लेखक सुजित मैनालीले आफ्नो अनुसन्धानात्मक पुस्तक ‘सती: इतिहास र मीमांसा’ मा मानव–इतिहासकै एउटा क्रूर अध्याय मानिने सती प्रथाबारे प्रकाश पार्ने कोशिश गरेका छन्।
यसले सतीप्रथाको ऐतिहासिक, सामाजिक र मनोवैज्ञानिक पाटोबारे विमर्श गरेको प्रकाशक किताब पब्लिसर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपालमा सती प्रथामाथि रोक लगाइएको सय वर्ष पुगिसके पनि यसले पारेका असर लैंगिक भेदभावका अनेक पाटोका रूपमा समाजमा अझै व्याप्त छन्। लेखक मैनाली भन्छन्, ‘मृतक पतिका नाममा पत्नीलाई जिउँदै जलाउने चलनबाट तात्कालिक पुरूषप्रधान समाजले कस्तो लाभ दोहन गर्यो भन्ने चर्चा गर्दै यस किताबले महिनावारी बार्ने चलनदेखि बलात्कारसम्मका नारीद्वेषी चलनलाई सतीप्रथाको आलोकमा बुझ्ने प्रयत्न गरेको छ।’
नेपालमा लिच्छवि राजा मानदेवको पालादेखि राणा प्रधानमन्त्री चन्द्रशमशेरको समयसम्म सतीगमनका अनेक घटना भएका छन्। विसं १९७७ मा चन्द्रशमशेरले नेपालभरि सतीप्रथाको अभ्यासमा रोक लगाएपछि पत्नीले पनि पतिको शवसँगै जलेर प्राण त्याग्नुपर्ने चलन कानुनी रूपमा बन्द भएको हो।
‘समाजशास्त्रका किताब पल्टाउँदै जाँदा महशुस भयो– इतिहास र त्यसको लैंगिक पाटो बुझ्न सके मात्र समाजको नसनाडी राम्ररी छाम्न सकिने रहेछ,’ समाजशास्त्रका अध्येता मैनाली भन्छन्, ‘खासमा यही अनुभूतिले मलाई किताब लेख्न प्रेरित गर्यो।’
लेखकले नेपाल र भारतमा अभ्यस्त सतीप्रथाबारे सात वर्षजति अध्ययन–अनुसन्धान गरेर तयार पारेको यस पुस्तकमा आठवटा अध्याय छन्। त्यसबाहेक ४२ परिशिष्टहरूमा किंवदन्ती, अनुश्रुति र अभिलेखहरू समेटिएका छन्। त्यसका निम्ति लेखकले सतीको नामसँग जोडिएका स्थलहरूको स्थलगत अवलोकन गर्नुका साथै थुप्रै अन्तर्वार्ता लिएको प्रकाशक किताब पब्लिसर्सले जनाएको छ।
प्रकाशित लेख–रचनाबाहेक अप्रकाशित स्रोत, शिलालेख, पत्र, इस्तियार, लिखत आदिको पनि पुस्तक लेखनमा पर्याप्त उपयोग गरिएको विज्ञप्तिमा उल्लेख छ।
यसै साता बजारमा उपलब्ध यो किताबबारे प्रकाशक कल्पना ढकाल भन्छिन्, ‘यो पुस्तकमा सतीप्रथाको उद्भवपछाडिका ऐतिहासिक कारणहरूको राम्रोसँग विवेचना गरिएको छ। पढ्दै जाँदा अहिलेका लैंगिक भेदभावका कतिपय प्रवृत्ति त्यही कुप्रथाका धङधङी हुन् भन्ने प्रस्ट हुन्छ।’
सतीप्रथाको मुख्य उद्देश्य पतिव्रता धर्मको महिमा गाएर त्यसकै आवरणमा महिलाको यौनजीवन नियन्त्रित गर्नु थियो भन्ने पुस्तकले उजागर गरेको छ। सतीप्रथालाई राजपरिवारमा सत्ताप्राप्तिको हतियारका रूपमा कसरी उपयोग गरिन्थ्यो भन्ने विवेचना पनि यसमा छ। सतीप्रथाबाट सबभन्दा प्रताडित कमारीहरूको रोदनलाई पनि ‘सती’ले बाहिर ल्याएको छ।
भारतमा इस्ट इन्डिया कम्पनीले सतीप्रथामाथि प्रतिबन्ध लगाउँदा विरोध भए पनि नेपालमा त्यो कसरी सजिलैसँग उन्मूलन हुनसक्यो भन्ने कुराको अन्तर्य पनि किताबमा खोतलिएको विज्ञप्तिमा उल्लेख छ।
मैनालीको यो दोस्रो किताब हो। यसअघि २०७६ सालमा उनको ‘शिलान्यास: नेपाल निर्माणको नालीबेली’ पुस्तक प्रकाशित भएको थियो।