कुरा २०५३ सालतिरको हो। भाइ सानै थियो। उसको पालो थियो– ममीसँग सुत्ने। बुवा मलाई लिएर सुत्नुहुन्थ्यो। दाइचाहिँ एक्लै सुत्नुहुन्थ्यो।
कात्तिक महिनाको रात। अन्दाजी १ बजेको छ। बाहिर तुइँऽऽऽय, तुइँऽऽऽय, तुइँऽऽऽय...को आवाज आयो। आवाज अलिक टाढाजस्तो।
हल्का बिउँझेको रहेछु। सुनिहालेँ। डरले सात्तो गयो। आफूले जानेको समाधान थियो– सिरक आफूतिर तान्ने, मुख छोप्ने अनि बुवाको जीउमा लपक्क टाँसिने।
मैले केही सोध्नु नै परेन, बुवाले आफैं भन्नुभयो– केही हैन सुत्। केटाकेटी न परेँ। निदाउन पो लागेछु।
फेरि उसैगरी आवाज आयो।
तुइँऽऽऽय, तुइँऽऽऽय, तुइँऽऽऽय
बुवा निदाइहाल्नुभयो। मेरो डर भगाइदिने कसले?
आवाज झन् नजिकै आयो।
आवाजले भन्यो:
आकाशै बाँधौं, पातालै बाँधौं
हात बाँधौं, चल्नेका खुट्टै बाँधौं
बोल्नेको मुखै बाँधौं
पूर्व बाँधौं, पश्चिमै बाँधौं, उत्तरै बाँधौं, दक्षिणै बाँधौं,
चारै दिशा बाँधौं ।
तुइँऽऽऽऽय, तुइँऽऽऽय, तुइँऽऽऽय... ।
डर अब त झन् बढ्यो।
बुवालाई बोलाउन पनि सकिनँ। बुवा उसैगरी घुरिरहनुभएको छ। महादेवस्थानको चौरको धारोको आवाजसमेत ठूलो–ठूलो भएको जस्तो लाग्न थाल्यो। त्यत्तिकैमा एक जना मान्छे हाम्रै घरतिर आएजस्तो लाग्यो।
पाइतालाका आवाज सुन्दा हाम्रै आँगनमा मानिस आएजस्तो।
सो मान्छेले फेरि उसैगरी फलाक्यो...
भूत बाँधौं,
प्रेत बाँधौं,
महामसान, करवीर मसान, कालो मसान, भष्मेश्वर, पहेंला अक्षता खाने, काला अक्षता खाने, शाङ्किनी बाँधौं, शाङ्किनी बाँधौं,
उनान्चास वायु बाँधौं,
शनिश्चर ग्रहगोचर बेताल पच्चिसा बाँधौं,
मनुवालाई दुःख, पिराऊ, कष्ट नदे,
जय जय गुरू गोरखनाथकी जय । तुइँऽऽऽऽय, तुइँऽऽऽय, तुइँऽऽऽय... ।
अब चाहिँ बुवालाई बोलाएँ। बुवाले निद्रैको तालमा हँ... भन्नुभयो। अलि बिउँझेपछि भन्नुभयो– नडरा। अनि खुरू–खुरू माथ्लो तलाबाट तल झर्नुभयो। लगत्तै मूलढोका खोलेको आवाज सुनियो।
म झन् धेरै डराएको छु। सिरकभित्र गुटुमुटु परेको पर्यै छु।
घरभित्रै पो आवाज आयो– तुइँऽऽऽय, तुइँऽऽऽय, तुइँऽऽऽय...
खासमा बुवा त बाहिर आएको मान्छेलाई ढोका खोल्दिन पो झर्नुभएको रहेछ।
सिरकभित्रबाट टाउको बाहिर निकालेँ। धन्न बुवा छेवैमा आइसक्नुभएको रहेछ। ममी र दाइ पनि बिउँझिनुभो। उहाँहरू उठ्नुभो। त्यसपछि भने मेरो पनि डर अलिक हरायो।
त्वम गुरू शरणम्।
बाबा गुरू गोरखनाथकी जय जय जय
गोरखनाथ, मछिन्द्रनाथ की जय।
माता दक्षिणकाली, रक्तकाली, नरदेवी, गुह्येश्वरी माता की जय।
थानापति, बालापति, गुरू पशुपतिनाथ की जय।
भोलिपल्ट पो सबै कुरा थाहा भयो। हिजो राति के के भन्दै फलाक्ने र तुइँऽऽऽय पार्ने मान्छे जोगी रहेछन्। सिदा लिन आएका थिए।
डरचाहिँ निरन्तर भइरह्यो।
त्यो वर्ष डराइ–डराइ फेरी लगाउनेलाई झेलें। अर्को पटक त डराउँदिनँ भन्ठानेको। फेरि पनि फेरीको डर लाग्यो। तर पनि केही छैन। बुबा हुँदै हुनुहुन्छ, जे परे पनि भन्ने विचार मनमा आउँथ्यो।
म करिब ७–८ कक्षा पढ्दासम्म चाहिँ मलाई थाहा भैसकेको थियो– फेरी के हो र किन लगाइन्छ भनेर। फेरी कात्तिक र चैतमा लगाइने रहेछ।
फेरीको चलन
बुवाले भन्नुभएको– हरेक चैत वा कात्तिक महिनामा स्थानीय जोगी वा नाथ समुदायका तोकिएका व्यक्तिले फेरी लगाउँछन् रे!
मध्यरात वा मानिस सुतिसकेपछि मात्र फेरी लगाउनुपर्ने मान्यता रहेछ। फेरी लगाउने क्रममा मन्त्र फलाक्दै मृग, भेंडा वा बाह्रसिङ्गेको सिङ बजाइन्छ रे! सिङ भालेकै हुनुपर्ने मान्यता रहेछ। चैत वा कात्तिक महिनामा फेरी लगाउन आउने भनिएपछि कुन दिन वा तिथिमा फेरि लगाउन जोगी आउँछन् भन्ने कुरा थाहा हुँदैन रे।
आफ्ना मान्छे र ती मानिसको बालीनाली, पशु चौपाया लगायतलाई भूतप्रेत, पिशाच, मसान, मुर्कट्टाजस्ता दुष्ट आत्माबाट जोगाउनका लागि मन्त्र फलाक्दै जोगीले फेरी लगाउने गरेको किम्बदन्ती पाइन्छ।
बुवा हुनुहुन्छ त, डर छैन
अँ, म डरको कुरा गर्दै थिएँ। फेरी लगाउने कुरा त एउटा प्रसंगमात्र हो। बुवा हामी सबैको डर भगाउने 'सिम्बोल' हुनुहुन्थ्यो। बुवा कहिल्यै पनि र केही कुरासँग पनि डराएको मलाई याद छैन।
शायद हाम्रो मनोसामाजिक अवस्था ठीक बनाउनका लागि पनि हुन सक्छ। तर उहाँ कहिल्यै डराएको मनस्थितिमा हुनुभएन।
बुवा नडराउनु भएका कारण हामी पनि उहाँ साथमा हुँदा ढुक्क हुन्थ्यौं।
‘मैले हेरिराखेको छु, नडरा है।’
म डरकी पूरी। कहिलेकाहीँ घाँस काटेर फर्कंदा वा केही कामले गैरागाउँ जाँदा अलिक साँझ पर्थ्यो। साँझ पर्नेबित्तिकै बुवा कहाँ छे यो भन्दै आइहाल्ने। आउन नभ्याए घरैबाट बोलाउने। कहाँ आइपुगी भनेर याद गरिरहनुहुन्थ्यो। द्वादशे खोलामा आइपुग्दा बुबाको आवाज सुनिन्थ्यो– मैले हेरिरहेको छु। नडराइ आइज है...।
मलाई बुवाको आवाज मात्रैको पनि ठूलो सादर हुन्थ्यो– नडराएजस्तै गरेर घरमा आइपुग्थें।
बुवा नहुनु भएको एक वर्ष भइसकेको छ। अहिले जतिबेला म साँझको बेला त्यही द्वादशे खोलामा हुन्छु, त्यतिबेला साँच्चै डर लाग्छ किनकि अब मसँग ‘नडरा, मैले हेरिरहेको छु’ भन्ने आवाजको सम्झनामात्र बाँकी छ।
('बुवा' पुस्तकबाट साभार)