समकालीन कविका भीडमा शक्तिशाली कविको छवि बनाएका विनोदविक्रम केसीको पहिलो निबन्ध सङ्ग्रह ‘भेन्टिलेटरमा आमा’ सार्वजनिक भएको छ।
केसीको ‘भेन्टिलेटरमा आमा’ सोमबारदेखि बजारमा पुगेको प्रकाशक संस्था बेला पब्लिकेसन्सले जनाएको छ।
‘भेन्टिलेटरमा आमा’मा २९ वटा निबन्ध संकलित छन्। ‘खासमा यो मेरो सम्झना संग्रह पनि हो,’ निबन्धकार केसीले भने, ‘केही मान्छे, केही घटना अनि केही सन्दर्भलाई स्मृतिको तानमा हालेर ‘केही’ बुन्न खोजेको छु। केही दिवंगत प्रिय मान्छेका बारेमा केही पृष्ठ अर्पण गरेको छु, बाल्यकाल र किशोरवयमा सयर गरेको छु, भोगाइ तथा जियाइसँग जोडिएका केही मुद्दा र सवालमा टिप्पणी गरेको छु।’
केसीले निबन्धमा आफूले बाँचेको समय र समाजका मिठास र कटुता, जलन र शीतलता, प्रेम र क्रुरतालाई व्यक्त गरेको बताएका छन् ।
कविताबाहेक व्यंग्य, संस्मरण, निबन्धमा विधामा कलम चलाउने केसी फुटकर लेखनबाटै निबन्ध विधामा पाठकहरुद्वारा रुचाइएका लेखक हुन्। तिख्खर भाषामा व्यंग्य चेतसहित गद्य लेखन उनको परिचय हो। उनी निबन्धसँगै कविता, कथा, अनुवाद, सम्पादनका काममा पनि सक्रिय छन्।
यसअघि २०६९ सालमा उनको ‘भोकको क्षेत्रफल’ कविता संग्रह प्रकाशित छ।
बेलाको छैठौं पुस्तकका रुपमा केसीको निबन्ध प्रकाशित भएको पब्लिकेसन्सकी अध्यक्ष वन्दना ढकालले बताइन्। काठमाडौं उपत्यकाभित्र र बाहिर ‘दोबिल्ला बुक्स’ले पुस्तक वितरणको जिम्मा लिएको पनि उनले जानकारी दिइन्। काठमाडौं उपत्यकाभित्रका पाठकका लागि दोबिल्लाले नै होम डेलिभरीको समेत व्यवस्था गर्ने बेलाले जनाएको छ।
केसी बेला पब्लिकेसन्सका सम्पादक समेत हुन्।