साहित्यकार एवं कवि नन्दलाल गौतमका चार वटा कृति एक साथ विमोचन भएको छ।
गौतमले रचना गरेका प्रतिविम्ब कविता संग्रह, आत्मचिन्तन अध्यात्म काव्य, योगमाया खण्डकाव्य र आबाल ब्रह्रमाचारी षडानन्द खण्ड काव्यको एक साथ विमोचन भएको हो।
सान स्मृति सेवा समाजले स्वर्गीय गौतमले रचना गरेका पुस्तकसहित नन्दलाल शोक काव्य र स्मृतिमा नन्दलाल गौतमसहित आधा दर्जन पुस्तक शनिबार राजधानीमा विशेष कार्यक्रमको आयोजना गरि विमोचन गरेको छ।
साहित्यकार गौतमको स्वर्गारोहण भएको एक वर्षपछि उनले रचना गरेका पुस्तकहरू विमोचन भएको हो।
गौतम जिवित छँदै प्रकाशन गर्ने तयारीमा रहेका यी पुस्तकहरू विविध कारणले गर्दा सार्वजनिक हुन नसकेको गौतमका छोरा महेशचन्द्र गौतमले जानकारी दिए।
‘बुबा जिवितै हुँदा हामीले उहाँले रचना गरेका पुस्तकहरू प्रकाशन गर्ने अन्तिम तयारी गरिरहेका थियौं तर अचानक कोरोना संक्रमणबाट उहाँको मृत्यु भएपछि रोकिएको थियो’, उनले भने, ‘आज उहाँ वितेको एक वर्षपछि हामीले यसरी पुस्तक विमोचन गर्दै हरेक कितावका पानाहरूमा उहाँलाई जिवित राख्न चाहन्छौं। यी कविताहरूमा बुबालाई मुस्कुराएको हेर्न चाहन्छौं।’
कवि गौतमका प्रतिविम्ब कविता सङ्ग्रह, बबाल ब्रह्मचारी षडानन्द खण्डकाव्य, योगमाया खण्डकाव्य र आत्म चिन्तन अध्यात्म काव्यसमेत गौतमले रचना गरेका छन्।
प्रतिविम्व कविता संग्रह
कवि नन्दलाल गौतमद्वारा लिखित छन्दोबद्ध कविताहरूको सङ्ग्रह ‘प्रतिविम्व'मा केही लामा र केही छोटा गरी ८३ वटा कविताहरू समेटिएका छन्।
यस सङ्ग्रहमा विषयको विविधता पाइन्छ। ‘सरस्वती वन्दना’ बाट सुरू भई वैराग्य' शीर्षकको कवितासम्म पुगेर टुङ्गिएको यस सङ्ग्रहमा जीवन र जगतका विविध पक्षलाई कविदृष्टिबाट नियालिएको छ।
प्रतिविम्ब कविता सङ्ग्रह वास्तवमै जीवन सङ्घर्षको प्रतिविम्ब हो। कविता आफैंमा भावनाहरूको विम्ब पनि हो। यसमा कविका जीवन भोगाइका भावनाहरू मात्र पोखिएको छैन, मावनजीवन भित्रको एउटा विम्बलाई पनि वास्तविक जीवनसँग जोड्न खोजिएको छ।
यस सङ्ग्रहमा जीवन भोगाइका घटना परिघटना मात्र व्यक्त गरिएको छैन, यसमार्फत मध्यकालीन र आधुनिक नेपाली समाजको चरित्रलाई पनि उठान गरिएको छ । मनोरम प्राकृतिक सौन्दर्यताको गहिराइमा पुगेर प्रकृतिसँग भावना साट्ने कोशिस गरिएको छ।
आत्म चिन्तन अध्यात्म काव्य
आत्म चिन्तन यस्तो खण्डकाव्य हो जसले अध्यात्मको महत्वलाई कविताको लयमा सविस्तार वर्णन गरेको छ। संसार विज्ञानको आविष्कारमा रमाइरहेको बेला अध्यात्मको कुरा मिथ्या लाग्न सक्छ। अध्यात्म भनेको अन्धविश्वास हो र काल्पनिक कुराको वर्णन हो भन्ने बुझाइ कतिपय मानिसमा रहेको पाइन्छ तर कविले यो आत्मचिन्तन अध्यात्म खण्डकाव्यमार्फत् आम जनमानसमा रहेको यो विश्वासको खण्डन गरेका छन्।
आबाल ब्रह्माचारी षडानन्द खण्डकाव्य
बालागुरू षडानन्द खण्डकाव्य बालागुरू षडानन्दको जीवनीलाई कवितामा व्यक्त गरिएको एउटा काव्य हो।
पूर्वी नेपालको दुर्गम पहाडी जिल्ला भोजपुरको दिङ्ला भन्ने ठाउँमा जन्म भई तत्कालीन शासकको विरुद्धमा र समाजमा स्थापित कुरीतिको विरुद्धमा आवाज उठाउने निडर, बौद्धिक र देवशक्ति प्राप्त गरेको व्यक्तिको नाम हो, बालागुरू षडानन्द।
तत्कालीन समयमा नेपाली समाजमा जरा गाडेर बसेको सती प्रथाको अन्त्यका लागि श्री ३ महाराज चन्द्र शमशेरलाई धर्मको व्याख्या गरी आश्वस्त पार्ने व्यक्ति हुन् बालागुरू षडानन्द। समाज परिवर्तन गर्न सक्ने तागत शिक्षासँग मात्रै हुन्छ भन्ने यथार्थ बुझेका उनले दिङ्लामा संस्कृत पाठशाला सञ्चालनमा ल्याए र त्यसको निरन्तरताको लागि गुठीको स्थापना गरे।
शिक्षाको चम्किलो घेराभित्र मानिसहरूलाई गोलबद्ध गरे र शिक्षाको टुकी बाल्ने काम दुर्गम पूर्वी पहाडबाट सुरू गरे। जुन टुकी आजसम्म पनि अनवरत बलिरहेको छ।
त्यतिमात्र होइन उनीसँग अद्भूत दैवीशक्ति पनि थियो भन्ने विश्वास गरिन्छ । उनी रूमाल ओछ्याएर अरुण नदी तर्न सक्थे । पुराण भन्दाभन्दै समुद्रमा जहाज डुबेको कुरा थाहा पाउने र ठूलो दुर्घटना हुनबाट जोगाउँथे भन्ने किंवदन्ती पनि यदाकदा सुन्ने गरिन्छ। यी यावत् कुराको खोज, अनुसन्धान गरी उनीसँग जोडिएका घटना परिघट्ना कवितामार्फत् उठान गरिएको छ।
यस खण्डकाव्यमा उनको बाल्यकालदेखि जीवनपर्यन्तसम्म भए गरेका उतारचढावहरूलाई व्यक्त गरिएको छ । विशेष गरी शार्दूलविक्रीडित छन्दमा लेखिएको यो खण्डकाव्य बालागुरू षडानन्दको बारेमा बुझ्न चाहने जो-कोहीको लागि भरपर्दो श्रोत बन्न सक्छ।
योगमाया खण्डकाव्य
वि.स. १९२४ मा नेपालको पूर्व पहाडी जिल्ला भोजपुरमा जन्मिएकी योगमाया नेपाली महिला आन्दोलनकी एक नक्षत्रको रूपमा स्थापित छिन् । उपाध्याय बाहुन कुलमा जन्मिएर पनि तत्कालीन संस्कृत विरूद्ध आवाज बुलन्द गर्नु कम्ति जोखिमको कुरा थिएन।
त्यसमा पनि महिलालाई दोस्रो दर्जाको सन्तानको रूपमा व्यवहार गर्ने नेपाली समाजमा महिला मुक्तिको आवाज बुलन्द गर्नु भनेको सिङ्गो समाजलाई नै चुनौती दिनु थियो । समाजलाई चुनौती दिन सक्ने, विचारले मानिसहरूलाई गोलबद्ध गर्न सक्ने, सिङ्गो राष्ट्रकै ध्यान तान्न सक्ने, सहासिक महिलाको नाम हो योगमाया । यिनै साहसिक महिलाको जीवनकहानी सँगसँगै उनले गरेको बलिदानलाई कविताको लयमा स्व. कवि नन्दलाल गौतमले व्यक्त गर्ने कोसिस गरेका छन्।
शास्त्रीय छन्दमा भए पनि उनका कविताहरू एकदमै सरल छन्। सरल भाषामा गम्भीर विषय र भावको उद्घाटन गर्ने उनको क्षमता प्रशंसनीय छ ।
कविता सङ्ग्रहमा नेपाली समाजको स्पष्ट प्रतिविम्ब देख्न पाइन्छ। यहाँ देशभक्ति प्रकृति प्रेम, संस्कृति प्रेम, नेपाली समाज, राजनीति, जीवन दर्शन पूर्वजहरूप्रतिको श्रद्धाभाव, स्वाभिमान र आफ्नोपनप्रतिको गर्वबोध, मानवीय चरित्रमा पाइने विविध अनुभूति भोगाइ र जीवन पद्धति आदि जस्ता विषयहरूप्रति गम्भीर दृष्टि राखिएको छ र कवित्वचेतका साथ विश्लेषणात्मक रूपमा प्रस्तुत गरिएको छ।
वि.सं. २०१२ वैशाख २६ गते सङ्खुवासभाको शीतलपाटी-१, शिरीषेमा जन्मिएर नेपाली विषयमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरी लामो समयसम्म शिक्षण पेसामा संलग्न गौतमले फुटकर कवितादेखि खण्डकाव्यसम्मको सफल यात्रा गरिसकेका छन्। विभिन्न पत्रपत्रिकामा फुटकर कविताहरू प्रकाशन गर्दै आएका थिए।
कोरोना संक्रमणका कारण साहित्यकार गौतमको २०७७ मंसिर ८ गते काठमाडौंमा निधन भयो।
कार्यक्रममा साहित्यकार, कवि, राजनीतिज्ञ एवं समाजसेवी नन्दलाल गौतमको जीवनसँग प्रत्यक्ष वा परोक्ष रूपमा जोडिएका व्यक्तित्वले उनीसँग विताएका घटनाक्रमहरूको वा विषेश क्षणको संगालोका रूपमा ‘स्मृतिमा नन्दलाल गौतम’ पुस्तक पनि सार्वजनिक गरिएको छ।
पुस्तकमा गौतमको राजनैतिक, शैक्षिक, पारिवारिक, आर्थिक पृष्ठभूमिको बारेमा आ-आफ्ना अनुभवहरू व्यक्त गरिएको छ।
यस्तै कार्यक्रममा गौतमका कान्छा छोरा रविचन्द्र गौतमले बुबाको सम्झनामा कोरेका कविताको संगालो ‘नन्दलाल शोक काव्य’ समेत विमोचन गरियो।
३ खण्डमा लेखिएको शोक काव्यमा छोरा रविले आफ्ना बाबुको निधनबाट आकुल व्याकुल हुँदै कविताहरू रचना गरेका छन्। जन्मदाता मात्र नभएर एक कुशल अभिभावकका रूपमा काव्यमा उनले नन्दलालको चित्रण गरेका छन्।
यसैबीच कार्यक्रमा सान स्मृति सेवा समाजले आगामी दिनमा नन्दलालका बाँकी रचनाहरू क्रमशः प्रकाशन गर्दै जाने संस्थाका अध्यक्ष विष्णु चन्द्र गौतमले जानकारी गराए। गौतमका अनुसार नन्दलालको ‘वेदमा विज्ञान’ नामक पुस्तक र निवन्ध संग्रह चाडै नै प्रकाशन गर्ने तयारी गरिएको जानकारी दिए।
कार्यक्रममा विभिन्न वक्ताहरूले नन्दलालको योगदान र पुस्तकका बारेमा चर्चा गरेका थिए।