प्रिय पाठक!
यो समीक्षा होइन।
'जसरी हाम्रो जीवन सूत्रबद्ध छैन, त्यसरी नै यो पुस्तक पनि सूत्रबद्ध छैन।'
मेरा साथी सञ्जयले यति भनेपछि मैले उनको लेखनमा सूत्र खोज्नुको अर्थ छैन।
म 'लयबद्ध' भन्छु। सञ्जय 'सूत्रबद्ध' भन्दा रहेछन्। सूत्र भनेको अंग्रेजीको फर्मुला मात्रै होइन, बन्धनको डोरो हो।
जीवन सूत्रबद्ध छ वा छैन भन्नुमा र जीवन लयबद्ध छ वा छैन भन्नुमा भेद छ कि छैन, म अलमलमा परेको छु।
जबसम्म भौतिक रूपमा सञ्जय र म आमनेसामने थियौं, त्यति बेलासम्म 'लयबद्ध' वा 'लयबद्धता' भन्न थालेको थिइनँ।
यस विधामा हामी दुईबीच चर्चा पनि भएन।
अलमलकै बीचमा पनि यति भन्न सक्छु, लयबद्धता छ र त जीवन छ! छैन भने जीवन पनि छैन। 'लयबद्ध' को विपरीतमा 'अस्तव्यस्त' भन्ने गरेको छु।
म नदीमा लय देख्छु; हावामा, पहाडका तरेलीहरूमा, लेकका फाँट र पाटनहरूमा, आकाशको बादलमा अनि बादलसँग लुकामारी खेल्दै गरेको चन्द्रमामा पनि लय देख्छु।
एउटा लय छ र पो हरेक बिहान सूर्य उदाउँछ, साँझ अस्ताउँछ। वा सूर्य उदाएर बिहान हुन्छ र अस्ताएर साँझ हुन्छ।
हजुरबाको पृथ्वी घुमेन, सञ्जयको घुम्छ। ब्रह्माण्डका सबै पिण्ड घुम्छन् एउटा लयमा। म भन्न सक्दिनँ, यी पिण्डहरू घुम्ने र घुमिरहने सूत्र छ कि छैन तर लय अवश्य छ भन्ठान्छु। यी पिण्डहरू मानव चेतनाले थाहा पाउनुभन्दा पहिले नै घुम्थे, आखिर केले घुमाउँदैछ यिनलाई!
यिनले लय गुमाएका दिन के होला भन्ने कल्पना पनि गर्छु कहिलेकाहीँ।
कल्पना न हो, गर्दैमा के जान्छ र!
सञ्जयको 'पात्रहरू' र सञ्जयका पात्रहरू मेलोमारी पढेँ। खै! केको सोख हो कि दम्भ! हातमा रातो मसीको डटपेन नबोकी अक्सर कुनै पनि किताब पढ्दिनँ।
मेरो प्रथम दृष्टि पुस्तकको विषयवस्तुमा भन्दा बढी शब्दमा र तिनले बनाएको वाक्यमा जान्छ। पदसंगति र शब्दको भावसंगत प्रयोगमा ध्यान जानु मेरो पठनशैली हो।
तोता मैनाको वा पिनासको कथा नै किन नपढूँ!
प्रिय पाठक! प्रश्न अवश्य गर्नु हुनेछ, तिम्रो आफ्नै लेखाइ नि?
निश्चय नै; म शब्द, वाक्य र भाव पढ्ने औसत विद्यार्थी हुँ। यति चाहिँ अवश्य हो, म गल्ती कम गर्न अधिकतम प्रयास गर्छु।
कुनै समय थियो, सञ्जय र म पदसंगतिबारे लामो छलफल र तर्कवितर्क गर्थ्यौं। अक्सर त्यो समय अखबारका शीर्षकमा प्रयुक्त शब्दहरू हाम्रो छलफलका विषय हुन्थे। समाचारको लिड कति लामो वा छोटो भयो, यो वाक्य किन यति लामो! अनावश्यक के लेखिएछ, इत्यादि।
मैले कसैसँग धाक लगाइहाल्नुपर्ने गरी ठूलो संख्यामा किताब पढेको छैन, नेपाली लेखककै पनि नाम चलेका कयौं किताब पढेको छैन। विदेशी किताबको के कुरा!
मैले पढेका समकालीन लेखकका किताबहरूमध्ये 'पात्रहरू' जत्तिको लयबद्ध अर्को कुन थियो भनेर सम्झिने प्रयासमा छु।
सञ्जय र म समकालीन भोक्ता भए पनि हाम्रो स्थान र परिवेश फरक छ। घटना र पात्रका प्रवृत्तिहरू चाहिँ उही छन्।
साथी उस्तै; स्कुल उस्तै; शिक्षक उस्तै; डाँडाकाडा, चौतारा, पँधेरा, उकाली ओराली सबै उस्तै छन्।
सञ्जय अधिक नेपाली युवाहरूको सपनाको मुलुक, सायद विश्वका अधिकांश देशका युवाहरूको पनि, संयुक्तराज्य अमेरिका पुगे कुनै संयोगले। खासमा उनको स्वभावविपरीत पो थियो कि भन्ठान्छु।
भन्थे– ए! फलना तँ वासिंटन डिसी घुम्दै गर्दा म सगरमाथा बेस क्याम्पमा हुनेछु, तैंले पेरिसमा आइफल टावरको फोटो खिच्दै गर्दा म कालापानीमा हुनेछु।
भावनाको यो सूत्र काम लागेन। यस्ता कति होलान् सञ्जयको जीवनमा! मेरो र हाम्रो जीवनमा!
भनी साध्य छैन भने लेखेर के साध्य हुनु!
'पात्रहरू' मा सञ्जयका अनेक पात्र छन्। स्कुले साथी छन्; शिक्षक, प्राध्यापक, लेखक, कुनै समयमा सहकर्मी साथीहरू, अहिलेको ठाउँका परिचित अपरिचित अनेक पात्र छन्।
ती पात्र के प्रतिनिधित्व गर्छन्, मुख्य कुरा यही हो। कुनै पनि पात्र फगत पात्र बन्न उपस्थित छैनन्।
प्रत्येकले आफ्नो समयको चेतना बोलेको छ; बाल्यकालको, किशोरवयको, उत्ताउलो पच्चीसीको, अनेक भुक्तामानपछिको परिपक्व वयस्कको र डाडाँमाथिको जूनघामजस्तो वृद्धवयको।
सञ्जयले आफ्ना पात्रहरूलाई निसंकोच पाठकमाझ पेस गरिदिएछन्। अझ भनूँ, यो समाजका सामुन्ने उभ्याइदिएछन्।
आजको समयले थाहा पाओस् ती पात्र र प्रवृत्तिहरू, को कस्ता थिए। र, आफैं गमोस्।
सञ्जयको स्कुले समयका 'मीनाहरू' कति उम्किन सके, कति सकेनन् तर तिनले चुपचाप सहे। आजका मीनाहरू सहँदैनन्। चेतनाको फैलावट व्यापक भएको छ।
सञ्जय ओशोको चर्चा गर्थे, उनकै प्रभावले मैले ओशो पढ्न थालेँ। आज पर्यन्त पढ्दैछु। सुन्दैछु।
ओशो बीस वर्षको एक युग हुन्छ भन्थे। उनी बितेको बत्तीस वर्ष नाघ्यो। अहिले भए के भन्थे होलान्!
मेरो विचारमा त एक वर्षको एक युग हुन थाल्यो। पोहोर किनेको मोबाइल फोन सेट अहिले काम नलाग्ने भइसक्यो।
ओशोकै लाइनमा सञ्जयले भनेछन्– आज जानेको भोलिका लागि हुँदैन, भोलि जानेको पर्सिका लागि हुँदैन।
आज धेरै 'मीनाहरू' चतुर भइसके। 'मि टू' ले संसार ढाकेको छ। थोरै मीनाहरूका शिक्षक अझै पनि सलाई खोज्ने बहान गर्दै होलान्। फन्दामा पनि पर्दै होलान्। समयको चेतना विश्वव्यापी भएको छ।
ती र यी मीनाहरूले 'पात्रहरू' पढून्। समय चिनून् र आँट बटुलून्।
ती 'स्यानाबा' सर, गणित–विज्ञानका ती सर र आजका सरले पनि पढून् र 'मम' भनून्।
अहिले कोरोना आएको छ। उहिले विफर आयो, प्लेग आयो। अलिकपछि सार्स, मार्स इबोला इत्यादि आए। अझै अब के के आउन बाँकी छ, के थाहा!
सञ्जयको मनमा गढेझैँ अझै मान्छे बाँचेकै छ। आत्महत्या गर्न जानेर पनि बाँचेकै छ।
सञ्जयको निष्कर्ष छ– हामी कारणहरूमा बाँचेका छौं, परिणाम हाम्रो वशमा छैन।
हामीले भगवान मानेका श्रीकृष्णले पाँच हजार वर्षअघि नै भनेका हुन् नि– कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
तैपनि हामी 'मा कर्मफलहेतुर्भुर्मा ते संगोऽस्त्वमकर्मणि' मा विश्वास गर्छौं। सायद यसै कारण हामी बाँच्ने प्रयासमा छौं।
हो, सशस्त्र द्वन्द्वमा सोह्र हजार मान्छे मारिए। सञ्जयको प्रश्न छ– यो संख्याभित्र जो परे, तिनीहरू नै किन परे?
गएको शनिबार 'पात्रहरू' को जमघटमा देवेन्द्रले एउटा प्रसंग सुनाए। अरुणा लामालाई सञ्जयको प्रश्न थियो अरे– खुसी पोहर साल नै किन फाट्यो? परार वा यसै साल किन फाटेन?
म ठान्छु जुन कारणले अरुणा लामाको खुसी पोहोर साल नै फाट्यो, ठिक त्यही कारणले सोह्र हजारमा तिनै मान्छे परे जो परेर मारिए।
भाग्य, नियति, प्रारब्ध, लेखान्त इत्यादि केही हुन्छ भने सञ्जयको प्रश्नले यही मार्ग पहिल्याउन खोजेको हो कि!
बैंसको मायाप्रेममा त आकाशको तारा झर्न छाडेपछि द्वेष, इर्ष्या, घृणा, प्रतिस्पर्धा इत्यादि हुन्छ भने अनेकन पात्रहरूको के कुरा!
अधिकांश मानिसले झैं म पनि धर्म भन्छु। भगवान् भन्छु; ईश्वर, परमेश्वर इत्यादि भन्छु। यी आदि-इत्यादिले मानिसलाई हेर्छन् कि हेर्दैनन्; मेरो के कुरा! सम्भवतः आजसम्म कसैले थाहा पाएका छैनन्।
तैपनि यसकै पछि भिड बढ्दो छ।
ती भगवानले कतिलाई हेरून्, कतिको माग सुनून्। आजसम्म मैले भगवानसमक्ष कुनै माग राखेको छैन। दर्शन गर्छु, फगत।
सञ्जयको खोजी छ– भगवान कति पूर्वाग्रही होलान्?
शिव आलोचित छन् किनभने भाङधतुरो खाए अरे, करिब नांगै हिँडे अरे, श्रीमतीको मायामा पागल भएर काँधमा सिनो हालेर खसाउँदै हिँडे अरे!
धेरै पछिका राम पनि आलोचित छन् किनभने एउटा साधारण मान्छेको कुरा सुनेर श्रीमतीलाई अग्निकुण्डमा होमिन बाध्य पारे अरे!
धेरै पछिका गौतम बुद्ध आलोचित छन् किनभने दुनियाँका घरबार छुटाए अरे!
महावीर आलोचित छन् किनभने बाह्र वर्ष नांगै हिँडे अरे!
प्रश्न त्यही हो, जो सञ्जयको मनमा छ। आजको यो दुनियामा को होला र चोखो पात्र? को होला र सिंगो पात्र, को होला र पूर्ण पात्र?
तै पनि सञ्जयको खोजी जारी छ।
अमेरिकामा फ्रेड छ चौसठ्ठी वर्षको। ऊ चौसठ्ठीमै सरकारबाट छ सय पच्चीस डलर पाउँदो रहेछ।
त्यता र यताको एउटा फरक छ। यता चार हजार रूपैयाँ पाउन सत्तरी पूरा हुनुपर्थ्यो। अहिलेको सरकारले अठ्सठी बनाएको छ; इर्ष्या, प्रतिस्पर्धा वा जेसुकै कारणले होस्!
अर्को झन् ठूलो फरक छ। फ्रेड बचेको पैसाले आफैं ड्रग किनेर खान्छ। यता जँड्याहा छोराले लुटिदिन्छ। छोरो जँड्याहा नभए बाआमा नरिवलमिस्री किनेर खान्छन्। छोरीज्वाइँ र नातिनातिनाले दसैंमा दक्षिणा पनि पाउँछन्।
धन्य! यता नेपालमा ड्रग छल्न अर्काको पिसाब किन्नुपर्ने बाध्यता कसैलाई आइपरेको छैन कि भन्ठान्छु।
जसले जति र जेजे भने पनि ह्वाइट हाउस र सिंहदरबारका पात्र र प्रवृत्ति उही छन्। शासक हुन्, संसारभरका शासकको प्रवृत्ति एउटै हुन्छ। यी कहिल्यै सेवक भएनन् र कहिल्यै हुने छैनन्।
बुद्ध, क्राइस्ट, पैगम्बर, अब्राहम लिंकन, गान्धी, मदर टेरेसा, नेल्सन मण्डेला आदि-इत्यादि त युगले जन्माएका नायक थिए।
नायक पात्रको खोजी जारी छ। सम्भवत: सञ्जय यस्तै पात्रहरूको खोजीमा छन्। शुभकामना छ।
'पात्रहरू' सञ्जय, थानेश्वर, देवेन्द्र, प्रा. दुर्गाप्रसाद भण्डारी, म र हामी जस्ता कैयन पात्रहरू बाँचेको युगको चेतना हो। आत्माको आवाज हो।
आजको जञ्जाल, ठेलमठेल र निकृष्ट स्वार्थहरूको जालझेलका बीचबाट निस्केको मन र मस्तिष्कको उच्छ्वास पनि हो 'पात्रहरू' मेरा लागि।
यसै कारणले हो कि किन हो, सञ्जय 'यति बेला म केही थकित छु, गलेको छु, जीवन बुझाइका जटिलता झन् बढेका छन्, अब म अलिकति शान्ति चाहन्छु' भन्छन्।
सञ्जयलाई अडिन विश्व छ, अमेरिका छ, त्यहाँको सानफ्रान्सिस्को छ। केही नलागे मुरलीडाँडो त छ नि!
उदास किन देखिनु र!
भनिहालेँ, सञ्जय मेरा मिल्ने साथी हुन्। आमनेसामने हुँदा आपसमा अन्तरंग कुरा हुन्थ्यो। आजकाल त्यस्तो मेसो पर्दैन।
सञ्जय एकपटक नेपाल आउँदा पिउन बोलाएका थिए। पात्रहरू छापिएपछि ताराले फोन गरिन्।
माथि लेखेँ नि! हातमा रातो कलम नलिई पढेको त पढेको जस्तै लाग्दैन।
रातोको काम गल्ती खोज्ने मात्रै होइन। आफूलाई घत लागेका पद, पदावली, वाक्य, अनुच्छेद र नयाँ प्रयोगमा चिह्न लगाउने पनि हो।
सञ्जयको साथी त हुँदै हुँ, निरपेक्ष रूपमा एउटा पाठक पनि हुँ। लेखकको सबै मनोभाव त कसरी बुझ्नु! पाठकले आफ्नो चेतनाअनुसार आफैंले अर्थ लगाउने हो।
केही वर्षअघि 'हिमाल खबर पत्रिका' मा कालीप्रसाद रिजालको एउटा लेख छापिएको थियो। मलाई खुब घत लागेको हो। साँच्चै भनूँ, घैंटामा घाम लागेको हो।
लेखनाथ पौडेलले 'पिञ्जराको सुगा' लेखे। कालीप्रसादका अनुसार हामीले पिञ्जरालाई राणा शासनको र सुगालाई शासित जनताको प्रतीक मान्यौं। यसै गरी पढ्यौं, पढायौं।
वास्तवमा लेखनाथले त्यस्तो अर्थमा लेखेका थिएनन्। उनले पिञ्जराको सुगा नै लेखेका थिए।
कालीप्रसादले लेखेको 'बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्, यी हातले सधैंसधैं नेपाल लेख्न पाइयोस्...' बोलको गीत छ, गायक हुन् रामकृष्ण ढकाल।
यो गीतमा '...बरू म नरकमै परूँ' भन्ने पदावली छ।
कालीप्रसादलाई कैयनले फोन गरेर गाली गरेछन्– तिमीले मातृभूमिलाई नर्क भन्ने!
म पनि कालीप्रसादकै लाइनमा छु।
सबै पाठक र श्रोता सामुन्ने गएर प्रष्टीकरण दिन साध्य हुने होइन।
अर्को प्रसंग, उडन्ते पनि हुन सक्छ। मोहन कोइरालालाई कसैले सोधेछ अरे– गुरू! खासमा यो 'फर्सीको जरा' को अर्थ के हो?
मोहन कोइरालाले भनेछन् अरे– बाबु! तिमीले जे बुझ्यौ, खास अर्थ पनि त्यही हो।
सञ्जयले 'पात्रहरू' लाई बेवास्ता गर्ने, वाहियात रहेछ भनेर पन्छाउने वा ठिकै लाग्यो भन्ने भरपूर छुट दिएका छन्।
उपर्युक्त तीन वटै काम मैले गर्न सकिनँ।
हामी सहकर्मीका रूपमा 'हिमालय टाइम्स' दैनिक पत्रिकामा काम गर्दा नै म सञ्जयको लेखाइबाट प्रभावित भएको हुँ।
त्यो प्रभाव झन् बलियो भएको छ।
दर्शन, विचार, सन्देश, शब्द, वाक्य, लेखनको लय, शैली र समग्र भावका दृष्टिले मेरा लागि 'पात्रहरू' उम्दा कृति हो।
सञ्जयका लागि एक हिसाबले ‘पात्रहरू’ उनको चेतनाको लहड होला, मेरा लागि आजको मान्छेको नमूना चिरफार हो।
आजको युवापीढीले पढोस्, गमोस् र पात्रभित्र आफूलाई खोजोस्।
अलिकति बांगो कुरा पनि गरूँ।
'कुनै पनि' पदावलीको अधिक चल्तीको प्रयोगमा मेरो विमति छ, सञ्जयसँग मात्रै होइन।
हिमालय टाइम्समा हुँदाको कुरा हो। देवेन्द्रले आफ्नो एउटा आलेखमा 'सायदै' शब्द प्रयोग गरेका थिए। मैले उनलाई यो प्रयोग गलत भयो भनेँ।
उनले विश्वास गरेनन्। म हेरेर आउँछु भने। भोलिपल्ट तपाईंले भनेको ठिक रहेछ भने। सञ्जयले पनि एकपटक हेरून्।
मैले माथि लेखेँ नि, 'पात्रहरू' जत्तिकै लयबद्ध अर्को किताब सम्झिने प्रयासमा छु भनेर। तै पनि कमा (,) र प्रश्न चिह्न (?) ले लय भरमार भंग गरेको देखेँ।
अहिले यति त छाती फुकाएर भन्न सक्छु– केही वर्षयता मैले पढेका गैरआख्यानमा मेरा लागि 'पात्रहरु' अजोडी कृति हो।
औपचारिकताको भारी किन बोकाऊँ! तै पनि यति चाहिँ भनिराख्छु– सञ्जयले अर्को पनि किताब लेखे भने अझै परिस्कृत र सशक्त हुनेछ।