विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको नयाँ पुस्तक 'विचारभन्दा माथि देश' लोकार्पण गरिएको छ।
सोमबार काठमाडौंको प्रज्ञा-प्रतिष्ठान डबलीमा एक कार्यक्रम आयोजना गर्दै पुस्तक लोकार्पण गरिएको हो। समारोहमा पूर्वमन्त्री सिपी मैनाली, जलस्रोतविद् तथा पूर्वमन्त्री दीपक ज्ञवाली र लेखक मिश्रले उक्त पुस्तक लोकार्पण गरे।
पुस्तकमा आफूले उठान गरेका मुख्य चार विषयवस्तु- संवैधानिक राजसंस्था, सङ्घीयता खारेजी, हिन्दु-बौद्ध राष्ट्र र कल्याणकारी (सामाजिक) लोकतन्त्र- यो देशको दूरगामी हितका लागि अत्यावश्यक भएको मिश्रको भनाइ छ।
नेपाल अब असफल राज्य हुन र नेपाली सेना मात्र गिजोलिन बाँकी रहेको मिश्रले बताए।
'राष्ट्रपतिदेखि न्यायालय, प्रशासन, प्रहरी, विश्वविद्यालय, संवैधानिक निकाय आदि सबै क्षेत्र राजनीतिबाट नराम्रोसँग गिजोलिएका छन्। अब नेपाली सेना मात्र गिजोलिन बाँकी छ। सेना पनि गिजोलिएको खण्डमा यो देश असफल राज्य हुन केही बेर लाग्दैन,' उनले भने।
यस किसिमको परिस्थितिलाई बदलिँदो भूराजनीतिले अझ पेचिलो बनाउँदै गएको उल्लेख गर्दै उनले संकटका बेला सदुपयोग गर्न 'कुशन संस्था'का रूपमा संवैधानिक राजसंस्था पुनःथापित गर्नुपर्ने बताए। उनले यस पुस्तकमा आफ्नो धारणा व्यक्त गरेका छन्। आफ्ना धारणा सबैले मान्नै पर्छ भन्ने पक्षमा नरहेको समेत बताए।
मिश्रले आफ्नो विचारभन्दा माथि उठेर देशको समस्या समाधान हुनुपर्छ भनेर यो पुस्तकमा लेखेको कम्युनिस्ट नेता तथा पूर्वमन्त्री मैनालीले बताए।
जलस्रोतविद् तथा पूर्वमन्त्री दीपक ज्ञवालीले यो पुस्तक सबै राजनीतिज्ञ, राजनीतिको अध्ययन गर्ने विद्यार्थी र अनुसन्धाताका लागि सन्दर्भ सामग्री रहेको दाबी गरे।
'यो किताब हेरेर राजनीतिक दलले मेनिफेस्टो लेख्न सक्छन्। यो पुस्तकले नेताहरूको आफ्नो स्थान के हो भनी प्रश्नसमेत गरेको छ,' उनले भने ।
पुस्तक देशका सबै प्रमुख पुस्तक पसलमा उपलब्ध छ। यसको मूल्य ४५० रुपैयाँ राखिएको छ।