यो कथा २० वर्षअघिको महाभाराको व्यथा हो। जसरी विगतका थुप्रै व्यथाहरु आज कथा बन्न पुगे उसै गरी महाभाराको तितो व्यथा आज कथा बनेर आयो। अनि हामीले हर्षित हुँदै दुख्दै पढ्न पायौं। हरेक व्यथाको एकदिन कथा बन्छ यो सम्भव छैन । तर बनेका हरेक कथाको आफ्नै प्रकृतिको व्यथा भने हुन्छ। महाभाराको व्यथा बन्नै पर्ने कथा थियो जसलाई लेखन बसन्त बस्नेतले उकाली, ओराली, गोरेटो, दोबाटो सबै घुमाएर एक छुट्टै बाटोमा निकालेर ट्रकमा चढाए।
अहिले महाभाराको ट्रक पाँचथर इलाम-झापा-बिराटनगर हुँदै देश घुमिरहेको छ।
भर्खरै टन्सिलको अपरेसन सकेर कुनै काम, कार्यक्रममा ननिस्किएको म पुस २४ गते महाभाराको लोकार्पण भन्ने खबर पाएपछि आफूलाई रोक्न नसकेर समयमै तारागाउँतिर उक्लिएँ।
देख्न-भेट्न मन लागेका लेखक तथा अन्य सार्वजनिक अनुहारहरु भएको कार्यक्रममा पुग्न पाउँदा अस्वस्थ थिएँ भन्ने बिर्सिएँ। त्यहाँ गाइएका सुनाइएका गीत, पालम र कविताको ध्वनि अझै मनमा गुञ्जिरहेका छन्। गाउँमा देखेका र बस्दै आएका घर र ट्रकलाई सिलाम साक्माले बेरेको महाभारालाई रातो झोलामा राखेर फर्कंदा कहिले घर पुगौं र किताब पढ्न सुरु गरौं भइसकेको थियो।
अरु पाठकलाई महाभाराको व्याथा पढ्दा कस्तो अनुभूति हुन्छ कुन्नि! मजस्तै पूर्वेली, अझ इलाम र पाँचथरका अनि कहिलेकाहीँ धान नाचेका, मौकामा सकेला हानेका र तामाङ सेलोमा पनि मरक्क कम्मर मर्काएकालाई चाहिँ जमानाका एकदुई थान सोल्टी र च्याङ्वाहरुको याद पनि पो आउने रहेछ।
महाभारामा यतिमात्रै छैन। पूर्वेली संस्कृति, राजनीति, गाउँघरका पाखाबारी, पहाडको दु:ख, भेडिगोठ, मुना मदनकोझैं प्रेम रोमाञ्च युद्ध अनि अहिले राजनीति बुझ्न चाहनेका लागि केही जान्नै पर्ने इतिहाससम्मले टम्म भरेको छ महाभाराको ट्रक।
महाभारा चटपटे जस्तै मिठो छ। जसरी चटपटेमा नुन, खुर्सानी, अमिलो, बदाम आदि धेरै कुरालाई समेटेर तडकावाला बनाइन्छ त्यसै गरी महाभारालाई प्रेम, राजनीति संस्कृति, युद्ध जस्ता कुराको मिश्रणले मिठो बनाएको छ।
महाभाराको मुख्य पात्रको डुक्पाको जीवन नजानिँदो तवरबाट परिवर्तन भइरहन्छ। पेसाअनुसार नाम पनि परिवर्तन भइरहन्छ। पहाडमा त्यो समयमा पढ्नका लागि स्कुलको राम्रो व्यवस्था थिएन। डुक्पाले किस्ने सरले कुटेको निहुमा स्कुल छोड्यो तर डुक्पा त एक प्रतिनिधि पात्र मात्रै हो यस्ता डुक्पाहरु धेरै थिए अझै पनि छ्न जो कुनै बाहानामा स्कुल छोडेर अन्य भुलभुलैयामा लागेर आफ्नो नाम काम सबै परिवर्तन गर्न बाध्य छन्।
अहिले पनि पहाडको गाउँमा डुक्पाका केडाहरु धेरै छन् जसले स्कुल छोडिसके दिनभर खेताला जान्छन्। बेलुका चोक गएर सेन्ते पार्टी हान्ने हो भनिरहेका हुन्छन्।
डुक्पाका केडाहरुको बिहानीको सुरुवात खुकुरी चुरोटबाट हुन्छ। हिजोआज गाउँमा डुक्पाका केडाहरु छैन भने गाउँमा बिहे, मरौ सबैकुरा पार लगाउन हम्मेहम्मे पर्छ। धेरै जना खाडीतिर छन्। अलिकता पढेकाहरु धेरैजसो बजारतिरै डेरा गरी बस्छ्न। बिहेमा गाउँ आए पनि उनीहरुको काम बेलुकाको सांस्कृतिक कार्यक्रममा जज् बस्नु, सरौ लेखाउने ठाउँमा नाम टिप्न बस्नु, कार्यक्रम सन्चालन गर्नु आदि नै हुन्छ।
गेट बनाउने, बाँस बोक्ने, समूहबाट भाँडाकुडा ल्याउने, डेरा बनाउने, चुला गाड्ने, ठूल्ठूला डेक्चीमा मासुभात पकाउने आदि सबै काम गर्न त डुक्पाका केडाहरु नै चाहिन्छ। डुक्पाका केडाहरु बिना गाउँघर शून्य मात्रै होइन हरेक सामाजिक काम गर्न सारै गाह्रो हुन्छ। उनीहरुको महत्त्व गाउँको उकालो ओरालो बाटोले गाउँमा पर्म गर्ने र पैसामा खेताला जाने घरहरुको बारीको माटोले मज्जाले बुझेको छ।
डुक्पाका केडाहरु बिहान घाँसमा जादा एकदुई घरको चिया नखाई र एकदुई वटा उपद्रो नगरी हिँड्दैनन्। बिहानको उपद्रोमा कसैको डोको लुकाइदिने, कुखुराको खोरको दैलो खोल्दिने, सलाइ लाइटर बोकेर हिन्ने यस्तै यस्तै हुन्छ। घासका भारी बिसाएर आउँदा भने उनीहरुले हाँस्दै दिन्छन् अगाडि लगेका सलाइहरु।
डुक्पाका केडाहरु गाउँमा छैनन् भने सिजनमा देवाले च्याउ, खोलाको माछा, पाहा, चेपा, वनतरुल चाख्न पनि पाइँदैनन्। न त घरकै इस्कुसको झरा, घर तरुल खन्ने मान्छे नै हुन्छ। केडाहरु कोही कोहीले ट्रयाक्टर कुदाउन नगएका हैनन्, एकदुई थान विदेश पनि गएकै हुन्। कुलो खन्न देखी काठ काट्ने ठेक्का लिएर अन्तै गएका पनि हुन् तर उनीहरुको कुनै कामले निरन्तरता पाएन। विदेश जानेहरु पनि पो काम थेग्न नसकेर फर्के।
महाभारामा सुक्मती र डुक्पाको रुमानी रहरहरुले भरिएको चोखो माया छ। अहिले जस्तो भए समय परिस्थिति नाम र कामसँगै माया पनि बद्लि सक्थ्यो होला। त्यो बेलाको समयमा नत कुनै सम्पर्क हुने आधार थियोे नत सधैं भेटघाट भइरहन्थ्यो। तर पनि कति निश्चल माया कस्तो अडिग।
पर्खाइ अहा! डुक्पा र सुक्मतीको जस्तो प्रेम अहिले कहाँ पाइएला र!
म कल्पना हराउँदै पढिरहेको थिएँ, अहिले भए दिनमा कति पटक फोनमा कुरा गर्थे होला उनीहरु। राती भिडियो कलमा एक अर्कालाई चुम्दै मायाको न्यानो सिरानीमा निदाउने अनि बिहान आँखा राम्रोसँग खुल्न नपाउदै फेरि एकअर्कालाई हेरेर मात्रै उठ्ने। डुक्पालाई सुक्मतीले बिहान आफू अर्लाम बनेर उठाउने थिइन् होला। लामो लामो मिस कल गरेर।
डुक्पा एक मिसकलमा पक्कै उठने थिएनन्। उनलाई चार पाँच मिसकल मारेपछि बल्ल कल ब्याक गर्थे होलान्। आज के गर्ने, कहाँ जाने, खाना के खानेदेखि हरेक कुरा कलमा साटासाट गर्दा पनि बीचमा कति झगडा हुन्नथ्यो होला। म्यासेजको रिप्लाइ एकछिन ढिलो आउँद सुक्मती कति रिसाउँथिन् होला।
अरुको फोटोमा गरेको कमेन्ट र लभ रियाक्टमा एकअर्का नै कति जल्थे होला।
कहिलेकाहीँ एकअर्कालाई तातो रिसमा ब्लक हानाहानसम्म हुन्थ्यो होला र फेरि अनब्लक गर्थे होलान्। त्यही पनि त्यो मायामा कति शंका र झगडा भएको न त भोलि भविष्य नै हुने छाँट छ।
पुरानो डुक्पा र सुक्मतिको त्यो माया पो माया जसमा केही बर्षसम्म कुराकानी र देखभेट नहुँदा पनि एकअर्काका लागि सबै कुरा साँचेर बसेका थिए।
महाभाराले दरबार हत्याकाण्ड भएको समयमा पाहाडका गाउँ बस्तीहरुमा कस्तो असर भएको थियो राजपरिवारलाई माया गरेर बसेका गाउँलेहरुमा परेको शोकलाई दुरुस्त देखाएको छ। घरमा थुप्रै मान्छेहरु भेला भएर कुराकानी गरेको रेडियो सुनेको सम्झना मसँग पनि छ। अहिले महाभारा घरगाउँका सबै तितामिठा घटनाक्रमहरुको याद बोकेर आइदियो।
महाभाराका धेरै पात्र अहिले पनि दुरुस्तै गाउँतिर पाइन्छन्। राजनीति गरेजस्तो गर्ने धर्मको संरक्षण गरेजस्तो गर्ने कमाउन खोज्ने तर सबभन्दा ठूलो नेता बन्न खोज्ने। आफूलाई सबैले सेवारो गरोस् भन्ने भावना भएका मिङ्सोहरु गाउँदेखि सहरसम्म छन्। उनीहरु आफूलाई ठूलो नेता मान्छ्न् तर असल नेता हुनलाई काम र कार्यकर्ता चाहिन्छ भन्ने जान्दैन्न। मिङ्सो प्रवृत्तिकै कारण गाउँघरमा झैझगडा हुन्छ यो प्रष्ट पार्छ महाभाराले। तर समझदारी र सहयोगले ठूल्ठंला मनमुटाव पनि मनैसँग मिल्न आउँछन्। एकअर्कालाई बुझेर अघि बढियो भने जस्तै अप्ठ्यारो परिस्थिति पनि छिन भरमै सहज हुन्छ भन्ने कुरा तान्छोहाङ र डुक्पाबाट सिक्न सकिन्छ।
युवाहरुले सधैं कालोलाई कालो र गोरोलाई गोरो भन्नु पर्छ भन्ने कुरा त्यो बेलाबाटै तान्छो र डुक्पाहरुले सिकाउँदै आएका हुन। युद्धलाई साझेदारी र प्रेम भावले जित्नु पर्छ भन्ने सोचको तान्छोले कमरेड कटकसगको व्यावहारमा नै प्रष्ट गरिदिन्छ। क्रान्तिकारी कमरेड कटक पनि असाध्यै बुद्धिजीवी र धैर्यशिल मान्छे भएकाले तान्छोप्रति प्रसन्न हुन्छ्न्।
यी घटना महाभारामा पढ्न पाउँदा असाध्यै खुसी महसुस हुन्छ। तर परिवर्तनका लागि दिनरात नभनी हिँडेका कमरेड कटक, कमरेड सिक्साम्बा आदिलाई दिएको पीडाले भरिएको मृत्युलाई महसुस गर्दा भने मन अमिलो हुन्छ। कमरेड कटकको बारेमा धेरै सुनेको मैले पनि तर यसरी पढ्नै पाएको थिएनँ।
महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा पढ्दा 'रत्न कटक' नाम गरेर हामीले भलिबल खेलाउने गरेका थियौं। त्यो समयमा पनि कटकका बारेमा कुराकानी गरिन्थ्यो। वास्तवमै कमरेड कटक धेरै भलाद्मी मान्छे रहेछन्। महाभाराको पात्रमा सत्य मान्छे सत्य नाम र सत्य घटना पनि छ।
महाभाराको ट्रक चढिसकेपछि यसमा सामेल पूर्वेली लवज, समकालीन नयाँ पुराना राजनीतिक घटनाक्रम, धार्मिक क्रियाकलापहरुले समग्र समाजमा पारेका प्रभावलाई मिठासका साथ यात्रा गर्न पाइन्छ। महाभारा यात्रामा पूर्वेली पाठक मनहरु लट्ठ हुँदै जाने कुरामा दुईमत छैन। पश्चिमी पाठक मनहरुले पनि नयाँ र ठेट भाषामा मोहित हुँदै नयाँ ठाउँ र लवजको अनुभूति लिन पाउँछन्।
अहिले पनि महाभारा चढ्ने बाटो अप्ठ्यारो नै छ। महाभारा चढनलाई उकालो लाग्दा कतिपय गाउँमा पुगेपछि त्यहाँका बाटोहरु, जीविकोपार्जनका लागि नित्य खेप्नु परेको अनेकन दु:ख, त्यहाँका बाबुछिरीहरुको गल्दै नगल्ने काँधहरु देख्दा लाग्छ व्यवस्था परिवर्तन भयो तर अवस्था उहीँ नै छ। कहिले पुगिएला सहजताको सास फेर्दै पाहाडका सबै मानिस रमाएका हेर्दै महाभारा?
त्यो बेलाको महाभाराको पढिसकेपछी अहिलेको राँके बजार जहाँ म एकदुई बर्षको अन्तरालमा पुगिरहन्छु त्यो पलपल सम्झनामा आयो। हरियाली इलाम बजारबाट उकालो लागेपछि नेपालटार, रक्से, बागखोर हुँदै राके बजार कति रमाइलो वरिपरि भुइकुहिरोको घुम्टो ओडेर बसेको सानो बजार दुइतिरै बाक्ला घरहरु बिचमा सानो बाटो अगाडि इलाम पाँचथर छुट्टाउन शिर ठाडो गरि ट्क्क बसेको गेट बिहान सबेरै सबै पसलका सटरहरु खुलि सक्छन्।
गाडीलाइनका केडाहरू कोहि झापा-झापा-झापा भन्दै कोही इलाम ए इलाम इलाम भन्दै खुकुरी सिगरेटको धुवाँ सरर उडाउँदै एताउता गरिरहेका हुन्छ्न्। पसलका दाजु भाउजुहरु झापा झर्ने गुरुहरुलाई बोलाएर सामान ल्याइदिनु है भन्दै कागजमा सामानको नाम र पैसा थमाउछ्न गुरुहरु 'ओक्के छ त' भनेर झर्न लागेको जिन्सको पेन्टको गोजीमा पैसा र कागज हाल्छन्। बजारमा अकबरे खुर्सानीका बट्टाहरु, घिउ, छुर्पी टन्नै फिजाइएको छ। इलाम पाँचथरबाट झापा (मधेस) झर्नेको कोसेली त्यही त हो।
मलाई महाभारा ती मानिसहरुलाई पूरा पढेर सुनाउने रहर जाग्यो जसले फुङ्सिङ मेला भरेका छन्। राँके रबिको उन्धो उम्भो गरेका छन्। इलाम पाँचथर सबैतिर किनिमा मर्चा र गुन्द्रुकको व्यापार गरेका छन्। जो केलाङ नाचेरै विवाह गरी आएका छन्। जो महाभाराका सबै घटनाक्रमका साक्षी छन्।
मलाई गाउँ गएर पूरा महाभारा पढेर सुनाउने मन छ। महाभारा गाथा सुनेर तुम्बाहरु, बाजे बोजुहरु, कोपा कोमाहरु, माम मेमेहरु सबैले विगत सम्झिन्दै भन्छ्न होला 'डुक्पे जस्तैबेहुराको थियो हाम्रो घरको पनि।'
'मलाई पनि केलाङ नाचेरै तानेरै ल्याको इनार्ले।' बाजेहरू के कम 'त जान्छु कि जान्छु भन्दै झुन्डिएर आको त हो नि!'
'आझै त तरुनीहरु हत्ते गर्छ। मलाई पनि पो जोश आउछ तन बूढो भएपनी मन बुढो भाको छैन।'
म महाभारालाई नित्य गर्छु सेवारो, फ्याफुल्ला नमस्कार गर्छु किनकि महाभारालाई सेवारो गर्नु भनेको मैले मेरो गाउँघर, पाखाबारी, थुम्काहरु, देउमाई, निबु र पुवा खोला इत्यादिलाई सम्झ्नु हो मेरो जन्म भुमी त्यो माटोलाई सम्झ्नु हो त्यही सुक्मेरी फूललाई शिरमा राख्नु हो।