युवा नेता, उद्यमी तथा सामाजिक अभियन्ताको परिचय बनाएका दिवंगत उज्वल थापाको पुस्तक 'ह्वाइ नेपाल' सार्वजनिक भएको छ।
शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा स्वर्णिम वाग्ले, मोहना अन्सारी, डाक्टर गोविन्द केसी, गगन थापा, मनिष झा, आशुतोष तिवारी, गोविन्द नारायण, थापाकी श्रीमती एरिका अधिकारी र आमा शान्ता थापाले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन्।
कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष वाग्लेले उज्वल थापा फरक प्रकृतिको नेता रहेको र उनले देखेको नेपालको सपनाबारे पुस्तकमा सटिक ढंगले विस्तृत रुपमा अभिलेखन भएको बताए।
‘थापाले आफू नेता बन्नेभन्दा पनि नेतृत्व निर्माण गर्नेमा जोड दिए र त्यही अनुसारको राजनीति पनि सुरु गरे,’ उनले भने।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्ना असफलताबारे गहिरो गरी आत्मसमीक्षा गर्दै अघि बढ्ने उनको शैली मन परेको बताए।
‘उनले त्यस्ता समीक्षालाई सार्वजनिक समेत गर्नुपर्छ भनेका छन्, यो पढेपछि मलाई बाख्रापालन उद्यमबारे सार्वजनिक गर्नुपर्छ जस्तो लागेको छ,’ उनले हँसाउँदै भने।
कार्यक्रममा बोल्दै डाक्टर गोविन्द केसीले नेपाली राजनीतिको संस्कार परिवर्तन गर्न थापाले महत्वपूर्ण भूमिका खेलेको बताए।
‘उनको काम गर्ने शैली मनपर्ने खालको थियो। त्यसले गर्दा राजनीतिक आन्दोलन सिर्जनात्मक बनाउन उत्प्रेरित गरेको छ,’ उनले भने।
‘आज उज्वलको अर्को सपना साकार भएको छ। यो पुस्तक उज्वलले आफैंले तयार गरेका थिए, प्रस्तुतीकरण र भाषामाथि प्रशस्तै काम गरेका थिए,' उज्वल थापा फाउन्डेसनको अध्यक्ष तथा उनकी श्रीमती एरिका अधिकारीले भनिन्, ‘पुस्तकले उज्वलको व्यक्तित्वका साथै विचारलाई गहिरो गरी चिन्न मद्दत गर्नेछ।’
पुस्तकमा नेपालको राजनीति र नेतृत्वको चरित्र, उद्यमशीलताको वर्तमान अवस्था र भविष्यको सम्भावना, नेपाललाई रूपान्तरण गर्नका लागि हरेक नागरिकले सुरू गर्नुपर्ने परिवर्तनको अभियान आदिबारे विभिन्न उपशीर्षकमा व्याख्या गरिएको छ।
पुस्तकको प्रारम्भिक संस्करण सार्वजनिक भएसँगै संग्रहणीय संस्करण पनि प्रकाशन गरिने पब्लिसिङ हाउसले जनाएका छ। यस पुस्तक अंग्रेजी संस्करणमा प्रकाशन भएको छ। पुस्तकको नेपाली संस्करण पनि छिटै प्रकाशन गरिने बताइएको छ।
पुस्तकबाट प्राप्त रोयल्टी उज्वल थापा फाउन्डेसनलाई प्रदान गरिनेछ। ५९९ रुपैयाँ मूल्य रहको पुस्तक किताब यात्रा डटकममार्फत नेपाल र विश्वका कुनै पनि स्थानबाट किन्न सकिनेछ।