इन्जिनियरिङको पढाइमा खासै फुर्सद मिल्दैन। लकडाउनले गर्दा फुर्सदिलो भएँ। पहिलेको लकडाउनमा 'श्रीमद्भागवत' गीता पढ्ने मौका मिलेको थियो। यस पटकको लकडाउनमा के गर्ने भन्ने कुरा खेल्दै थियो मनमा। कुनै कोर्स बाहिरको किताब पढौँ भन्ने जागर चल्यो। नयाँ किताब पढ्ने इच्छा मेरा घरका सबैका सामु राखेँ। लकडाउनले गर्दा बजार पूरै बन्द थियो। बजारमा गएर किताब किन्ने अवस्था थिएन।
यो कुरा मेरा अंकल लोकप्रसाद देवकोटाले पनि सुन्नुभएको थियो। उहाँले आफूसँग कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीद्वारा लिखित 'चाँदीको घेरा' नामक किताब भएको जानकारी गराउनुभयो। अंकलसँग किताब भएको खबरले म एकदमै खुसी भएँ। हुन त मलाई यो किताब पढ्न पहिलेदेखि मन लागेको थियो तर पढ्ने समय मिलेको थिएन। किताब दिन आग्रह गरेँ र 'चाँदीको घेरा' सुनखानीमा नुन खोज्ने कर्णालीको कथा मेरो हातमा पढ्यो।
जसरी जहाज गन्तव्यमा पुग्नको लागि रनवेमा हतारिँदै कुदिरहेको हुन्छ, त्यसरी नै 'चाँदीको घेरा' अर्थात् 'सुनखानीमा नुन खोज्ने कर्णालीको कथा' मेरो हातमा पर्नेबित्तिकै मलाई पढ्न हतार भइसकेको थियो। जहाजको सिटमा बसेर सिटबेल्ट राम्रोसँग बाधेर चाँदीको घेरा नामक जहाजमा उड्न तयार भएँ।
यस किताबमा मुख्यतः लेखकले आफ्नो जीवनमा घटेका मुख्य घटना र राजनीतिक बाटोहरूलाई क्रमबद्ध रुपमा वर्णन गरिएको पाइन्छ। साथै कर्णालीले भोग्नुपरेका अनेकौ समस्या दुःखकष्ट, कुरीति र त्यसको समाधानको बाटोको पनि वर्णन गरिएको पाइन्छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गराउन लेखकले भोग्नुपरेका अनेकौँ दुःखकष्ट,समस्या र समाधानको पनि यस किताबमा वर्णन गरिएको छ।
लेखकले सम्पूर्ण आमाप्रति नमन गर्दै आफ्नी आमाको वर्णनसँगै लेखन कार्यको सुरुआत गरेका छन्। दुर्गममा जन्मेकै कारण आफ्नी आमाले स्वास्थ्य सेवा नपाउँदा अकालमै ज्यान गुमाउनुपरेको दुःखद् घटना स्मरण गर्दै लेखकले आफ्नो कलम अगाडि बढाएका छन्।
भनिन्छ कर्णालीबासी सुन सिरानीमा राखेर नुनको खोजीमा भौतारिरहेका छन्। सेतो सुन नदी बनेर बगिरहनु र हरियो डलर जंगलमा कुहिरहनु यहाँको विडम्बना हो। यसले दैनिक उपभोग्य वस्तुको अभावमा छट्पटिँदै भोक शान्त पार्नुपर्ने विवशता भोगिरह्यो, त्यो पनि सुर्खेत नेपालगञ्जबाट खचड झैँ पिठ्यूँमा बोकेर। आफ्नै नाभीमा रहेको बिनाको बासनाको खोजीमा कस्तुरी झैं तड्पिरह्यो।
बाध्यता र पीडाका कथा लामा-लामा छन्। काठमाडौंलाई हुङकार दिने खस साम्राज्यको केन्द्र पृथ्वी नारायण शाहको अगुवाइमा ढालेपछि सिर्जना भएको नियति हो यो। हटारु उकाली ओराली गर्दै खोलानाला तर्दै लुटिँदै, ठगिँदै, अपमानित हुँदै वडारको बास बस्दै १५ दिनभन्दा बढी पैदल यात्रा गर्थे र अझै पनि गर्छन्- केही किलो नुन र चामलका लागि। कैँयन नदी तुइनको सहारामा पार गर्नुपर्ने जोखिम त छँदै थियो, त्यो बेला पनि र अहिले पनि।
कलेटी परेका ओठ र मुस्कान हराइसकेका अनुहार नै कर्णालीको परिचय बनेको थियो पहिले पनि र छ अहिले पनि।
जब मंसिर आउँथ्यो, कालापहाडको यात्रा सुरु हुन्थ्यो गाउँ नै रितिन्थ्यो। तर परिस्थिति फरक छ। अहिले कालापहाड जानेको संख्या पहिलेको भन्दा कम छ, गाउँघरमा बेरोजगारहरू बढी छन्।
बीउका लागि धान भिजाउने दिनसम्म (चैतको ११ गते सम्म) यदि कोही जुम्ली नफर्के मरे भने जान्नु भनिन्थ्यो। हटारु (परदेशी) सकुशल नफर्कने त्रासले रुवाबासी हुन्थ्यो तर अहिले त्यो समस्या हटेको छ। रुखको टुप्पा र डाँडाकाँडा चढेर परदेशीको खबर लिन सकिने भएको छ।
हाम्रा समाजमा धुपी र दूबो कहिल्यै ओइलाएनन् तर जुम्ली र समस्त कर्णालीका सपना, जीवन र कल्पना भने ओइलाउँदै गए, पहिले पनि र अहिले पनि। कर्णालीका राजनीतिज्ञहरूले आफूले नुन र चामलको राजनीतिभन्दा कहिल्यै माथि उठाएनन्। भोकालाई सधैँ माछाका टुक्रामात्र दिएर लोभ्याइरहे तर माछा मार्न सिकाएनन्।
कर्णालीमा न युद्ध थियो न त प्राकृतिक महाविपत्ति र पनि बेहोर्नु परिरहेको छ, अन्त्यहीन भोकमरी भोग्नु परिरहेको छ, उत्पिडन खेप्नु परिरहेको छ, विभेदको चर्को मार अहिले पनि।
राइट दाजुभाइले सन् १९०३ डिसेम्बर १७ मा नै हवाइजहाजलाई चराजस्तै आकाशमा पहिलो पटक ३६ मिटर उचाइमा उडाएर सफल परिक्षण गरिसकेका थिए। आविष्कारका १०० वर्ष गुज्रिसक्दा पनि हामीहरूले यो पीडा चुपचाप भोगिरह्यौँ। यो सबै दृश्य देख्दा र भोग्दा लाग्थ्यो कर्णालीका जनताको देश र सरकार कहाँ छ? छ भने किन भोकमा शोकमा र रोगमा मात्र देखिन्छ? खुसी, सुख र समृद्धिमा किन भेटिँदैन? सरकार के निर्धाहरूमाथि झण्डा र डण्डा चलाउन मात्र जन्मिएको हो?
सिड्नी र लन्डनको आकाशमा फाल्कन एचटिभिटु जेट जहाज (अप्रिल २२, २०१०) पहिलो पटक निक्लिँदा कर्णालीका मानिसहरू भने ७० किलो भारी बोकेर खलखली पसिनाको धारा बगाउँदै मौरेको उकालो चढ्दै थिए होलान्। प्रतिघण्टा १३ हजार माइल उड्ने संसारकै सबैभन्दा तीव्र गतिको यो जेटबाट कर्णालीकाले मात्र होइन मुलुकको चाबी बोकेकाहरूले पनि सिक्न चाहेनन्। सीमित क्षमताका बुढा र रोगी ट्विनअटर जहाजका विकल्प पनि खोजेनन्।
कर्णालीका जनप्रतिनिधिहरूले त यी नाजुक जहाजहरूमा टिकट राजनीति गरिरहे। अझै पनि कर्णालीमा प्लेन चढ्नलाई टिकटको लागि ठूलाबडासँग हातखुट्टा जोड्नु पर्छ। सदियौंदेखि यो चलन चल्दै आएको छ। कर्णालीमा टिकट पाएर प्लेन चढ्नलाई कि त एयरलाइन्स र एयरपोर्टका कर्मचारी पसलेहरूसँग चिनजान हुनुपर्यो कि त जनप्रतिनिधिहरूको पावर लगाउन पर्यो।
सोझासाझा कर्णालीका जनताहरूले प्लेनको टिकट कहाँ पाउनु? धौँ-धौँ गरी टिकट पाए पनि साह्रै महँगो। कर्णालीका जनतालाई प्लेनको टिकट पाउँदा ठूलै युद्ध जिते सरह लाग्छ। त्यसैले कर्णालीका जनता मृत्यु राजमार्गको बाटो अंगाल्दै सुर्खेत, नेपालगञ्ज, काठमाडौँ लगायतका ठाउँमा जान विवश छन्।
कर्णालीजस्तो दुर्गम ठाउँका सरकारी विद्यालय र काठमाडौंका महँगा बोर्डिङ बीचको शैक्षिकस्तर बीचको खाडल निकै गहिरो छ। प्रस्टै देखिन्छ पनि। यो भनेको दुर्गमका विद्यार्थीहरूलाई हात बाँधेर दौड प्रतियोगितामा धकेल्नु बाएक केही हैन। भलै जुनसुकै तर्क किन नगरियोस्। काठमाडौंका क्याम्पसमा आफ्नो स्कुलका राम्रा टपर विद्यार्थीले मात्र प्रवेश पाउँछन्। प्रतिस्पर्धाले जन्माएको विभेद हो यो। विवेकहीन कसाईसामु बाख्राको रुवाईभन्दा फरक के भयो होला र?
हिउँ हेर्नमा जति आनन्द मिल्छ, भोग्नुमा त्यती आनन्द कहाँ मिल्छ र? वरिपरि ठडिएका सल्लाका रूखहरूमा थुप्रिएको हिउँले रुखको स्वरूप नै बदलिदिन्छ। कठ्याङग्रिने जाडो भएपनि प्रकृतिले रातभरमा मेहनत गरेर धर्तीलाई नै श्रृंगारे झैँ लाग्छ। जता हेर्यो सेतै सेतो। हिउँको भार थेग्न नसक्दा रुखका हाँगाहरू भाचिन्छन्। एकैचोटी हिउँका थुप्रा जमिनमा ध्यापध्याप खस्छन्।
केही कणहरू हावामा उडछन् जसले वातावरण रमणीय बनाउँछ। पंक्षीहरू एक रुखबाट अर्को रुखमा भुर्र उठ्दा पनि हिउँका कणहरू हावासँग उड्छन्। सायद चरा पनि भोकाएका हुन्छन् होला जसरी हामी यो चिसो हिउँको प्रवाह नगरी कर्णाली विकासको लागि भोकाइरहेका छौँ।
कर्णालीमा खच्चड झैँ पिठ्यूमा चामल बोकेर ल्याइन्थ्यो, अझै पनि ल्याइन्छ। यसको उपयोग चाडपर्वमा थकानमा बिरामी भएको र पाहुना आएको अवस्थामा हुन्थ्यो/हुन्छ। खाद्य प्रविधि सम्बन्धी ज्ञान दिन सकिएको भए स्थानीय आफैले पनि स्वादिलो र पोषणयुक्त बनाउन सकिन्थ्यो। पैसा दिएर पनि चामल उपलब्ध गराउन नसक्नु सत्ताको नालायकी हो भन्ने भाते मानसिकता यहाँको कमजोरी।
आँखा मिच्दै भालेको डाकोसँगै काममा गोरुजस्तै जोतिनु यहाँका महिलाहरूको दैनिकी हो। विडम्बना! भोकबाट मुक्ति मिल्न सकेन। शरीरले न्यानो र नफाटेको एकसरो कपडासम्म पाएको छैन।
गाउँको गोडेन्मा कर्णाली नदी सुसाउँदै बगिरहेको छ। माथि सिंगो गाउँलाई घोर अँध्यारोले छोपेको छ। सिँचाइ अभावमा धर्ती चिरा-चिरा परेको छ। वस्ती पनि अँध्यारो छ। नदीको पानी नै त्यस्तो चाबी थियो जसले उनीहरूको जीवनमा ठोक्किएको भोटेताल्चा खोलेर नयाँ जीवनचक्र सुरुआत गरिदिन सक्थ्यो। विडम्बना! त्यतातिर कसैको ध्यान गएको छैन।