बहुदलपछिका चुनाव नियाले, जनयुद्धको माहोल भोगे, मधेस आन्दोलन देखे। चुनावमा मतदातालाई उपयोगपछि गरिने उपेक्षा, जनयुद्धमा विभिन्न तप्काका मानिसलाई गरिएको प्रयोग र मधेस आन्दोलनका प्रभावलाई लेखक ईश्वर दाहालले एकीकृत रूपमा संग्रह गर्ने निधो गरे।
तीनै सेरोफेरोको कथा संग्रह गर्दै दाहालले 'मध्यान्ह झुल्के घाम र गोधूली' उपन्यास सार्वजनिक गरेका छन्।
चार वर्ष लगाएर तयार पारिएको उपन्यासमा यदुलाई मुख्य पात्र बनाउँदै लेखक दाहालले यिनै सेरोफेरोका कथा उतारेका छन्।
परिवेश र पात्र परिचित गराउनका निम्ति उनले अनिलबाट वर्णन गराएका छन्। विस्तारै उनले मुख्य पात्र यदुको पेशा, उसको पृष्ठभूमि र उसलाई साथ दिने पात्रहरू र सम्बन्धित परिवेशलाई पाठकसँग साक्षात्कार गराउँछन्।
आफ्नो उपन्यासलाई उनले तीन भागमा बाँडेका छन्। मध्यान्ह, झुल्के घाम र गोधूली। मध्यान्हलाई उनी प्रोमोका रूपमा अर्थ्याउँछन्।
उपन्यासको लेखन शैलीबारे दाहाल भन्छन्, ‘भिडिओ माध्यममा धेरै काम गरेको हुनाले प्रोमो हाइलाट्सका बारेमा म अभ्यस्त नै थिएँ। उपन्यासमा पनि त्यसैको प्रयोग गरेको छु।’
उपन्यासमा यो प्रयोगलाई धेरैले नौलो मान्दै प्रशंसा समेत गरेका छन्।
आख्यानकार बुद्धिसागरले दाहालले उपन्यासको परम्परागत लेखन शैलीमा परिवर्तनको सुरूआत गरेको टिप्पणी गरेका छन्।
‘हाम्रा प्राय: उपन्यासको ओपनिङमा धेरै काम हुँदैनन्। सूर्योदसँगै ऊ हिँड्यो भनेर सुरूआत हुने खालका र सूर्यास्तसँगै ऊ हिँडिरह्यो भनेपछि पाठकले बुझ्नुपर्ने किसिमका हुन्छन्। तर उहाँको ओपनिङ फरक लाग्यो। उहाँले नयाँपन दिनुभएको छ,’ उपन्यास माथिको टिप्पणीमा बुद्धिसागरले भनेका छन्।
मध्यान्हमा समेटिएका विषय छोटो छ। त्यहाँसम्म पाठक अडिएपछि झुल्केघामका कथावस्तुले पाठकलाई अझै आकर्षित गर्नेछ। मुख्यपात्र यदुको संघर्ष, हुर्किएको परिवेश उसका कष्टका कथाले पाठकलाई तानिरहनेछ। उपन्यासको कथा भन्ने शैलीबारे लेखक बसन्त बस्नेतले भनेका छन्,‘पहाडको परिवेश धेरै भए पनि कथा भन्ने शैली भने तराईमा बग्ने कोशीजस्तो छ। चित्र नै खिचेर राखिएजस्तो भान हुन्छ। शब्दका माध्यममार्फत् हरेक परिवेशलाई सजिव बनाइएको छ।’
मुख्यपात्र यदुले सुरूआतदेखि नै पारिवारिक बेमेल झेल्छ।
बाबु आमाको सम्बन्ध राम्रो हुँदैन। पछि बाबुले दोस्रो विवाह गरेपछि उसको जीवन झनै कष्टकर हुन्छ। बाबु र आमाको मिल्तीका निम्ति पनि चुनाव नै आउनुपर्ने हुन्छ। चुनावमा उसको बुवा गाविस अध्यक्ष उठ्ने भएपछि मात्रै मिल्तीको प्रस्ताव गर्छन्। चुनावी परिणाम आफ्नो पक्षमा आएपछि क्षणिक मिल्ती पनि समाप्त हुन्छ।
‘चुनावमा परिवारकै सदस्यमाथि पनि उपयोगको सिद्धान्त प्रयोग हुन्छ भने अरूमाथि नहुने कुरै भएन। राजनीतिक दलहरूले चुनावमा मतदातालाई गरेको उपयोग र मतपेटिका अघि नलागेसम्म गाउँ नफर्किने प्रवृत्तिका कथा उपन्यासमा छ,’ लेखक दाहालले भने।
पारिवारिक तनाव अत्तिनै भएपछि असह्य भएर यदुकी आमाले पछि आत्महत्याको बाटो रोज्छिन्।
उपन्यासमा लेखकले आफ्नी आमा नहुँदा र दुइटा आमाको सामाना गर्नुपर्दाको स्थिति सजिव रूपमा उतारेको लेखक बस्नेतले बताए।
‘घरमा आमा नहुँदाको स्थिति कस्तो हुन्छ हामीले देखेकै छौं तर दुई आमा हुँदा घर कस्तो बन्छ त भन्ने सजिव चित्रण उपन्यासमा छ,’ उनले भने।
गाउँमा हुर्किएपछिको यदु एसएलसीपछि सहर पस्छ। सहरमा उसले एउटा पत्रिकामा काम गर्न थाल्छ।
राजनीतिक रूपमा फरक पृष्ठभूमिका त्यसका सम्पादकले पछि माओवादी आन्दोलनलाई समर्थन गर्छन्। तर उनैलाई माओवादीले संरक्षण नगरेपछि सेनाबाट मारिन्छन्।
‘माओवादीकै कारण समाजमा धेरै परिवर्तनहरू आए। तर त्यस आन्दोलनमा आफैंले ल्याएको मानिसबाट माओवादी किन आत्तियो त आफ्नै मानिसका संरक्षणमा कसरी चुक्यो भन्ने कुरा उपन्यासमा छ,’ उनले भने।
मुख्य पात्र यदुले माओवादी आन्दोलनमा आफ्नो बाल्यकालको साथी निर्मलेलाई गुमाउँछ।
चेतनाले माओवादीमा लागेका र बाध्यताले जंगल पसेकाहरूको पीडालाई आफूले उतारेको दाहाल बताउँछन्।
राजनीतिले समाजमा ल्याएको फाटोका विषयमा पनि उनले उपन्यासमा उतारेका छन्।
‘राजनीतिक आस्थाका कारण मानिसहरू सामाजिक परम्परामा पनि विभक्त हुन थाले। फरक आस्था राख्ने मानिसमाथि कुटपिट, उपचारमा समेत असहयोग जस्ता कथाले राजनीतिको समाजशास्त्रीय असर पनि लेखकले मज्जाले उतार्नुभएको छ,’ उपन्यास माथिको टिप्पणीमा समाजशास्त्री नारायणी देवकोटाले भनिन्।
मधेस आन्दोलनका क्रममा विभिन्न सशस्त्र समूहहरू पनि उदाएका थिए। उनीहरू भूमिगत हुन्थे। तर केन्द्रमा हलचल ल्याउनेगरी आफ्ना गतिविधि गर्थे। यही क्रममा मुख्य पात्र यदुको सशस्त्र समूहको नेतासँग परिचय हुन्छ।
उनलाई चिनारी गराइदिने व्यक्ति हुन्छ रामपुकार। रामपुकार मधेसकै हुन्छन्, त्यसैले उनलाई यस्ता समूहहरूको धम्कीप्रति विश्वास लाग्दैन। रामपुकारले उनीहरू कसरी चल्छन्, को कोसँग सम्पर्कमा छन्? भन्ने भेउ पाइसकेकाले उनी सुरू रूपमा उत्रिन्छन्।
सशस्त्र समूहको प्रमुखले धेरैपटक कुराकानीका निम्ति यदुलाई अनुरोध गर्छ।
उपन्यासको अन्तिम भाग गोधूलीको सुरूआतसम्म पनि कथाको क्लाइमेक्सबारे पाठकले पत्तो पाउँदैन।
‘उपन्यास पढ्दा क्लाइमेक्स कहाँनेर छ भनेर निकै प्रतीक्षा गरिन्छ। यसमा अन्तिमसम्म पनि पाठकलाई प्रतीक्षा गराइन्छ यसले झन् रोचक बनाएको छ,’ लेखकले बस्नेतले उपन्यासको टिप्पणीमा भनेका छन्।
सशस्त्र समूहको अन्तर्वार्ता लागि पुगेका यदु त्यहाँबाट फर्किएर आउँदैनन्। उनी कहाँ गए, के भयो? उपन्यास कौतुहलतामै समाप्त हुन्छ। तर पाठकलाई कौतुहलतामै छोड्दा अन्याय हुने ठानेर यदुको अर्को कथाका निम्ति दाहालले अनुसन्धान गरिरहेका छन्।
‘यत्तिकै छोड्दा अन्याय हुन्छ कि भन्ने मलाई पनि लागेको छ। मेरो दिमागमा प्लट तयारी नै छ तर केही शिल्पी र भूगोलको ज्ञान आवश्यक रहेकाले अर्को कथाका निम्ति केही समय लाग्छ,’ उनले भने।
मध्यान्ह झुल्के घाम र गोधूलीमार्फत् समाजमा परेको राजनीतिक असरलाई उतारेका दाहाल अर्को नयाँ कृतिको पनि तयारी गर्दैछन्।
उनले तयारी गरिरहेको कृति वडाध्यक्षहरूको मनोदशा र जनप्रतिनिधिहरूबारे हुनेछ।
‘नेपाली समाजमा भएका परिवर्तनहरूबारे कथाभन्दा पूर्ण हुने अवस्था भएन। ती कथाहरूको सिलसिलेबार वर्णनका लागि उपन्यासको सहारा लिएँ। अब जनप्रतिनिधिहरूबारे उपन्यासको तयारीमा छु,’ दाहालले भने।
उपन्याबाट पाठकले लेखनको नयाँ शैली, कथा भन्ने रोचक शिल्प र संवादको मीठो शैलीको आनन्द लिने टिप्पणीकारहरूले बताएका छन्।