'चिनी: सेतो मन्द विष' किताबमा डाक्टर जोन युदकिनले चिनीले पर्ने यस्तो असरको बारेमा झण्डै ५० वर्षअघि नै लेखेका थिए। तर उनको यो अनुसन्धान र अनुभवलाई अमेरिकाका 'चिनी र चिनीजस्तै गुलियो पदार्थ उत्पादन गर्ने कम्पनीले' हावामा उडाइदिए।
विशेषगरी ती कम्पनीहरू जसले चिनीको व्यापार गर्थे, उनीहरूलाई जनताको स्वास्थ्यमा मतलब थिएन। यो किताबमा चिनीको बारेमा मात्रै होइन कि स्वस्थकर खाना के हो भनेर पनि बुझाइएको छ।
किताबमा लेखिएको छ- 'झण्डै दुई करोड वर्ष अघिका हाम्रा पूर्खाहरू शाकाहारी थिए। तर पछि मासु खान थाले। साथै जंगली फलफूलहरू प्रयोग गर्न थाले। तर १० हजार वर्षअघि मान्छेले जौ, गहुँ, दलहन उत्पादन गर्न थाल्यो। अहिले विभिन्न देशमा धेरै मानिसहरूले यो खान्छौँ। तर अहिलेका चिनी प्रयोग पहिले थिएन र मानिसहरूको दाँत र हाड स्वस्थ रहन्थे। २५ सय वर्षअघि उखुबाट 'चिनी' बनाउने प्रक्रिया भारतमा सुरु भयो र विस्तारै चीन, पश्चिम अफ्रिका, ब्राजिल आदिमा फैलियो। तर यसरी चिनी बनाउन धेरै महंगो पर्ने हुनाले एकदम धनी मान्छेले मात्र प्रयोग गर्न सक्थे।'
यो किताबमा 'चिनी' कसरी बन्छ भनेर लामो प्रकृयाको बारेमा पनि लेखिएको छ। आजकल 'सेतो चिनी' नखानेले 'खैरो चिनी' स्वस्थकर हुन्छ भन्ने ठान्छन्। तर वास्तवमा यो कुरा ठिक होइन। यो किताब लेख्दा वैज्ञानिकहरूले मुसाहरूमा चिनीको विभिन्न तरिकाले प्रयोग गरेर ती मुसाहरूमा मुटुरोग, बिर्सने रोग, बाथको रोग बढेको पुष्टि गरेका थिए। 'चिनी' को मानव स्वास्थ्यमा पनि त्यति प्रभाव पर्छ भन्ने कुरा उनको अनुभवले भन्यो।
हाम्रो खानामा चिनीको प्रभाव बढ्दैछ। चिनी पश्चिमी समाजबाट भित्रिएको र खाद्य वस्तुहरूमा धेरै प्रयोग भइरहेको सामाग्री हो। यसले नेपालीहरूको स्वास्थ्यमा कडा चुनौती दिएको छ किनभने यो नेपालीहरूको धेरै रोगहरूको कारक भएको छ।
चिनी चाडबाड र देवीदेवताका प्रसाद बन्छ। यसको प्रयोगले भोजन शैलीमा परिवर्तन भएर स्वास्थ्य समस्या बढेको छ। केटाकेटीहरूमा देखिएको दाँतसम्बन्धी समस्या, उच्च रक्तचाप र मोटोपन जस्ता समस्याहरू नै चिनीको भूमिका रहेको छ। यो किताब यही तथ्यलाई देखाइएको छ।
प्रायः पश्चिमी समाज चिनीलाई हानिकारक खाद्य पदार्थ भनेर लिँदैन तर विभिन्न प्रकारका रोगहरू ल्याउँछ र शरीरको प्रतिरोध क्षमता प्रणाली विस्तारै नष्ट गर्छ। यो किताबमा लेखिएअनुसार अनुसन्धानबाट क्यान्सर, हाड कमजोर हुने, रोग ओस्टेपोरोसिस जोर्नीका समस्याहरू, मोटोपन, मुटु रोगहरू, उच्चरक्तचाप, छालाका समस्याहरू, चाँडै वयस्क र बुढ्यौली हुने, कमजोर हुने समस्याहरू, जस्ता समस्याहरूमा चिनी कुनै न कुनै रूपमा जोडिन्छन् भनेर देखाइएको छ।
रक्सी खाने लतजस्तै चिनीको लत पनि छोड्न कठिन छ। नेपालीहरूले दिनभरि खाने खानाहरूमा चिनी त हुन्छ नै बजारमा किनेका खाना बाहेक घरमा बनाउने भोजनमा पनि चिनी मिसाउने प्रचलन बढ्दैछ। त्यसैले नेपालमा चिनीको खपतको परिमाण समेत वर्षेनी वृद्धि भइरहेको छ। अझ चाडपर्वहरूमा त यसको खपत बढ्छ।
यसको नकारात्मक पक्षबारे प्रायः कुरा नहुने र परम्परागत रूपमा स्वीकार गरेर प्रयोग गरिँदै आएकाले मात्र यो सुरक्षित र पोषिलो छ भन्ने धेरैलाई भ्रम परिरहेको छ। यो किताबमा हामीले कसरी थाहा नपाएर धेरै चिनीबाहेक 'अदृश्य' रूपमा कसरी थाहा नपाएर धेरै चिनी प्रयोग गर्छौं भन्ने कुरा लेखिएको छ।
दैनिक ५ चम्चाभन्दा बढी चिनी नखाऊ भनेर विश्व स्वास्थ्य संघले भने पनि अप्रत्यक्ष रुपमा पनि ठूलो मात्रामा चिनी खाइन्छ। बिस्कुट, चीजबल, चकलेट, चुइङगम आदि पाकेटबन्द खानाहरू, चिया, कफी, हट लेमन, हर्लिक्स, बोर्नभिटा, भिभा आदि तातो पेय पदार्थहरू, लस्सी, कोक, फेन्टा, पेप्सी , डेउ, मेरिन्डा,, फुर्टी, एपी, सर्वत, लस्सी आदि चिसा पेय पदार्थहरूमा प्रशस्त मात्रामा चिनी मिसाइएको हुन्छ।
त्यस्तैगरी सेल, मालपा, मिठाइहरू, हलुवा, गुँदपाक, पुष्टकारी, केक, आइसक्रिम, आदि खाद्य वस्तुहरूमा प्रशस्त मात्रामा चिनी प्रयोग गरिएको हुन्छ। यसरी थाहा नै नपाएर हामीले स्वस्थकर खानाको नाममा धेरै चिनी खान्छौं।
युवा पुस्ताका उपभोक्तहरू यसलाई बढी प्रयोग गरिरहेका छन्। राष्ट्रिय एवं बहुराष्ट्रिय कम्पनीहरूबाट निर्मित हलुका पेयको एक लिटरमा औषत १४ चम्चा चिनी राखिएको हुन्छ।
पहिलेका मानिसहरूलाई गुलियो खान मन लाग्दा फलफूल खान्थे र यसमा भएका सम्पूर्ण पोषक तत्वहरू शरीरमा पुग्थ्यो। अहिले गुलियोको नाममा केक र आइसक्रिम खाँदा मुटु र मस्तिष्कमा खराब गर्ने 'तत्व' शरीरमा पुग्छ। चिनीलाई अंग्रेजीमा सुगर भनेर चिनीन्छ तर यसको अन्य रुप पनि हुन्छन्। जस्तो माल्टोज, फुल्टोज, ल्याक्टोज आदि।
कतिपय फलफूलको बट्टामा चिनी छैन भनेर लेखेको हुन्छ तर माल्टोज, फुल्टोज, सुक्रोज छ भनेर देखाउँछ। हामीले खाने सबै कुरा अन्तमा गएर ग्लुकोजमा बदलिन्छ। त्यसैले कति जनाले 'कमजोरी भए ग्लुकोज खाए उत्तिखेर तागत आउँछ' भन्ने ठान्छन् र ग्लुकोजको बट्टा-बट्टा किनेर आफू खान्छन् र बच्चालाई ख्वाउँछन्। यसले स्वास्थ्यमा केही फाइदा गर्दैन।
बच्चाहरूलाई दन्तजगको संक्रमण पनि निकै देखिन्छ। दन्त चिकित्सहरूले यो विषयमा बोलिरहन्छन्। चिनी भएको वस्तु खाएपछि यसले दाँतको 'इनामेललाई' गालेर दाँतमा प्वाल पार्छ। यो प्वाल पर्ने क्रम भित्रसम्म बढ्दै जान्छ र दाँतमा प्वाल पर्छ र यस प्वालबाट अम्ल छिरेर गिँजा सहनै नसकिने गरी दुख्छ। बच्चाका आहाराहरू तथा बोतलका दूध तथा पेयहरूमा मिसाइएको गुलियो पदार्थले उनीहरूको कलिलो दाँतमा गम्भीर असर गरेको हुन्छ। तर मातापितालाई यो चिनीले बच्चालाई खराब गर्छ भन्ने थाहा नै हुँदैन।
मकैबाट पनि चिनी बनाइन्छ। विशेषगरी चक्लेट, कूकिज बनाउँदा यसको प्रयोग गरिन्छ। यस्तो प्रकारको गुलियो पदार्थ र पेयले कोलेस्टोरेलको मात्रा बढाउँछ। चिनी बढी खाएर मोटो भएपछि शरीरमा खराब बोसो बढ्न जान्छ र यो मुटुका धमनीका भित्ताहरूमा लेउजस्तै टाँसिन्छन्। यसकारण धमनीहरू साँधुरिने वा कडा हुने हुन्छ। यसो हुने बित्तिकै मुटुका मांसपेशीहरूमा धमनीबाट रगत, अक्सिजन र पोषक तत्व आवश्यक मात्रामा पुग्न सक्दैनन्। अनि मुटुका मांसपेशीहरू मर्दछन् र ह्रदयघात हुन्छ।
यस्ता रोगको बिजारोपण त बाल्यकालमा नै हुन्छ। केटाकेटी अवस्थामा बढी गुलिया वस्तु खानाले पछि मुटुसम्बन्धी रोग लाग्नसक्छ भन्न यो किताबमा सिद्ध गरिएको छ।
मुटुसँग सम्बन्धित समस्यालाई पहिले नेपालको पनि सहरीया र संभ्रान्त परिवारको मात्र समस्या हो भनिन्थ्यो। तर अहिले गाउँ-सहर र निम्न आय भएका मानिसहरूमा पनि यो समस्या देखिन्छ। मुटुरोग विज्ञ भन्छन्, यसको प्रमुख कारणमध्ये पत्रुखाना, बढी गुलियो नै हो।
अमेरिकामा गरिएको एक अध्ययनमा चिनी बढी खाने र रेशादार खानेकुरा कम खाने महिलाहरूमा मधुमेह बढी देखिएको थियो। यो किताबमा लेखिएअनुसार सन् १९८२ मा नेपालमा एक वर्षमा एक व्यक्तिले १.२ किलो चिनी प्रयोग गर्थ्यो। कम्बोडियामा ७०० ग्राम मात्र प्रयोग गर्थ्यो भने क्युबामा झण्डै ६६ किलो, न्युजल्याण्डमा ५१ किलो चिनी प्रयोग गर्ने रहेछन्।
चिनीमा भिटामिन वा खनिज हुँदैन। त्यसकारण यो तुरुन्त पाचन हुने गर्दछ र तुरुन्तै शरीरमा सोसिन्छ। 'शरीरलाई आवश्यक नपरेको चिनी 'चिल्लो पदार्थ या बोसो' मा परिणत हुन्छ। यसैकारण मुटु तथा रक्त नलीहरूमा अवरोध पुर्याउने काममा चिनी जिम्मेवार नै हुन्छ' अहिलेको विज्ञानले स्पष्ट बोल्छ।
अहिले मधुमेहको 'महामारीको' कारणले प्रायले 'इन्सुलिन' भन्ने नाम सुनेका छन्। इन्सुलिन हर्मोन हो खाना खानासाथ उत्पादन हुन्छ, धेरै मात्रामा चिनी वा कार्बोहाइड्रेट खाए यो बढी मात्रामा उत्पादन हुन्छ। विशेषगरी हल्का पेय र मैदाका केक, कूकिजजस्ता प्रशोधित खानेकुराहरू खाँदा शरीरमा छिट्टै ग्लुकोजमा परिणत भएर आन्द्राबाट रगतमा सोसिन्छन्। त्यो बेला शरीरले 'रगतमा चिनीको' नियन्त्रण गर्न इन्सुलिन पैदा हुन्छ। तर धेरै इन्सुलिन शरीरमा भएमा रगत तथा मुटुसम्बन्धी रोगहरू उत्पन्न हुन्छन्।
यो किताबमा 'चिनीले गर्ने खराबी' बाहेक रमाइलो तरिकाले लाखौं वर्षअघि मानवको भोजन कस्तो थियो, कसरी बदलियो र यसरी बदलिएको भोजनले मानव स्वास्थ्यमा के प्रभाव पारेको छ भन्ने लेखिएको छ। यसको विशेष गरी युरोप र अमेरिकाको उदाहरणहरू दिइएको छ।
तर पछिल्लो ५० वर्षमा युरोप र अमेरिकामा पाइने सबै भोजन, चकलेट, आइसक्रिम हामीकहाँ पनि पाइन थालेको छ। कतिजना मानिसहरू चिनी खाँदैनन् तर चिसो पेय पदार्थ, केक, बिस्कुट आदि मज्जासँग खान्छन्।
गुलियो स्वाद भएका पदार्थहरूमा मात्र होइन कि बट्टामा बन्द गरेको मासु, सुप, स्वस्थकर नास्ता भनिएका बट्टामा भोजनमा पनि चिनी मिसिएको हुन्छ। तर प्राय यो कुरा हामी वास्ता नै गर्दैनौँ। किताबमा लेखिएको यो पढेपछि मैले बजारमा गएर विभिन्न विभिन्न सुपहरू, बट्टाका खाना हेर्दा नभन्दै चिनी पाएँ। यस्ता बट्टाका खाजाहरू मैले पहिलेदेखि नै नखाएको हुनाले मैले आफूलाई 'धाप' मारे।
यो किताब पढेपछि मलाई लाग्यो। यदि यसलाई अनुवाद गर्न सके धेरै अभिभावकअरूको आँखा खुल्ने थियो। आफ्ना छोराछोरीलाई, स्वस्थवर्धक खानाको नाममा दिइने 'खाना'मा चिनी छ भन्ने थाहा पाएपछि सायद त्यो दिँदैन थियो होला। जन्मदिनमा केक काटेर जन्मदिन मनाउँदैन थिए होलान्। तर अहिले तत्कालै यो अनुवाद गर्न नसक्ने भएकोले यो किताबको बारेमा लेखें।
यो किताब वेवसाइटबाट पनि सहजै पढ्न सकिन्छ सित्तैमा। सक्नेले यो किताब पढेर आफ्ना छोराछोरीलाई प्रयोग गरे राम्रो हुने थियो।