वैदेशिक रोजगारी र रेमिट्यान्सको विषयलाई समेटिएको पुस्तक ‘परदेशको पसिना’ सार्वजनिक भएको छ। किताब पब्लिसर्सले बजारमा ल्याएको यो पुस्तकलाई लेखक तथा पत्रकार यज्ञशले सम्पादन गरेका हुन्।
‘देशको अर्थतन्त्रमा कुल ग्राहस्थ उत्पादनको अनुपातमा एक चौथाई योगदान भएको, मानव विकास सूचकांक लगायतका सामाजिक-आर्थिक विकासमा ठूलो योगदान भएको र देशमा विकराल बेरोजगारी समस्यालाई निकास दिने वैदेशिक रोजगारीका धेरै आयामबारे चर्चा हुनुपर्ने जस्तो लाग्छ,’ यज्ञशले भने, ‘यो पुस्तकमा यसबारे केही तथ्यपरक विश्लेषणको प्रयास गरिएको छ।’
सार्वजनिक पुस्तकमा वैदेशिक रोजगारीको इतिहास, रेमिट्यान्सबाट प्राप्त धनको वर्तमानमा समाजमा महत्व, रेमिट्यान्सको प्रयोगबारे स्थापित मान्यता र अवधारणामाथि प्रश्न, वैदेशिक रोजगारीमा जानेहरुको अवस्था, वैदेशिक रोजगारीमा महिला, दलित समुदायको आर्थिक उत्थानमा यसको भूमिका, वैदेशिक रोजगारीबारे सरकारी नीतिजस्ता विषयमा चर्चा गरिएको छ।
मैना धिताल, राजाराम गौतम, तुलानारायण शाह, रमेश कुमार, सजना बराल, रामचन्द्र श्रेष्ठ र जनकराज सापकोटाका सातवटा लेखहरू पुस्तकमा छन्।