हाम्रो सुरक्षा नीति के हो? यो कसले र कसरी निर्धारण गर्छ? यसको कार्यान्वयन कसरी भइरहेको छ?
पुस्तकका पाठकहरूमाझ अब यिनै जिज्ञासाहरू मेटिने गरी पब्लिकेशन्स नेपालयले एउटा नौलो विषयवस्तुतर्फ प्रयास अघि बढाएको छ।
'नेसनल सेक्युरिटी एन्ड दी स्टेट: अ फोकस अन नेपाल' (National Security and the State: A focus on Nepal) किताबले हाम्रो मुलुकको सुरक्षा संवेदनशीलता र यसप्रतिको हाम्रो तयारीबारे अवगत गराउने प्रकाशकले जनाएको छ।
यो विषय अवकाशप्राप्त सहायक रथी केशरबहादुर भण्डारीले अर्थ्याउने भएका हुन्। लेखक भण्डारीले इच्छाएको व्यक्तिलाई पुस्तक उपहार दिएर विमोचन गर्ने प्रावधानअनुसार कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङ र लेखक भण्डारीले संयुक्त रूपमा पुस्तक अनावरण गरेका छन्।
भण्डारी राष्ट्रिय सुरक्षा परिषद सचिवालयमा रहेर कामसमेत गरिसकेका अधिकारी हुन्। राष्ट्रिय सुरक्षा विषयमै विद्यावारिधि समेत गरेका भण्डारीले देश, विदेशका विश्वविद्यालय र सुरक्षा सम्बन्धी अध्ययन केन्द्रहरूमा प्रवचन दिँदै आएका छन्।
भण्डारीका अनुसार राष्ट्रिय सुरक्षा परिषदको सचिवालय देशको सुरक्षा रणनीति बनाउने सबभन्दा महत्वपूर्ण निकाय हो। त्यसैले यसलाई अधिकारसहितको नेतृत्व दिइनुपर्ने विचार भण्डारीले सार्वजनिक वृत्तमा राख्दै आएका छन्।
२०४६ सालको परिवर्तनसँगै मुलुकले राष्ट्रिय सुरक्षा परिषदको आवश्यकता महसुस गरेको हो। परिषदमा कार्यरत रहँदाकै बखत भण्डारीले सुरक्षा इतिहासमै पहिलोपटक नेपालको राष्ट्रिय सुरक्षा नीतिको मस्यौदा तयार पारेका थिए।
किताबबारे प्रकाशकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'दुई विशाल एवं शक्तिशाली छिमेकीको बीचमा अवस्थित हाम्रो सानो मुलुकमा पटकपटक अनेक मुद्दाहरू सतहमा आइरहेका हुन्छन्। तर सामरिक महत्वका त्यस्ता विषयवस्तुलाई हामीले सुरक्षाका दृष्टिले भने बुझ्ने प्रयास गरिरहेका हुँदैनौं। जस्तो कि पछिल्लो समय अत्यधिक चर्चामा रहेको कालापानीको मुद्दा। दुई मुलुकबीचको यो सीमा अतिक्रमण सम्बन्धी विषयले हामीबीच परम्परादेखि चल्दै आएको आपसी मैत्री सम्बन्ध र खुला सिमानाका मुद्दालाई बहसका रूपमा अघि बढाएको थियो। तर यसै कुरालाई लिएर छिमेकमा रहेका साना मुलुकको राष्ट्रिय सुरक्षा र राष्ट्रिय सुरक्षा नीतिको हिसाबले यसबारे धेरै मन्थन भएको पाइएन।'
'नेपाली समाजले सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्र पहिचान जस्ता विषयहरूलाई अत्यन्त संवेदनशीलताका साथ लिने गरेको छ। यो राष्ट्रिय सुरक्षा र राष्ट्रिय सुरक्षा नीतिसँग प्रत्यक्ष जोडिएको विषय हो। अर्कोतर्फ राष्ट्रिय सुरक्षा नीतिलाई मुख्यगरेर राष्ट्रिय हित, राष्ट्रिय मूल्य र मान्यताको जगेर्ना, राष्ट्रिय अस्तित्वको संरक्षण, अनि सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको भलाइले मार्ग निर्देशित गर्दै आएको छ। त्यसैले पनि पछिल्लो समय राष्ट्रिय सुरक्षा र राष्ट्रिय सुरक्षा नीतिमा सर्वसाधारणको समेत चासो र अभिरूचि बढ्दै गइरहेको छ,' विज्ञप्तिमा थप भनिएको छ।
त्यसैगरी किताबको अर्को एउटा अध्यायले नेपाली सेना, यसको भूमिका, विशेषता र सांगठनिक एवं अन्य पक्षहरूलाई समेट्ने जमर्को गरेको छ। यसले नेपाली सेनाको संस्थागत स्वरूपलाई समेत आम पाठकका माझ स्पष्ट पार्ने लेखकको ठम्याइ छ।
साना सार्वभौम राष्ट्रहरूको राष्ट्रिय सुरक्षा परिस्थितिलाई केन्द्रित गरेर यो एउटै पुस्तकले राष्ट्रिय सुरक्षाको फराकिलो सैद्धान्तिक अवधारणालाई समेत बुझाउने प्रयत्न गरेको लेखकले बताए।
विमोचन कार्यक्रममा पुस्तकले उठाएका विषयवस्तुबारे अवकाशप्राप्त रथी बालानन्द शर्माले प्रकाश पारेका थिए।
‘यो पुस्तक तयार पार्न पर्याप्त शोधकार्य गरिएको देखिन्छ,’ शर्माले भने, ‘पुस्तकालयहरूका निम्ति समेत संग्रहणीय स्तरको यो पुस्तक सन्दर्भ सामग्रीका रूपमा उल्लेख हुने लायकको छ।’
कार्यक्रममा पुस्तककै सेरोफेरोमा रहेर सञ्चारकर्मी भूषण दहालले लेखक भण्डारीसँग वार्तालापसमेत गरेका थिए। त्यस क्रममा लेखकले मुलुकका लागि पहिलो महत्वपूर्ण दस्तावेज संविधान भएजस्तै त्यसपछिको दोश्रो महत्वपूर्ण दस्तावेज राष्ट्रिय सुरक्षा नीति हुने बताए। तर यस्तो महत्वपूर्ण दस्तावेजलाई कार्यान्वयन गर्न अझैसम्म पनि हामीकहाँ ढिलाइ भइरहेको उक्त दस्तावेजका मस्यौदाकार एवं लेखक भण्डारीले औंल्याए।
विमोचन समारोहमा गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले पनि यो पुस्तकको महत्वबारे चर्चा गरेका थिए।
‘राष्ट्रिय सुरक्षाजस्तो अत्यधिक चर्चा हुने तर कमै पढिएको विषयवस्तुलाई यसपाला हामीले प्राथमिकताका साथ पाठकसमक्ष राखेका छौं,’ पब्लिकेसन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्केले भनिन्, ‘हाम्रो सुरक्षा र सुरक्षा नीतिका फराकिलो विषयवस्तुलाई सम्वन्धित विज्ञद्वारा सरल भाषामा बुझाउन खोजिएको यो संभवत पहिलो प्रयास हो।’
४२६ पृष्ठको पुस्तकलाई ९ सय ९५ रूपैयाँ मूल्य राखिएको छ। ईबुकको प्रतिलिपि थुप्रै डटकम किन्न सकिन्छ। यो पुस्तक विश्वव्यापी रूपमा अमेजनमार्फत् उपलब्ध हुनेछ।