पुस्तक समिक्षा
डोट्याली भाषाको शब्द ‘छाइल’ को अर्थ हुन्छ ‘छाया’। साहित्यकार लोकराज भट्टको उपन्यास ‘छाइल’मा सुदूरपश्चिमको सभ्यता र संस्कृतिको छाया प्रतिविम्वित भएको छ। बुक्स हिमालयले छापेको यो उपन्यासले नेपाली साहित्यमा नवीन स्वाद पस्किएको छ।
यसमा प्रेम, संस्कृति, द्वन्दकालका पीडा, राजनीति, सामाजिक विभेद र आर्थिक अभावका कुरा छन्। पढ्दापढ्दै पाठकहरू आञ्चलिक स्वादले निथ्रुक्कै रुझ्छन्।
उपन्यासमा समय र भोगाइले साधारण मानिसको मनोवृत्ति कसरी परिवर्तन गराउँछ र माटोसँगको प्रेम अर्थात् बालापनको सम्झना कसरी हुर्हुर्ती आउँछ भन्ने मिठो चित्रण छ।
छाइलमा भरपुर आञ्चलिक स्वाद छ। एउटा उदाहरण, ‘बाले कहिलेकाँहि पढेको देख्दा स्याबास जिते पढ्नू पणन्छ भन्थे।’
अर्को उदाहरण, ‘भाग्यी चेला शहरमा गाडी घन्काउँदा छन्, अभागी गाउँघर जन्मी भारी तन्काउँदाछन्।’
उपन्यासमा गाउँघरका दुःखको मिहिन ढङ्गले चित्रण गरिएको छ। बाल्यकालमा गरेका गल्ती र रहरमा स्वयं पाठक नै बाल्यावस्थामा पुग्छन्। पाठकलाई नै बाल्यकालमा लैजान सक्नु लेखकको सफलता हो।
उनी लेख्छन्, ‘तँ ठूलो भएपछि के बन्ने होइ?’
‘ढोली बन्ने हुँ।’
वास्तवमा बाल्यकालका रहर अचम्मका उट्पट्याङ खालका हुन्छन् जो हामी सबैले भोगि आएकै हौं।
जब उमेरले अलिक फड्को मार्छ तब स्कुले जीवनमा पुगेका बखत बारीमा काँक्राका बतिला चोर्नु, बोडी भाँच्दै खानु, विना चप्पल खुट्टामा चुचे ढुङ्गाहरूको घोचाई सहँदै हिँड्नु, साथीसंगीसँग पाखुरा सुर्कंदै लडाई गर्नु, अहा! लेखकले दुरूस्तै उतारेका छन् समयका वहावहरूलाई।
जितु उपन्यासका नायक हुन्। उनले बालसखासँग गरेका कुरा रहर र कल्पना गज्जबकै छन्। जितु शहर जाने कुरा र कल्पना बालसखालाई यसरी सुनाउँछन्, ‘गाडी कत्रो हुन्छ ? घर जत्रो। कसरी हिँड्छ ? पइला पेट दुखे जसरी बिचचेइ गरन्छ। तैपछी घुईंरी भागन्छ।’
यस्ता स–साना कुरा पढ्दा आनन्द आउँछ। सानोमा अभिभावकले डर देखाएर कुनै ठाउँ एक्लै हिँड्नु हुँदैन भनेर सिकाउने कुरा पनि छ यसमा।
‘नाना मान्सलाई शिवरात्रिमा वलि चढाउँछन्’, यसरी केटाकेटीले सताएर एकोहोरो गर्ने मागबाट छुट्कारा पाउन देखाइने डर समेत लेखेर पाठकको मन छुन उपन्यासकार सफल छन्।
छोटाछोटा कथा जस्ता लाग्ने उपन्यासका शीर्षकहरू पढ्दा कौतुहलता जाग्छ। उपन्यास सलल एउटै धार र एउटै कथामा बगेको छ। कतै पनि अत्यास र झिँजो लाग्दैन।
प्रेम जीवनको अभिन्न अंग हो। प्रेमले ऊर्जा दिन्छ। हिम्मत बढाउँछ। लेखक स्वयं प्रेम बनेर पाठकसामू आइपुग्छन्।
कहिले पढाइको पीडा, कहिले कमाइको पीडा, कहिले प्रेमको पीडा, जतिजति बेला पीडा थपिन्छ त्यतिबेला जीवन एक अंश साँघुरो लाग्छ। त्यही साँघुरो भित्र जुनकिरीको जत्तिकै मधुरो उज्यालो पोखिँदा पनि संसार फेरि मनमोहक बन्छ।
जीवन घामपानी रहेछ! छुटेको प्रेम भेटिनु र पुराना सम्झना फेरि ताजा भएर रमाउन पाउनुको खुसी नै बेग्लै हुन्छ।
सोझा गाँउले द्वन्दको पीडामा कसरी मुठी उचालेर संघर्षमा होमिन्छन् र कसरी सांस्कृतिक विभेदलाई पन्छाउन सकिन्छ भनेर पनि उत्तिकै दरिलो भावना प्रस्तुत गरिएको छ पुस्तकमा।
यसमा बाबुछोराको असिम माया छ। एउटा युवा बेरोजगार भएर शहरको भिडमा हराउँदा त्यहाँ पनि बाबुको छायाँ पुग्न सफल छ। बाबुको स्नेहले अभावमा पनि खोजिरहेको छ सन्तानलाई। बाबु आफ्ना रहर ढुङ्गासँग बाँड्न तयार हुन्छ, पहाडसँग सिंगौरी खेल्न तयार हुन्छ। तर सन्तानको अभाव स्वीकार्न तयार हुँदैन।
उपन्यास पढ्दै जाँदा बाबुछोराको प्रेमले लछप्पै बनाउँछ। आँखा रसाउँछ। जन्मथलो, टेकेको माटो, तिर्खा मेटेको पँधेरी छाडेर जाँदा सबै टाढा हुँदा पनि बा को आत्मीयता सबै भन्दा नजिक हुन्छ।
छाइल सन्देशमुलक छ। काव्यीक पनि। यति मीठो गरि विम्ब खेलाइएको छ कि प्रशंसा नगरि मन मान्दैन।
‘सूर्यले आँखा उघार्ने समय हुँदो हो ... तारा लुक्नलाई आकाशमा गहिराई खोजिरहेका थिए’, उपन्यासको उद्धरण हो यो।
उनले उपन्यासमा साहित्यीक रस छताछुल्ल पोखेका छन्। रातलाई उनी यसरी प्रस्ट्याउँछन्, ‘झ्याउँकिरी कराइरहेका थिए। चरा बोल्न छोडी सकेका थिए। रात कालो छायामा हराउन अँध्यारोमा लम्किने तरखरमा थियो।’
देवता रिसाउँछन् भन्ने भ्रम पनि चिरिएको छ, ‘छोरीले पर सर्नु भनेको आफ्नो किरिया आफैं गर्नु हो।’ यसले हृदयको गहिराइसम्म छुन्छ। वास्तवमा महिला महिनावारी हुनु प्राकृतिक देन हो।
महिला माथिको विभेद, पुरूषप्रधान समाज र अन्धविश्वासमा जकडिएको सेरोफेरोलाई देखाइएको छ उपन्यासमा।
छाइल उपन्यासमा ५७ वटा शीर्षक छन्। जस्तो किः बाको टोपी, अक्षरको यात्रा, प्रतीक्षा, लालटिन, नौलो संसार, पातको सुल्पा, फेल, पापीधारा, रामधुलाई, लास्ट बेन्च, पास, जेठी दमिनी, दारुको तमासा, बाल बिद्रोह, बेलुन चोर, समयको लिला, डर नै डराएका बेला, मलामी कुकुर, सेकेन्ड डिभिजन, दमिनीको देहान्त, दिदी चरी बनिन, बैंसको बासना, पिरेमको बेचैनी।
त्यसैगरि मनको कुमाउनी, सेतीको किनार, मन घोच्ने सुइराहरू, छाता, साइकल, मुस्कानको झझल्को, जीवनको छाल, तितो मिलन, बाको फोन, राँकेभिरको भुत, सुइनाको बाटो, नैपालको ठाउँ, बाका आँसु, घामपानी, इन्द्रेणी साँझ, शनिबार, अनिँदो रात, अलमल, शान्तिको बाटो, परम आनन्दलगायत शीर्षक छन्।
सुरुमा पढ्दा वियोगान्त जस्तो लाग्छ तर अन्तिममा पुग्दा संयोगान्तले मनमा आनन्द दिलाउँछ। वियोगान्तले मन छट्पटीमा परेका बेला अन्तिममा मिलनले भोकाएको पेट खाना पछि धित् मरे झैँ हुन्छ।
समग्रमा, उपन्यासकार लोकराज भट्ट पाठकको मनमस्तिष्कमा सजिलै बस्न सफल भएका छन्। छाइल सुदूरपश्चिमको अर्गानिक खुराक बनेको छ।
कृतिः छाइल
विधाः उपन्यास
लेखकः लोकराज भट्ट
प्रकाशकः बुक्स हिमालय
मूल्यः ४५० रुपैयाँ।