पुनलाई छुट्टै जातिका रुपमा सूचिकृत गर्ने अभियानमा जुटेको पुन समाज नेपाल केन्द्रीय समितिले आफ्नो भाषा, धर्म र संस्कृतिको चिनारी दिने पुस्तक ‘पुन जाति र भाषा’ प्रकाशन गरेको छ।
उक्त पुस्तक शनिबार पोखरामा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति संस्कृतिविद् प्रा.डा. जगमान गुरुङले लोकापर्ण गरे।
संस्कृतिविद् डा. तुलसी प्रभास खनालले सम्पादन गरेको पुस्तकमा पुन जातिको संस्कार, संस्कृति, गीत, संगीत, पुन जातिको लिखित र अलिखित इतिहास, पौराणिक किवंदन्ती, शव्दावली समावेश छन्।
कार्यक्रममा प्रमुख अतिथि गुरूङले सबै जाति तथा समुदायले आफ्नो भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्नुपर्ने बताए।
विभिन्न जातजातिको सांस्कृतिक विविधतालेनै नेपाल समुन्नत राष्ट्र रहेकाले नेपाल सांस्कृतिक रुपमा विश्वमै धनी रहेको र यसले राष्ट्रिय एकतालाई मजुवत बनाउने उनले बताए।
राज्यको दमनको काराण पुन जातिको भाषा लोप भएको उनले बताए। थप प्रमाण जुटाएर छुट्टै जातिका रूपमा सूचिकृत हुन उनले सुझाब पनि दिए।
पुन समाज नेपालका अध्यक्ष भीमबहादुर फगामी पुनले पुनहरु एउटा जाति रहेको र उनीहरुको भाषा, धर्म, संस्कार र संस्कृतिको राज्यले संरक्षण गर्नुपर्ने बताए। उनले आफ्नो पहिचान नखोज्ने तर अरुको पहिचानमा रमाउने प्रवित्ति आत्मघाती हुने उल्लेख गरे।
पुन जातिको भाषा, धर्म, संस्कार, संस्कृति, भेषभुषा, भुगोल, इतिहास आदिको प्रमाणिकरण तथा संरक्षण सम्बर्धन गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको पुन समाज नेपालका विदेश विभाग प्रमुख चामबहादुर पुनले जानकारी दिए।
कार्यक्रममा विभिन्न जाति तथा समाजका अध्यक्ष तथा प्रतिनिधिहरुले पुस्तक प्रकाशन भएकामा खुशी व्यक्त गर्दै आफ्नो संस्कार र संस्कृति संरक्षणमा सबै लाग्नुपर्ने बताए।