चिनियाँ कम्युनिष्ट पार्टी सय वर्ष पूरा भएको सन्दर्भमा 'चिनियाँ कम्युनिष्ट पार्टीका सय वर्ष : एक नेपाली दृष्टिकोण' पुस्तक सार्वजनिक भएको छ।
नेपाल डाइलग फोरमद्वारा मंगलबार भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा नेकपा (एमाले ) सचिव प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रका स्थायी सदस्य शक्तिबहादुर बस्नेत, चिनियाँ राजदूत होऊ यान्छी समेतको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
पुस्तकमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमाले नेताहरू ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, माओवादी नेता वर्षमान पुन, एमाले नेता विष्णु रिजाल, पूर्वराजदूत महेश मास्के, पूर्वराजदूत लिलामणि पौडेल र विष्णु रिजालसहित १० जना नेपाली नेताहरूको लेख तथा रचना समावेश गरिएको छ।
नेकपा (एमाले ) का विदेश विभागका उपप्रमुख समेत रहेका एमाले नेता विष्णु रिजालद्वारा सम्पादित ११० पृष्ठको पुस्तकमा चिनियाँ कम्युनिष्ट पार्टीका अनेक उतारचढाव र विकासबारे नेपाली दृष्टिकोणबाट चर्चा गरिएको छ।
कार्यक्रममा एमाले नेता प्रदीप ज्ञवालीले नेपाली मोडलको समाजवाद निर्माणका निम्ति नेपालका कम्युनिष्टहरूले धेरै कुरा सिक्न सकिने बताए।
ज्ञवालीले आर्थिक विकासको चिनियाँ मोडल नेपालका निम्ति प्रेरणादायी रहेको बताए।
सोही कार्यक्रममा माओवादी नेता शक्तिबहादुर बस्नेतले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको बताउँदै चिनियाँ कम्युनिष्ट पार्टीको सय वर्ष विश्वकै निम्ति अनुपम र अध्ययन लायक रहेको बताए।
कार्यक्रममा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले चिनियाँ कम्युनिष्ट पार्टीबाट नेपाल र नेपालीले बहुमूल्य कुरा सिक्ने धारणा राखेका थिए।