समकालीन नेपाली कवितामा कविताका पाठकहरूबीच सुपरिचित नाम हो- विष्णु पादुका।
दर्शन र विचार प्रधान उनका कविताहरूले कविताहरूको भीडमा एउटा विशिष्ट स्थान राख्न सफल भएको छ। उनका छोटा र बान्की परेका दर्शनले भरिपूर्ण कविता धेरैका रोजाइमा पर्छन्।
पहिलो कृतिको रूपमा `साहिनो संग्रह´ ल्याएर नेपाली साहित्य आकाशमा राम्रो उपस्थिति जनाइसकेका पादुकाको यो दोस्रो कृति हो।
`बिन्दुको वृत्त´ नाम दिइएको यस कृत्तिमा उनका ४४ वटा कविता छन्, संग्रहका कवितालाई बिन्दु र वृत्त गरी दुई खण्डमा विभाजित गरिएको छ।
सरसर्ती पढ्दा पहिलो पठनमा अलि दुर्वोध लाग्ने, दोस्रो पठनमा बल्ल कविताको लय र भाव छिचोल्न सकिने र तेस्रो पठनमा बल्ल बोध हुने र उनका कविताहरू विचारउत्तेजक र पर्योगधर्मि छन्।
दश वर्षे जनयुद्धका प्रत्यक्षदर्शी अनि हावा, पानी, जल र थलमा समेत बन्दुक र बारूदको गन्ध आउने भूमिमा अक्षरको खेती, अक्षरकै कर्म र अक्षरकै पेशामा रमाइरहेका कवि पादुकाका आँखामा प्रेम, चित्तमा शान्ति र सोचमा चेतना प्रस्टै देख्न सकिन्छ।
उनको लेखकीय चेत, शिक्षक र कलमकर्मीको परिचय पहराको फूलजस्तै दूरवर्ती रहेको कुरा सांकेतिक रूपमा व्यक्त गर्न खोजेको देखिन्छ `परिचयपत्र´ कवितामा। शिक्षकको परिचयमा आफूलाई गर्व गर्दै साना नानीहरूलाई उनले रिम्पोचे र बुद्ध भन्छन्।
.......
आहा!
आफैं भुल्छु हो म त मै आफैंलाई
काँधमा सानो जिम्मेवारीको जुवा बोकेर
घाँटीमा जागिरको लकेट झुन्ड्याएर
न्यानो माग्छु चिसोसँग
तातो माग्छु हिउँसँग
म छोटो जिन्दगी
लामो गरी बाँच्न चाहने मान्छे
म खोटो जिन्दगी
हाँसोगरी नाच्न चाहने मान्छे´
परिचयपत्र/ पृष्ठ ३६)
शिक्षक पेशालाई दुखिया, अपजसिया पेशा भनेर पेशामै आवद्ध मान्छेले समेत निराशा व्यक्त गर्ने गरेको र `मास्टरी पेशा´ भन्ने बित्तिकै नाक खुम्च्याउने नेपाली समाजको दृष्टिकोणलाई एकचोटि सोचमग्न बनाउन बाध्य पारेका छन् कविले यो कवितामा।
युद्धले एउटा कवि हृदय कसरी छियाछिया बनाएको छ भन्ने दृश्य देख्न सकिन्छ अर्को एक बलशाली कविता `श्वेत क्रान्ति´मा। यस कवितामार्फत् आफू परिवर्तन र क्रान्तिको विरोधी नभएको तर रित्तिएका कोख र काख, उजाडिएका सिउँदो र असमयमै काँस झैं फुलेका शिर कसरी आबाद होलान् भन्ने प्रश्न गर्दै रगत नबगाई क्रान्ति गर्न आह्वान गर्छन् रगतको खोलोबाट परिवर्तन आउँछ भनेर हिँडेका जमातहरूलाई।
उनका धेरैजसो कविताहरू हाम्रै समाजमा घटिरहेका सूक्ष्म घटनाको `पोएटिक न्यारेसन´ जस्तो लाग्छ भने कुनै कुनै कवितामा कविको चरम कल्पनाशीलता देख्न सकिन्छ। यस्तै कल्पनाशिलताको अनुपम नमूनाको रूपमा देख्न सकिन्छ `मेरो ईश्वर´ नामक कविता।
यो कवितामा उनले आफू र ईश्वरमा सामञ्जस्यता देखाउँदै आफू र ईश्वरका धेरै गुणहरू मिल्ने भन्दै `मलाई यो शरीरबाट उठाउने मेरो ईश्वर मजस्तै हुनुपर्छ´ भनेर बढो रसिक र श्वेरकाल्पनिक तरिकाले प्रस्तुत गरेका छन्।
आमा र बा गुमाएपछि उहाँहरू नहुनुको रित्तोपन, एक्लोपन र नोस्टाल्जिक आलाप देख्न सकिन्छ आमा, बा र दोसाँधजस्ता कविताहरूमा। त्यस्तै आफू `बाबु´ बनेपछि `बा` हुनुको मर्मलाई बहुत सूक्ष्म तरिकाले यसरी व्यक्त गरेका छन् `बा´ कवितामा..
रहरहरू खल्तीमा
पैसाभन्दा सुरक्षित हुने रहेछन् !
भोक खाएर पनि छाक टर्ने रहेछ!
निद्रा बेचेर सपना किन्नुपर्ने रहेछ!
अब बुझ्दैछु बा
खानु र खुवाउनुको फरक
रूनु र रूवाउनुको फरक
सामान्यतया उस्तै लाग्ने
सुत्नु र सुताउनुमा फरक हुने रहेछ।
(`बा´ पृष्ठ ११)
हुनत विश्व साहित्यमा आमाका नाममा लाखौं कविता लेखिएका छन् तर कवि पादुकाले आमाको भोगाइलाई अलि फरक ढंगले पस्किएका छन्।
हालसम्म आमालाई खाली `ममताकी खानी´ भनेर पगरी मात्रै गुथिदियौं तर वास्तवमा `आमा दुखी छन् कि सुखी´ आजसम्म कसैले आमाका मुखबाट सुनेका छैनौं फगत हामी हाम्रै नजर र सोचबाट आमाका भोगाइलाई एकपक्षीय रूपमा लेखिरहेका छौं। सन्तान- दरसन्तान बनाएर सन्तानले डाँडाकाँडा ढाकिएकी आमालाई हामी खुसी आमा भनेर परिभाषित गर्छौं।
***
जब आमा भयौ
गन्तव्य भेटिएझैं
यात्रा सकियो तिम्रो
***
हुन पनि आमा बन्नु सायद नारीको उद्देश्य पूरा हुनु या गन्तव्य भेट्नु जत्तिकै बुझिन्छ। त्यसैकारण त आमा बन्न नसक्ने अर्कोथरि महिलाहरूको पीडा भयावह छ। आमा हुन नसक्ने नारीलाई पति, परिवार र समाजले जसरी हेर्छ, जस्तो व्यवहार गर्छ अनि जुन ओहोदामा राख्छ त्यो साँच्चिकै निकै कठिन छ। त्यसैले कवि लेख्छन्,
आमा हुन पाएकोमा तिमी खुसी छौ
दुनियाँले त्यही देख्न खोज्छ
त्यही भइदिन्छ्यौ
आमा हुन नपाएकोमा
दुखी छौ
दुनियाँले त्यही देख्न खोज्छ
त्यही भइदिन्छ्यौ
भनन आमा खासमा खासमा तिमी दुखी हौ कि सुखी?
(पृष्ठ १, आमा)
प्रकृति, प्रेम र मानवताका पुजारी कवि पादुका आफ्ना बा आमाको सन्तानको रूपमा मात्र दुखेका छैनन् एउटी छोरीको बाबु भैसकेपछि छोरीलाई क्रान्तिकारी चेतसहित आह्वान गर्छन्।
`छोरीसँग´ भन्ने कवितामा उनी यो समयका अधिकांश पिता जसले छोरीलाई अझै पनि `सहनशीला शुशिला बन्नुपर्छ´ भनेर संस्कारका साङ्लामा बाँधेर बिहे गरि पराइ घर पठाउने गरिरहेको नेपाली सामाजिक परिप्रेक्ष्यमा उनी एक कदम अगाडि बढेर यसो भन्छन्..
मन्दिरमा शिवलिङ्गको पूजा हुन्छ
पार्वतीको योनीको किन पुजा हुँदैन
प्रश्न पुरानो थियो तिम्रो
सायद भुल्यो कि
उत्तरको खोजीमा आजसम्म घोत्लिइरहेको छु।
एउटा पिताले आफ्नी छोरीलाई हुर्काउँदाको अनुभव, छोरीका अबोध प्रश्नहरूका इमान्दारीपूर्वक उत्तर दिन नसक्नुको हीनताबोध र हुर्कंदै गएपछि बिदाइ गर्दा र एउटा बाबुको अनुभव समेटिएको छ कवितामा। बाबुको सामाजिक ओहोदासँगै आउने सामाजिक आस्था, उत्तरदायित्व र संस्कारको बोझ आफ्नो थाप्लोमा बोकेर पनि छोरीलाई एक कदम अगाडि बढेर आत्मसम्मान जोगाउनका लागि आह्वान र प्रेरणा दिन्छन्।
***
म फेरि पनि
विवश बाउ! निरीह एउटा पुरूष
आफ्नै अंशको नाम थर गोत्र फिर्ता लिएर
सिन्दुर र पोतेसँग सौदाबाजी गरिदिनु छ मैले
बिदिनु पहिले,
एउटा अनुरोध र आग्रह छ छोरी!
म त्यसै लेख्दै छैन
कम्तीमा तिमी केवल सजिव ओछ्यान नभैदिनु
आफ्ना सपनालाई पराजित हुन नदिनु
कसैको बगैंचामा फुल्नु पर्दैमा बोकी ल्याएको
विचारको बिउ कुहिन नदिनु
मर्न नदिनु
(छोरीसँग, पृष्ठ १५)
एउटा विवश छोरो बाबु बनिसकेपछि छोरीको बिदाइ गर्दा झन् निरीह र विवश देखिन्छ तर सँगसँगै छोरीको आत्मसम्मान संरक्षणका लागि क्रान्तिकारी बाबुको रूपमा देखिएको छ।
यसबाट छोरीप्रति बाबु कति संवेदनशील हुँदा रहेछन् भन्ने पनि देखिन्छ। छोरी अन्माउने बेला प्राय: आमा दिदीबैनीहरू रोएको देखिन्छ र बाबु प्राय: कठोर देखिन्छन् तर एउटा बाबु छोरीको भविष्य,अस्तित्व र स्वतन्त्रताको वकालत कसरी गर्छ भन्ने कुरा कविताले बोध गराउँछ।
कवितालाई कम पढिने विधा भनिए पनि लेखनका हिसाबले सबभन्दा बढी लेखिने विधाका रूपमा आएको छ कविता। बर्सेनि ठूलो संख्यामा कविता कृतिहरू प्रकाशित हुँदै आइरहेका छन् भने कविहरू पहिचानका लागि नविनताका खोजीमा रहेका देखिन्छन्।
यसैबीचमा आएको `बिन्दुको वृत्त´ले कविताका सचेत पाठकका वृत्तमा राम्रै छाप छाड्न सफल भएको छ।
`यार्चा´ हिमाली भेगको जडिबुटीको आलाप भरिएको कविता एकदम नौलो छ। त्यसैगरी `आँसु महोत्सव´ शीर्षक बढो आकर्षक तरिकाले व्यंग्य गरिएको छ मानवीय चरित्र र सामाजिक विसंगतिमाथि।
आऊ अश्रुदान गरौं
आँसु महोत्सव मनाऔँ..
कृतिमा प्रेम कविता थोरै मात्र छन् तर जति छन् बढो सुन्दर छन्।
***
मुस्कानहरूको बिस्कुन
आँसुको भेलले कहाँ लगेर भण्डारण गर्दो हो?
`यादहरूको गन्तव्य, पृष्ठ ८१)
शीर्ष कविता बिन्दुको वृत्त बढो मार्मिक छ।
जब एउटा स्त्री शरीर
फगत धर्ती बनिदिन्छ
अनेकौं बीउ कल्बिउँ रोपिन छरिन हतार गर्छन्
उम्रन कोही चाहँदैन
(पृष्ठ ५२,बिन्दुको वृत्त )
एउटा महिलाको शरीरलाई धर्तीको प्रतीक दिएर लेखिएको प्रतिकात्मक कविताले हाम्रो समाजका पुरूषहरूको अनुहारलाई नङ्ग्याइदएको छ।
एउटा सुन्दर स्त्री शरीर भोग्न जति कामातुर हुन्छन् पुरूषहरू, कामोत्तेजनामा बिउले माटो भेटेपछि उम्रन्छ भन्ने सत्यलाई समेत वास्ता नराखी खेत जोत्न र बीउ छर्न हतार गर्ने हलीहरू जब खेतमा बाली उम्रन्छ, जब खेतको हली, माली या मालिकको खोजी हुन्छ तब मुकुन्डो उतारिने भयमा सब भागाभाग गर्छन्। कोही तयार हुँदैन बिजको स्वामित्व स्वीकार गर्न। हिजो यौवनको यौनरस लपलपी चाट्न पछि नपर्नेहरू आज त्यही सुन्दर शरीरलाई सिनो झैं गरी थुक्दै हिँड्छन्।
`आनन्दको असली चरित्र बिर्सनु हो´ भनेर एकै हरफमा कविले मानवीय (विशेषगरी पुरूषको यौन-चरित्र) माथि ठूलो व्यंग्य प्रहार गरेका छन्।
कृतिका पछिल्लो पृष्ठमा `केही वृत्त´हरू भनेर राखिएका कथनजस्ता लाग्ने साना आकारका कविता निकै शक्तिशाली छन्।कविको आवाज, बिचार र दर्शनलाई व्यंग्यात्मक तरिकाले प्रस्तुत गरिएको छ।
एउटा कविता हेरौं...
निकै सस्तो छ खाएर हेर्नुस्
नुनको मूल्य
चकाउँदा चुकाउँदा
तपाईंको जीवन सकिन्छ।
(नुन, पृष्ठ १०१)
`पाठ´भन्ने कविता साँच्चिकै जीवनपाठ जस्तो लाग्छ।
प्रत्येक स्टान्जा एउटा सुक्ति जस्तो, कथनजस्तो लाग्छ। हरेक हरफमा एउटा दर्शन छ। जस्तै:
`खुसी देखाउन सके झैं
सकिँदैन पीर नङ्ग्याउन´
`जसले अपमान दिन्छ
नपुगोस् उसलाई मृत्युको खबर पनि´
`बाँड्न नमिल्ने कुरामै
हुने रहेछ धेरैको दाबी´
`मौनता भरिएपछि
जिन्दगी कतै न कतै पोखिने रहेछ´
`सरकारको आश्वासन र उनको प्रेमको
केही न केही सम्बन्ध अवश्य छ´
`आफूलाई नचिन्नु नै जिन्दगी हो´
पाठ कवितामा मात्रै नभएर अन्य कवितामा पनि निकै गहकिला हरफहरू भेटिन्छन्। जस्तै:
`एउटा अर्को न्युटन जन्मोस् ताकि मान्छे यति किन गिर्दै छ पत्ता लगाओस्´
`थाहा छ बाटोमा आयुको धागो सकिन्छ
यद्यपि खोई
कुन युगमा रोकियो र यात्रा?´
कविताका साधक, कवितालाई साधना, तपस्या र दर्शनसँग जोडेर जीवनको अभिन्न अंगका रूपमा लिँदै आएका कवि पादुकाका कविताका विषयमै केन्द्रित भएर `तिमी कलम´,`शक्तिहीन कविता´,`कवि र कविता´,`कतै म पो गलत छु कि´?`कृतिम कविता´, `अरूका कविता लेख्न सकिनँ´ जस्ता कविताहरु देख्न सकिन्छ संग्रहमा जसबाट कविको कविता प्रतिको लगाव, विचार, दर्शन र भोगाइलाई नजिकबाट बुझ्न सकिन्छ।
आधुनिक समाजमा देखिएका विकृतिहरू स्मार्ट प्रेम, साथीजस्ता कवितामार्फत् उदाङ्ग पारेका छन्।
कृतिमा बहुसंख्यक कविताहरू सुन्दर भए पनि केही कविताहरूमा सम्पादनको बचपनापन छर्लङ्ग देखिएको छ।
एउटै संग्रहमा संग्रहित कविताका गुणस्तर हेर्दा कुनै निकै सबल देखिन्छन् भने कुनै अलि कमसल र खेलाँची गरिएको हो कि जस्तो पनि भान हुन्छ।
भाषा अशुद्धि, शीर्षकमा नयाँपन नदेखिनु र एकै विषयवस्तुमा एकैखालका कविता दोहोरिनुले कताकता कृतिको ओज घटाएको आभास हुन्छ त्यसकारण कृतिभित्र समेटिएका कवितामा समभाव बोकेका कविताहरूलाई सोही अनुरूप विभिन्न खण्डमा विभाजित गरेर राख्न सकेको भए कृति अझ सुन्दर हुने थियो भन्ने लाग्यो।
बहुसंख्यक दर्शन-प्रधान कविता दुर्बोध्य छन्, द्वयर्थक पनि छन्। संग्रहका कतिपय कविताहरू स्थानीय समाज र परिघटना, इतिहास, राजनीति र भूगोलसँग सम्बन्धित भएको हुनाले पाठकहरूमा त्यस्ता सन्दर्भहरूको पनि ज्ञान हुनुपर्ने देखिन्छ। समष्टिमा 'बिन्दुको वृत्त' एउटा नवीन र पठनीय संग्रहका रूपमा कविताका पाठकबीच आएको छ। पाठकले आफ्नो गच्छे अनुसार बिन्दुको वृत्तमा फन्को मार्न सक्छन्, दर्शन र भावको गहिराइ चुम्न सक्छन्।