साहित्यकार नारायण कोइरालाको लघुकथा संग्रह 'मरूभूमिमा विस्फोट' लोकार्पण गरिएको छ।
शीत काव्य समाज नेपाल पाल्पाले साहित्यकार कोइरालाको दोस्रो कृतिका रूपमा लघुकथा संग्रह 'मरूभूमिमा विस्फोट' विमोचन गरेको हो।
समाजले सोमबार तानसेनमा एक कार्यक्रमबीच कृति विमोचन गरेको हो।
शीत काव्य समाज नेपालका राष्ट्रिय उपाध्यक्ष समेत रहेका साहित्यकार कोइरालाको उक्त कृति प्रमुख अतिथि तथा देवकोटा साहित्य परिषद पाल्पाका अध्यक्ष भागवत खनालले लोकार्पण गरेका हुन्।
लघुकथाको लोकार्पण गर्दै प्रमुख अतिथि खनालले लघुकथा समय सान्दर्भिक रहेको बताए।
कार्यक्रममा लघुकथा संग्रह 'मरूभूमिमा विस्फोट' माथि समीक्षा गर्दै साहित्यकार तथा समिक्षक शंकर प्रसाद गैरेले कथामा मानवेत्तर वस्तुहरूलाई मानवीयकरण गरिएको, व्यङ्ग्य चेतना र समाजिकीकरण जागृत भएको, ससाना घटनाक्रमलाई पनि सटिक रूपमा प्रस्तुत गरिएको बताए।
कृतिभित्र ५६ वटा लघुकथा संग्रहित छन्।
युएईमा कार्यरत लेखक कोइरालाले आफ्नो साहित्यिक यात्रालाई थप सशक्त बनाएर लैजाने बताएका छन्।