नेपाली साहित्यमा सिद्धहस्त हस्ताक्षरको रूपमा स्थापित उपन्यासकार नीलम कार्की निहारिकाले यसपटक हिमाली जीवनको कथा द्रौपदी अवशेषमा बुनेकी छन्।
उपन्यासले हुम्लाको उत्तरी भेगको समाजको चित्रण गरेको छ। गैरसरकारी संस्थाको जागिरे अधबैंसे दिग्विजयलाई त्यो समाजको बहुपति प्रथाले तान्छ।
उसलाई यसको गहिराइसम्म पुग्ने ईच्छा हुन्छ। उसको सूक्ष्म र विस्तृत अवलोकन नै यस कथामा प्रस्तुत गरिएको छ। सुधारिएको चुल्हो बनाउने परियोजना लिएर त्यहाँ पुगेको पात्रका लागि यो नितान्त फरक परिवेशसँग साक्षात्कार हुने अवसर हो। त्यो समाजका ग्याल्जन, वाङ्दी, पेमा, नुर्बुजस्ता पात्रहरूमार्फत दिग्विजयले काठमाण्डौँको आँखाले हिमाली संस्कार, संस्कृति र जीवन शैलीको अध्ययन गर्दछ।
पेमानुर्बुको प्रेमसम्बन्ध र त्यसपछि विकास हुने घटनाक्रमलाई ग्याल्जनले दिएको जानकारीमार्फत निरन्तर पिछा गरिरहेको दिग्विजयका लागि उसकी आफ्नै सुलक्षणासँगको बियोग बुझ्ने, वाङ्दी वा ग्याल्जनका भान्जाजस्ता न्यालुहरूलाई बुझ्ने र आफ्ना बाबुबाट उपेक्षित आफैंलाई पनि अन्ततोगत्त्वा अनुभूत गर्ने बेजोडको संयोगका रूपमा यो कथाको विकास हुन्छ।
निहारिकाको निखारिएको शिल्पले घटनाक्रमको प्रस्तुत गर्न हतार गर्दैन। विस्तारै कथा, उपकथाहरू एकपछि अर्को खुल्दै जान्छन। उनको कलम कुशल चित्रकारको कुची झैं आफ्ना पात्रहरूको परिवेशको वर्णनमा ३६१० घुम्दा अलग किसिमको मजा आउँछ।
बहुपति प्रथाको प्रश्न सबैभन्दा पहिले त शरीरको प्रश्न नै हो। समाजको विकास र विस्तारमा शरीरलाई भोग गर्ने प्रश्न सधैं महत्त्वपूर्ण र जटिल रहिआएको छ।
त्यस्तै, यो प्रजननसँग जोडिएको मुद्दा पनि हो। कुनै व्यक्तिको जन्मको बारेमा सिधा रेखामा बुझ्ने कोसिस समाजको हुन्छ।
हो, यहीँनेर जटिलता देखा पर्दछ। एकभन्दा बढी यौन साझेदारहरू हुनु भनेको नै प्रजननसँग जोडिएको आमाबाबुको स्पष्ट पहिचान स्थापित गर्ने कुरामा जटिलता ल्याउने तत्त्व हो।
शरीरभन्दा माथि उठ्ने हो भने सामाजिक अभ्यास र मनको आकर्षणको कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन आउँछ। मन परेन भने जत्ति नै सँगै बसे पनि पेमा नुर्बु वा उसका अरू चारभाइकी हुन सक्दिन। मेलामा छुटेको उसको वास्तविक प्रेमी ग्याल्जनकै हुन पुग्छे। उपन्यास पढिरहँदा नुर्बु र ग्याल्जनसँगै दिग्विजय पनि पेमाप्रति आकर्षित भएको स्पष्ट बुझ्न सकिन्छ।
तर पेमा उसकी सुलक्षणा भने हुँदै होइन। बिरामी परेकी पेमाको नाडी उसले छाम्छ, हृदयको चाल बुझ्छ। उसको शरीरको ताप नाप्छ।
सुलक्षणाको प्रेम र विछोडले भौंतारिएको दिग्विजयका लागि पेमाको स्थान विशिष्ठ छ। बाह्य संस्कृतिको अवलोकनकर्ताले फरक संस्कृति, त्यसको संस्कार र जीवनजगतको बुझाइसँग साक्षात्कार गर्ने संभवना देख्छ।
उसले पेमालाई केन्द्रमा राखेर हिमाली संस्कृतिको अन्वेषण गर्दछ, त्यहाँको दृष्ट्रिकोण बुझ्दछ र बहुपति प्रथाको केन्द्रमा जाने प्रयत्न गर्दछ। उसकी घरवेटी आमा उसलाई सम्झाउँछिन् ‘उहिलेदेखि एउटाले एउटीएउटी ब्या गऱ्यापछि तिनका सन्तान कति हुन्याछरु’ पर उवा हुर्किदै गरेको खेततर्फ इसारा गरेर फेरि भनिन्,‘त्यहाँ खेतमा बाली होइन, यस्तै घरैघर हुन्या थियो। अनि कहाँ रोप्न्या, कहाँ उब्जाउन्या, के खान्या, ती बढेका मुखले?’ ९पृ। ५७०।
निहारिका आफ्नो मूल पात्रलाई त्यो समाजभरि नै डुलाउन चाहन्छिन्। त्यसको भूगोलको अनुभव लिने मेसो मिलाउँछिन्। ग्याल्जनसँगै कैलासको यात्रामा पठाउँछिन्।
बाक्लो वर्णनको उपस्थितिले उपन्यास पढ्दा मोहक चलचित्रको दृष्य आँखा अगाडि खेलेको जस्तो हुन्छ। तर कुनै कुनै स्थानमा उनी हतारिन्छिन् वा लेखकीय रिक्तताको समस्या उनले बेहोर्नु परेको झैं लाग्छ। हिमालको दर्शन गराउन ग्याल्जनले लगेको दिग्विजय लिती खोला पुग्छ। निहारिका लेख्छिन्, ‘खोलातिरबाट झन बेग्लै आकर्षक थियो खर्क। यत्रतत्र छरिएका गोठ अनि बास फर्कंदै गरेका चौरी’ ९पृ। ७६०।
खर्कको विवरणको बदलामा अवलोकनकर्ताको निर्णय ‘आकर्षक’ शब्दमा आउँदा लेखकीय रिक्तताको अनुभूति भएको जस्तो भान हुन्छ।
उपन्यासभरि नै प्रतीकहरू छरिएर रहेका छन्। निहारिकाको मूल पात्र दिग्विजय आफैं चुल्हो सुधार परियोजनाको संवाहक हो। उसलाई त त्यो समाजका मानिसहरूले ‘चुलो सर’ भनेर नै चिन्दछन्।
प्रकारान्तरले चुल्होले प्रतिनिधित्वको गर्ने मान्यता भनेको परिवार नै हो। आधुनिक सहरको शिक्षित पात्रले हुम्लाको ग्रामीण भेगमा धुँवा र त्यसको दुष्प्रभावको बारेमा मानिसहरूलाई सिकाउने, बुझाउने क्षमता राख्दछ र चुल्हो र परिवारसमबन्धी मान्यतामा कुनै न कुनै प्रकारले फरक दृष्टिकोणलाई सहयोग गर्ने अपेक्षा उपन्यासको सुरूमा नै गर्न सकिन्छ।
त्यस्तै पेमा बिरामी हुँदा दिग्विजय आफैं डाक्टर बन्छ, रक्तचाप र नाडी जाँच्छ, ज्वरो नाप्छ। पेमाको स्वास्थ्यको बारेमा धेरै नै आत्तिन पुगेको चुलो सरले आफू गुम्सिएको पाउँछः बिरामीको उपचार गर्न सहयोग गर्न पुगेको दिग्विजयको आफ्नो नै उपचार पेमाको नाडी समातेपछि हुन्छ। ऊर्जाको त्यस्तो प्रस्फुटनलाई देखाउन निहारिका थर्मोमिटर खसाल्दछिन् र फुटाउँदछिन्। त्यसको पारो स्वतन्त्र रूपमा भुइँमा निस्कन्छ ९पृ। १२३०।
त्यस्तै दिग्विजयको ऎना फुट्छ र उसले धेरै अप्ठ्यारो बेहोर्नु पर्दछ। ऐना र भाग्यलाई तुलना गरिने हाम्रो जस्तो भाग्यवादी समाजमा यस्तो नवीन प्रयोगले निश्चय पनि अर्थ राख्दछ उसले ग्याल्जनलाई ऎना लिन पठाउने सन्दर्भले हिमाली समाजमा आफूलाई समान्जस्य गर्न सकेको कुरालाई दर्शाउँछ।
केन्द्रीय बिम्बको रूपमा प्रयोग भएको सुनापाती पहिलो पटक बिरामी पेमाको दुर्गन्धित रगत बगेको कोठामा धुप बनेर कथामा प्रवेश गर्छ। निहारिका आफ्नो बिम्बलाई अन्त्यसम्म पनि लिएर नै हिड्छिन्। हिमाली सुगन्धित वनस्पतीको झाडी, पात र उपयोगिताको वर्णन बीचबीचमा आइरहन्छ।
कथाको अन्त्यसम्म पुग्दा त पेमा र ग्याल्जनको प्रेमसम्बन्ध नै सुनपाती जस्तै सुगन्धित र आध्यात्मिक बनेर प्रकट हुन्छ। सुनपातीको हाँगै भाँचेर फूल टिप्ने ग्याल्जनलाई दिग्विजयले पेमा र सुनपती उस्तै भएको ग्याल्जनको बचन सम्झाउदै निर्दयी नबन्न सुझाउँदा जवाफ फर्काउँछ, ‘मैले नलगे अरूले लान्छ। कोहीले टिपी लाग्यान भने पनि हिउँले खान्छ’ ९पृ। १७४०।
उपन्यासलाई यही शब्दले न्वारान गरेको भए पनि मीठो नै हुने रहेछ भन्ने लागि नै रहन्छ।
शैलीगत पक्षलाई हेर्दा मनमोहक नै देखिन्छ। निहारिका हावाको बहावलाई दमको दीर्घरोगीले सुसेलेजस्तो ९पृ। ३०० भन्छिन्। स्थानीय शब्दहरूको प्रयोग मीठो छ। लबज पनि रोचक रूपमा प्रयोग गरिएको छ। आफ्नी आमाको मृत्युको बारेमा ग्याल्जन भन्छः ‘तर तीन दिन सिमकोटमा जहाज बस्यान। बा गाउँ नआउँदै आमाको उता सास मरेछ’ ९पृ। ७३०।
कर्णालीका आफ्नै दुःख छन्। दिग्विजयले यो कुरा हिमाली बसाइमा राम्ररी सिकेको छस् ‘त्यसपछि अँगेनोमा जाडो सेकाएर जे पायौँ, खायौँ। मीठो भोजन होइन, भोक हो, ओछ्यान होइन, निन्द्रा हो महत्त्वपूर्ण भन्ने कुरा त्यतिन्जेलको हिमाली बसाइमा राम्रोसँग स्वीकारेका थिए, मेरा आँत र रातहरूले’ ९पृ। १८१०।
यसरी काव्यिक रूपमा सलल बग्ने भाषको प्रयोग र स्थानीय संस्कृतिलाई बोक्ने शब्दको प्रयोगले निहारिकाको लेखनीको अगल स्वाद पाठकले लिन सक्नेछन्।
कर्णालीको कथामा कुहिएको चामलको प्रसंग आउनु अथवा रोग लागेर मानिस निसाह्य भएर मर्ने कुरा साहित्यका पाठकलाई पटक्कै रोचक नलाग्न सक्छ। तर निहारिकाले त्यहाँको मृत्युसंस्कारको बारेमा विस्तारमा कथामा मिसाएकी छिन्।
त्यस्तै विवाह, दाइजो, भोज, वा ठालुक कथाको अंशको रूपमा अगाडि आउँदा पाठकहरूले स्थानीय संस्कारलाई सुन्दर कथामार्फत स्वाद लिने सुविधा भने मिल्छ।
द्रौपदी अवशेष कैलासको सेरोफेरोका मानिसहरूका मूल्य र मान्यतामाथिको विमर्श हो।
उनीहरूले बुझेको जीवनको अर्थ, समाज व्यवस्थापनका सिद्धान्त, विवाह, प्रजनन, परिवारका जटिल प्रश्नहरू र परिवर्तित अवस्थामा समाजले कोल्टे फेर्न खोज्दा देखिएका अप्ठ्याराहरूमाथि कथामार्फत अभिव्यक्त दर्शन हो।
समाजले कुनै न कुनै समय यस्ता असजिला प्रश्नहरू सामना गर्नु नै पर्दछ, त्यसको हल खोज्नु पर्दछ। कैलासको काखबाट प्रजनन, परिवार र प्रेमको मुद्दा पत्रपत्र जेलिएर बाहिरिएको छ, यो उपन्यासमा।
सिधा रेखामा मानवशस्त्री वा समाजशास्त्रीले जस्तो यी प्रश्नहरूको सुस्पष्ट जवाफ दिनु निश्चय पनि कठिन हुन्छ। यो उपन्यासमा यी नै मूल्यहरूको आत्माले ग्रहण गर्न लागेको नयाँ आकारलाई छाम्ने प्रयास भएको छ।
सिमिकोटमा नुर्बुले आफ्नी पत्नी पेमालाई ग्याल्जनको जिम्मा लगाउने दृष्य अत्यन्त अलग किसिमको छ।
पेमा र ग्याल्जनले एक अर्काको हृदय बुझेका छन्। नुर्बु र दिग्विजयले पनि ती प्रेमीको हृदयको भाषा बुझेका छन्।
पेमाको बलजफ्तीमा परेर सिमिकोटबाट त्यो समय घर फर्कन तयार ग्याल्जेनलाई रातभरि हिउँ पारेर फर्कन नसक्ने अवस्थामा पुऱ्याउने निहारिकाको रणनीति सुन्दर छ।
दिग्विजयसँगै नेपालगन्जको यात्रामा निस्कन लागेका पेमा र ग्याल्जनले अगाडिको जीन्दगी कसरी बिताउलान भन्ने कुरा त पाठकको सुन्दर कल्पनामा मात्रै बन्ने कुरा हो तर उनीहरूको प्रेमको सहज रूपान्तरणले बहुपति प्रथाका आन्तरिक तन्तुहरू कमजोर हुँदै गएको कुरालाई देखाएको छ।
समग्रमा कैलासको काखमा बिस्तारै आकार लिँदै गरेको सामाजिक परिवर्तनको कथा निहारिकाले यस उपन्यासमा बुनेकी छन्।