इजोरियामा मिथिला क्षेत्र जनकपुर आसपासको भौगोलिकतामा कथावस्तु प्रस्तुत गरिएको छ। लेखकले यस क्षेत्र र पात्रमार्फत समग्र राष्ट्रिय समस्यामाथि तिखो छुरा प्रहार गरेका छन्। यो गरिबी, अशिक्षा र कुसंस्कारले प्रताडित समाजका सदस्यको दैनिकी हो। सामाजिक आर्थिक कृयाकलापमा पिछडिएको मधेश प्रदेश मात्र नभएर समग्र नेपालको वास्तविक कथा हो।
शाब्दिक रुपमा इजोरिया भनेको जूनको उज्यालो हो। जूनको प्रकाश हो। औंसीको अनकन्टार छिचोल्ने उल्लासमय प्रहर हो। प्रमुख पात्रहरूमा कथाको उत्तरार्द्धमा वास्तविक जीवनप्रति सुन्दरता भरेर लेखकले उपन्यासको सार्थकता दिएका छन्। त्यसैले यो प्रतीकात्मक उपन्यास हो।
यस उपन्यासको महत्वपूर्ण पात्र रमिलालाई बाबाको पहिचान छैन। मायादेवीको पतिको नपुंसकता र उनको मातृवात्सल्यको तीव्र चाहनाको समाधानको मार्गमा साधुको प्यासको फलको पितृत्व हरण भएको छ। प्राकृतिक सृष्टि जीवन्त राख्न समाज र परिवारसँग मायादेवीको संर्घष र पैठेजोरी आजको समाजमा पनि सर्वव्यापी छ।
कथाको मुख्यपात्र सिम्रिक (सिमी) को वास्तविक बाबु शंकर नभएको आधारहरू उल्लेख गरिएको छ। यसर्थ उपन्यासले पितृत्वबिना मातृत्व जोगाइराख्ने महिलाहरूले पितृसत्तात्मक समाजमा भोग्नुपर्ने समग्र समस्याहरूलाई प्रतिबिम्बित गर्दछ। यसर्थ सामाजिक उपन्यास हो इजोरिया। समकालीन जर्जर समस्याको उठान हो। लैंगिक विभेदको उपज हो। घरेलु हिंसाको चित्रण हो। विद्रोह हो।
शंकरको घरको तासको खाल, चुरोट र मदिराको समिश्रणको दृश्यसँगै कथावस्तु सुरु हुन्छ। गरिबी, घरेलु हिंसा, यौन शोषण र पारिवारिक विद्रोहसँगै विषयवस्तु बग्दछ। उपन्यासले सिमीको दिदी शिरीषको मृत्युको कारण खोज्ने जमर्को गर्दछ। रमिलाको पारिवारिक र सामाजिक पीडाको कथा उकेल्दछ। सिमीको विद्रोह, घरेलु हिंसा र विकृत प्रेमको चर्चा गर्दछ।
उपन्यास तीन भागका विभक्त छ। पहिलो भागमा परिवेश, पात्र र चरित्रको उठान छ। दोस्रोमा मुख्य पात्रको संघर्ष, दुर्व्यसन र शारीरिक प्रेमलाई समेटिएको छ। तेश्रो भागमा शिरीषको मृत्युको कारण, प्रतिषोध, रमिलाको शोषण र हिंसाको सत्यलाई उठाइएको छ। कथाको उत्तरार्द्धमा सिमी, रमिला, मायादेवीको बसाइँसराइले पारिवारिक इजोरिया छर्ने कोसिस गरेको छ।
गैरमैथिली पाठकहरूलाई इजोरिया सुरुमा केही झन्झटिलो लाग्न सक्छ। पचास पानाहरूपश्चात पाठकले निश्चय नै लय समात्छन्। उपन्यासकारको उपन्यास पढ्न मन लागिरहेको थियो। विमोचनसँगै पढ्ने अवसर मिल्यो। दैनिकीका केही मिनेटहरू जोडी केही दिनमा पढियो।
यसमा उपन्यासकारले छनोट गरेका केही पात्र र परिवेश अलि असान्दर्भिक लाग्दछ। यहाँ माओवादी जनयुद्धको परिवेश रामबली पात्रमार्फत उठान गरिएको छ। यहाँ जनयुद्धको न सवल पक्ष न दुर्वल पक्षबाट कथाका पात्र, समाज, परिवेश र चरित्रमा असर देखिएको छ। न त रामबलीलाई उपन्यासबाट हटाउँदा उपन्यासको सार नै फरक पर्दछ।
कलेज पढ्ने, ट्युसन पढाउने, पढाइमा अब्बल, निडर र विद्रोही पात्र सिमीलाई लेखकले सजिलै दुर्व्यसन र स्वार्थी प्रेममा फसाएका छन्। जुन उपन्यासको केन्द्रविन्दुमा पुग्ने बाटोको अब्बल सहायक हुन सक्तैन। प्रशान्त र सिमीको प्रेम, सिमीको दुर्व्यसनले उपन्यासको वजन त्यति धेरै बढाएको छैन। तर उपन्यासमा प्रेम नै चाहिने, सम्बन्ध नै खोज्ने पाठकहरूलाई भने पक्कै रमाइलो होला।
उपन्यासकारले समस्याको राम्रो उठान गरेका छन्। तर मुख्य पात्रलाई मुख्य समस्या समाधानको बाटोको संघर्षमा भने त्यही रुपमा ठडाउन नसकेको महसुस हुन्छ। घरेलु महिला हिंसाको नायक शंकरलाई बिना सजाय, बिना प्रायश्चित बीच बाटोबाटै नामेट गरिएको छ।
आँखै अगाडि आमाको बलात्कार, लगातारको महिला हिंसा र हिंस्रक समाजतिर शिरीषको आत्महत्याको कारणको तीर सोझाएका छन्। गरिबी, निमुखा र असहायहरूप्रति पक्षपाती कानुन देखाएर वर्तमान राजनीति र प्रणालीप्रति गतिलो व्यङ्ग्य प्रहार गर्न सफल भएका छन्।
यो पुस्तक पढेपछि पाठकलाई छोरी र महिलाप्रति सम्मान, सहानुभूति र स्नेह बढेर आउनेछ। समान हक र अधिकारका लागि आमाको नामबाट उनका सन्तानलाई नागरिकता दिने निर्णय कार्यान्वयन गर्न सबैलाई आवाज गर्ने जोश जाग्नेछ।
हाम्रो समाजको प्रमुख दुश्मन गरिबी र अशिक्षासँग जोडिएका हिंसा, यातना र कुसंस्कारको सफाइ हुनु जरुरी देखिन्छ। उपन्यासकारले भनेझैँ सबैको जिन्दगीमा आफ्नै किसिमको लडाइँ हुन्छ। सबैका कुनै न कुनै प्रतिद्वन्दी हुन्छन्। सबैसित लड्ने तागत आफैँसित हुनुपर्दछ। त्यस्तो तागत सबैमा जागोस् भन्ने शुभेच्छा पाठकमा उपन्यासले जगाइदिन्छ।
फाइनप्रिन्ट प्रालिले प्रकाशन गरेको इजोरिया ४९२ पेजको छ। अन्तिम तीन पृष्ठमा लेखकले शब्दार्थ समेटेका छन्। पुस्तक पढेर सक्काउँदा युवा पाठकमाझ प्रिय भट्टराईले अगाडिका पुस्तकहरूमा जस्तै न्याय गरेको पूर्ण महसुस हुन्छ।