका इलमोरोगका जनताले झेलेको विपद्लाई सुल्झाउने छाँट देखाउँदैन, उनीहरुको गाउँको पुत्र वा सांसद न्देरी। बरु अनेक नाममा कर चुक्ता गरिरहेका उनीहरुलाई सांसदले 'त्यो इलाकाको आपत् टार्न, महाअनिकाल बाट पार पाउन र इलमोरोगको सान फिर्ता ल्याउन अझै पनि त्यहाँका हरेक व्यक्ति चाहे साना हुन् या ठूला, शिक्षक हुन् या विद्यार्थी सबैले त्याग गर्नुपर्ने प्रस्ताव राख्छ र भन्छ, 'अहिलेलाई इलमोरोगवासी त्यहीं फर्किजाऊन्, त्यहाँ एउटा बैठक डाकून् अनि केही पैसा उठाऊन् । यसका लागि उनीहरु आफ्ना गाई-बाख्रासमेत बेच्नु परे पनि पछि नहटून्।'
वान्जाजस्ता ‘प्रतिभा बेच्ने’ हरु भन्दै सांसद बोल्छ, 'केही नाच्ने गाउनेहरुले पनि पैसा जम्मा गरुन्, जो परम्परागत लोक संस्कृतिमा पारंगत छन्।' सांसदको अन्तिम वाक्य हुन्छ, 'हाम्रो संस्कृति, अफ्रिकी संस्कृति अनि यहाँको आध्यात्मिक मूल्य नै यो देशको वास्तविक आधार हो । हामी ‘गातुन्डु’ मा एउटा विशाल प्रतिनिधि मण्डल पठाउने तयारी गर्छौंं।'
आफ्नैे जनप्रतिनिधिको यसखाले सतही र निख्लो सुझावले कैयौं दिनदेखि पेट रित्तो भएका जनता आफ्नो अभियान पूरै असफल भएको अनुभूत गर्छन्। करेगाजस्ता पात्रका गहभरि आँसु टिलपिलाउन थाल्छन्। उनीहरुलाई यस्तो लाग्छ, आफ्नो सांसदले छोडिगयो र सहरका मान्छेले एक्लो बनाइदिए। किनकि, सांसद कक्षमा हुनेहरु हेर्दाहेर्दै तितरबितर भइसक्छन्।
इलमोरोगदेखि आएका प्रतिनिधि मण्डल चुपचाप मैदानी घाँसमाथि हतास, निराश र उदास बनेर बसिरहन्छन्। मानौं कि, सारा दुनियाँ अप्ठ्यारोमा अल्झिएका गाउँलेहरुको विरुद्धमा छ। तीव्र रुपमा इलमोरोग क्षेत्रको विकास गर्न विशाल वित्तीय परियोजना (केसिओ इन्भेस्टमेन्ट एण्ड होल्डिङ्स लिमिटेड) सुरु गर्ने योजना बुनेको सांसदले त्यो क्षेत्र अब उस्तै रहन नदिने प्रण गर्छ। उनले पठाएको प्रतिनिधि मण्डल पुगेपछि इलमोरोग पक्कै पहिलेजस्तै अब रहेन।
इलमोरोग यसरी फेरियो कि गाउँलेले चिताएका पनि थिएनन्। सम्पूर्ण गाउँलेहरु वर्षा होला, अन्न उब्जेला, यो धर्ती बस्न लायकको बनाउने ‘नायक’ को याद गर्न पाइएला, मैदानी इलाकातर्फ थालिएको आफ्नो ‘दुर्गति’, ‘बिजोग’ गायब बनाउने यात्राबारे गीत गाइएला भन्ने कल्पनामा थिए। उनीहरुलाई सुख्खापन र खडेरीले छिट्टै नै दूर देशको धुमिल सपनाको रुप लेला भन्ने लागेकै थियो।
वृद्ध न्याकिन्या भन्छिन्, 'हामी भन्छौं नि, हजार वर्षको भोक एक दिनको खान्कीले मेटाउँछ । भगवानले दया गरुन् र सुख्खा खडेरीका भयानक स्मृतिहरु अनि अनेकौं कुविचार यही खडेरीसँगै अन्त्य होऊन्।'
तर, उनको कामना उल्टो पर्छ। उनकै बास भएको जग्गामा सस्तो मुआब्जा फ्याँकेर डोजर लगाइन्छ। सहन नसकेर प्राण त्याग गर्छिन्, उनले। सानो छाप्रे पसल अशोभनीय देखियो भनिन्छ र डोजर लगाइन्छ। अब्दुल्लाह त्यसपछि बाटोमा आउँछ। शरीर बेच्नुपर्ने बाध्यताबाट मुक्तिको सपना देखिरहेकी वान्जालाई झन् त्यही खाडलमा धकेल्छ, नयाँ इलमोरोगले। त्यो नयाँ इलमोरोगमा बेरोजगार छ। छोरी मान्छेहरु शरीर बेच्नैपर्ने अवस्थामा पुर्याइन्छन्। संस्कृति र परम्परा अब एउटै सांस्कृतिक सङ्ग्रहालयमा लगेर थुपारिएको छ। जहाँ टिकट काटेपछि मात्रै हेर्न पाइन्छ। त्यसरी टिकट काटेको पैसा पनि बाहिरी मान्छेको हातमा नै पुग्छ।
जनता मारेर लिइएको जग्गा अब फेरि उनीहरुले पाउनका लागि खरिद गर्नुपर्ने हुन्छ। किन भन्ने प्रश्नमा जवाफ मिल्छ, 'यो नयाँ केन्या हो। अब कुनै चिज पनि सित्तैमा मिल्दैन। पैसाविना तिमी जमिन किन्न सक्दैनौं अनि विनाजमिन र सम्पत्ति तिमी कुनै कारोबार सुरु गर्न या जमिन किन्न बैंकबाट कर्जा लिन सक्दैनौ।'
‘नयाँ केन्या’ मा मूलवासीहरुको जमिन हडपेर अङ्ग्रेजहरु ठूलठूला फार्महरु सञ्चालन गरिरहेका छन् र उनीहरु नै मूलवासीलाई ऋण दिइरहेका छन्। ताकि, मूलवासीहरुले उनीहरुकै ठूला फार्महरु खरिद गर्न सकून्।
उपन्यासको अन्तिम खण्ड ‘एक बार फिर ... संघर्ष जारी है’ मा ‘करेगा’ बोल्छ, 'साम्राज्यवादी, पुँजीवादी, जमिन्दारी व्यवस्था। जसले उकासिएको भुँडी भएका यस्ता पिउसा र उडुसको फौज तयार गरेको छ, जसको जीवनको एउटै लक्ष्य परजीविता र मानिसको मासु लुछ्नुु मात्रै रहेको छ। यो व्यवस्था र यसका मुनाफाखोर देव र तिनका बफादार दूतहरुले उनकी आमालाई चिहानसम्मै पिछा गरिरहे। यी मुठ्ठीभर मानिस, जसले पूरै धर्तीको दोहन गरिरहेका र भरपुुर शोषणका निम्ति विदेशीसामु आफूलाई आत्मसमर्पण गरेका यी मुठ्ठीभरका मानिसहरुले नै मानिसको रगत चुसिरहेका छन् र यस्तो समयमा पनि राष्ट्रवाद तथा नश्लीय एकताको पाखण्डपूर्ण प्रवचन दिइरहेका छन्।
करेगा बोलिरहन्छ, 'यो व्यवस्था र यसका देवदूतहरुको खिलाफमा सचेत ढंगबाट लडाइँ थाल्नुपर्छ र यो लडाइँलाई देशका सारा मेहनतकशहरुले नै अगाडि बढाउनुपर्छ। यो संघर्षको नेतृत्व मजदुर तथा किसानले गर्नेछन् र यस व्यवस्थामा उथलपुथल आउनेछ, जो रगतको प्यास भएका नरभक्षीको हिफाजतका लागि बनेको छ र जसलाई नरभक्षीहरुले संरक्षण दिइरहेका छन्। केवल त्यसबेला मात्रै सही अर्थमा मानव समुदायको राज्यको स्थापना हुनेछ, जसमा रचनात्मक श्रममा लागेकाहरुले स्वतन्त्रताको स्वाद चाख्न पाउनेछन्।'
उपन्यासका पात्रहरुमध्ये ‘किमेरिया’, ‘चुइ’ र ‘न्देरी’ वा ‘रेरा’ सत्तासँग जोडिएका मान्छेहरु हुन्। जसले स्वतन्त्रताको लडाँइमा कहिल्यै हिस्सा लिएनन्। तर, उनीहरु नै नयाँ केन्याको सारा लाभ उठाइरहेका छन्। केन्या ‘स्वतन्त्र’ भएपश्चात् राष्ट्रिय स्तरमा उदाएका यी पुँजीपतिहरुद्वारा हुँदै आएको शोषणको झलक उपन्यासमा देखिन्छ। यिनै शोषकहरुको हत्या गरिन्छ र आगो लगाएर उनीहरुलाई जलाइन्छ।
मिडियाहरुले उद्योगपति र शिक्षाविद्को रुपमा रहेका यिनीहरुको मृत्युबाट इलमोरोगलाई अपुरणीय क्षति पुगेको समाचार फुक्छन्। मिडियाको दाबी हुन्छ, 'यी तीनजनाले १९ औं शताब्दीका ‘काफर’ र ‘रेबम्यान’ का दिन सम्झाउने एउटा सानो गाउँ इलमोरोगलाई बदल्दिएर यस्तो आधुनिक, औद्योगिक सहरको रुप दिएका छन् ... आदि आदि।'
हत्या गरेको आशंकामा वान्जा, मुनिरा, करेगा र अब्दुल्लाह पक्राउ पर्छन्। मुनिराले बयान लेखेर दिइरहेको छ। तर, हत्या गरेको या नगरेको बारेमा होइन। उनले इलमोरोग कस्तो थियो र कस्तो बनाइयो भन्ने लेख्दै छ, बयान लेख्न दिइएको कागजमा । जेल परेकाहरुलाई रिहाइ गराइछाड्ने गाउँलेहरुको संकल्प हुन्छ। शोषण र लुटलाई आँखा उघारेर हेर्न सिकाउने ती चार पात्र थुनामा रहेको सह्य छैन, इलमोरोगलाई। प्रहरी चौकीबाहिर मजदुरहरुको आन्दोलन चर्किरहेको हुन्छ। नारामा 'तिमीहरु – यहाँबाट जाऊ! ... विदेशी कम्पनी र तिनका दलाल व्यवस्थापक (म्यानेजर) हरुद्वारा चलिरहेको विदेशी शासन – मुर्दावाद ! ... हाम्रो रगत चुस्नेहरु – यो देश छोड !' आदि घन्किइरहेको छ।
पश्चिम जर्मनी, फ्रान्स, ब्रिटेन, जापान र अमेरिकाजस्ता साम्राज्यवादीहरु एक युनिट पुँजी लगानीको बदलामा केन्याबाट दस युनिट सम्पदा आफ्नो देशमा लैजान्छन्। तिनीहरुबाट उपलब्ध गराइने सहायता, अनुदान, ऋण तथा पुँजी लगानीले एउटा यस्तो रासायनिक प्रतिक्रियाको रुपमा काम गर्छ कि त्यसले केन्याको सम्पत्तिहरण प्रक्रियालाई नै तीव्र बनाउँछ। र, यसबाट उछिट्टिएको सानो अंश केन्याका मुठ्ठीभर भाग्यशालीहरुको हातमा पर्न जान्छ ।
लेखक थ्योंगोको अनुभवमा साम्राज्यवादले कहिल्यै पनि र कुनै पनि देश वा जनताको विकास गर्न सक्दैन । उनले भनेका छन्, 'मैले यस पुस्तकमा यही देखाउन खोजेको थिएँ कि साम्राज्यवादले कहिल्यै पनि हामी केन्यालीहरुको वा हाम्रो देशको विकास गर्न सक्दैन।'
केन्यामा सन् १८९५ देखि त्यहाँका मजदुर तथा किसानहरुले आफ्नो प्रदर्शनमार्फत संघर्ष गरिरहेका छन्। किताब पढिरहँदा अर्थात् केन्याली जनताको संघर्षको इतिहास पढिरहँदा यदि यसबाट सहर र पात्रका नाउँहरु हटाइदिने हो भने यस्तो लाग्छ कि तेस्रो विश्वका कुनै पनि देशकोे वास्तविक कथा हो, यो। जहाँ उपनिवेशवादीहरुले राजनीतिक सत्ता हस्तान्तरण त गरे, तर जनता आफ्नो वास्तविक मुक्तिका निम्ति अझै तृषित छन्।
कसरी कानुन, शिक्षा, चर्च र समग्र व्यवस्था जनविरोधी सत्ताधारी वर्गको सेवामा जुटेका छन् र शोषण उत्पीडनका विरुद्ध संघर्ष गरिरहेका जनताप्रति कसरी दमन गर्दै आएका छन् भन्ने कुरा यो उपन्याससँगै अगाडि बढ्दा थाहा लाग्छ ।
उपन्यासको पृष्ठभूमिमा माउ माउ आन्दोलन छ। जो मूलतः किसान आन्दोलन थियो। जसले अङ्ग्रेजहरुलाई केन्या छाड्न विवश तुल्यायो। यो आन्दोलनका प्रमुख किसान नेता देदान किमाथीको सन्दर्भ उपन्यासमा केही ठाउँमा पाइन्छ। किमाथीले अङ्ग्रेजहरुबाट मृत्युको सजाय पाए।
ब्रिटिस उपनिवेशवादीहरुले यो आन्दोलनलाई आफ्नो हतियारको बलमा दमन मात्रै गरेनन् कि आन्दोलनका विरुद्ध उनीहरुले कसरी भाषालाई समेत हतियारको रुपमा प्रयोग गरे भन्ने कुरा न्गुगीका पुस्तकहरुमा पढ्न पाइन्छ।
अनुवादकले लेखकका अन्य पुस्तकहरु पनि अध्ययन गरेअनुसार अङ्ग्रेजले यो आन्दोलनलाई ‘माउ माउ’ नाम दिए । यसकारण कि यो शब्दको कुनै अर्थ नै छैन। नामकरणसँगै उनीहरु यस आन्दोलनलाई पनि अर्थहीन बनाउन र बताउन चाहन्थे। आन्दोलनसँग जोडिएका योद्धाहरुले आफ्नो आन्दोलनलाई 'भूमि मुक्ति सेना' भन्दथे। तर, यदि यो नामलाई प्रचारित गरिन्थ्यो भने यसमार्फत आन्दोलनको अर्थवत्ता प्रकट हुन्थ्यो। आन्दोलनमा न्गुगीका एक भाइको ज्यान गयो भने उनकै आमा ३ महिनासम्म जेलमा रहनु पर्यो।
लेखक न्गुगीका अन्य पुस्तकहरुसँग समेत साक्षात्कार गरेका अनुवादक वर्मा भन्दछन्, 'उनका पुस्तकहरुमा कसरी ब्रिटिस साम्राज्यवादविरोधी माउ माउ आन्दोलनको नायक सत्ता हस्तान्तरणपश्चात् निकम्मा हुँदै गयो र तथाकथित स्वतन्त्रता प्राप्तिपछि कसरी आन्दोलनका विरुद्ध सुराकी गर्नेहरु नै नयाँ सरकारको कृपापात्र बने भन्ने बताउन खोजिएको छ।'
आन्दोलनविरोधी बनेर अङ्ग्रेजलाई नै मद्दत गर्नेहरु पनि केन्या स्वतन्त्र भएपछि सरकारका बफादार कृपापात्रको रुपमा छानिए । न्गुगी आफ्नो लेखाइमा हैरानीपूर्ण भावमा व्यक्त गर्दै भन्दछन्, 'गोरा शासकको बदलामा काला अफिसरको नियुक्तिका अलावा नयाँ केन्यामा कुनै खास फरक छैन।'
न्गुगीको ठहर छ कि साम्राज्यवाद हतियारमार्फत हमला गर्नुपूर्व सांस्कृतिक आक्रमण गर्छ। यो क्रम उपनिवेशी देशका जनताको संस्कृतिका विरुद्ध लामो समयसम्मै जारी रहन्छ। नवऔपनिवेशिक स्थितिमा यस्तो सांस्कृतिक हतियारले अझै तीव्रताका साथ काम गर्दछ। ताकि, यसैमार्फत एउटा दलाल पुँजीपतिको भूमिका निर्वाह गर्ने नयाँ शासक वर्गले आफ्ना भूतपूर्व औपनिवेशिक शासकहरुको हितको रक्षा गर्ने मानसिकताको निर्माण गर्न सकोस्।
अनुवादकले न्गुगी र अमिल्कर कबराल (पश्चिम अफ्रिकी देश गिनी बिसाउका मुक्ति आन्दोलनका नेता) को बीचमा भाषा र संस्कृतिको सवालमा धेरै वैचारिक समानता थियो भन्ने जानकारी पनि दिएका छन्। कबरालका अनुसार साम्राज्यवादी प्रभुत्वले दास बनाइएको देशका जनताको ऐतिहासिक विकासलाई नकार्न साधारणतया सांस्कृतिक उत्पीडनको सहारा लिइन्छ। यस प्रक्रियामा साम्राज्यवादी प्रभुत्वले शासितहरुको संस्कृतिकै मूल तत्व प्रत्यक्ष वा परोक्ष रुपबाट सम्पूर्णतया नष्ट गर्ने प्रयास गर्दछ।
यसकारण राष्ट्रिय मुक्ति संघर्ष सुरु हुनुपूर्व संस्कृतिको क्षेत्रमा अभिव्यक्तिका विविध रुपहरु देखा पर्न थाल्छन् अनि उत्पीडक देशको संस्कृतिलाई नकार्दै आफ्नै सांस्कृतिक पहिचान स्थापित गर्ने सफल वा असफल प्रयास तीव्र हुन्छ।
खासमा संस्कृतिमा नै प्रतिरोधको बीज लुकेको हुन्छ, जो पछि गएर मुक्ति आन्दोलनको निर्माण र विकासमा सहयोगी सिद्ध हुन्छ। कबराल भन्छन्, 'जब साम्राज्यवादी शासनका लागि सांस्कृतिक उत्पीडन गर्नु जरुरी हुन्छ तब राष्ट्रिय मुक्तिका निम्ति पनि यो जरुरी छ कि मुक्ति चाहनेहरुले आन्दोलनलाई एउटा सांस्कृतिक कर्म मानून्। त्यसैले यसो भन्न सकिन्छ कि राष्ट्रिय मुक्ति आन्दोलन संघर्ष गरिरहेको जनताको संस्कृतिकै संगठित राजनीतिक अभिव्यक्ति हो।'
न्गुगीले सन् १९९९ मा क्याम्ब्रिज विश्वविद्यालयको एउटा भाषणमा भनेका थिए, 'अङ्ग्रेजहरुले भारतलाई प्रयोगशाला बनाए। उक्त प्रयोगशालाबाट निक्लिएको परिणामलाई उनीहरुले अन्य उपनिवेशमा निर्यात गरे। म्याकालेद्वारा सुरु गरिएको शिक्षा पद्धतिको उद्देश्य व्यक्तिको एउटा यस्तो समूह निर्माण गर्नु थियो, जो रुप रङमा भारतीय होेस् तर आफ्ना रुचि, विचार, नैतिक मूल्य र मेधाका हिसाबले अङ्ग्रेज होस्।'
यसको ठीक ८७ वर्षपछि केन्याका तत्कालिन ब्रिटिस गर्भनर सर फिलिप मिशेलले म्याकालेको यही नीतिको अनुशरण गर्यो।
म्याकाले र मिशेलबीचको समानता दर्शाउँदै न्गुगी भन्छन्, 'दुइटै मामिला अर्थात् १९ औं शताब्दीताकाको म्याकालेको भारत र २० औं शताब्दीको मिशेलको केन्याको सन्दर्भ औपनिवेशिक थियो र लक्ष्य स्पष्ट थियो। जुन प्रकारले सैनिक क्षेत्रमा औपनिवेशिक शक्तिले एक टुकडी सेनाको निर्माण गरेको थियो, त्यसलाई उनीहरुले बाँकी जनताबाट अलगथलग गरिदिएका थिए। किनकि, तिनले त्यही शक्तिलाई साथ दिइरहेका थिए, जसले उनीहरुलाई नै दास बनाइरहेको थियो।'
त्यसै प्रकारले शासितहरुको बीचबाट एक बौद्धिक सेनाको पनि निर्माण गरियो, जो आम मानिसहरुबाट अलगथलग बनोस् र शासककै मद्दत गरोस्।
न्गुगी वा थ्योंगोको यो उपन्यास पढ्दा यो लाग्दैन कि तपाईं केन्याको बारेमा पढ्दै हुनुहुन्छ।
साम्राज्यवादको स्थापना केवल केन्यामा मात्र होइन, भारत (उसो त हामी ‘राष्ट्रवादी’ ले भारतीय विस्तारवाद मुर्दावादको नारा लगाउन थालेकै वर्षौं भइसक्यो) तथा नेपालजस्ता कुनै पनि देश, जहाँको शासक वर्ग आज अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व व्यापार सङ्गठन तथा यिनैद्वारा पालित पोषित बहुराष्ट्रिय कम्पनीहरुको हातमा देशलाई धितो राख्नुमा किञ्चित पनि सङ्कोच मान्दैनन्। जहाँ खास किसिमको फासीवादले शिर उठाइरहेको छ। जहाँ यस्तो संस्कृतिलाई प्रश्रय दिइँदै गइएको छ, जसले हाम्रो प्रतिरोध क्षमतालाई पूर्ण रुपमा नष्ट गर्दै छ।